गँड्यौलो र गँड्यौली

- रामबाबु सुवेदी

जुली भन्दै थिई, “सुमन दाइ ! हेर्नुहोस् त हाम्रा पाठापाठी ! तपाईंका पाठापाठी मरन्च्याँसे स्याल जस्ता, हाम्रा पाठापाठी खाइलाग्दा मृगका पाठा जस्ता !”
जुलीका बा नारन्दत्त काका किसान हुनुहुन्छ । उहाँका खेतमा सबभन्दा राम्रा बाला झुल्छन् । बारीमा सबभन्दा राम्रा मकैका घोगा फल्छन् । उहाँका कटेरामा मोटामोटा दुहुना भैँसी छन् । उहाँका गोरु, गाई, खसी–बाख्रा, सबै चिल्ला–चिल्ला छन् ।
हाम्रो पनि खेतीपाती छ तर नारन्दत्त काकाको जस्तो राम्रो छैन । हाम्रा पनि गाई, भैँसी छन् तर काकाका जस्ता मोटाघाटा छैनन् । मेरो बुबाले खेतीपातीमा त्यति वास्ता गर्नु हुन्न । उहाँले गाउँमै बसेर व्यापार गर्नुहुन्छ ।
खेतीपाती राम्रो नभएको हुँदा आमा दिक्क हुँदै भन्नुहुन्छ, “दुइटा डुङ्गामा गोडा राखेर पनि कहीँ पार लाग्छ ! यस्तो चालले न किसानी सप्रन्छ, न व्यापार !”
काकालाई गाउँलेहरू धनसारे जेठा पनि भन्दछन् । गाउँमा काकाको धान मकै गहुँ कोदो राख्ने ठूलो धन्सार छ । बेसीमा पनि उहाँको धन्सार छ । कहिलेकाहीँ जुली र म उहाँको घर छेउको धन्सारमा बसेर पढ्छौँ ।
काका सरल हुनुहुन्छ । सोझो र मिजासिलो हुनुहुन्छ । गाउँलेहरू उहाँलाई निकै मनपराउँछन् । मेरो बा अलि चर्को स्वभावको हुनुहुन्छ । यसैले गाउँलेहरुले उहाँलाई त्यति मनपराउँदैनन् । ‘चर्को व्यापारी’ भन्छन् । मलाई पनि बुवाको चर्को स्वभाव मनपर्दैन । तर के गरूँ !
“ए मलखाताका गँड्यौला ? फेरि दुर्गन्ध उधिनिस् ! आइज हेर, तेरा मलखातका गँड्यौला मेरा घरमा कहाँ–कहाँसम्म पुगे ! पिँढीमा, मझेरीमा, भान्सामा । होइन कसरी सहने ? कस्तो गँड्यौलाभक्तका फेला परियो नि भगवान् !”
आज पनि मेरो बा र काकाका बीचमा झगडा भयो । झगडाको बीउ उही गँड्यौला । काकाले आफ्नो मलखातो पल्टाउनुभएछ मलखातका गँड्यौला हाम्रो घरसम्म पुगेछन् ।
काकाको र हाम्रो घर ठ्याक्कै जोडिएको छ । आँगन जोडिएको छ । कटेरो जोडिएको छ । कर्सो जोडिएको छ । धुरी जोडिएको छ । मेरा बा र काकाको मन भने जोडिएको छैन । मन नजोडिएपछि घरधुरी जोडिएर मात्रै मेलमिलाम हुने रहेनछ भन्ने मलाई लाग्यो । मन नजोडिएका छिमेकीहरू झगडा मात्र गर्दारहेछन् ।
झगडा सेसाएपछि मैले बुबालाई भनेँ, “बुबा ! गँड्यौला त हाम्रा हितैषी हुन् रे ! तिनले खेती पाती राम्रो हुन्छ भन्छन् । हाम्रा हितैषी हाम्रै घरमा आउँदा काकासित किन रिसाउनुभएको ?”
“हितैषी होलान तेरा गँड्यौले काकाका । बडो जान्ने भएर बोल्छ यो फुच्चे ! गँड्यौला पनि कतै मानिसका हितैषी हुन्छन् ? बडो बाठो नबनेर गँड्यौलेको पक्षमा बोल्दो रैछस् ! चड्कन चिउरा खालास् !”
बुबाको रिस अझै मरेको रहेनछ, म चूप लागेँ ।
खाजा खाएर म पसलतिर लागेँ । बाटामा जुली भेट भई । उसको अनुहार निन्याउरो थियो । मैले पुलुक्क हेरेर भनेँ, “बाबाहरू झगडा गरे पनि हामी त कहिल्यै झगडा नगर्ने है जुली !”
जुलीले ‘हुन्छ सुमन दाइ !’ भनी । म फुरुङ्ग भएँ ।
एकैछिनपछि जुलीले भनी, “सुमन दाइ ! तपाईँको बाले ‘तेरी छोरी पनि गँड्यौली, तेरी स्वास्नी पनि गँड्यौली, तेरा साखा–सन्तान सबै गँड्यौला’, भनेर मेरो बालाई किन थुर्नुभएको होला ? बालाई मात्र गाली गरेर नपुगेर ! घरमा आमा रोइरहनुभएको छ ।”
