‘घर 1’

-परशु प्रधान

कथोपन्यास

‘तिम्रो बिहेबारीको कुरा भइरहेछ’ मेरी श्रीमतीले भनी । ‘मलाई कुनै नेपालीसँग बिहे गर्नु र ग्यालग्याल्ती छोराछोरी जन्माउनु छैन । म उहीँ बिहे गर्न सक्छु । यो भविष्य नै नभएको देशमा के हेरेर बस्ने ?’ छोरी अलि उत्तेजित भई ।…

त्यो दिन नजिक आउन लाग्यो र म भने छटपटाउन थालें – ड्रगको रोगी झैं । रातभरि निद्रा पर्न छाड्यो । बिहान मर्निङ्गवाक गरेर पनि मन एकतमासको शून्य भइरह्यो । जागिरले यति छिट्टै यसरी षड्यन्त्रपूर्ण किसिमले छाड्ला भन्ने मनको कुनै कुनामा पनि थिएन । अझ तानाबाना नै आर्यघाटमा बुझाउन पाए पनि यो जिन्दगी कृतार्थ हुन्छ र परमार्थ सप्रिन्छ भन्ने लागेको थियो । किनभने हाम्रा तीन–तीन पुस्ताले सरकारी सेवामा आफ्नो सारा जीवन अर्पण गरिआएको इतिहास हामीसँग थियो ।

नूनको सोझो गर्नुपर्ने नैतिकता हाम्रो संस्कारमा नै आएको थियो र हाम्रो रगतमा जागिर नै प्रवाहित भइरहन्थ्यो । छिमेकीहरुले काठको गोदाम राखे । काठ बेचेर पनि कोही खान्छ भनी तिनलाई हाम्रो परिवारले नै हेला ग¥यो । कसैले भ्यारभ्यारे मम बेचेर बिल्डिङ्ग ठडयाउँदा त्यस सुन्दर घरको नाम नै हामीले राँगे घर राखिदियौँ । साथीका छोराहरु हङ्गकङ्ग र बैङ्गकक गई विदेशी मालसामानको कारोबार गर्दा ती लागू पदार्थ ओसारपसार गर्छन् भनी ठट्टा ग¥यौं । अघिल्लो घरको सान्नानीले ब्यूटी पार्लर खोलेर व्यवसाय गर्दा त्यसको नाम हामीले गोप्य रन्डीकोठी राख्यौं । हेर्दाहेर्दै अरु गाडीमा चढ्न थाले । ती इन्डियाबाट चोरी गरी ल्याइएका गाडीहरु हुन् भनी हामीले चित्त बुझायौं ।

तर रेडियोबाट एकै पटक अवकाशको सूचीमा आफ्नो नाम पनि प्रसारित हुँदा मलाई आकाशबाट खसेको अनुभूति भयो । उमेर ५० पनि पुगेको छैन । काम गर्ने शक्ति अझै छ । र, अब कुन कामको सीप मसँग बाँकी छ ? मैले आफूभित्र सोचें । हाकिम मान्छे–टाइप कहिल्यै छोइएन । अब कम्प्युटरको जमाना आइसक्यो । सानोतिनो नेपालीमा चिठीपत्र, टिप्पणी लेखेर जिन्दगी बिताइयो । तर अब प्रोजेक्ट प्रपोजल अङ्ग्रेजीमा कहाँबाट लेखूँ ? जब कि राष्ट्रवादी नेपालीले नेपाली भाषामा नै जोड दिनुपर्छ भनी अङ्ग्रेजीलाई हेला जस्तै गरी यत्रा लामा वर्षहरु आफूले काटियो । जागिरलाई चाकडीसँग गाँसियो । जनकपुरका ताजा माछाहरुलाई आफ्नै पोखरीको बनाएर उपहार टक्रयाइयो । भोजपुरे सुन्तला पनि काठमाडौंकै बगैंचामा फलाइयो । अब के गर्ने ? अब के गर्ने ? हरेक रात के गर्ने प्रश्नले नै काटियो । एक एक महिना भए । डेड उडलाई अवकाश दिएको भनियो, चित्त बुझाइयो ।

