पेन लभर्सका लभर्स

—गोपीकृष्ण ढुंगाना

‘लोकतन्त्रको स्थापनापछि स्थापना भएका तीन प्रज्ञा प्रतिष्ठानमा सरकारले समयमै सम्पति बाँडफाँड र कर्मचारीको दरबन्दी मिलान नगर्दा आपसी बेमेल बढेको छ । लामो समयदेखि मुलुकमा एकमात्र प्रज्ञा प्रतिष्ठान रहेको भए पनि लोकतान्त्रिक आन्दोलनपछिको सरकारले भाषासाहित्य, ललितकला र सङ्गीत तथा नाट्यका लागि तीन अलग अलग प्रज्ञा प्रतिष्ठान गठन गर्न कानुनी व्यवस्था गरी कुलपतिलगायतका पदाधिकारी नियुक्ति गरेको थियो ।
स्थापनाकालमा नेपाल प्रज्ञा प्रतिष्ठानबाट १२ कर्मचारी काजमा लगेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले हाल ती कर्मचारी आफूलाई आवश्यक नपर्ने भएकाले फिर्ता लैजान कमलादीस्थित प्रज्ञा प्रतिष्ठानलाई पटकपटक लिखित आग्रह गरेको छ । ती कर्मचारीलाई भने आफू स्थायीरूपमा कुन निकायको दरबन्दीमा कार्यरत हो र निवृत्तिभरण पाउँदा कताबाट पाउने हो भन्ने अन्योल उत्पन्न भएको छ ।’
पेन लभर्स इन नेपालमा गत बिहीबार सम्प्रेषित समाचार हो यो । राससका संवाददाता प्रकाश सिलवालको साहित्यिक रिपोर्टलाई यहाँ समेटिएको हो । अन्य सञ्चारमाध्यमजस्तै यसले पनि समाचार स्रोतलाई उद्धृत गर्छ । साहित्यिक पत्रकारितालाई बढावा दिन र हरघटना हरक्षण थाहा होस् भनेर पनि यो सुरु गरिएको हो । जनमानसमा छिटो र छरितोरूपमा साहित्यिक  समाचार र सूचना पुगुन् भन्ने पनि किशोर पहाडीको चाहना हो ।
पहाडी र पेन लभर्स परिपूरक र पर्यायवाची बनेका छन् यतिबेला । भाषा, साहित्य, साहित्यकार र पत्रकारसँग सम्बन्धित सबै किसिमका लामाछोटा समाचार र सूचनामा केन्द्रीत छन् साहित्यकार किशोर । फेसबुकमा पेन लभर्स इन नेपाल नामक छुट्टै पेजमार्फत् उनले किताब विमोचन हुन लागेको खबरदेखि साहित्यकार बिरामी परेका सबै किसिमका सूचना यही पेजमार्फत् सम्बन्धित सबैलाई विगत चार वर्षदेखि सम्प्रेषण गर्दै आएका छन् । भन्छन्, ‘खासगरि साहित्यिक पत्रकारितालाई बढावा दिन पेन लभर्स इन नेपालको सुरुवात गरेको हुँ ।’
पहिल्यैदेखि समाचार हेर्ने क्रममा उनको रुची साहित्यिक समाचारमा जाग्दै गयो । यहीक्रममा ‘सौरभ’ पत्रिका निकाल्न थाले । तर मनलाग्दा मात्रै । ‘विपी कोइरालाका कृतिहरूमाथि एकाधिकार’, ‘मधुपर्कले भोज खुवायो’, ‘प्रज्ञा प्रतिष्ठान फेरि विवादमा’, ‘साहित्यमाथि आक्रोश किन ?’, ‘नेपाली र नेपाली भाषालाई संवैधानिक मान्यता’ जस्ता शीर्षकमा विभिन्न साहित्यिक गतिविधि समेटेर सौरभ निस्कन्थ्यो । ‘यसमा साहित्यकार र साहित्यिक समाचार निकाल्थें, १० पृष्ठको । विमोचन, पुरस्कार कसले पायो, साहित्यिक जगतमा हुने नयाँ कुरा आदि समेटेर निकाल्थें । भेटेकालाई बाँड्ने गर्थे । त्यसरी कतिसम्म सकिन्थ्यो र ? सकिएन’, उनी विगत स्मरण गर्छन् ।
