माइखोला वारि पारि

– रामप्रसाद पन्त

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजनामा सम्पन्न हुन लागिरहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन २०६८ को सन्दर्भमा म इलाममा छु यति खेर । फागुन १६ को बिहानीले स्वागत गरिरहेछ मलाई इलाम बजारमा ।
अस्ति सम्मेलनको उद्घाटन भयो सभामुख सुवासचन्द्र नेम्वाङबाट । हिजो कार्यपत्र प्रस्तुत र कवि सम्मेलन भयो भव्यता साथ । आज बिहान इलाम बजार परिक्रमाको कार्यक्रम राखिएको छ । यसपछि हामी करफोक जानेछौँ र त्यहीँ सम्मेलनको समापन हुनेछ ।
तर अहिले भने काठमाडौँबाट गएको एक बस जम्बो जमात समुपस्थित भएको छ— इलाम बजार स्थित राधेश्याम लेकालीजीको जन्मघरसँगै चिया पसलमा । इच्छा लागेको चिया चमेना खाएका छौँ हामीले । तर एकमुष्ट जम्मा गरेर हिँडाउन कठिन भएको छ लेकालीजीलाई ।
कोही छोडिइहाले पनि आपत्ति छैन यसबखत । डा. तारानाथ शर्मालाई अन्तर्वार्ता लिनेहरु आएर घेरेका छन्, रामबाबु सुवेदी आफ्नै धुनमा हुनुहुन्छ । अरु कोही आफ्नै मोजमस्तीमा होलान् । जति निस्कन सक्यौँ त्यति निस्कियौँ हामी — सबैभन्दा पहिले टुँडिखेलतिर ।
‘चोक बजार’ मध्य बजार रहेछ इलामको । त्यहाँबाट माथि पुरानो बजार र तल नयाँ बजार  । तूलमा लेखिएजस्तै स्वच्छ, समृद्ध र सुसंस्कृत लाग्दैछ मलाई इलाम ।
हिजो कार्यक्रमस्थल गौतमबुद्ध सभा भवनतिर जाने क्रममा यसै बजारबाट हिँड्दै गर्दा डा. तारानाथ शर्माद्वारा अभिव्यक्त भावनालाई सम्झँदै छु म —
‘हेर्नाेस् त कति मुचुक मुचुक गर्दै हिँडेका यी मोरीहरु ! तपाईंको मन भाँडिन्न यिनीहरुलाई देख्दा ?’
म हाँसेको थिएँ पहिले र पछि यतिमात्र भनेको थिएँ— ‘मानवीय मन त हो ! प्रकृतिभन्दा पर कोही पनि छैन । हजुरलाई परेको प्रभाव अरुलाई पर्दैन म कसरी भनुँ ?’
फेरि भन्नुभएको थियो— ‘इलामका केटी राम्रा हुन्छन् बुझ्नु भो ! के तपाईंलाई राम्रा लागेनन् यी केटीहरु ?’
‘लागे ।’ — मैले भनेको थिएँ ।
ललिपप खान्छन् यहाँका केटीहरुले, अनि राम्रा हुन्छन् बुझ्नुभो ? तपाईंले ललिपप खानुभो इलाम आएर ?’
‘खाएको छैन ।’
‘खानुपर्छ, इलामको ललिपप प्रसिद्ध छ । पख्नुस् किनौँला, घर जाँदा लैजानुपर्छ ।’
यसरी गफिँदै हिँडेको थिएँ म शर्मासँग हिजो एकछिन ।
हिँड्दै गर्दा एक ठाउँमा टुप्लुक्क भेटिएकी थिइन्— ‘कुमारी आमा’ उपन्यासकी रचयिता अनुपम रोशी ।
कुममा धाप मारेर शर्माले सुटुक्क सोध्नुभएको थियो— ‘तपाईंको विवाह भयो ?’
