बालसाहित्य मूलधारमा ल्याउनैपर्छ

-गोपीकृष्ण ढुंगाना

एक सय २० वर्ष भयो नेपालमा बालसाहित्य लेखन सुरु भएको । तर आजसम्म पनि यो मूलधारको साहित्यमा आउन सकेको छैन । लेखक, सम्पादक, चित्रकार र प्रकाशक आदि सबैले यसलाई मूलधारमा ल्याउने प्रयास गर्नैपर्ने आवाज उठेको छ । राजधानीमा चलिरहेको नेपाल लिटरेचर फेस्टिभलको दोस्रो संस्करणको तेस्रो दिन शास्वत पराजुलीले लेखकद्धय विनय कसजु र शर्मिला खड्का र प्रकाशक राजीव डि जोशीसँग बालसाहित्यको बहस चलाए । अन्नपूर्णकर्मी गोपीकृष्ण ढुंगानाको प्रस्तुति ः
शास्वत ः बालसाहित्य किन मूलधारमा आउन नसकेको ?
विनय ः नेपाली समाजले बालबालिकालाई जुनरुपमा लिन्छ त्यो प्रमुख कारण हो । विदेशमा जस्तो यहाँ पनि व्यवहारमा सबै सुविधा, स्वतन्त्रता र वातावरण दिनुपर्छ । अभिभावक पनि बालबालिकामा लगानी गर्दैनन् । उनीहरुलाई उनीहरुकै विषयमा पनि निर्णय गर्ने अधिकार दिइन्न । न निर्णयमा सहभागी गराइन्छ न सल्लाह लिइन्छ । यो समाजमा तेस्रो दर्जाको नागरिक बनेका छन् बालबालिका । एक सय २० वर्षदेखि लेखिँदै आएको बालसाहित्य मूलसाहित्यमा समाहित हुन नसक्नुको कारण पनि यिनै हुन् । बालसाहित्यलाई प्लेटफर्म बनाउने धेरै छन् ।
शास्वत ः मैले लेखेको एउटा बालकृति ४० हजार प्रति बिक्री भइसकेको छ तर यहाँ डम्फू बजाइएको छैन तर चार हजार प्रौढ साहित्यको कृति बिक्दा ठूलै हलचल मच्चाइन्छ । यस्तो किन राजीवजी ?
राजीव ः मूलधारका लागि धेरै चर्चा गरिरहेका छौं तर बालबालिकामा पढ्ने बानीको विकास भने हुन सकेको छैन । पहिले चारदेखि १२ वर्षका लागि एउटै कृति लेखिन्थ्यो । तर अहिले वर्षहेरि फरक लेखिन्छ। हल्ला मच्चिनु र नमच्चिएर पनि बिक्नुमा आआफ्नै विशेषता छन् ।
शास्वत ः बालसाहित्यमा चाहिने तत्व के हुन् ?
शर्मिला ः चाखलाग्दो घटना हुनुपर्छ । उनीहरुकै विषय, चाहना र आवश्यकतालाई लिएर लेखिएको हुनुपर्छ । प्रोत्साहन दिने खालको हुनुपर्छ । बालबालिकाको सन्दर्भमा हाम्रो समाजमा हरेक कुरामा अभिभावकसँग जोडिन्छ तर उनीहरुलाई सिंगो बनाएर स्थान दिइन्न ।
शास्वत ः बालबालिकामा पढ्ने माहौल किन बन्न सकेको छैन ?
विनय ः कारण परम्परागत नै हो। स्कुलमा पढाइने कुरा धेरै हुन्छन् । कम पढाएर बाहिरी कुरा बढि दिने चलन छैन । गृहकार्यले नै उनीहरु बाँधिन्छन् । एक अनुसन्धानले पनि यही देखाएको छ । नयाँ प्रविधिले धेरै तानेको छ उनीहरुलाई । अभिभावकले पनि पुस्तक पढ्ने संस्कृति सिकाउन पनि सकेका छैनन् ।
शास्वत ः कसको दोष छ र कस्ता कृति आउनुपर्छ ?
विनय ः उत्पादकको पनि कमजोरी छ । उपभोक्ता पनि सचेत छैनन् । लेखक, सम्पादक, चित्रकार र प्रकाशक सबैको कमजोरी देखिन्छ । बालसाहित्यमा नयाँ प्रविधि आउन सकेन । आकर्षक कृति पनि छैनन् । नैतिक चरित्र सिकाउने पुस्तकमात्र कति पढुन् ? सूचना, शिक्षा र मनोरञ्जन दुवै मिश्रण भएको भए बालबालिका आकर्षित हुन्थे । लेखक सम्पादन गर्न डराउँछन् । मैले जे लेखें त्यही छापिनुपर्छ भन्ने मान्यता राख्छन् ।
