सुझबुझ

- शुषमा मानन्धर

बालकथा
“बाटोमा जथाभावी नखानू, दायाँबायाँ हेरेर मात्र बाटो काट्नू, यताउता नअल्मलिकन सिधै स्कूल जानू ।” ममीले स्कूलब्याग मेरो हातमा राखिदिँदै भन्नुभयो । हुन त उहाँलाई राम्ररी थाहा छ, म चकचके छैन । म अरु जस्तो जथाभावी बाटो काट्दिनँ, जे पायो त्यही किनेर खादिनँ पनि, तैपनि उहाँ सधैँ म स्कूल हिँड्नुअघि यस्ता नसिहत दिन बिर्सनु हुन्न । “हुन्छ ममी ।” म आफ्नो ब्याग लिएर घरबाट निस्किएँ ।
म आठ क्लासमा पढ्छु । मेरो स्कूल घरदेखि धेरै टाढा छैन । बढी भए, त्यस्तै आधा घण्टा जतिको बाटो होला । टाढा घर भएका साथीहरु भने स्कूलको बसबाट आउँछन् । मेरा तीनजना साथीहरु पनि मसँगै स्कूल जान्छन् । हामी प्रायः बाटोको एक ठाउँमा भेला हुन्छौँ, र त्यहाँ जम्मा भएर स्कूलतिर लाग्ने गर्छौँ । साथीहरुसँग मिलेर स्कूल जाँदा मलाई रमाइलो लाग्छ । तर आज म त्यहाँ पुग्दा साथीहरु थिएनन् । हिजोअस्तिको समयभन्दा सायद आज अलि ढिलो भएर होला, उनीहरु हामी सधैँ भेला हुने ठाउँबाट हिँडिसकेका थिए ।

त्यसैले म पनि छिटोछिटो स्कूलतिर लम्कन थालेँ । “विजय एकैछिन पर्ख ।” शैलेश पछाडिबाट मलाई बोलाउँदै थियो । म मात्र हैन, आज त ऊ पनि ढिलो भएको रहेछ । “हेर न, आज उठ्नै पो ढिला भयो ।” ऊ मनिर आइपुग्दासम्ममा स्वाँस्वाँ भैसकेको थियो । ऊ व्यर्थै आत्तिएथ्यो । हामी समयमा पुग्न नसक्ने गरी त्यति ढिला पनि भैसकेका थिएनौँ ।

हाम्रो अलिअगाडि सडकछेउ पेटीमा एउटा सानो फुच्चे रोइरहेको थियो । ऊ त्यस्तै तीनचार वर्षको हुँदो हो । उसका अघिल्तिर उसका ममीड्याडी वा अरु कोही थिएनन् । ऊ एक्लै उभिएको थियो र दायाँबायाँ हेर्दै आत्तिएझैँ देखिन्थ्यो । मैले शैलेशलाई रुँदै गरेको बच्चो देखाएर किन रोएको हो, सोध्ने हो कि भनेँ । उसको चालामाला देख्दा हराएको हो कि भन्ने शँका पनि लाग्यो ।

“बाटोमा यसरी रुने बच्चाहरु त कति भेटिन्छन्, भेटिन्छन् । हामीले यताउता गर्न थाल्यौँ भने, फेरि स्कूलको लागि ढिला हुन्छौँ ।” ऊ अन्कनायो । वास्तवमा उसले भनेको कुरा सही पनि थियो । तर फेरि सोचेँ, ‘यदि बच्चा साँच्चीकै हराएको रहेछभने, यिनको ममीड्याडीलाई कति पीर परिरहेको होला ? बाटोमा त्यत्तिका गाडीहरु गुडिरहेछन्, बाटो काट्न खोज्यो भने दुर्घटनामा पर्न सक्छ । त्यस्तै कुनै खराब मान्छेले बोकी लिएर गयो भने ?’ दुईवर्षअगाडि हाम्रो घरको पाल्तु कुकुर पपी हराएको सम्झेँ । अर्को दिन पपी आफै घर आइ नपुगुन्जेल, रातभरि हामीलाई कत्रो चिन्ता लागिरहेको थियो ।