रोशीले भनेकी थिइन् — ‘छैन ।’
‘विवाह गर्ने होइन त ? कि यसै बस्ने ?’ — शर्माले पुनः सोध्नुभएको थियो ।
‘अझै निर्णय गरेकी छैन, भर्खर न्युजिल्यान्डबाट आएकी छु, सोच्दै छु ।’ — रोशीले भनेकी थिइन् ।
‘कि यसै बस्ने विचार छ ? कुमारी आमा लेखेर आफैँ कुमारी आमा बनेर बस्न त पाइन्न नि ! शर्माको प्रश्न सुनेर रोशी हाँसेकी मात्र थिइन् ।
‘केटो खोज्नुपर्छ भने बरु भन्नुस्, तर विवाह त गर्नुपर्छ है ! यसै बस्नुहुन्न ।’ — शर्माले सुझाव दिनुभएको थियो ।
शर्माले हात पनि हेर्नुहुँदोरहेछ भन्ने कुरा मैले इलाम पुगेपछि मात्र थाहा पाएको थिएँ । । कति युवतिका कोमल हत्केला स्पर्श गरेर भविष्य बताउनु भएको थियो उहाँले ।
शर्माका यी अभिव्यक्ति र कार्यकुशलतालाई सम्झँदै अहिले पनि म समूह समूह भै हिँडिरहेको त्यस्तै जमातको नजिक नजिक हुँदै हिँड्दैछु । र, सम्झँदैछु— अस्ति लेकालीजीले भनेका कुराहरु पनि ।
लेकालीजीले भनेजस्तै हो भने त इलाम आएर विवाह नगर्ने मान्छे, मान्छे नै होइन । त्यसो भए विवाह गर्ने आँट नभएको म जस्तो हुतिहारा मान्छे हुने भइनँ र मसँग आउने अरु पनि मान्छे हुने भएनन् । महिलाहरुले घरजम कि त यतै गर्नुपर्ने भयो, कि त घरज्वाइँ गराउन काठमाडौँ लैजानुपर्ने भयो ।
तर मेरो तर्क थियो — यो उखान विवाहितमा लागु हुँदैन होला ! अविवाहितका लागि मात्र बनाइएको होला ! या पुरानो जमानाका लागि मात्र सम्भव थियो होला ! नत्र पहिलेजस्तो अहिले कहाँ छ र, जति राख्न पनि पाइने ! कानुनले बाँधेको पो छ त अहिलेको समाजलाई । के कानुन विपरीत विवाह गरेर वहुविवाह गरेको अभियोगमा जेल जानु छ र ?
तर्कना उठ्दै थिए मेरो मनमा यस्तै यस्तै । इलाम बजार परिक्रमा गर्न निस्केको हाम्रो साहित्यिक जमात पुग्यो — टुँडिखेल ।
टुँडिखेल छेउको पिचरोड वारि पारि आशन जमाएर बसेका रहेछन् — भानुभक्त र रत्नकुमार वान्तवा । इलामका होनहार युवा वान्तवा स्वतन्त्रता संग्राममा मारिएका थिए— देउमाइ खोला किनारमा । अहिले उनको सालिक राखिएको रहेछ— टुँडिखेल छेउमा । प्रस्तावित लिम्वुवान् राज्यमा भानुभक्तको सालिक सकुशल देखेर खुशी लाग्यो । वास्तवमा इलामेली जनता सहिष्णु रहेछन्, नेपाल र नेपाली हुनुको मर्म बुझेका रहेछन्, सबै जात जातिको सम्मान गर्न जान्दा रहेछन् ।
लेकालीजीको अगुवाइमा हिँडेका छौँ हामी । उहाँलाई साथ दिने प्रदीप घिमिरे लगायतका अरु इलामेली भाइहरु पनि छन् । हामी त्यहाँबाट उक्लेर महेन्द्ररत्न बहुमुखी क्याम्पसतिर लाग्दैछौँ । कुनै बेलाका चर्चित नेता बेनुपराज प्रसाईंको घर त्यहीँ नेर पर्दाेरहेछ ।
