नयाँ आगो

- हरिहर तिमिल्सिना

झोसेर आगो आफ्नै पुच्छरमा
जलाइरहेको छु आफ्नै लङ्का
मलाई मान्छे बनाउने पुर्खाहरू
माफ गर–
म पनि आज बाँदर भएको छु !

यो राज्यको टाउको
खाल्डोबाट कहिल्यै माथि उठेन
उग्राइरह्यो
सुनको भाँडोमा भुस्सा भोजन गरेर

नरबाट बाँनर भएको ‘म’ अर्थात्
मान्छेवहादुर नेपाली
आज उद्घोष गरिरहेको छु–
अब मलाई चाहिँदै चाहिँदैन
अन्याय बाँढ्ने न्याय
असुरक्षा बाँड्ने सुरक्षा
र आहत पार्ने राहत

बिर्सेको छैन–
देशको नाउँमा
तिमीले मलाई झन्डा बोकायौ
मैले बोकेँ
ठेलीका ठेली सिद्धान्त घोकायौ
मैैले घोकेँ

ढुङ्गा हानेँ,टायर बालेँ
पर्चा छरेँ,तुल बाँधेँ
ज्यानलाई हत्केलामा राखेर
गोलीसित खेलेँ

कुटाइ खाएँ,रगत बगाएँ
गिरफ्तार भएँ, अङ्गभङ्ग भएँ
मभित्रको सग्लो नागरिक
टुक्रा–टुक्रा भएर फुट्यो र
छरियो सडकमा ।

भन, अब तिमी नै भन
कहाँ रोपूँ म मेरो
गिदीको जरालाई ?

मान्छेबाट विभिन्निएको
बाँदर बनाएर छोड्यो आखिर
यो युगले मलाई
अब जे त पर्ला !
कुद्छु सर्वाङ्ग नाङ्गै सडकमा
च्यात्छु अरूले सभ्य भनेका
असभ्यताका साह«ा लक्ष्मण रेखाहरू

आकुल छु प्यासले
निल्न खोजिरहेको छु आगो– पोल्छ
ओल्टाई–पल्टाई गरिरहेको छु

योग्यताको नाउँमा
सीपका नाउँमा
सम्पत्तिका नाउँमा
राज्यले हातमा थमाएको
यही एउटा आगो  बाँकी छ मसित

फूललाई जस्तै गरी
काँडालाई सखाप पार्छ कि पार्दैन
हेर्नु छ एकचोटि
मान्छेलाईझैँ पानीलाई
डढाउँछ कि डढाउँदैन
बतासलाई पोल्छ कि पोल्दैन
स्वयम् आगोलाई खरानी पार्छ कि पार्दैन ?

ढाल्नु पर्ने कुराहरू धेरै छन्
बाल्नु पर्ने कुराहरू पनि धेरै छन्
सोचिरहेछु–
कहाँबाट झोस्न सुरु गरौँ
यो आगो ?
प्रकाशोन्मुख नयाँ कविता कृतिबाट
सांगा, काभ्रे

प्रतिक्रिया दिनुहोस्

*