आरोहणको तयारीमा

— प्रतीक ढकाल

“माथि एउटा मान्छे मरेछ हिजो” साहु पेम्बाले सुनाए— “उतापट्टिबाट आएको रै’छ, माथि ‘पास’मा आइपुग्ने बित्तिकै ढलेछ । अलि तल ल्याउँदा ल्याउँदै बिति पो गै’छ बाटैमा ।”
“को रहेछ नि ?” हामीमध्ये नै कसैले सोध्यो ।
“तिब्बती हो रै’छ एउटा…..”
अब भने गोपालदाइको अनुहारमा डरले डेरा ग¥यो । वहाँले पुलुक्क मेरा मुखमा हेर्नुभयो । मैले आँखैआँखाले भनें— डराउनु पर्दैन ।
“तिब्बतीलाई पनि ‘हाई’ लाग्छ र पेम्बादाइ ?” सुवासजीको प्रश्न ।
“खै नलाग्नु पर्ने हो । उनेरु त यस्तैमा हुर्केका मान्छे हुन् । तैपनि कहिले काँही त खै के हुन्छ कुन्नि— तलवितल परी पो हाल्छ । पोहोर पनि एउटा तिब्बती नै मरेको थियो ।”
मलाई लाग्यो— अब यहाँको बसाइ हाम्रालागि उचित हुन्न । उहिले सुनेका भूतप्रेतका कथाले अहिलेसम्म पिछा छोडेको छैन भने यहाँको त अब माहौल नै कहिले कहिले को को मरे ? भन्ने विषयमा केन्दि«त भएर जानेछ । अरुले प्रश्न उठाउनेछन्— अनि पेम्बाले धमाधम कथा सुनाउनेछन् । मौका परे थपथाप पनि पार्लान्— किनकि हामीलाई ती कुराबारे थाहा भएकै हुँदैन । नथपे पनि तथ्यहरु नै हाम्रालागि अत्यासलाग्दा हुन सक्छन् ।
मेरा संझनामा ती अनेकौं मान्छेहरु आए— जो सानो संजोगले मात्र बाँचेका थिए । अनि त्यस्ता अभागी अनुहारहरु पनि आए जो सानो गल्तीले गर्दा मृत्युको मुखमा परेका थिए । हिंड्न नजानेका कारणले मर्नेहरुको संख्या पनि ठूलै छ । ‘हाई’ लागेको मान्छेले कसरी आफूलाई ‘हाई नलागेको’ भनेर जिद्दी गर्छ, कसरी एकोहोरो बन्छ, कसरी ठीकै त छु नि भनेर देखिन खोज्छ भन्ने कुरो त मैले कैयौं अनाडी ‘सम्पर्क अधिकृत’हरुको संगतबाट थाहा पाएकै छु नि !
अब यहाँ बस्नु भनेको गोपालदाइलाई नकारात्मक मनोवैज्ञानिक प्रभाव पार्नु हुनेछ भन्ने सोचेपछि मैले नै मुख फोरें— “अब गएर सुतिहालौं । भोलि त बिहानको ४ः०० बजे नै उठ्नुपर्छ ।”
कोठामा त गयौं— तर को सुत्न मान्थ्यो र ?
बरु बिहानका लागि तयारी पो गर्न थाल्यौं । लठ्ठी, टर्चलाइट वा हेडल्याम्प, न्याना लुगाहरु, बाक्ला मोजा, पञ्जा, ट्राउजर, हावा छेक्ने ज्याकेट, गेटर आदि सबै भेटिने ठाउँमा राख्नका लागि भनें सबै साथीहरुलाई । डेप्याकको एकदमै भेटिने ठाउँमा लसुन, टिमुर राख्न, कालो चश्मा तयारी हालतमा राख्न, तुमलेटमा तातो पानी हाल्ने प्रबन्ध गर्न, टाउकोलाई चिसो हावाबाट बचाउने व्यवस्था मिलाउन पनि हामीले बिर्सेनौं ।