हामीले क्याम्पस परिसरलाई पनि अवलोकन गरेका छौँ । उच्चस्थानमा रहेको त्यस क्याम्पसको वाटिकाबाट सुन्दर देखिँदोरहेछ इलाम बजार । क्याम्पसका प्राध्यापक केशबहादुर राई पनि हाम्रो साथमा छन् । उनलाई पनि धेरै थाहा छ बजार र बजार नजिकका दर्शनीय स्थलहरुका बारेमा ।
औँलो सोझ्याएर बताउँदैछन्— नारायणस्थान मन्दिर, अरनिको सांस्कृतिक सङ्ग्रहालय, सेतीदेवी मन्दिर, भीमसेनस्थान मन्दिर, माइस्थान, हिल टावर आदि ।
उनले बताएका स्थानहरु कुनै देखिन्छन्, कुनै दिशा र दूरी मात्र निर्धारण गरिन्छन् ।
उनले इलाम बजारबाट केही दूरीमा रहेका दर्शनीयस्थलहरुको पनि परिचय गराउँछन्— जहाँ हामीलाई जान सम्भव थिएन । तर उनले जे जति बताए, ती सबै ठाउँ हेर्न र घुम्न करिब एक हप्ता समय लाग्ने अनुमान गरेँ मैले ।
तीन घण्टा हिँड्दा पुगिने ८० फिट अग्लो स्थानबाट खसेको झरना कति सुन्दर होला ! प्राकृतिक रुपले मनोरम तथा सूर्याेदय र सूर्यास्त हेर्न सकिने गजुरमुखी कति मनमोहक होला ! प्रकृतिको मनोरम स्थल छिन्टापु कति रमणीय होला ! शुभ्र हिमशृङ्खला र सूर्योदय तथा सूर्यास्त देख्न सकिने सन्दकपुरको सुन्दरता कति अवर्णनीय होला !
राईका कुरा सुन्दै अगाडि बढेका छौँ हामी । बाटैमा एउटा थोत्रो पुरानो घर भेटिन्छ । लेकालीजीले बाटोछेउमै उभिएको एउटा घर देखाउनुहुन्छ — ‘यो चिया बनाउने पुरानो टुकटुके मेशिन भएको घर । तर अहिले बेवारिस छ । अत्याधुनिक मेशिनहरु आएपछि पुरानिएर थोत्रियो यो ऐतिहासिक वहुमूल्य मेशिन । अब कसलाई के वास्ता थोत्रिएर थन्किएको पुरानो मेशिनको !’
अनि भेटिन्छ, नेपालकै सबैभन्दा पुरानो चिया बगान । यहीँबाट फस्टाउँदै गयो चिया खेती र फैलिँदै गयो इलामभरि । अनि पुुग्यो झापा, सुनसरी र मोरङसम्म ।
लभर्स प्वाइन्ट नाम दिइएको एउटा थुम्को देखिन्छ त्यहीँ माथिपट्टि । हामी एक फन्को मारेर पुग्छौँ— त्यस ठाउँमा । त्यहाँबाट बडो सुन्दर देखिँदो रहेछ पश्चिमोत्तर दृश्य । पश्चिमी पाखोमा चिया बगान अत्यन्त फस्टाएको देखिन्छ । सुवासचन्द्र नेम्वाङको गाउँ पनि देखिँदो रहेछ त्यहाँबाट ।
लभर्स प्वाइन्टमा जोडी जोडी बस्नका लागि ठाउँठाउँमा प्यारापीठहरु बनाइएका रहेछन् । ती ठाउँहरुमा केही जोडीहरु बसेका देखिँदै थिए । लेकालीजी देखाउँदै हुनुहुन्थ्यो— कागको जोडी । उहाँ प्रमाणित गर्दै हुनुहुन्छ— ‘यहाँ मानिसमात्र होइन चराहरु पनि जोडीबिना बस्दैनन् ।’
‘त्यसो भए त हामी एक्लै यहाँ आउन नहुँदो रहेछ । यहाँ अब सन्ध्याको जोडीमात्र बस्छ, अरु सबै आउट ।’— मेरो भनाइ रहन्छ ।
