तापैतापको राप ताप

—माधवप्रसाद नेपाल

व्यक्ति, परिवार र समाजले विगत र वर्तमानमा भोगेका मानसिक सास्ती, पीडा र दुःखहरूलाई समेटेर लेखिएको उपन्यास हो ताप । हिन्दूशास्त्रअनुसार मानिसले जीवनमा मुख्य तीन प्रकारका तापबाट मुक्तिको कामना गर्छन्, ती हुन्— आध्यात्मिक, आधिदैविक र आधिभौतिक । प्राचीन मनिषीहरूले तीनै तापबाट मुक्तिका लागि कठोर साधना गरेको पाइन्छ । भौतिक जीवनबाट निवृत्त हुनका लागि तापमुक्त हुनुपर्छ भन्ने उनीहरूको जीवनदर्शन थियो । प्रस्तुत उपन्यासमा तीनैवटा तापले छपक्कै ढाकेको समकालीन र विगतका केही पाटाहरूलाई खोतल्ने प्रयास गरिएको छ ।

जीवनमा दुःखको कारण छ भने त्यसबाट समाधानको उपाय पनि त छ भन्ने बुद्ध दर्शन छताछुल्ल भएको छ उपन्यासमा  । त्यही दुःख शमनका लागि उपन्यासका पात्रहरूले विभिन्न सास्ती भोगेका छन्, कोही सफल भएका छन् र कोही असफल । उपन्यासका पात्रहरू तापबाट मुक्त भए पनि उनीहरू समाजका लागि के दिन सके भन्ने प्रश्नचाहिँ निरुत्तरित नै छ ।

पतिसँग सम्बन्धविच्छेद भएर मानसिक रूपमा व्यथित बनेकी चन्द्रिका, विद्रोही माओवादी आरोपमा नेपाली सेनाको भैरवनाथ गणमा अकारण यातना भोग्न विवश सुजाता, सेनाको अत्याचारी प्रवृत्तिका कारण माओवादी बन्न विवश मुक्ति, विदेशमा गएर उच्चशिक्षा अध्ययन गरेर नेपाल फर्केको तर आफ्नो पुरातन पारिवारिक संरचनाले घेरिएर पत्नीसँग सम्बन्ध तोड्ने प्रभाकर, विदेशीसित बिहे गरेर सम्बन्ध दह्रो बनाउन नसक्ने यमन, गुन्डागर्दी, बाहुबल, चाकडी र चाप्लुसीको भरमा मन्त्री बनेको पराशर, कैवल्य आश्रमका गुरु, उनकी पत्नी, निष्कलंक र पवित्र मनकी सुलक्षणा आदि पात्रहरूले भोगेका तापका कथा नै यस उपन्यासका विषयवस्तु हुन्  ।

उपन्यासमा सुजाता र चन्द्रिका (सुजाताकी आमा) को भूमिका भने बढी छ । यी दुवै नारी विद्रोही स्वाभावका छन् । उनीहरूको तर्क गहन छ, दार्शनिक छ, हामीले भन्दैसुन्दै र बेहोर्दै आएको भन्दा धेरै भिन्न छ उनीहरूको विचार  । उनीहरूको तर्कका अगाडि कैवल्य आश्रमका गुरु हुन् वा समाजका अन्य व्यक्ति नतमस्तक बन्न पुगेका छन्, नाजबाफ बनेका छन्  ।

सुजाता सम्भ्रान्त परिवारकी युवती हो  । दर्शनशास्त्रमा उच्च शिक्षा हासिल गरेकी उसमा केही गरौं भन्ने गहिरो भावना छ  । आमाबाबु (चन्द्रिका र प्रभाकर) को सम्बन्ध बिग्रिएका कारण पारिवारिक तनावमा हुर्किएकी सुजाता बाबुको मायाबाट वञ्चित भएकी छ  । आमाले गर्दा नै आफूले बाबुको माया पाउन नसकेको ठम्याइ उसको छ । त्यतिमात्र होइन सुजाता आमाको हैकमवादी प्रवृत्तिको सिकार बनेकी छ, फलस्वरूप उसले व्यक्तिगत स्वतन्त्रताको प्रयोग गर्न नपाउँदा आमासित पनि गम्भीर असन्तुष्टि प्रकट गरेकी छ । पब र डिस्कोमा रमाउने, नयाँनयाँ साथी बनाउने र जति बाँच सुखले बाँच भन्ने भाव बोकेकी सुजाता जिज्ञासु र बौद्धिक नारी पात्र हो । साथी मुक्तिसितको बिछोड र तत्कालीन शाही नेपाली सेनाले माओवादी भनेर यातना दिएपछि विचलित बनेपछि ऊ वैराग्यतिर डोरिएकी छ अन्त्यमा बौद्ध साधिका बनेकी छ र महास्थविराको पद्वी पाएकी छ ।