“४८५० मिटरको उँचाइमा रात बिताउँदैछौं हामी । यो डराउने कुरा होइन; गौरव गर्ने कुरा हो । भोलि बिहान आठ बजेभित्रै हामीले ५४१६ मिटर उँचाइको यस पासको शिखरलाई आप्mना पाइतालामुनि पारिसकेका हुनेछौं । सानो कुरो हो यो जीवनको ? यो उँचाइ नै तपाईहरु कतिपयका लागि आफूले टेकेको जीवनमै सर्वोच्च विन्दु हुन सक्छ । अनि सानो कुरो हो यो ? यसो सोच्नोस् त— के हाम्रा पूर्खाले यो स्वर्गमा टेक्ने मौका पाए ? के हाम्रा छरछिमेकीले यो स्वर्गलाई देख्ने मौका पाएका छन् ? पाएका छैनन् नि ! यो त जो पुण्यात्मा छ— त्यो मात्रै आइपुग्ने ठाउँ हो । यो त साक्षात मुक्तिनाथको पनि शिर नै हो— भला कसरी दर्शन गर्न पाइन्छ साना पुरुषार्थले ? जीवनमा भेट्न सकिने ज्ञानगंगा यही हो । हाम्रा लागि सगरमाथा, कञ्चनजंघा र अन्नपूर्ण पनि यही हो । भोलि बिहान यसको शिरमा आप्mनो शिर नुगाएपछि जिन्दगीले एउटा पूर्णाहूति गरेको ठहर्छ । कि कसो साथीहरु ?” मैले सबैका आँखामै हेर्दै सोधें । किन पनि भने— ‘सुवासजीलाई पनि आज अलिकति ‘अनइजी’ भा’को छ रे । टीकाजीको कथा पनि त्यस्तै त्यस्तै छ ।
गोपालदाइमा ठूलो जिज्ञासा छ— यी साना साना सिलिण्डरहरुबाट कसरी अक्सिजन लिइन्छ भन्ने । मैले सबै कुरो, तरिका र पद्घति वहाँलाई देखाउँदै भने— “तर यो सानो नली चाँहि म तपाईंलाई दिन्नँ । तपाईले देख्ने ठाउँमा राख्दिन पनि । जिज्ञासावश तपाईंले मेरा आँखा छलेर यो अक्सिजन प्रयोग गरिदिनु भयो भने र पछि साँच्चै आपत् प¥यो भने हामीलाई ठूलो मुश्किल पर्छ । अहिले सबैले तपाईंलाई कमजोर ठह¥याएर हेरेका छौं । तर साँच्चै पर्ने बेलामा कसलाई आपत् पर्छ भन्ने कुरा पहिल्यै थाहा हुँदैन ।”
अनि मैले पेम्बा दोर्जी शेर्पाको कथा सुनाएँ । नाम्चेमै जन्मेका, नाम्चेमै खाए खेलेर हुर्केका उनी कसरी केही वर्ष काठमाडौं बसेर पछि घर जाँदा राति नै ‘हाई’ लागेर अप्ठेरोमा परेर हत्त न पत्त तल्लो गाउँतिर झार्नु प¥यो । उनी त्यहींकै शेर्पा थिए— तर आप्mनै घरमा ‘हाई’ लाग्यो । शरीरले नसहेपछि कसको के लाग्छ ?
सबै सामानहरु चुस्त, दुरुस्त र तन्दुरुस्त पारेर हामी आ–आप्mनो ओछ्यानमा ढल्कियौं । तर कोही निदाए पो ! यसो एकछिन् आँखा चिम्लियो— उता टीकाजीले गुन्गुनाएको विष्णुसहस्रनामका श्लोकहरु सुनिन्छन् । फेरि यसो आलेटाले ग¥यो उता सुवासजी भन्दै हुन्छन्— “त्यो के रे, त्यो मान्छे हालेर उँधोतिर कुदाउने थैलो….. त्यो काँ पाइन्छ नि ?” कोही निदाउन लाग्छ अनि गोपालदाइले सोध्नुहुन्छ— “तर मलाई चाँहि किन निन्द«ा नलागेको नि ?”
