दसैं र खेतका गरा

- तिलकप्रसाद सापकोटा

धानको बुटो बालाको झुप्पो आलीमा लरक्कै
प्रकृति पनि ओर्ले झैं लाग्यो फाँटमा सर्लक्कै
बडादसैंको महानवमीको दिन मिर्मिरेमै आफ्नो खेत पन्चसेमा पुगेको बेला मैले यही अनुभूति गरें । हो, धानको बाला झुलेको बेला फाँट हेरिरहुँ हुँदो रहेछ । सिंगो फाँट पहेँलपुर देखेर प्रकृति पनि ओर्ले झैं आभास हुँदो रहेछ । किसान पनि असारे मासमा हिलोमैलोसँग खेल्दाको दुःखकष्ट भुल्दा रहेछन्, अझ भनौं गद्गद हुँदा रहेछन् । बाटो हिँड्नेहरु पनि केहीबेर अडिएर लहलह पहेंलपुर फाँट हेरिरहँदा रहेछन् ।

फाँटको सिराननेर कुलोमा उभिएर क्षितिजतिर हेर्दा जुगल हिमाल सेताम्मै देखियो । फाँटकै किनारा भएर बगिरहने ब्रम्हायणी सुसाइरहेथ्यो । वारिपारि सालघारी निस्तब्ध झैं उभिइरहेको थियो । हेर्दाहेर्दै किसानहरु लट्ठी हल्लाउँदै फाँटमा देखिए धानका बालासँग स्पर्श गरिरहेको । म आश्चर्यचकित भएँ उनीहरुको त्यो उत्कट अभिलाषा देखेर । उनीहरु घर फर्केका थिए अघिल्लो दिन साँझसम्म माटो खोस्रेर । उनीहरु कति आतुर छन् भने बिहानी झिसमिसेमै धानका बालासँग स्पर्श गर्न ।

धान काट्दा र बिटा लगाउँदा मैले देखें, धानका बालासँग अझ भनौं प्रत्येक दानासँग किसानहरुले माया गाँसेको । बिटा लगाइसकेपछि गहरामा घुमीघुमी हेरेको, धानका बाला भेटेमा टिपेर खलामा पु¥याएको । मुसाले धान खाएको देखे भने थकथक मानेको । खलाबाट धोक्रामा उठाएको धानका दाना भकारीमा खन्याउन पाउँदाको क्षण बडो आनन्दित हुने किसानको बानी पाएँ मैले ।

किसानको ख्वाइ छ रहरिलो । मीठो मसिनो चाहिँदैन । उनीहरुलाई जे खाए पनि मीठो । पिठो खाए पनि मीठो । नपाकेको भए पनि ठिकै । नपच्ला भन्ने न पिर छ । न शरीरमा रोग छ न पेटमा भोक छ । बाल्यकालमा मैले देखेको थिएँ, किसान दाइले गुन्द्रुकको झोलमा ढिँडाको सानो डल्लो चप्प चोपेको र खुर्सानी टोक्दै कप्प खाएको । धेरै मीठो थियो ती दाइको खुवाइ । खानेकुराभन्दा पनि मीठो । आफ्नै पसिनाले फलेको अन्नका दाना खाएका किसान दाइकै ज्यान कति फूर्तिला । मलाई लाग्यो– शरीर दरिने त परिश्रमले पो रहेछ ।
 
तिनकै मन भेटिन्छन् चंगा अनि कोमल । अरुलाई दिएर खान जानेका छन् उनीहरुले । मेलामा लगेको खाजा भोक लाग्यो भन्दैमा एक्लै खाँदैनन् । अरुका मेलाका खेतालालाई पनि बोलाइबोलाई खुवाउँछन् । उनीहरुमा कति पनि भेटिएन स्वार्थता, संकीर्णता र एकलकाटेपनको ।  यसरी खाएकोले नै होला उनीहरुको जीवन परिष्कृत छ । छाती फराकिलो छ र जीवन भोगाइ प्राकृतिक छ । वास्तवमा उनीहरुले नै जानेका हुँदा रहेछन् अरुलाई बचाएर आफू बाँच्न ।