अब त बहुदल आयो । पार्टीका मान्छेलाई समात्नु पर्छ भनेर साथीभाइले हार्दिक सल्लाह दिए । नभन्दै आफ्नो गाउँका एम. पी. कहाँ एकाविहानै पुगें । चाकरी गर्ने कार्यकर्ताहरुको हुलमा बल्लतल्ल उहाँको भेट पाइयो । तर नाम भन्नासाथ एम.पी. साहेबको मुख कालोनिलो भयो । अघिसम्मको उहाँको हँसिलो अनुहार कालोपाटीमा बदलियो । उहाँले फेरि दोहो¥याउनुभयो – तपाईँ पहिले सी.डी.ओ. भइसकेको होइन ? जिल्ला प्रशासनको पनि अनुभव छ, धेरै वर्ष सी.डी.ओे. भइआएको भन्दा उहाँको मुख झन् गोलभेँडा झैं रातो भयो । पुतलीकाँटे जुँगाहरु फणा उठाएर नागका रुपमा उठे र स्वर कठोर भयो –“मलाई तीन तीन महिना भात र पानीबिना जेलमा कोचेको बिर्सिनु भयो … ?”

साँच्ची म झल्याँस्स भए । जागिर खाँदा सयौंलाई जेलमा कोचिएको थियो । आफैले कोर्रा पनि कतिलाई हानिएको थियो । ती मध्ये एम.पी. पनि रहेछन् । मलाई किन हो भाउन्न भएर आयो । सँगै लगेको साथीले हत्त र पत्त घरमा फर्काएर ल्याए । नत्र अरु नराम्रो हुन्थ्यो कि ? के विश्वास उनीहरु सरकारमा भएको बेला ।

जहाँ जहाँ जागिर खुल्यो, दरखास्त राख्दै आइयो । एन.जी.ओ. हरुतिर पनि मुख सुँघियो । प्राइभेट कम्पनीहरुमा पनि अन्तरवार्ताका लागि लाइन लागियो । तर सरकारले काम नलाग्ने बनाएको मान्छेलाई अरुले के काम गर्न सक्छ भनी ती पत्याउँदैनथे । प्रत्येकपल्ट सपनाको महल घरभित्र बन्थ्यो र घरमा नै भत्कन्थ्यो । कहीँ कसैले नखाएको जागिर आफैंले खाइएको रहेछ । जागिर खाएर पनि पार्टीलाई गोप्यरुपमा चन्दा सहयोग गर्दै आउनु पर्ने रहेछ – त्यही भुल, त्यही गल्ती भएछ । आफूले चित्त बुझाएँ, आखिर कर्मचारीबुद्धि !

दिनभरि पासा लडाएर पनि दिन सिद्धिएन । रातभरि ‘जी’ सिनेमा हेरेर पनि रात कहिल्यै सिद्धिएन । पत्रपत्रिका कति पढ्ने ? सारामा उही खबर उही कुरा । नेताजीले जनतालाई भोटका लागि ढाँटेका र झुक्याइएका कुरा । मुम्बईको बजारको लागि जन्मिएका र हुर्किएका नेपाली चेलीका कुरा । जङ्गल सिद्धिएर बाढी र पहिरोले देश सिध्याएको कुरा । एड्स र महँगी समान रुपले बढेको कुरा । अनि विश्वको सबभन्दा गरिबमा आफ्नो देश एक नम्बर भएको कुरा । जहाँ जसले जे–जे पाउँछ त्यो खाएको कुरा । लाज भनेको कसैलाई थाहासम्म नभएको कुरा ।

कहीँ पार्टटाइम, कहीँ फुलटाइम, कहीँ हाफ्टाइमका कुराहरु पनि आए । गार्मेन्ट आयो र गार्मेन्ट त्यसरी नै गयो । गाउँका सबै साइँली माइलीहरु गार्मेन्ट भएर आए र मुम्बईमा पुगेर ती समाप्त भए । त्यस्तै कार्पेट आयो र कार्पेट गयो पनि । सबै चीज, विषयवस्तु एउटा आँधी आउनु र जानु जस्तै भयो–मेरो लागि । मेरो घर र परिवार क्रमशः आँधी वा भूकम्पपछिको शहर जस्तो भयो । जति रुपैँया कमाए पनि बिहान–बेलुकाको दाल भातमा नै सिद्धिने भयो । घरको कसैलाई पनि एउटा ठूलो रोग लागेमा औषधि गर्नुभन्दा विष खानु सजिलो हुनेभयो । देशले अखबारका हेडलाइनहरुमा नै अभूतपूर्व विकास ग¥यो । तर मेरो मन भने नदीछेउको त्यो बूढो रुख जस्तो भइरह्यो, जसको नियति वर्षाको भेलमा बगेर जानुनै थियो ।

