कविता जीवन दर्शन हो : प्राडा हरि शर्मा

-होमशंकर बास्तोला

साहित्यिक पत्रकार प्रा. डा. हरि शर्माको जन्म २००८ साल असार १ गते सापाकोट–२, स्याङ्जामा भएको हो । उहा“ले २०४५ सालदेखि “नव कविता” त्रैमासिक पत्रिकाको प्रकाशन गर्दै आउनुभएको छ । उहा“ले मनका वन फूल  (कवितासङ्ग्रह) २०६८, DRUG  ABUSE IN NEPAL: prevention, treatment and Rehabilitation (सह–लेखन), MY  ODYSEEY (नियात्रा) लगायतका कृति र नेपाली, अङ्ग्रेजी भाषामा थुप्रै लेख रचनाहरू प्रकाशित गरिसक्नुभएको छ । उहा“ले प्रवल गोर्खा दक्षिणबादु–चौथा, त्रिशक्तिपट्ट, राष्ट्रिय शिक्षा पुरस्कार, दीर्घ सेवा पदकजस्ता पुरस्कार तथा पदक पनि प्राप्त गसिक्नुभएको छ।

तपार्इंले लामो समयसम्म कविताप्रधान पत्रिका नव कविता प्रकाशित गर्दाको अनुभव बताउनुहोस् न ।

– नव कविता वि.सं. २०४५ वैशाख १ गतेदेखि त्रैमासिक कविताप्रधान पत्रिकाका रूपमा निरन्तर वीस वर्षसम्म प्रकाशित भएको पत्रिका हो । साहित्यको विद्यार्थी भएकाले कविता विधाप्रति मेरो विशेष अन्दराग सधैँ रह्यो र अहिले पनि छ । म हरेक भाषाका कविता पढ्न रुचाउँछु र नव कविताले पनि आफ्ना करिव प्रत्येक अङ्कमा विविध भाषाका कविताहरूलाई स्थान लिने परम्परा बसालेको थियो । तपाईंले नव कविता प्रकाशनका दौरान मैले भोगेका अनुभवको सन्दर्भ उठाउनुभएको छ ।

साहित्यक पत्रिका प्रकाशन गर्दाका तपाईंका अनुभव र कुनै अरू निजी क्षेत्रबाट प्रकाशित हुने अन्य साहित्यिक पत्रिकाका प्रकाशक÷सम्पादकका अनुभव फरक हुन सक्दैनन् । पीडा हुन्छ श्रोत जुटाउने क्रममा तर जुन दिन प्रेसबाट पत्रिका आउँछ र हामी हाम्रा पाठक छेउ सो पत्रिकालाई पु¥याउन सफल हुन्छौँ त्यति बेलाको आनन्द परमानन्द हो । सबै दुःख, पीडा हामी बिर्सन्छौं र पत्रिकाको कलेवर र प्रकाशित सामाग्रीमा रम्छौँ । आफ्नो प्रकाशनप्रतिको वात्सल्यता उर्लिरहेको हुन्छ हामी भित्र, होइन र ?

अहिले नव कविता पत्रिका प्रकाशन बन्द छ नि ?

– नव कविता पत्रिका बन्द छ । द्वन्द्वको मध्यतिर आएपछि म र कविता अलिक टाढियौँ । नव कवितालाई नियमित गर्न नसकिएला जस्तो लाग्यो र प्रकाशन यात्रालाई अब रोकौँ भन्ने सोच पलायो । त्यसपछि म आफ्नै मौलिक कविताहरूको सङ्गालो ‘मनका वन फूल’  प्रकाशनतिर लागँे । हाल अङग्रेजी भाषामा एउटा नियात्रा तयार पारेर त्यसको प्रकाशन गर्ने सोचमा छु ।

वर्तमान साहित्यक पत्रिकाहरुको अवस्था कस्तो पाउनुभएको छ ?

– संस्थागतरूपमा प्रकाशित हुँदै आएका साहित्यक पत्रिकाहरूले हाम्रो मागलाई केही हदसम्म पूरा गर्न सफल भएका छन् । ने.रा.बैं. को “मिर्मिरे” लगायत यसको केही उदाहरण हो । यिनमा स्तरीयता छ र
विविधता पनि ।

कविता लेख्नुको उद्देश्य के होला ?

– कविता लेख्नुको उद्देश्य के होला भन्नुहुन्छ यो स्रष्टामा निर्भर रहने कुरा हो । सबै स्रष्टाको उद्देश्य एउटै नहुन सक्दछ । मेरा निम्ति कविता अनुरागको अभिव्यक्ति हो, जीवन दर्पण हो, जीवन दर्शन हो । किताबका पानाझैँ प्रत्येकपल्ट दिन पल्टदै जाने जिन्दगीले भित्री मनका अनगिन्ती आवेगहरूलाई सन्तुलित पार्न शब्द–विधान कोर्छ, त्यही नै कविता हो भन्न मन लाग्यो अहिले मलाई ।

कवितामा के कस्तो संरचनात्मक तत्व हुनुपर्छ भन्ने ठान्नुहुन्छ ?

– कविता सिद्वान्तमा आधारित भएर जन्म्यो भने त्यो फगत नारा जस्तै हुन्छ । त्यहाँ मान्छेको मुटु बोल्न सक्दैन, मन बोल्न सक्दैन । मन, मुटु, कल्पना र मानवीय संवेदनशीलताबाट स्वतः स्फूर्त रूपले जे पोखिन्छ त्यही नै कविताको सारतत्व हो । कविता अब पठ्य, श्रव्य मात्र होइन दृष्य पनि हुँदै जाँदैछ ।

नेपाली कविताको वर्तमान अवस्था कस्तो छ र अन्तर्राष्ट्रियस्तरमा कहा“ छजस्तो लाग्छ ?

– नेपाली कविता अहिले विश्वका अन्य भाषाहरूमा लेखिएका, लेखिने गरेका कविताहरूको तुलनामा अति नै उच्चस्तरमा छ । हाम्रो सम्पूर्ण मुलुक नै कवितामय छ । हाम्रा सुख र दुःखमा समानरूपले कविता हाँस्ने र रूने गर्छ । त्यो देख्ने र सुन्ने स्रष्टा भएर उदाउँछ । त्यो नसुन्ने, नदेख्नेहरूलाई देख्न सक्ने, सुन्न सक्ने बनाउनु नै हामी प्रकाशकहरूको सोच रहनु जरुरी छ ।

तपाईंंलाई मनपरेका कविहरू को को हुन्  ?

– रिमाल, देवकोटा, सिद्दिचरण, माधव घिमिरेदेखि लिएर भूपि, कटुवाल, श्रवण मुकारुङ, रमेश क्षितिज, अविनाश, भावेश भूमरी, तोया गुरुङ, वानिरा गिरी, भिष्म उप्रेती आदिलाई झट्ट सम्झिन्छु । अरू पनि धेरै छन्, नेपाली कविहरू जो मलाई असाध्यै मन पर्छन् ।

साभार – अन्तर्बोधबाट

प्रतिक्रिया दिनुहोस्

*