तर सहरले त अरुलाई मारेर मात्र आफू बाँच्न जानेको छ । सहरमा मान्छे खुम्चिँदो रहेछ र संकीर्ण हुँदो रहेछ । बढी खाएर डकार्नेहरु पनि सहरमै हुँदा रहेछन् । ताजा तरकारीका नाममा हरियो देखाएर विषादि पनि सहरमै भेटिँदा रहेछन् । जस्तो खायो त्यस्तै, सहरमा भेटिन्छन् यस्तैयस्तै । तर गाउँ यसबाट धेरै टाढा छ । गाउँ धेरै माथि छ सहरभन्दा ।

किसान दाइ भन्छन्, आजभोलि मानिस निरोगी देखिन चाहन्छन् सफा लुगा लगाएर । सफा पहिरनले मानिस निरोगी देखिने भए परिश्रम गर्नेहरु गाउँमा कहाँ भेटिन्थे र ? हेर्दा त शारीरिक श्रमबिनाका शरीर सफा र सुन्दर नै देखिन्छन्, तर आफैंले पसिना बगाएर उब्जाउ गरेको अन्नपानी खाएर दरिलो र निरोगी त कहाँ भेटिएला र?

माटोसँगको किसानी सम्बन्ध नङमासुको हुने रहेछ । माटोमा उम्रिएका प्रत्येक बालीसँग किसानको आत्मीयता गाँसिएको हुने रहेछ । किनभने बिहान उठेदेखि साँझसम्म ऊ माटोसँग खेलिरहेको हुन्छ । थकाइ लागे माटोमै बसिदिन्छ । उसले माटोसँगै स्पर्श गर्न जानेको हुन्छ । एउटा कुरा के सत्य हो भने आफ्नै पसिना पोखिएको माटो शरीरमा लागेर कुनै किसान रोगी भएको छैन ।

बालीनाली हराभरा हुने त किसानले हेरचाह गरेर हो । धानका बाला झरिला, दाना पोटिला र रसिला देखिएको किसानको स्पर्श पाएर हो । किसानको स्पर्श खोज्दा रहेछन् फाँटका गहरा पनि । माटो खुसी भइदिँदो रहेछ किसानको पाउले स्पर्श पाएपछि । आजभोलि हाम्रा पाखापखेरा र खेतका गहरामा हराभरा हराएको छ किसानका पाखुरा खाडी मुलुकतिर भासिएर । अझै भासिँदै छन् हाम्रा पाखुरा खाडीतिर अनि हराभरा हराउँदै छ हाम्रा पाखाका खेत र बारीतिर । खाडीमा के देखेर लोभिएका हाम्रा पाखुरा अनि त्यतातिर हेलिएका ? म त भन्छु, त्यतिका परिश्रम गर्ने हो भने हाम्रा पाखाबारीमा फल्छन् सुन, सपना र सफलता ।

यही अनुभूति भो यसपटक मंसिरमय दसैंमा । फूलपाती, अष्टमी, नवमी र दशमीमा नवदुर्गाको प्रसाद (मासु) खाएर पिङमा मच्चिन आतुर मनहरुले धानका बालासँग स्पर्श गर्न पायो, धानका बोरा र परालका बिटामा ज्यानहरु धस्रिए र दरालिए । सहरको धुलो, धुवाँ खाँदाखाँदा खुम्चिएको ज्यान केही दिनसम्म तन्किन पाए । प्रस्ट भन्नुपर्दा शरीरका पार्टपुर्जाले रिफ्रेस हुन पाए । मलाई अनुभूति गरें, चाडपर्वहरु मंसिर र असारमा पो पर्नुपर्ने रहेछ । शरीरभरि स्फूर्ति आएजस्तो भो, नयाँपनको अनुभूति गरेजस्तो भो दसैं मनाएर सहर फर्किंदा ।

बसबाट ओर्लिएर कोठामा पुग्दा साँझ भेटियो । राति ओछ्यानमा श्वासप्रश्वासले कानैनेर साउतीमा भनिरहेको थियो, ‘तिम्रो ज्यान त दरिएछ नि, मंसिरमय दसैं खाएर त हैन ।’

काठमाडौं

प्रतिक्रिया दिनुहोस्

*