त्यसपछि हामी हिल टावरतिर अभिमुख भएका थियौँ । दायाँ बायाँ, अघि पछि जताततै चिया बगान । चिया बगानकै बीचबाट बनेको मार्ग हुँदै निर्माण भरहेको हिल टावरको अलिकति तलसम्म पुग्छौँ हामी ।
राणकालीन दरबार रहेछ त्यहीँ एउटा । राणकालमा पूर्वी क्षेत्रको राज्यसञ्चालन त्यहीँबाट गरिँदो रहेछ । एउटा नाटक घर पनि भेटियो बाटैमा । जहाँ पहिले नाट्य–मञ्चनहरु गरिन्थ्यो, तर अहिले हल थोत्रो भइसकेको छ । त्यहीँ नजिकै एउटा प्राचीन पोखरी पनि रहेछ, जुन अहिले संरक्षण विहीन देखिँदैछ । अर्काेतर्फ एउटा थुम्कोमा रुख बिरुवाले घेरिएको एउटा घर पनि देखिँदै थियो । म जिज्ञासा राख्दै थिएँ, त्यो राजनीतिज्ञ केवी गुरुङको घर रहेछ ।
अनावरण हुन बाँकी एउटा सालिक पनि भेटियो बाटैमा — त्यो सालिक विष्णु नवीनको रहेछ । सभामुख सुवासचन्द्र नेम्वाङद्वारा अस्ति अनावरण हुने भनिएको विष्णु नवीन र भाषासेवी महानन्द सापकोटाको सालिक अनावरणको कार्यक्रम कुन्नि के कारणले रोकियो खोई !
यी सबै अवलोकन गर्दै हामी पुनः बजार प्रवेश ग¥यौँ । इलामका प्रथम एमए कुमार श्रेष्ठको घर भेटियो बजारैमा । उनैका भाइ राजनीतिज्ञ भगवती दास श्रेष्ठको पनि घर देखियो सँगसँगै ।
बजारका बिक्री कक्षहरुमा प्रायः बाँसका सामान अत्यधिक संख्यामा देखिन्थे । तर त्यति सस्ता चाहिँ लागेनन् ती सामानहरु । तथापि विशेषगरी नारीवर्ग आकर्षित थियो बाँसका सामानहरुमा । गीताले त कति चाँडो किनेर ल्याइसकीछन् — हजार हजार हालेर दुईवटा स्टुल । मैले भनिदिएँ — ‘इलामको चिनो भनेर लैजानुहुन्छ भने त ठीकै छ, तर सस्तो पाएँ भनेर चाहिँ नलैजानुस् ।’ त्यसपछि उनले तुरुन्त लगेर फिर्ता गरिन् । मैले चिनो नै भनेर ‘क’ श्रेणीको चिया हैन भन्ने जान्दाजान्दै पनि किनेँ एक किलो चिया । मेरो सिखो गरेर रामबाबु सुवेदीले पनि किने ‘ए’ ग्रेडको नाममा ‘सी’ ग्रेडको चिया । किन्दै पनि थिए र भन्दै पनि थिए रामबाबु — ‘ब्यापारीले भन्दैमा हामी कहाँ पत्याउँछौँ र ! ‘ए’ मात्र होइन ‘वी’ ग्रेडको चिया पनि हामी खान पाउँदैनौँ । त्यो सबै जान्छ — जापान, युरोप र अमेरिकातिर ।’
चिया बाहेक इलामका चर्चित सामानहरु रहेछन् — अलैँची, घिउ, बम्बैसन, छुर्पी, चीज, अकबरे खुर्सानीको अचार, ढाकाटोपी, घरबुनाका रुमालहरु । तर डा. शर्माले प्रशंसा गरेको ललिपपको चर्चा भने त्यति सुनिनँ मैले अरुको मुखबाट । उहाँलाई के प्रभाव परेछ कुन्नि ! लाली लगाएर पो राम्रा देखिएका हुन् कि इलामे केटी, ललिपप खाएर ! जसरी लागे लागे, डा. तारानाथ शर्मालाई लागे । किन लागे भनेर म प्रश्न किन गरिरहूँ ?