समसामयिक विषयहरुमा आर्टिकल लेख्यो । छाप्नका लागि मान्छे चिन्न र चाकडी गर्दा नै महिनौं बित्ने भयो । तर छाप्ने आश्वासनमा जिन्दगी नै डुब्ने भयो । केटाकेटीलाई बिहान बेलुकी ट्यूशन पढाएर अलमलिने विचार पनि गरियो । तर आफ्नो पालाका साना ‘क’हरु सबै ठूला भइसकेको पाएर पिटाइ खाने डरले त्यो आँट पनि गर्न सकिनँ । सबैतिरबाट निराश र हतास भइसकेपछि एउटा मान्छे के गर्छ ? कि ऊ बहुलाउँछ कि ऊ विष खाएर मर्छ । तर ती दुबै दिन आउन बाँकी नै रहेछन् । कहीँ कतै अझ भगवान् रहेछन् । मनमा त्यस्तै लाग्यो ।

तर यी सब कुरा घरमा के कसरी सुनाउने ? म रन्थनिएँ । फेरि केही दिनदेखि घरको वातावरण अस्पष्ट र अत्यासलाग्दो हुँदै आएको थियो । कुनै ठूलो आँधिबेरी आउन लागेको आभास हुन्थ्यो । तर केही दिन पर्खे पनि म सधैंलाई आफ्नो कुरा ड्रप गर्न सक्ने स्थितिमा थिइन । र, मैले सबैका अगाडि एक दिन खाना खाइरहेको बेला आफूलाई सहज रुपमा प्रस्तुत गरेँ ।

‘म विदेश जाउँ कि भन्न लागेको ।’ मैले मसिनो स्वरमा भनें । परिवारका आँखाहरु चम्केर आए । तिनले मेरो स्वर राम्ररी सुनेजस्तो लागेन । मैले फेरि सामान्यरुपमा भने –‘म शीघ्र विदेश जाँदैछु । आजभोलि नै भिसा मिल्ला जस्तो छ ।’

‘तपाईँ एक्लै जाने ?’ ठूलो छोराले हठात् प्रश्न ग¥यो ।

‘हामी दुबै जना जाने । हामीले जापानमा बच्चाबच्ची हेर्ने काम पाउने भएका छौं ।’ फेरि म पहिले जस्तै सहज भएँ । यसलाई मैले कथाको रुपमा दिएँ .. ठमेलमा एउटा जापानी दम्पतिसँग भेटभयो । ती नेपाल घुम्न आएका रहेछन् । बाटोमा त्यसै चिनापर्ची भई मित्रतामा बदलियो । अनि जाने कुरा आएको ।

‘यो बुढेसकालमा तपाईँहरु हाम्रा बच्चाबच्ची नहेरेर अब विदेशीका बच्चाबच्ची हेर्न जाने ? के हामीसँग ठट्टा गर्नुभएको ।’ यो स्वर कान्छो छोराको थियो ।

‘यहाँ हाम्रो काम छैन । कामै भएपनि केही गर्न पुग्दैन । बच्चा त के अब गुहु पनि सोहर्ने ? भाँडा पनि माझ्ने ? आखिर हामीलाई पनि त पैसा चाहियो ।’ म गम्भीर थिएँ । यी स्वरहरु बोल्दा मलाई लागेको थियो – यी मेरा स्वरहरु होइनन्, अरु कसैका हुन् ।

‘हो बा –मलाई पनि त्यो टाइपिष्टको जागिरले भएन । मैले त प्याकिङ्गको काम गर्न मलेसियामा मिलाइसकें । एक महिनाभित्र मेरो कन्फरमेशन आइसक्छ ।’–यो हाम्री एउटै छोरीको आवाज थियो ।

‘किन म जाने भएपछि सबैलाई जानुप¥यो । तिम्रो बिहे गर्नु छ । फेरि पढ्दैछौ ।’

‘यहाँ पढेर के काम छ र बा ! कुनै पढेको र जानेको मान्छेले यहाँ के काम पाएको छ र ? यो देशमा किन बस्ने बा ! तपाईँहरु बूढाबूढी हुनुभयो, बस्नोस् आफ्नो देशमा । मलाई त यस्तो देशमा एक मिनेट पनि बस्नु छैन ।’ छोरीले पूरा असन्तोष प्रकट गरी ।

‘तिम्रो बिहेबारीको कुरा भइरहेछ’ मेरी श्रीमतीले भनी ।

‘मलाई कुनै नेपालीसँग बिहे गर्नु र ग्यालग्याल्ती छोराछोरी जन्माउनु छैन । म उहीँ बिहे गर्न सक्छु । यो भविष्य नै नभएको देशमा के हेरेर बस्ने ?’ छोरी अलि उत्तेजित भई ।

वातावरण सुनसान जस्तो भयो । मैले पनि आफ्नो निर्णय सुनाएँ –‘हामी त एक दुई वर्षलाई जाने..जाने । तिमीहरुको त पूरै जिन्दगी बाँकी छ नि ! विदेश जानलाई यत्ति हतारो गरिहाल्नु पर्नेछ र ?’

