मंगल ग्रहमा देवकोटाको सालिक

–कृष्ण बजगाईं, लन्डन, बेलायत

साहित्यकार त्रिलोकनाथ शर्माको योजना सुनेर सबै आश्चर्यचकित भए ।  ‘वाह क्या विचार ! यस्तो योजनाले नेपाली साहित्य अन्तर्राष्ट्रिय स्तरको हुनेछ ।’ एक डायोस्पोरिक गजलकारले विचार राखे ।
‘अन्तर्राष्ट्रिय त सानो भै हाल्यो नि ! अर्कै ग्रहमा पुग्ने भयो हाम्रो साहित्य । अरु भाषाका भन्दा धेरै अगाडि हुने निश्चित छ ।’ अर्का डायोस्पोरिक गीतकारले थपे ।
मंगल ग्रहमा राखिने महाकवि लक्ष्मी प्रसाद देवकोटाको सालिक बनाउन त्रिलोकनाथ शर्माको कोठामा जम्मा भएका चारजनाले दुइहजार अठार जनाको समिति बनायो । छापा पत्रिका त के अनलाईन मिडिया पनि कहीँ कतै समाचार आएन ।
तर अर्को दिन समितिका सदस्य ओमप्रसाद ‘घायल’ले फेसबुकमा स्टाटस् लेखे –‘नेपाली साहित्यलाई त्रिलोकमा पुर्याउने यीनको योगदानलाई नचिन्ने नेपाली साहित्यका ठेक्केदारलाई यो ठूलो दनक हो । नेपाल सरकार, प्रज्ञाप्रतिष्ठानले गर्न नसकेको काम यीनले गरेर देखाउने भए । मंगल ग्रहमा देवकोटाको सालिक स्थापना हुने भयो । मैले अमेरिकाको राष्ट्रपतिको चुनावमा बाराक ओवामालाई जिताउन हालेको भोट खेर गएको थिएन । यीनलाई अध्यक्ष बनाउन गरेको कसरत पनि खेर नजाने भो !’
उनले यति लेखिसकेपछि उनको स्टाटस्मा भकाभक ‘लाइक’ र ‘कमेण्ट’ आउन थाल्यो । त्यो देखेर दंग परे उनी । फेरी ‘ट्वीटर’मा गएर सोही कुरा ‘ट्वीट’ गरे । ट्वीटर र फेसबुकको स्टाटस र त्यसका प्रतिकृयाको प्रिन्ट कपी निकाले । त्यसलाई ‘स्कान’ गरेर त्रिलोकनाथको इमेलमा पठाए । ‘हजूरको योजनाका बारेमा सोसियल मिडियामा खुब चर्चा छ । लौ हेर्नोस् ।’ इमेलमा लेखे ।
ओमप्रसादले फेसबुक र ट्वीटरमा सालिकका बारेमा कुरा राखेपछि धेरैका लागि चासोको विषय भयो । त्रिलोकनाथका बारेमा सोधी खोजी भयो । उसो त त्रिलोकनाथ आफूलाई  खुल्ला किताव हुँ, मेरो बारेमा थाहा पाउन कुनै गाह्रो छैन । नेपालका मिडियाले आफूलाई नहेरेकाका मात्र हुन् भन्छन् ।
त्यसो त साठी वर्षका भए उनी । साठीवटा पुस्तक लेखेका छन् । जसले ज जे भने पनि केही न केही लेखिरहन्छन् ।
‘पाकशास्त्र’ देखि ‘कोकशास्त्र’, ‘मोफसल’ देखि ‘डायोस्पोरा’ सबै विषयमा उनको कलम उतिकै चलको छ । … यीनी नेपाली साहित्यमा पहिला ब्यक्ति हुन् ।’ उनका बारेमा वरिष्ठ समालोचक तथा स्तम्भकार प्रा. डा. नित्यानन्द शास्त्रीले पनि यति चाहीँ बोलेका छन् । समालोचक शास्त्रीको उक्त भर्नाइ उनको हरेक पुस्तकको पछिल्लो पानामा पढ्न पाईन्छ ।