समयको बदलिँदो रूपसँगै कम्प्युटर र इन्टरनेटको जमाना आयो । फेसबुक सुरु भयो । सुरुमा नेपाली कम विदेशी धेरै हुन्थे फेसबुकमा । चिनेकाहरू पनि कम भएपछि कम चलाए किशोरले पनि । क्रमश ः नेपाली भेट हुन थाले फेसबुकमा । फेसबुकमा उनले पेज सुरु गरे, ‘पेन लभर्स इन नेपाल’ । तर त्यतिबेला नेपालीमा कसरी लेख्ने ? थाहा थिएन उनलाई । ‘युनिकोड पनि थाहा थिएन । पेजमा पेन लभर्सलाई कसरी लैजाने भन्ने क्रममा यो सुरु भयो । सन् २००८ को सेप्टेम्बरमा सुरु गरें । यसरी फेसबुकमा पेज छुट्टै गरेर काम गर्ने सायद नेपालमा यो नै पहिलो हो कि ?’, उनी भन्छन् ।
पहिले समाचारको रूप बनाउने भन्ने थिएन । यसमा सम्बन्धित व्यक्ति सदस्य बन्न थाले । उनीहरूलाई कुन विधा बढी पढ्न मन लाग्छ भनेर केही विकल्प दिए उनले । कसैले उत्तर दिए, कसैले दिएनन् । ललितपुरमा अवस्थित उनको घर पुग्नासाथ गेटमा देखिन्छ, ‘एकान्त गेट’ । ‘साहित्यकार प्रायः एकान्तप्रिय नै हुन्छन् । म पनि एकान्त मन पराउने र धोबिघाटको अफलडोलमा २०४५ सालमा म आउँदा दुई चार घरमात्र भएकाले यो ठाउँ एकान्त पनि थियो । त्यतिबेला घरको नाम राख्न मन लागेकाले एकान्त गेट भनेर राखेको हुँ’, उनी थप्छन् । साहित्यबाहेक व्यापारमा संलग्न छन् उनी ।
खानेपानी संस्थानमा ओभरसियर पदमा १० वर्ष काम गरे उनले २०४३ सालसम्म । पुल्चोकमा भिडियो क्यासेट र कोल्डस्टोरको पसल खोले त्यसपछि । ‘पसल छोडेपछि पेन लभर्सतिर लागें । तर यसमा पैसा भन्दा पनि समय बढी खर्चिनुपर्छ । पुस्तक र ल्यापटप किन्ने,  कार्यक्रम र साहित्यिक सक्रियताका क्रममा जानुपर्ने भएकाले खर्च हुन्छ तर यो खर्च पेनलभर्स नभए पनि पथ्र्यो होला’, उनी भन्छन् । साहित्यकार भनेका कलमप्रेमी हुन्छन् । फेरी साहित्यकार भनेपछि विश्वभर हुने भएकाले नेपालमा केन्द्रीत गर्दै ‘इन नेपाल’ थपेका रहेछन् । समाचार राख्दा राजनीतिक होस् वा धर्म अनि वृद्ध होस् वा बच्चाका । नयाँ बालबालिका साहित्यमा लाग्दा झनै खुसी लाग्छ । राजधानीमात्र होइन, रोल्पाजस्ता दुर्गम स्थानको पनि समाचार राख्छु । पहिले खोजीखोजी राख्थें, कार्यक्रममा गएर र पत्रिका हेरेर अनि त्यो समाचार देउन भनेर पनि लिने गरेको छु ।
चार वर्ष पुगेछ पेन लभर्स । ‘यो कलिलो र माया गरौं गरौं भन्ने यसलाई अब झनै माया र स्याहारसुसारको खाँचो छ’, किशोर थप्छन्, ‘अब सम्बन्धित मानिस वा संस्थाले नै समाचार र सूचना  पठाउन् अनिमात्र राख्छु भन्ने भावना आइसक्यो । किताब विमोचन हुँदैछ भने मेल गरेर आवरण पठाउँछन् । एक किसिमले व्यापक प्रचार पनि हुन्छ । भेटहुँदा दिनको एकपटक क्लिक गर्छु है भन्नेहरू भेट्छु ।’ आफू बाहिर निस्कँदा यो पेजमा कुनै कुरा अपलोड नहुने उनको भनाइ छ । त्यसो त यसका लागि चारजनाको टिम बनाइएको छ, गोपी सापकोटा, सगुना शाह, मुरारी सिग्देल समावेश भएको समूह । तर पनि अधिकांश अपलोड किशोर नै गर्छन् ।
