हाँस्नु कि रूनु

-टंक आचार्य

औँलो दिँदा
डुँडुलो निल्नु
‘सु’ गर्ने बाहेक
केहीमा मन नमिल्नु ।

कर छल्नु , नतिर्नु
विदेश पुगेछि घर नफिर्नु
ऋण लिनु
तिर्ने कुरै नगर्नु

सभामा सिगरेट पिउनु
सडकमा थुक्नु
दिसा बस्नु
न त हात धुनु न त लाज मान्नु

नसक्ने खालका
काम आँट्नु
अरुलाई नसकेपछि
आर्फैलाई  ढाँट्नु ।

इतिहासको गीत साँच्नु
वर्तमानमा उँघेर बाँच्नु
अरुकै ताली र संगीतमा नाच्नु
सिर्जनाका लागि सिन्को नभाँच्नु ।

पर्चा छर्नु
नेपाल बन्द गर्नु
विकासका नाममा
गाउँबाट सहर सर्नु ।

काखी गन्हाउनु
जुम्रा पाल्नु
कानमा सधैँ तेल हाल्नु
उल्टो कदम चाल्नु ।
सधैँ अरुको
इसारामा चल्नु
पुच्छर ठडिनु
शीर ढल्नु ।

काम नसकिँदै
अफिसबाट भाग्नु
सधैँ चाकडीको
दाउमा लाग्नु ।

कृषक बन्नु
अन्न किन्नु
आफ्नै नाभीको
कस्तुरी नचिन्नु ।

नदी बेच्नु
बिजुली किन्नु
नून र पेट्रोललाई
डलर तिर्नु ।

उमेर नपुग्दै
बिहे गर्नु
उमेर पुगेपछि
अर्कोतिर सर्नु ।

अरूलाई सर्धै
धारे हात लाउनु
साँडेका पछाडि
मुख बाउनु ।

अरूकै बारीको
डल्ला फोर्नु
अरूकै मल र
गोबर सोर्नु ।

यतिका धेरै
विशेषता सहित
अरू होइन
नेपाली हुनु
यही भीडमा छु म पनि
हाँस्नु कि रूनु !
झापा, हाल ः काठमाडौं

प्रतिक्रिया दिनुहोस्

*