दुइहजार अठार जनाको समितिमा को को परेका छन् ? कसैलाई थाहा छैन । तर बाहिर बाहिर बिरोध गरे पनि समितिमा परे हुन्थ्यो भन्नेहरुको मनोविज्ञान त्रिलोकनाथले राम्ररी बुझेका छन् । त्रिलोकनाथका स्थाइ बिरोधीहरु आफू त्यहाँ परे हुन्थ्यो भन्ने चाहाना गरेका कुरा उनले थाहा पाइसकेका थिए । नेपालमा फाइदा लिन र साहित्यिक भर्याङग् चढ्न सहयोग गर्लान भनेर केही प्राध्यापक, साहित्यकार र पत्रकारहरुलाई अवस्य पनि त्यो कमिटिमा राखेका छन् भनेर धेरैले अनुमान गरेका छन् ।
‘आयोजक समितिको नाम नै सार्वजनिक गर्न नसक्नेले के सालिक बनाउलान ?’ एक डायास्पोरिक छन्द कविले फेसबुकमा आफ्नो स्टाटस् मार्फत असन्तुष्टि जाहेर गरे । उनको असन्तुष्टिको उद्येश्य थियो सो समितिमा आफू भए नभएको एकिन गर्नु ।
ओमप्रसादले तुरुन्तै प्रतिकृया लेखे– ‘दुइहजार अठार जनाको नाम कुन पत्रिका र अनलाइनले छाप्छ ? काम गर्दै गएपछि थाहा भैहाल्छ नि को को छन् समितिमा भनेर ।’
त्रिलोकनाथका स्थायी बिरोधी भुवनेश्वरले प्रतिकृया थपे– ‘पछि चन्दा उठाउन लगाएपछि थाहा पाइहाल्नु हुन्छ नि तपाईं भए नभएको भनेर !’
‘साहित्यको नाममा ब्यापार गर्न त विदेशमै बस्नु पर्ने रहेछ । डलरमा एकमुष्ट पैसा कमाइने रहेछ ।’ चारपटक अमेरिकाको भिषा नलागेर निराश भएका एक साहित्यिक पत्रिकाका सम्पादकले आफ्नो कुण्ठा ब्यक्त गरे ।
‘मंगल ग्रहमा पनि देवकोटाको सालिक हुनसक्छ र ? अहिलेसम्म मानिस नै पुगेका छैनन् । यस्तो वाहियात कुरामा पनि समय बर्वाद गर्ने ? यो सब पैसा उठाएर खाने दाउ हो ।’ आइटी विज्ञ तथा आफूलाई डायास्पोरिक हैन प्रवासी कवि भन्न रुचाउने उमाशंकर ‘विरही’को थप प्रतिकृयाले ओमप्रसाद रन्थनिए ।
‘कविजी आफूलाई अपडेट गर्नू होला । सन् दुइहजार अठारमा मंगल ग्रहमा मानिस सहितको यान प्रक्षेपण हुँदैछ । त्यही यानमा हाम्रा महाकवि देवकोटाको सालिक पनि जानेछ । त्यही भएर हाम्रो समितिमा दुइहजार अठार जना राखेका हौं ।’ ओमप्रसादको प्रतिकृयाले कवि विरहीलाई झोँक चल्यो ।
‘कसरी जान्छ देवकोटाको सालिक ? कसले लैजान्छ ? यो सबै पैसा कमाउने चाल हो ।’ कवि विरहीले पुनः प्रतिकृया लेखे ।