इमेल र एसएमएस र फोन कल र फेसबुकको मेसेज बक्स र पत्रपत्रिकाबाट लिएर समाचार राख्ने गर्छन् उनी । साहित्य र साहित्यकारसँग सम्बन्धित सबै समाचार राख्छन् । उनीहरूका व्यक्तिगत कुरा पनि । बिरामी होस्, निधनको त त्यसै पनि समाचार बन्ने नै भयो । ‘सिनेमा र सेलिब्रेटीका समाचार धेरै बन्छन्, नेताले जे गरे भए पनि समाचार बन्ने तर साहित्यकारका गम्भीर कुरा वा घटना पनि समाचार नबन्ने भएकाले पेनलभर्स थालेको हुँ’, उनी पेन लभर्स थाल्नुको तर्क प्रस्ट्याउँछन् । २०२८ सालमा कक्षा १० मा पढ्दा किशोरको साहित्यक यात्रा कविताबाट सुरु भयो । घर खण्डहरनामक कथा संग्रह २०३७ सालमा प्रकाशित पहिलो कथाकृति हो । बाँच्नु र बाँचेकाहरू, कथा कोण, विशु दाइ, किंवदन्ती, सहरमा बत्ती निभेका बेला जस्ता कृति उनका प्रकाशित छन् । ‘सर्वज्ञ र सेक्स’ उनको पछिल्लो कथाकृति हो ।
अनुवाद र बालसाहित्यमा पनि किशोर उत्तिकै भिजेका छन् । सर्वनाम नाट्य समूहका संस्थापकसदस्य उनले नाटकमा अभिनय, टेलिफिल्म बनाउने र खेल्ने पनि काम गरेका छन् । ‘सञ्चै हुनुहुन्छ ?’ पेन लभर्सको कोलममा ७० वर्ष पुगेका साहित्यकारको जानकारी सबैलाई होस् भनेर थालेका छन् । जसमा साहित्यकारको फोटो, औषधि प्रयोग, जीवनशैली र लेखपढजस्ता कुरा दिने प्रयत्न गरिएको छ । वर्षदिनभित्र तुलसी दिवस, कुमारबहादुर जोशी, विश्वम्भर चञ्चल, गीता केसरीलगायतलाई सञ्चै हुनुहुन्छ ? भन्न भ्याइसकेका छन् उनले ।
‘समय—अन्तर’ अर्को कोलम हो पेन लभर्सको । यसमा साहित्यकारमा हुने परिवर्तन जस्तै सानोछँदा, युवा र वर्तमान अवस्थामा देखिने अनुहारका तस्विर परिचयसहित राख्ने गरिएको छ । ५० नाघेका साहित्यकारको ‘समय—अन्तर’ मा अबको इच्छा र लेखनीबारे पनि जानकारी दिने प्रयास गरिएको छ । साताको एक दिन शनिबार  एकजना साहित्यकार यसमा राखिन्छ । पेन लभर्सले अपलोड गरेका कुनै सामग्री पनि हटाउँदैन । जसले जतिबेला हेरे पनि पाउँछ । समयअन्तरमा १० जना समावेश भइसकेका छन् । २५ जना तयार गरिसके उनले । समयअन्तर होस् वा सञ्चै हुनुहुन्छ दुवैको काम कहिले मेलबाट त कहिले घरै पुगेर लिन्छन् उनी । विदेशमा रहेकाको पनि मगाइएको छ ।
‘साहित्यिक कार्यक्रम पनि गर्ने गरिएको छ । विपी संग्रहालयमा ५० जना कविलाई लगेर कविता, गीत र गजलको कार्यक्रम र संग्रहालय अवलोकन गराएँ २०६८ सालमा’, किशोर सम्झन्छन्, ‘कथासम्बन्धी कार्यक्रमको तयारी भइरहेको छ । अबको तयारी वेवसाइटमा लैजाने तयारी भइरहेको छ । वर्ष दिनभित्रमा तयार हुन्छ । साहित्यकारका जानकारी, फोन डायरी र साहित्यिक वेवसाइटका लिंक आदि राख्ने लगायतका काम हुनेछ ।’ आगामी वर्षदेखि गद्य आख्यानमा पुरस्कार पनि राख्ने सोच बनाएका छन् किशोरले । उनले अर्को कोलम पनि तयारी गरिरहेका छन्, ‘साहित्यिक वेवसाइट वा व्लगको जानकारी ।’ भन्छन्, साहित्यिक वेवसाइट र ब्लगहरूको पनि परिचय सातामा एकपटक दिने तयारी गरिरहेको छु ।’
यी सबै काम निशुल्क नै गरिरहेका छन् किशोरले । पेन लभर्समा बिहान र बेलुकीमात्र सूचना ‘अपलोड’ गर्छन् किशोर । पेन लभर्सले के दियो त ? भन्छन्, ‘हरपल साहित्यिक सूचना पाएर सूचनामा धनी बनेको छु । यसले मेरो साहित्यिक सक्रियता बढाएको छ तर सिर्जनामा भने केही असर परेको छ ।’ खर्च कसरी जुटाउनुहुन्छ ? भन्छन्, ‘इच्छा लागेका कुरा सबै पैसा कमाउने नै हुन्छन् भन्ने छैन । तर पनि गर्नुपर्दोरहेछ ।’

गोपी कृष्ण ढुंगाना

प्रतिक्रिया दिनुहोस्

*