बजार परिक्रमा सकिएको छ र बजारलाई बाइबाई गर्ने बेला पनि भएको छ ।
अब हामी बस चढेर करफोक जाने छौँ र त्यहाँ आयोजना हुने समापन समारोह पश्चात् हामी आजै बेलुका काठमाडौँ प्रस्थान गर्नेछौँ ।
बस प्रतीक्षारत छ बसस्टपमा । क्रमशः चढ्दै जान्छौँ हामी । तर नारीवर्ग बस्ने गरेका सिटहरु प्रायः खालि देखिँदै छन् । लेकालीजी छटपटिँदै हुनुहुन्छ— ‘नौ बजे प्रस्थान गर्ने भनेको समय खस्किएर दुई घण्टा पर पुग्न थालिसक्यो । समाचार आइरहेको छ करफोकबाट — स्वागतको पूर्ण तयारीमा छन् रे करफोकवासीहरु !’
तर अपसोच ! आयोजक बाहेक अरुलाई बेरै भएको छैन कि ! आयोजकको पीडा आयोजना गर्नेलाई मात्र थाहा हुन्छ, अर्थात् बन्चरोको चोट अचानोलाई मात्र थाहा हुन्छ ।
सबैभन्दा पछि पर्छिन् गीता । उनको प्रतीक्षामा अधिक समय खर्चनुपर्छ हामीले । सायद उनलाई इलामले मोहनी लगाएको छ, इलामका सामानले मोह जगाएको छ । खासगरी बाँसका सामानमा उनको आशक्ति बसेको छ । यत्तिमात्र थाहा छ हामीलाई । तर घरजम गरेरै बसीहोलिन् भन्ने शङ्का चाहिँ छैन हामीलाई ।
केही क्षणपछि एउटा गह्रौँ झोला झुन्डाएर आइपुग्छिन् गीता । गीताको आगमन सँगै हामी इलाम बजारलाई नमस्कार गर्छाैँ । जसरी हामी इलाम बजार पुगेका थियौँ अस्ति, त्यसैगरी फर्केर माइखोलामा ओर्लिन्छौँ र गोदकको उकालो उक्लेर करफोक पुग्छौँ ।
करफोक विद्या मन्दिरको मूलगेट अगाडिपट्टि बाटोको दुईतर्फ लामलस्कर देखिन्छ स्वागतार्थीहरुको समूह ।
डा. तारानाथ शर्मा पुरिनुहुन्छ माला र फूलले । हामीहरु पनि सजिन्छौँ फूल र मालाले ।
विद्यालयका संस्थापक स्वामी १०८ सोमेश्वरानन्दको प्रतीमा र सरस्वतीको मूर्तिमा पूजा अर्चना गरेर हामी प्रवेश गर्छाैँ विद्यालय परिसरभित्र । मृदङ्ग र झ्यालीको धुनसँगै जलघडा लिएका कन्याहरुले अगुवाइ गर्छन् हामीलाई । हामी पुग्छौँ खेल मैदानमा र बस्छौँ भव्यरुपमा सजिएको मञ्चमा ।
मेरा आँखा घुम्छन् तीनतिर । कल्पना गर्छु— प्रकृतिको यति सुन्दर सिर्जना पनि हुन सक्छ ? फुटबल खेलमैदान तन्किएको छ— चाहिनेजति लम्वाई चौडाईमा । र, त्यस मैदानलाई पहरा दिइरहेका छन् तीनतिरबाट अग्ला अग्ला रुखहरुले । ती रुखहरु स्वयं उत्पन्न भएका हुन् भन्ठान्छु म । तर डा. शर्माका कुरा सुनेर अचम्मित हुन्छु । उहाँले पढाउँदा ती रुखहरु एउटै थिएनन् रे !
