नेपाली साहित्यमा नारी चित्रण

-गोपीकृष्ण ढुंगाना

एनसेल नेपाल लिटरेचर फेस्टिभल २०१२
काठमाडौं ः ‘पूर्वीय मिथकहरुबाट निर्देशित छौं हामी नेपाली लेखक। महाभारतकी द्रौपदी जो समाजसँग जुझारु गर्ने पात्रका रुपमा उभ्याइएकी छन् अनि रामायणकी पात्र सीता जो सहनशिलताको पराकाष्ठका रुपमा उभ्याइएकी छन्’, एनसेल नेपाल लिटेरेचर फेस्टिभलमा ‘नेपाली साहित्यमा नारी चित्रण’ बारेको संवादात्मक प्रस्तुतिमा बोल्दै उपन्यासकार नारायण ढकालले भने, ‘यी दुवै विरोधाभास पात्रहरु हामी सामू छन्।’ संयोजनकर्ताका रुपमा रहेकी आन्विका गिरीको नारीचित्रणबारेको प्रश्नमा आख्यानकार भुवन ढुंगानाले भनिन्, ‘समाज, शिक्षा र मानिसको सोचले पात्र प्रयोगमा लेख्ने र पढ्ने कुरा भर पर्छ र सोहीअनुसार परिवर्तन आउँछ।’
चार दिने फेस्टिभलको पहिलो दिनमा राखिएको यो विषयलाई चिर्दै ढुंगानाले भनिन्, ‘ह्दयचन्द्रसिंह प्रधानको स्वास्नीमान्छे वा गोविन्दबहादुर मल्ल गोठालेको पल्लोघरको झ्याल र अहिलेको लेखन पढ्दाको विषय पढ्दाको समय फरक हुन् भन्ठानेर सोहीअनुसार पात्रचित्रणको मूल्यांकन गर्नुपर्छ।’ आन्विकाले महिला साक्षारता र सशक्तिकरण बढिरहेको अवस्थाले प्रस्तुतिमा फरक पार्नुपर्ने हो कि? भनी सोधेको प्रश्नमा भुवनले सिर्जना बाँच्नेगरी लेख्नुपर्ने बताइन्। भनिन्, ‘सिर्जना बाँचे न स्रस्टा बाँच्ने हो। तर जुन अनुपातमा साक्षारता र सशक्तिकरण बढ्नुपर्ने हो त्यो भएको छैन। नारीपात्रलाई बोल्ड रुपमा उभ्याइएको छैन। सुरुमा उभ्याइए पनि उसलाई कि मारिएको छ कि कमजोर बनाएर रचना टुंग्याइएको छ।’
नारी पात्रलाई उभ्याउँदा तिनको अध्ययन नै नगरी कथा, नाटक वा उपन्यास लेखिने भुवनको भनाइ छ। आन्विकाले आफ्नो लेखनमा हिरोको रुपमा कसैलाई छान्नुपर्दा पुरुष पात्र नै उभिने बताइन्। उनको प्रश्नमा नारायणले भने, ‘महिला र पुरुष लेखकमा भेद छ। शताब्दियौंदेखि समाजमा पित्तृसत्ताको षडयन्त्र छ। त्यसबाट किनारामा परेका महिला अहिले पनि अग्रपंक्तिमा उभिएको अवस्था छैन। त्यसैले मुख्य पात्रमा पुरुष आउनु स्वाभाविक हो।’ उनले समाजमा नयाँ मूल्य आउँदै जाँदा शोभायमानका लागि महिला र महिला लेखक आउँदै गरेको बताए। गरिमाले नारी अंक निकाल्नुले पनि यसको पुष्टि मिलेको उदाहरण दिए। भने, ‘पारिजात अन्य कतिपय पुरुष लेखकभन्दा माथि थिइन् तर यो अपवाद हुनसक्छ नत्र यो दिशाहिनताको अवस्थालाई निरुपण गर्नैपर्छ।’ आन्विकाको प्रश्न थियो, ‘नारी लेखक पुरुष लेखकसँग प्रतिस्पर्धामा किन आउँदैनन्?’ लेखिका भुवनले आफू पनि नारी लेखकलाई आरक्षण दिनुपर्छ भन्ने पक्षमा नरहेको प्रस्ट पारिन्। प्रचारका क्रममा सञ्चारमाध्यम र समालोचक पनि एकपक्षीय भएको आरोप थियो। उनले नारी लेखिका पुरुषसँग प्रतिस्पर्धामा उत्रिनैपर्नेमा जोड दिइन्।
नारायण ढकालले अधिकांश नारीलेखक निस्क्रिय रहेको र केही धेरै सत्रि mय रहेको बताए। उनले भने, ‘तर मलाई महिला शक्ति चाहिन्छ भन्ने लाग्छ। पित्तृसत्तात्मक संस्कारबाट म पनि मुक्त हुन चाहन्छु।’ भुवनले महिला र पुरुष दुवैले महिलालाई लक्ष्मणरेखाभित्र राखेर सोच्नु नहुने बताइन्। भनिन्, ‘नारीलेखनले अबका दिनमा यो लक्ष्मणरेखा भत्काउनैपर्छ।’

प्रतिक्रिया दिनुहोस्

*