‘तपाईंहरुलाई थाहा छैन होला हाम्रा अध्यक्ष तथा प्रसिद्ध डायास्पोरिक साहित्यकार त्रिलोकनाथका सुपुत्र अमेरिकी अन्तरिक्ष संस्था ‘नासा’मा काम गर्नु हुन्छ । उहाँले नै सबै मिलाई सक्नु भएको छ । सो को लागि तुरुन्तै पेश्किी बापत केही रकम दिनु पर्ने भएको छ । बरु पैसा उठाउन सुरु गरौं । दाताको नाम लेखिएको शिलालेख पनि मंगल ग्रहमा जानेछ । ढिलो गर्नु हुँदैन । छुटिएला । अरुले उछिन्लान् ।’ ओमप्रसादको यस्तो तर्कका अगाडि कवि विरहीले आत्मसमर्पण गरे । केही लेखेनन् ।
त्यसपछि मंगल ग्रह जाने शिलामा नाम लेखाउन पैसा दान गर्नेहरुको सूचि लामो भयो । एकै छिनमा एकाउन्न हजार डलर रकम दिन तयार भएका देवकोटा प्रेमी भनौं वा मंगलग्रहमा राखिने शिलामा आफ्नो नाम राख्न चाहानेहरु फेसबुकमा देखिए ।
‘फेसबुकमा कवोल गरेर मात्र हुँदैन साँच्चै पैसा जम्मा गर्नु पर्दछ ।’ ओमप्रसादले पुनः प्रतिकृया लेखे ।
‘कहाँ ? कुन अकाउण्टमा जम्मा गर्ने ?’ यस्तो प्रतिकृया आउने बित्तिकै ओमप्रसादले तुरुन्तै एउटा बैंक अकाउण्ट नम्बर दिए । सबैले पैसा जम्मा गर्ने वाचा गरे ।
‘पैसा कति जम्मा भएछ हजुर ?’ दुइहप्तापछि ओमप्रसादले त्रिलोकनाथलाई सोधे ।
‘चौतिस हजार डलर मात्र ।’ यति धेरै पैसा जम्मा हुन्छ भनेर ओमप्रसादलाई विश्वास नै थिएन, उनी आश्चर्यचकित भए ।
‘पख्नोस् म अझै हल्लाखल्ला गर्दछु फेसबुक र ट्वीटरमा । अझै पैसा आउला । बरु भानुभक्त आचार्य, मोतिराम भट्टको पनि सालिक बनाउनु पर्ला ।’ ओमप्रसादको कुराले त्रिलोकनाथको मुहारमा चमक आयो ।
‘तपाईंको योगदानको डायास्पोरिक साहित्यले अवश्य मुल्यांकन गर्ने छ ।’ त्रिलोकनाथले ओमप्रसादलाई हौसाए । कुनै साहित्यिक कृति नलेखे पनि यस वर्ष कुनै न कुनै डायास्पोरिक पुरस्कार वा सम्मान पाउने त्रिलोकनाथको संकेतले ओमप्रसाद मुसुक्क हाँसे ।
मंगल ग्रहमा लगिने देवकोटाको सालिकको नाममा पैसा संकलन गर्न थालेपछि यो कुरा निकै चर्चित भयो ।  दिल खोलेर मानिसहरुले सहयोग गर्न थालेका थिए । कतिलाई नेपाली भाषा प्रतिको मोह थियो । केहीलाई देवकोटा प्रतिको सम्मान थियो । कतिजनालाई मंगलग्रहमा राखिने शिलामा आफ्नो नाम अंकित गर्नु थियो । सबै खुशी थिए ।
एक दिन एकजना सहयोगदाता तथा आदिवासी डायास्पोरिक नेपाली साहित्यकार मञ्चका अध्यक्ष कवि जीवन ‘उदासी’ले त्रिलोकनाथलाई फोन गरे ।
‘हजुरले यो धेरै राम्रो काम सुरु गर्नु भयो । मलाई अत्यन्त खुशी लागेको छ । देवकोटाको त म भक्त नै हुँ । उहाँको मुनामदन पढेर नै साहित्य लेखनमा अघि बढेको हुँ । अहिले मेरो जीवन मदनको जस्तै अमेरिकामा भौतारी रहेको छ ।’