“शैलेश एकैछिन कुरौँ है, उसको ममीड्याडी वा अरु कोही आइहाल्लान् कि ? यदि हाम्रो थोरै सहयोगले कुनै राम्रो काम हुन सक्छ भने किन कोसिस नगर्ने ?” मैले शैलेशलाई सम्झाएँ । उसलाई स्कूलमा ढिला हुन्छुकि भन्ने निकै पीर थियो, तैपनि ऊ मसँग पर्खिन राजी भयो । बाटो हिँड्ने मान्छेहरु हामीलाई र रुँदै गरेको बच्चालाई हेर्दै जान्थे, कसैले पनि बच्चा किन रोएको भनेर चासो राखेनन् । हामीले उसलाई फकाउने निकै कोसिस ग¥यौँ, ऊ “ममी जाने” भन्दै रोइ नै रह्यो । न उसका कोही आफन्त नै आए न त, उसको रुवाइ नै कम भयो ।

“हराएको बच्चा जस्तो छ ।” बाटो हिँड्ने एकदुईजना बटुवाले भने पनि । तर कसैले पनि उसलाई सोधपुछ गरेर ठाउँसम्म पु¥याइदिने प्रयत्न गरेनन् । मलाई पनि ऊ हराएको भन्ने, पक्का भैसकेको थियो । मैले शैलेशलाई भनेँ, “तिमी स्कूल जाऊ र प्रकाश सरलाई यसबारे खबर गर । म फुच्चेलाई पर्खेर यहीँ बस्छु । सायद त्यतिन्जेलसम्ममा उसका ममीड्याडी आइपुग्लान् कि ?” हाम्रो क्लास टिचर प्रकाश सर निकै सहयोगी हुनुहुन्छ ।

शैलेश स्कूलतिर दौडियो । मैले त्यो रुँदै गरेको फुच्चेलाई फकाउने कोसिस गर्न थालेँ । ऊ यताउति जाला भन्ने पनि मलाई निकै पीर थियो, त्यसैले उसलाई भुलाउन मैले ब्यागबाट किताब निकालेँ र त्यसमा भएका फोटोहरु देखाउँदै उसकी ममी कुन चैँ हो सोधेँ । ऊ रोएर थाकिसकेको थियो । ऊ चूप भयो र मन नलागे पनि किताबका चित्र हेर्न थाल्यो ।

त्यतिन्जेलमा शैलेश र मंगल सर पनि आइपुग्नु भयो । मंगल सर स्कूलमा प्रशासन हेर्नुहुन्छ । “विजय, तिमी र शैलेश स्कूल जाओ । म यो बच्चालाई प्रहरीको जिम्मा लगाइ आउँछु ।” उहाँले भन्नुभयो । म र शैलेश स्कूलतिर लाग्यौँ । प्रहरी चौकी हाम्रो स्कूलनिरै थियो । मंगल सरले बच्चाको हात समाइ लानु भयो ।
हामी स्कूल पुग्दा, प्रकाश सर क्लासको ढोकैमा हुनुहुन्थ्यो । “आउन त ढिलै ग¥यौ, तर राम्रै कामको लागि भएकोले माफी भयो ।” हामीले निकै ठूलो पुरुषार्थ गरेर आएकाझैँ सब साथीहरु हामीलाई नै हेर्दै थिए ।

पिरियड सकेर घण्टी लागेपछि मंगल सर क्लासमा आउनु भयो । “मैले बच्चालाई प्रहरी चौकी पु¥याउँदा तिनको आमाबुवा पनि बच्चा हराएको खबर गर्न आएका रहेछन् । उनीहरु पसलमा सामान हेर्नमा मस्त भएको बेला बच्चो बाहिर निस्केर अन्त लागेको ख्याल गर्न नसकेकोमा निकै लज्जित पनि भए । छोरो फेला पर्दा साह्रै खुशी भए उनीहरु । मैले तिमीहरुको नाम लिएको छु ।” मंगल सरको कुराले मलाई पनि साह्रै खुशी लाग्यो ।

“अँ, बच्चोका बाबु, एउटा पत्रकार पनि रहेछन् । भोलि तिमीहरुका फोटा सहित, बालकहरुको सुझबुझ भनेर लेख लेख्छु भनेका छन् । अहिले केही बेरमा उनी तिमीहरुलाई भेट्न यहाँ स्कूलमा आउँदै छन् ।” सबै साथीहरुले थपडी बजाए । मैले राम्रो काम गरेँ कि अनावश्यक त्यो त भन्न सक्दिनँ, तर एउटा हराएको बच्चा आमाबुवालाई भेटाइ दिन सकेकोमा मलाई आफू भने हिरो भएछु भन्नेझैँ लाग्यो ।

sumisayemi@gmail.com

प्रतिक्रिया दिनुहोस्

*