मलाई सम्झना हुन्छ २००९ सालको ।
जुन समयमा मेरो जन्म पनि भएको थिएन ।
त्यस बेला प्रथम राष्ट्रिय कविगोष्ठी सम्पन्न भएको थियो— इलामको यही करफोक विद्या मन्दिरमा र उपस्थिति भएको थियो काठमाडौँबाट त्रिमूर्ति (देवकोटा, लेखनाथ र सम) सहितको साहित्यिक टोली । यसैगरी २०१० सालमा द्वितीय राष्ट्रिय कविगोष्ठी पनि त्यहीँ सम्पन्न भएको थियो । नेपाली साहित्यका ती विशिष्ट मनिषीहरुलाई सम्झेर म नतमस्तक हुन्छु र त्यस पूण्यभूमिमा आफू पनि आउन पाएकोमा गौरव महसुस गर्छु ।
समयप्रति सचेत छन् आयोजकहरु । कार्यक्रम  पनि सुचारु होओस् र पाहुना पनि भोकभोकै नपरुन् भन्ने चाहन्छन् उनीहरु । त्यसैले हामी पालैपालो खाना खान जान्छौँ ।
दोस्रो ग्रुपमा परेका छौँ — डा. तारानाथ शर्मा, डा. खगेन्द्र लुइँटेल, रामबाबु सुवेदी, लेकालीजी, गोपीकृष्ण ढुङ्गाना लगायत हामी धेरै जना । हाम्रै समूहमा मिसिएका छन्— गणेश रसिक, कृष्णभूषण बल, तीर्थ श्रेष्ठ र गोविन्दराज विनोदीहरु पनि । उद्घाटन सत्रमा झिलिक्क देखिएर मिलिक्क मिल्किएका रसिक, बल र तीर्थहरुले पनि समय दिएका छन् समापनमा ।
विद्यालयको चमेना गृहमा हामी खाना खाँदै छौँ । खाना बनाउन र खुवाउनमा सक्रिय छन् स्थानीय युवा र बालबालिकाहरु । उनीहरु सोध्न आइरहन्छन् — ‘के ल्याउँ ! के सेवा गरौँ !’
डा. शर्माप्रति विशेष चासो छ आयोजक वर्गको । प्रथमतः इलामे वरिष्ठ साहित्यकार, अर्काे आजको प्रमुख अतिथि । दङ्ग पर्नुहुन्छ — नव यौवनाहरुले सोधेकोमा डा. शर्मा पनि । भन्नुहुन्छ — ‘जे जे ल्याउँछौ त्यही त्यही खाइदिन्छु ।’
साँच्चै नै खाइदिनुहुन्छ — दूध ल्याए पनि, दही ल्याए पनि, जे ल्याए पनि ।
म सोचाइमा पर्छु के जादु छ कुन्नि शर्मामा, भेटेजतिकलाई आफूतिर मोड्न सक्ने ? — सुन्दरता ! वाक्चातुर्य ! वैशिष्ट्य ? निर्णयमा पुग्छु— सबै छ उहाँमा र त आकर्षित हुन्छन् भेट्नेहरु ।
लेकालीजीलाई थाहा छ – ती सबै को को हुन् ! कसको घर कहाँ हो ! कसका बाबुआमा को हुन् र कसका छोराछोरीहरु को हुन् ? आले दाइका छोरीहरु, राई दाइका छोरीहरु र सहिद अशोक श्रेष्ठकी छोरी पनि चिन्नुहुन्छ उहाँ । फिक्कलवासीका अन्य धेरै छोरीहरुलाई पनि चिन्नुहुन्छ उहाँ । सबै सक्रिय देखिन्छन् भान्सामा । ती सबै राम्रा छन् — कामका राम्रा, रुपका राम्रा र पढाइका पनि राम्रा । सबैसँग टाँसिएर फोटो खिचाउन मन पराउनुहुन्छ लेकालीजी । साँच्चै नै रसिक देखिनुहुन्छ लेकालीजी ।
पछाडिबाट आवाज आउँछ — ‘उमेर खाएका, दाह्रिजुँगा नआएका लेकालीजीको टाइटिल मिलेन । ‘रसिक’ हुनुपर्ने मानिस !, ‘लेकाली’ कसरी भयो ? अब टाइटिल बदल्नुप¥यो — राधेश्याम रसिक र गणेश लेकाली ।