‘हो नि । तपाईंहरु कै सहयोगले यो कार्य सफल हुने छ । तर… तर….।’ त्रिलोकनाथले अलिकति खेल्ने ठाउँ राखेर वाक्य पुरा गरेनन् ।
‘तर…? के भन्न खोज्नु भएको साहित्यकारज्यू ? पुरा भन्नोस् !’ कवि उदासीलाई पुरा वाक्य सुन्न हतार भयो ।
‘कुरा के भन्दा नि… आजकल समावेशी जमाना छ । मैले साथीहरुलाई समावेशी हिसावले नाम शिफारिश गर्नु भनेको थिएँ । साथीहरुले देवकोटाको नाम लिनु भयो ।’ कहिल्यै नसोँचेको विष वृक्ष कवि उदासीको मनमा त्रिलोकनाथले उमारी दिए ।
‘ए हो त नि ! साँच्चै भूपी शेरचन, पारिजात आदिको नाम लिदा के हुन्थ्यो यीनीहरुलाई ? मातृभाषा नेपाली नभए पनि नेपाली साहित्यमा कत्रो योगदान छ उनीहरुको ।’ कवि उदासीको मनमा असन्तुष्टि पलायो ।
‘ठिक कुरा गर्नु भयो साहित्यकारज्यू । हामी मिटिङ बसेर छलफल गर्नेछौं । यस कार्यका विरुद्धमा चाँडै प्रेस विज्ञप्ती निकाल्ने छौं ।’ यति भनेर कवि उदासीले कुरा टुङ्ग्याए । साहित्यकार त्रिलोकनाथ मुसुक्क हाँसे ।
आइतवारको छुट्टीमा साहित्यकार त्रिलोकनाथ फोन तथा ‘स्काइप’मा कुराकानी गर्ने र भेटघाटमै बिताउने गर्दछन् । कसैको फोन नआएको बेला आफै फोन गरेर फोनबाटै कविता सुनाउँछन् । र तुरुन्त प्रतिकृया माग्ने गर्दछन् ।
‘हेलो साहित्यकार त्रिलोकनाथलाई पाउन सकिन्छ ?’
‘को बोल्नु भएको हजूर ?’ त्रिलोकनाथकी धर्मपत्नी मनमायाले फोनमा मधुर आवाजमा सोधिन ।
‘म अन्र्तराष्ट्रिय नेवाः साहित्य परिषद अमेरिकाको अध्यक्ष, कवि मनरत्न ‘भुमरी’ ।’
मनमायाले फोन त्रिलोकनाथलाई दिइन ।
‘कविजी, म तपाईंलाई नै फोन गरौंला भन्दै थिएँ । कुरा के भने नि पैसा अलिअलि संकलन भैरहेको छ । तर… अलिक विवादका स्वरहरु सुनिदैछ । सबैका कुरा सुनेर निर्णय गर्नु पर्ने भयो ।’ त्रिलोकनाथले जुँगा मुसार्दै भने ।
‘के हो विवाद ? को हो विवाद गर्ने ? यति राम्रो काममा भाँजो हाल्नेलाई छाड्नु हुँदैन ।’ कवि भुमरी आक्रोशित हुँदै भने ।
‘सिद्धिचरण श्रेष्ठको नाम पनि आइरहेको छ । खै……।’ त्रिलोकनाथले कवि भुमरीले नसोचेको कुरा कोट्याइदिए ।
‘उनको पुरा कुरा सुनेपछि कवि भुमरीमा एकाएक देवकोटा प्रति ईष्र्या जाग्यो र सिद्धिचरण प्रति प्रेम बढेर आयो ।  हो त नि खस भाषालाई हामीले चाहीँ उत्थान गरिदिनु पर्ने । उनीहरुले सिद्धिचरणको नाम लिएको भए के हुन्थ्यो ?’ त्रिलोकनाथले उठाएको कुराले उनको मन विद्रोही भयो ।
