बाटोमा एउटी स्त्री

-ज्योति जंगल

अघिअघि
कोरेकी हुँदी हो त्यसले कपाल
या गाजलले
आँखै छोपेर
मुस्काउँथी होली ऐनासँग

तमाम सुन्दरीका जस्तै
नछोपिएका स्तनहरु छन्
वर्षौं ननुहाएको
उसको गन्धले
यो कविता सजाउनु छ
कसको परिचय हो यो
पत्तो लगाउनु छ ।

कयौंपल्ट
भोकको डामलाई
मुस्काएर सह्यो उसको उमेरले
हेर्दाहेर्दै
उस्तै थुप्रै सन्तानहरु जन्माई
र तिनैलाई चिन्न छोडी ।

औंलामा आगो सल्काएर
उज्यालो खोज्नु थियो होला
पीडाको धारले मनमात्र चिरिछ,
जिन्दगी बिगार्नेलाई
प्रहार गर्नुपथ्र्यो होला
विद्रोहको घनले
आफ्नै जीवन फोरिछ ।

पसिनाको पोखरीमा डुबाएर
चेतनाको हत्या गराउने
अधिकार कसको छ हँ ?

ऊ त,
वेदनाको चुली ठड्याएर
व्यर्थै चट्टान भइछ
बोल्दिन हाँस्दिन
हेरिरहन्छे,
आँखै जुधाउन नसक्ने गरी
जीवनको प्रेम पनि बोक्छे,
यो कस्तो परिचय हो ?
मान्छेहरु बहुलाही भन्छन् ।

तमाम सुन्दरीका जस्तै
नछोपिएका स्तनहरु छन्
मानौं, ऊ नङ्ग्याइरहेकी छे
यो दुनियाँलाई
या मेरै कवितालाई ?

बिराटनगर, नेपाल

प्रतिक्रिया दिनुहोस्

*