जुलीका कुरा सुन्दा मेरा आँखामा पनि आँसु भरिए । जुली त रोई नै । मैले उसका आँसु पुछिदिएँ ।
“मेरी आमाले भन्नुभएको नि सुमन दाइ ! तपाईंको बा काम्लामा बस्ने मान्छे अरे, मेरो बा माटामा बस्ने मान्छे अरे ! यसैले तपाईंको बाले मेरो बालाई हेप्नुभएको अरे !”
मैले जुलीका कुरा सुनिरहेँ । केही बोलिनँ ।
“सुमन दाइ ! काम्लामा बस्नेले माटामा बस्नेलाई हेप्न पाइन्छ ?”
“पाइँदैन ।” मैले छोटो उत्तर दिएँ ।
“भन त जुली ! काकाले गँड्यौलालाई किन त्यति धेरै माया गर्नुहुन्छ ? कहिले पल्लोबारीबाट पोकाकापोका गँड्यौला टिपेर ल्याउनुहुन्छ, कहिले गल्ली–गल्लीमा गँड्यौला टिप्दै हिँड्नुहुन्छ ।”
“सुन्नुहोस् सुमन दाइ ! पहलिेपहिले मलाई पनि गँड्यौला देख्दा घिन लाथ्यो । बुवाले किन यस्ता कीरालाई माया गर्नु हुन्छ होला भनेर रिस पनि उठ्थ्यो । तर गँड्यौलाको काम बुझे पछि मलाई पनि गँड्यौलासँग माया लाग्न थाल्यो ।” जुलीले गम्भीर हुँदै भनी ।
“गँड्यौलासँग माया लाग्न थाल्यो रे ! के भनेकी ? यस्तो पनि हुन्छ र ?” मैले जिस्क्याउन खोज्दै भनेँ ।
जुलीले अझै गम्भीर हुँदै भनी, “सुमन दाइ, यो ठट्टाको कुरा होइन । वास्तवमा गँड्यौला नहुने हो भने हाम्रो खेतीपाती राम्रो हुँदैन अनि मानिसहरु भोकै बस्नु पर्ने हुनसक्छ ।”
“कसरी जुली, मलाई बुझाउ त ।” म पनि गम्भीर भएँ ।
“लौ सुन्नुस् है त ।” जुलीले हँसिलो हुँदै भन्न थाली, “माटो राम्रो भयो भने मात्रै खेतीपाती राम्रो हुन्छ । यो सबैले थाहा पाएकै कुरा हो । तर माटो कसरी राम्रो हुन्छ भन्ने कुरा धेरैलाई थाहा हुँदैन । माटो राम्रो र मलिलो हुनका लागि माटो खुकुलो हुनुपर्छ, माटोभित्र मल मिसिनु पर्छ, माटोले पानी सोस्नु पर्छ । गँड्यौलाले माटोलाई स्वस्थ र मलिलो बनाउने थुप्रै काम गर्छ ।”
“केके काम गर्छ र कसरी गर्छ ?” गँड्यौलाको कामबारे मलाई साँच्चिकै जान्न मन लाग्यो ।
“पहिलो काम गँड्यौलाले मलखातामा फ्याँकिएका फोहोर कुरा, सागपात, तरकारीका डाँठ, बोक्रा, घाँस, पराल जस्ता कुहेर जाने कुरा खान्छ र त्यसलाई पचाएर बोट बिरुवाले लिन सक्ने मलमा परिणत गर्छ । दोस्रो काम गँड्यौलाले माटोमाथि भएका खानेकुरा ओसारेर माटो मुनी पुर्याउँछ । यसरी त्यसले तलको माटो माथि ल्याउँछ र माथिको माटो तल लैजान्छ । यसो गर्दा माटो खुकुलो हुन्छ । खुकुलो माटोमा बोट बिरुवाले सजिलैसँग जरा फैलाउन र माटोमा भएको पोषक तत्व र पानी पाउन सक्छ । गँड्यौला माटो मुनि यताउता घुम्दा चल्दा माटोमुनि भित्रभित्र पानी बग्ने सुरुङ बन्छन् । यसले गर्दा वर्षातको पानी माटोले सोस्छ र भित्र पानी जम्मा हुन्छ । माटोमाथि पानी बगेर माटो बग्ने पहिरो जाने हुँदैन ।”
“त्यसको मतलब गँड्यौलाले माटो मुनी ढल निकास बनाउँछ भनको हो ?”
“हो त्यस्तै हो । यसबाट वर्षातको पानीसँग माटो बगेर जान पाउन्न । माटोको पानी जम्मा गरेर राख्ने क्षमता बढ्छ । अर्को कुरा माटोभित्र धेरै दुलाहरु भएपछि जरालाई माटोभित्र गहिरोसँग घुस्न र फैलिन पनि सजिलो हुने भयो । अनि गँड्यौलाको अर्को रमाइलो बानी थाहा छ ? त्यसले भुईँमा झरेका पात र सानातिना काठका टुक्राहरु तानेर माटोमुनि लैजान्छ र खेतबारी र भुई सफा राख्छ ।”