शास्वत ः आकर्षक कृति किन आउँदैन ?
राजीव ः चित्रका पुस्तकलाई जोड दिएका छौं । अभिभावक नै विषयवस्तु धेरै भएको कृति खोज्छन् । अनि कम मूल्य भएको पनि । विश्वबजार अनुसार जान सक्छौं तर खर्च केही बढी पर्छ । चित्रकार हातको औंलामा गनिने गरी हुनु र सम्पादक पनि खुल्न नसक्नु समस्या हो ।
शास्वत ः लेखक किन सम्पादनका लागि हिच्किचाउँछन् ?
शर्मिला ः थाहा छैन । तर म तयार छु । बालसाहित्य बालसाहित्य बनाउन सम्पादन जरुरी छ ।
विनय ः विश्वका बालसाहित्यको अध्ययन गरौं । नेटबाट भए पनि लेखकले प्रत्येक साता कम्तिमा एउटा विदेशी बालकृति पढौं ।
शास्वत ः लेखेर बाँच्न सक्ने कहिले बनाउने होला राजीवजी ?
राजीव ः जबसम्म अभिभावक छोराछोरीको इच्छाका किताब किन्न सक्दैनन्, जबसम्म पढ्ने संस्कृतिको पूर्ण विकास हुन सक्दैन तबसम्म यो अवस्था रहन्छ । एनजिओ र आईएनजिओबाट प्रयास भइरहेछ, गाउँ गाउँ र विद्यालय विद्यालयसम्म पुस्तकालय बनाउन र पुस्तक पुयाउन । सायद चार पाँच वर्षपछि त्यो अवस्था पनि आउला ।
शास्वत ः विदेशमा त कथावाचन गरेर पनि बाँच्ने अवस्था छ। नेपालमा यो कहिले ?
विनय ः अज्ञानता रहुञ्जेल धेरै काम पूर्ण हुँदैनन् । विद्यालयले प्रोत्साहन गर्नुपर्छ । विद्यालयहरुमा कथावाचन सुरु गर्नुपर्छ । अन्तरविद्यालय कथावाचन प्रतियोगिता बारम्बार र निरन्तर जरुरी छ । उनीहरुलाई नै सुनाउन लगाउने पनि गर्नुपर्छ ।
शास्वत ः बाल र प्रौढ कथा लेख्नुमा अन्तर के छन् ?
शब्द, शैली बालबालिकाले रुचाउने हुनुपर्छ । प्रौढमा भन्दा बालसाहित्यमा चुनौति धेरै हुन्छन् लेखकका ।
विनय ः बालसाहित्य विशेषज्ञता चाहिने क्षेत्र हो । शिशुदेखि १८ वर्षका लागि बालसाहित्य लेखिन्छ । यो पाँच समूहमा विभाजित छ । सोहीअनुसार लेख्न सक्नुपर्छ ।
शास्वत ः बालसाहित्यकारलाई मूलधारले महत्व दिँदैन नि ?
विनय ः स्थापित लेखकलाई बालसाहित्य लेखिदिनोस् भन्यो भने नाक खुम्च्याउँछन् । बंगलादेशमा स्थापितहरु राष्टलाई ऋण चुकाएझैं बालसाहित्य लेख्छन् ।
शास्वत ः मैले कक्षा दुईमा पढ्ने विद्यार्थीले एक वर्षमा दुई सय पुस्तक पढेको पनि भेटेको छु । उ एडिक्ट नै रहेछ । अरु बालबालिका यस्तो कहिले हुने ? अनि स्थापितलाई कहिले लेखाउने ?
राजीव ः पढाईमा एडिक्ट हुनु राम्रो कुरा हो, सबैले सिक्नुपर्छ। अन्तर्राष्टिय प्रकाशनसँग पनि सहकार्य गर्दैछौं, लेख्नेशैलीमा विकास हुन्छ कि भनेर । स्थापितबाट पनि अबका दिनमा नयाँ र स्तरीय खुराक आउलान् भन्ने लागेको छ ।
शास्वत ः सारांशमा भन्नुपर्दा, खासमा पुस्तक उपहार दिने प्रवृत्ति पनि कम छ । अंग्रेजीलगायतका भाषामा अनुवाद पनि कम छ बालसाहित्य । रुम टु रिडको अनुसन्धानले कम उमेरका बालबालिकाका कृति कम लेखिएको पाइएको छ । यी सबैमा प्रयास आवश्यक देखिएको छ ।

मेरो ब्लग

प्रतिक्रिया दिनुहोस्

*