कता कता मिल्नेजस्तो लाग्यो मलाई पनि । गणेशजीलाई लेक प्रिय भएर काठमाडौँ छाडेर इलामको लेकतिर बसाइ सर्नुभएको छ । काठमाडौँमा बसिरहेका राधेश्यामजीलाई जहिले पनि रसिक जीवन बिताउनु पर्छ ।
यसैगरी सकियो खानपिन पनि र सकियो कविगोष्ठी पनि ।
प्रमुख अतिथिको मन्तव्य दिँदै डा. तारानाथ शर्माले सगर्व उद्घोष गर्नुभयो— ‘मैले छ वर्ष पढाएको स्कुल हो यो, बुझ्नु भो ? पहिले यति धेरै भवनहरु पनि बनिसकेका थिएनन् र यी रुख बिरुवाहरु पनि केही थिएनन् । सन्त दिलदास (१८२३–१८९०) ले इलाममा फिजाउनुभएको चेतनालाई १९९०–०९१ तिर बनारसबाट शैक्षिक सुधार गर्ने उद्देश्य लिएर आएका सोमेश्वरानन्दले बिस्तार गरे । उनले यसको पल्लोपट्टि हाल ढुङ्गानाहरुको बस्ती भएको ठाउँमा केही समय तपस्या गरे र पछि यसै स्थानमा फुसका झुप्राहरु बनाएर पाठशाला सुरु गरे । २००८ सालमा भाषासेवी महानन्द सापकोटाको अगुवाइमा नेपाल भाषा प्रचारक संघ स्थापना भयो । त्यसपछि नेपाली साहित्यका त्रिमूर्ति लगायत धरणीधर, सूर्यविक्रम, ईश्वर बराल, शङ्कर कोइराला समेतको आगमन र नेपाली राष्ट्रिय साहित्य कविगोष्ठीहरुले शैक्षिक एवं साहित्यिक चेतनालाई व्यापक उर्जा दिने काम ग¥यो ।’
समापन कार्यक्रम चलिरहेकै बेला वितरित करफोक विद्या मन्दिरको मुखपत्र (जुनेली) पल्टाएर हेरेँ मैले— तारानाथले अध्यापन गरेर करफोकको शिक्षासेवामा योगदान पु¥याएजस्तै उनका भाइहरु पुष्पनाथ, लक्ष्मीनाथ र दुर्गानाथले पनि त्यस विद्यालयमा अध्ययन गरेका रहेछन् । त्यसैगरी विधिवत् विद्यालय स्थापना भएको ५० वर्षको अवसर पारेर २०६० साल वैशाख २ गते इन्द्रबहादुर राई, लख्खिदेवी सुन्दास समेतको उपस्थितिमा कविवर माधव घिमिरेको प्रमुख आतिथ्यमा स्वर्ण महोत्सव सम्पन्न भएको रहेछ ।
अनेसास नेपाल च्याप्टर, अनेसा सम्मेलन इलाम, नविन साहित्य प्रतिष्ठान इलाम र करफोक विद्या मन्दिर उच्च मावि तथा वहुमुखी विद्यालयको संयुक्त आयोजनामा सम्पन्न यस समापन कार्यक्रमको सभापतिको आशनबाट प्रधानाध्यापक रत्नप्रसाद ढुङ्गानाले इलामको गौरव र करफोक विद्या मन्दिरको इतिहासबारे प्रकाश पारेपछि कार्यक्रम सकिएको थियो । त्यसपछि मञ्चमा थुप्रै क्यामेराहरुबाट सामूहिक फोटो खिचिएको थियो ।
करफोकबासीको भावपूर्ण बिदाइपछि बसबाट काठमाडौँ फर्कँदै गर्दा म सय वर्षपछिको सपना देख्दै थिएँ— २००९ सालमा प्रथम राष्ट्रिय कविगोष्ठीमा भाग लिन जाँदा दार्जिलिङको दास क्यापिटल स्टुडियोमा खिचिएको त्रिमूर्ति सहितको सामूहिक फोटो अहिले महत्वपूर्ण भएजस्तै लामो कालखण्ड पश्चात् आजको यस सामूहिक फोटोले पनि त्यस्तै महत्व पाउला कि !

 

प्रतिक्रिया दिनुहोस्

*