जनावरको भान्छा

- रमेशचन्द्र घिमिरे
बालकविता

यता आऊ जेठा, माहिला यता आऊ कान्छा
हेर, हेर कस्तो राम्रो जनावरको भान्छा
भान्छा हेर्ने मुख्य-मुख्य तीन्टा खेताला छन्
यौटा कुकुर, यौटा बाँदर, यौटा बिराला छन्
गाह्रो हुन्छ भनी साथी चिन्ता मान्छौ किन ?
भन्दै आए अरू तीन यिनलाई साथ दिन
कुखुरा र ब्वाँसो अनि कमिला नि आए
कुकुर, बाँदर, बिरालालाई साथ दिन लाए
खिर पकाउने जिम्माचाहिं बिरालाले लियो
खिरमा राख्ने नरिवल बाँदरले पो दियो
आज हाँस्नुपर्छ साथी झार्नुहुन्न आँसु
भन्दै ल्यायो कुकुरले सत्र धार्नी मासु
कुखुराले चामल ल्यायो कमिलाले चिनी
अल्छी ब्वाँसो थाक्यो होला जिरा पिनी-पिनी
के अचम्म बिरालो नि शान्त रहेको छ
फ्याउरो सुधो ब्वाँसो साधु उल्टो भएको छ
जनावरको संविधानमा बाँदर पनि छिर्‍यो
कुकुरले साथीभाइको पैंचो आजै तिर्‍यो
स्याबास भन्छु कमिलालाई बसिस् मुख धानी
बधाई दिन्छु कुखुरालाई रैछस् तँ नि दानी
आज मैले जनावरको भान्छा देख्न पाएँ
यिनको मिल्ती देखेर नै यति लेख्न पाएँ ।

-भोर्लेटार, लमजुङ

प्रतिक्रिया दिनुहोस्

*