राजेशदाइ पनि निदाउनु भएको छैन । घरी उठेर तातोपानी खानु हुन्छ । घरी पिसाब गर्न जानु हुन्छ । अनि भर्खर ब्युँझे जस्तो गरेर सोध्नु हुन्छ— “कति बज्यो हँ ?”
बल्ल बल्ल गुज्रियो यो चिसो रात । आँखाका डिलमै बास बसेर गयो यो कठ्यांग्रिंदो रात ! कसैलाई पनि झिमिक्क गर्न नदिई पूरै जाग्राम बसेरै गयो यो रात ।
हामी किन निदाउन सकेनौं ? डरले ? आशंकाले ? कि सन्त्रासले ? परिवार संझेर ? मरिएला कि भनेर ? कि बाँच्ने प्रयास गर्न ? के निद«ा मृत्यु हो ? के हामी वास्तवमै निद«ा छल्न बसेका थियौं त ? के हामीलाई साँच्चै नै निद«ाको मीठो ललिपप देखाएर त्यसका पछिपछि मृत्युका चिसा चिसा हातहरुले हाम्रो घाँटी बेर्न आउँछन् भन्ने नै डर थियो त ?
थाहा छैन । कारण केही पनि छैन । कुरो पनि केही छैन । तैपनि हामी निदाएनौं । एकजना वा दुई जना मात्र सुत्न नसकेको भए सायद  कुरो बेग्लै हुन्थ्यो होला । तर हामी त ५ मा ५ नै निदाएनौं । म बाहेक अरु सबै जना नाम चलेका स्कूलका संस्थापकहरु भएको यो टिममा हाम्रो रिजल्ट ‘निल’ आयो । सेन्टर नै ‘निल’ भयो ।
राजेशदाइ खुसुक्क उठ्नु भो र दाह्री काट्न थाल्नुभो । मलाई थाहा छ, अब वहाँले अनेकौं किसिमका क्रिमहरु दल्नु हुनेछ अनुहारमा । अनेक थरीको सेण्टहरु छर्किनु हुनेछ शरीरमा । अनि बल्ल साथीहरुलाई भन्नुहुनेछ— “उठ्ने होइन ?”
हामी पनि सबै उठ्यौं । बिहानको कर्म सिध्यायौं । ट्वाइलेटमा पानी होइन; हिउँको बडेमानको डल्लो छ । तातोपानी मागेर सबै काम सिध्यायौं ।
अब हामी वास्तवमै ‘कुच’ गर्ने तयारीमा छौं । सबै लुगा लगाइसकेर त्यसमाथि वर्षादी ओढ्दा हामी रोपाइँमा खेतालो हिंड्न ठिक्क परेका मान्छे जस्ता देखिएका छौं ।
पर बाटोतिर हेरेको त राँके भूत झैं झलमल्ल बत्तीहरु बलिरहेका रहेछन् । यात्रीहरुले त अघि नै बाटो नाप्न थालिसकेछन् । हिंड्नेहरु त चराभन्दा पनि पहिले नै उठिसकेछन् । जाँगरिलाहरुले त परको देउराली पनि काटिसकेछन् । मनमा लाग्यो— अहा, तब पो संसार । जिउँदै स्वर्ग हिंडेका युधिष्ठीरका बथानहरुले त पूरै डाँडो ढाकिसकेछन् ।
घडी हेरें— भर्खर ४ः४० भएको छ बिहानको । मेरो जीवनमा चाँडो उठेका थोरै दिनहरुको सूचीमा यो एउटा दिन पनि थपियो । अनि जस्तो दृश्य देखियो त्यसको फोटो हृदयकै क्यामेराले खिच्यो । द्रष्टा, दृश्य र दर्शन तीनवटै चीज जाडोले जमेर एउटै डल्लो भए झैं लाग्यो ।
हृदयभित्रैबाट कसैले भन्यो— “धेरै दिनपछि आज यो एउटा ठीक काम गरिस् केटा ।”

(ढकालको प्रकाशोन्मुख कृति “परिक्रमा अन्नपूर्ण” बाट)

प्रतिक्रिया दिनुहोस्

*