‘यो निर्णय नसच्चाए आन्दोलनको रुप लिन्छ त्रिलोकनाथज्यू ।’ यति भनेर कवि भुमरीले फोन राखे ।
फोन राख्ने बित्तिकै फेरी फोनको घण्टी बज्यो ।
‘हेलो, म अन्तर्राष्ट्रिय तराई मधेश नेपाली साहित्यकार संघ अमेरिकाको महासचिव जोगिन्दर ‘फकिर’ बोल्दै छु ।’
‘फकिरजी, चिनँे चिनँे । तपाईंले दिनु भएको चन्दा रकम प्राप्त भयो । तर कुरा अलिक बिग्रन लागे जस्तो छ ।’ त्रिलोकनाथले आफ्नो योजना अनुसार कुरा राखिहाले ।
‘के भो !? को हो कुरा बिगार्ने ?’ कवि फकिरले आश्चर्य मान्दै सोधे ।
‘समावेशीको कुरा उठ्यो । केही साथीहरुले देवकोटा नै किन भने । मैले पनि विद्यापतिको नाम उठाइदिएँ ।’ त्रिलोकनाथले कवि फकिरको मनमा आगो झोसी दिए । कवि फकिर ताते ।
‘सही कुरा उठाउनु भयो । त्यही भएर त तपाईंलाई हामीले जो अविभावक मानेका छौं । त्यत्रो नेपाललाई पाल्ने सिंगो तराईको अपमान हो यो । मधेशी भनेर हेपेको हो……….। अगर…।’ कवि फकिरले फोनमै भाषण गर्न थाले । बाँकी कुरा नसुनी त्रिलोकनाथले फोन काटी दिए ।
चारैतिर झगडा लगाएपछि आफ्नो आवश्यकता महसुस हुन्छ भन्ने कुरा त्रिलोकनाथलाई थाहा थियो । झगडा मिलाउने न्यायधिशको रुपमा उनी आफै अगाडि सर्दथे । तर भित्रीरुपमा झगडा चलिरहोस्, कहिल्यै नमिलोस् भन्ने चाहान्थे ।
सालिक निर्माण गर्ने पैसा सबै त्रिलोकनाथको नीजी खातामा जम्मा भएको थियो । प्रसस्त पैसा उठी सकेको थियो । निकै लामो समय भयो तर विवाद सुल्झिएको थिएन । वास्तवमा त्रिलोकनाथ विवाद मिलाउन हैन बढाउन चाहान्थे । कहिले दलितको प्रतिनिधित्व त कहिले महिलाको कुरा उठाएर समस्या बल्झाइ रहन्थे । कहिले बीपी कोइराला त कहिले युद्धप्रसाद मिश्र र गोकुल जोशीको कुरा उठाएर खेलाइ रहन्थे । कैयौं ‘कन्फरेन्स कल’ भए, धेरै भेटघाट र मिटिङ भए, समिति बने, अहँ कुरा मिलिरहेको थिएन । चन्दादाताहरु बेचैन थिए । तर त्रिलोकनाथ थिए मस्तीमा ।
एकदिन एउटा डेलिभरी कम्पनीको गाडी त्रिलोकनाथको घर अगाडि रोकियो । धर्मपत्नी मनमायाले हस्ताक्षर गरेर एउटा ठूलो बक्स बुझिन ।
साँझ त्रिलोकनाथ कामबाट फर्केर आए । उनले अर्डर गरेको सालिक घरमा छाडेको कुरा कम्पनीले पहिलै फोनमा भनिसकेको थियो । लोग्ने स्वास्नी भएर पार्सलको प्याकेट खोल्न थाले ।
मुस्कुराई रहेको अर्धकदको आफ्नै सालिक देखेर त्रिलोकनाथ मुसुक्क हाँसे ।

प्रतिक्रिया दिनुहोस्

*