चन्द्रिका राणा खानदानकी छोरी हो । सधैं भौतिक सुखसयलमा रमाएकी उसले जीवनमा कहिल्यै अभाव नभोगे पनि प्रभाकरसितको विवाहपछि वास्तविक जीवन भोगाइको अनुभव गरेकी छ । तर प्रभाकरसितको सम्बन्ध दिगो बन्न नसकेका कारण ऊ छोरी सुजाताका साथ जीवन बिताउँंदै अघि बढेकी छ । सुजाताको जीवनमा आइपरेका उतारचढावले चन्द्रिकाले पनि विभिन्न खालका सास्ती पाएकी छ। त्यो शारीरिक र मानसिक रूपमा देखिएका छन् । वैराग्यपथमै लागेपछि चन्द्रिका महारानीको परिचय हराएको छ, आमा, नानी दिदी र बहिनी बनेकी छ, मान्छेको सुखदुःखको साथी बनेकी छ, त्यसमै ऊ रमाएकी छ, शिशुहरूको सिँगान पुछ्ने काममा लागेकी  उसले त्यहाँ आफ्नो मातृत्व भेटेकी छ । वैराग्यमा पनि सन्तुष्टि बन्न नसक्नु उसले भागेको अर्को ताप हो ।

आधुनिक सहरी जीवनका सम्पूर्ण पक्षलाई भोग्दै गर्दा भैरवनाथ गणमा यातना पाएपछि सुजाताले वैराग्यको बाटो स्वीकार गर्नु, एकोहोरो प्रेमी रहेको मुक्ति माओवादी विद्रोहमा लागेर पनि अन्त्यमा वैराग्यतर्फ लाग्नु र अन्त्यमा आत्महत्याको बाटो रोज्नु, चन्द्रिका अनकन्टार गाउँमा पुगेर शिशुहरूको सिँगान पुछ्न राजी हुनु तथा कैवल्य आश्रमका गुरुमा महिलाप्रति रहेको आशक्तिले उपन्यास परिवर्तनतर्फ छैन कि भन्ने पनि अनभूत हुन सक्छ ।

भौतिक समाजमा घुलमिल हुनु, समाजभित्रका भव्यता, उच्चता र विलासितालाई वरण गर्नु अनि गृहस्थाश्रमबाट विचलित बनेर आफ्नो दायित्व पूरा गर्न नसक्ने उपन्यासका चन्द्रिका, सुजाता र मुक्तिको कमजोरी हो  । उनीहरूले आफ्ना सामाजिक दायित्वलाई पूरा गरेर वैराग्यतर्फ लागेको भए पक्कै पनि सहानुभूति बटुल्न सक्थे ।

यस्तै भैरवनाथ गणमा यातना भोक्दा सुजताले आफ्नो परिचय ढाँट्नुपर्ने आवश्यकता थिएन  । उपन्यासमा अनावश्यक प्रसंगहरू पनि थोपरिएका छन्  । अझ वर्णित पात्रहरू सबैलाई समान महत्व दिएर उनीहरूका कथालाई समेट्न खोज्दा पात्र र कथाहरूको गुजुल्टो मात्र पनि बन्न पुगेको छ उपन्यास  । प्रोफेसर यमनको उपस्थिति यस्तै एउटा दृष्टान्त हो । घटनाक्रमहरू पनि कतैकतै अपत्यारिला जस्ता लाग्ने खालका वर्णन गरिएका छन् । केही पात्रहरू बीचमा देखापर्नु र उनीहरूको भूमिका पनि कथानकमा बलियो बन्न नसक्नु अर्को कमजोर पक्ष हो  । यस्तै उपन्यासकार शारदा शर्माले आफूले जानेजत्तिकै सबै विषयलाई एउटै कृतिमा प्रस्तुत गर्न खोजेको पनि देखिन्छ भने एनजीओकर्मी शारदा शर्माको दिनचर्या पनि उपन्यासमा झल्किएका छन् ।

राणा खानदानभित्रका संस्कार, भौतिक सुखसयल, वैभवशाली र सम्पन्नशाली जीवनशैली, पुरुषहरूको हुकुमीतन्त्रका कारण महिलाले भोग्नुपरेका ताडनाको वर्णन पनि उपन्यासमा पाइन्छ । मुलुकले विगतमा भोगको युद्धका झिल्काहरू, निर्दोष व्यक्तिले पाएको यातना, भैरवनाथ गणमा मानिसलाई बेपत्ता पारिएको प्रसंगलाई पनि उपन्यासमा आएका छन् । तर युद्धको प्रसंग नेपाली ग्रामीण भेगमा भन्दा सहरमा केन्द्रित छ, जसले गर्दा वास्तविकता भन्दा पर पुगेको हो कि भन्ने आभास हुन्छ ।

प्रत्येकजसो पात्रले आफ्नो कथा आफैंले भन्नु यो उपन्यासको नयाँंपन हो । कुनै पात्र बीचमा आएर कथा भन्न थाल्नुचाहिँ अमिल्दोजस्तो लाग्ने विषय हुन् । कोमल गद्यशैलीको प्रयोगले उपन्यासको भाषा मिठास र ओजपूर्ण बनेको छ । पात्रहरूको संवाद त्यस्तै मार्मिक छन्  । बौद्ध धर्मभित्रका विभिन्न सम्प्रदाय, गुम्बाभित्रका दैनिकी पनि उपन्यासमा पढ्न पाइन्छ । पात्रहरूको जीवनशैली, कथानकको परिवेश र वर्णन, भाषिक शुद्धतामा केही कमजोरी रहे पनि तिनलाई उपन्यासको मूल कथ्यले ढाकिदिएको छ ।
अतः उपन्यास सामाजिक र समकालिक हुँदाहुँंदै पनि दार्शनिक बन्न पुगेको छ । यो प्रस्तुत उपन्यासको सकारात्मक पक्ष हो भने नेपाली उपन्यास जगत्का लागि नयाँ प्राप्ति  ।

madnep@gmail.com

प्रतिक्रिया दिनुहोस्

*