“हेर्दा घिनलाग्दो भए पनि सरसफाइमा कस्तो मदत गर्ने रहेछ ! गँड्यौलाको काम थाहा पाएर त मलाई पनि गँड्यौला जस्तै उपयोगी बन्न मन लाग्यो ।”
“बने हुन्छ नि कसले छेकेको छ र !” जुलीले हाँस्दै भनी ।
“त्यसैले त तिम्राबाले गँड्यौलालाई त्यति माया गर्नु हुने रहेछ । अनि तिम्रा बारी मलिलो भएको रहेछ । तिम्रो बारीमा कोदाका ठूला बाला फलाउने तिम्रा बाआमाको काम होला भनेको त गँड्यौलाको काम पो रहेछ । बल्ल बुझेँ ।”
जुली अझ हौसिँदै भनी, “त्यसैले त मेरो बुबा गँड्यौलालाई किसानका भगवान् भन्नु हुन्छ, बाबै !”
भोलिपल्ट विद्यालय जाँदा जुली र मैले गँड्यौलाकै बारेमा कुरा ग¥यौँ । बेलुका घर फर्कंदा जुलीले आफ्नो बारीमा फलेका हरिया केराउ कोसा टिपी । मैले र उसले हतार–हतार खायाँै । कोसा सकिएपछि मैले भनेँ, “गँड्यौलीले सबै खाई ! खञ्चुवी केटी !”
जुली पनि बोल्नमा कम थिइन । भनी, “होइन बरै ! गँड्यौलाले सब सिध्यायो ! खञ्चुवा गँड्यौलो !”
“तँ खुञ्चुवी गँड्यौली ।”
“तँ खञ्चुवा गँड्यौलो ।”
जिस्किँदै हामी घर पुग्यौँ ।
जुलीले केराउका बोक्रा मलखातामा थपक्क राखिदिई ।
पन्ध्र दिनपछि मेरो बा र काकाका बीचमा फेरि उस्तै झगडा भयो । झगडाको बीउ उही मलखातो थियो, उनै गँड्यौला थिए । जुलीकी आमा र मेरी आमा नभएको भए आज कुटाकुट हुन बेर थिएन ।
बा र काकाबीचको झगडाले जुली र म दुबै दुखी थियौँ । गँड्यौलाको कुराम हुने यो झगडा सँधैको लागि कसरी समाप्त पार्ने होला भनेर हामी दुबै चिन्तित थियौँ । दुखेको मन लिएर हामी विद्यालय पुग्यौँ ।
हामीले एउटा गोप्य सल्लाह ग¥यौँ । सल्लाहअनुसार एउटा, एउटा निवेदन लेख्यौँ र विद्यालयका प्रधानअध्यापककहाँ पुग्यौँ । उहाँले गम्भीर भएर हाम्रा निवेदन पढ्नुभयो । पढिसकेपछि मुसुक्क हाँसेर सोध्नु भयो, “तिमीहरूले आफ्नो नाम गँड्यौलो र गँड्यौली किन राख्न चाहेका हौ नानी हो ?”
“हामीले एकैसाथ उत्तर दियौँ, “गँड्यौलाले माटोलाई मलिलो बनाएर किसानको हित गर्ने कुरा हामीले थाहा पायौँ । त्यसैले सर !” हामीले गँड्यौला केके गर्छ भन्ने कुरा प्र.अ.लाई सुनायौँ ।
हाम्रो कुरा सुनेपछि उहाँ एकैछिन चूप रहनुभयो । कुन्नि केके सोच्नुभयो । त्यसपछि निवेदनमा केही कुरा लेख्दै हामीलाई भन्नुभयो, “ल, आजबाट सुमनको नाम गँड्यौलो अनि जुलीको नाम गँड्यौली ।”
हामी खुशीले फुरुङ्ग बाहिर आयौँ । उफ्रियौँ, नाच्यौँ । हामी नाचेको देखेर साथीहरू पनि नाचे ।
विद्यालयको सूचनमा पाटीमा हाम्रो नाम परिवर्तन भएको सूचना पढेपछि साथीहरूले हामी नाच्नुको रहस्य बुझे । नाच झन् रन्कियो ।
अचेल हामी जहाँ–जहाँ पुग्छौँ, त्यहीँ–त्यहीँ रमाइलो हुन्छ । ‘आयो गँड्यौलो ! आई गँड्यौली !’ भन्दै साथीहरू उफ्रन थाल्छन् ।
अनि अचेल हाम्रा बाहरू गँड्यौलाको कुरामा झगडा गर्नुहुन्न ।
अनि अचेल मान्छेहरू भन्छन्, “जहाँ गँड्यौलो र गँड्यौली, त्यहीँ खुसी, त्यहीँ बुर्कुसी ।”

खहरे, चाङ्लाखेल, काठमाडौँ

प्रतिक्रिया दिनुहोस्

*