‘बा ! मेरो पनि अष्टे«लिया जानुपर्ला कि जस्तो छ’–यो स्वर कान्छोको थियो ।

‘होइन के तिमीहरु सबैले विदेश जाने मिलाइसक्यौं ?’ अहिले मेरो स्वर कामेको थियो ।

‘यहाँ किन र के का लागि बस्ने बा ! न काम छ, न माम छ । यहाँ बस्तै गइयो भने कुनै दिन अनाहकमा बरु जेल परिएला बा ! बरु विदेशकै जेलमा जाऊँ । अष्टे«लियामा पढ्छु, होटलमा काम पनि गर्छु । आफ्नो क्यारियर पनि त हेर्नु प¥यो ।’ कान्छो छोरो आफ्नो भनाइमा दृढ थियो ।

‘यहीँ जागिर खाऊ । आफ्नो घर छ हेर । २०–२२ वर्षकै उमेरमा यत्ति निराश हुनुपर्ने छ र ?’ मैलेसम्झाउने कोशिश गरें ।

‘जागिर त जिन्दगीभर तपाईँले खाइहाल्नु भयो नि । पेन्सनले आफू एकजनालाई खान नपुग्ने । फेरि तपाईँकै जस्तो गधा जिन्दगी म किन बिताइरहूँ बा ! तपाईँ बूढाबूढी घर हेर्नुहोस् । म अष्टे«लियाबाट बरु कमाएर पठाउँला ।’

म नाजवाफ भएँ । म जाने, मसँगै मेरी श्रीमती जाने । छोरी मलेसिया जाने । कान्छो छोरो अष्टे«लिया जाने । पुस्तौंपुस्ता दुःख गरी बस्दै आएको यो घर, यो फूलबारी कसले हेर्ने ? मलाई बस्दै आएको घर ढल्न लागेजस्तो भयो ।

अहिलेसम्म जेठो छोरो केही बोलेको थिएन । मैले उसको अनुहार हेरें । ऊ धेरै गम्भीर थियो । काठमाडौंमा नै सानोतिनो जागिरमा ऊ अल्झेको थियो ।

‘सुरेशले घर कुर्नु नि त ! केही वर्ष हामी अरु विदेश नै बसौं ।’ मैले निष्कर्ष दिन खोजें –‘जेठो छोराले घरब्यवहार नहेरे कसले हेर्ने ?’

‘मेरो त झन् भोलिकै टिकट छ बा ! कोरियामा काम पाएको छु । महिनाको ३० हजार भन्दा बढी हुन्छ । तपाईँलाई बढी किन टेन्सन दिउँ भनेर भोलि जाने, आजै मात्र भनुँ भनेर बसेको थिएँ ।’ सुरेश गम्भीर भयो ।

वातावरण अब झन् गहिरो र गम्भीर बन्यो, जो होला भन्ने हामी कसैले सोचेका थिएनौं। सूर्यहरुले कहीँ कतै आत्महत्या गरेजस्तो लाग्यो । सुरेशले अझ थप्यो –‘जो जो बस्नुपर्छ यो मुर्दा जस्तो घरमा बस्नुहोला । मलाई केही मतलब छैन । जहाँ खालि सोर्सफोर्स मात्र छ, जहाँ आफ्नो मान्छे मात्र छ, नातागोता र कुटुम्बरी मात्र छ, जहाँ पैसा जसरी पनि कमाऊ र भ्रष्टाचार गर मात्र छ, त्यो पनि कुनै देश हो ? कुनै राष्ट्र हो, कुनै घर हो ? म त टुरिष्टको रुपमा कुनै दिन यहाँको हिमाल हाँसेको हेर्न आउँला । यहाँका जनताहरु रोएको कसले देखेको छ ? भन्नोस् कसले देखेको छ ? … यस्तो अजिम्मेवार र बेवारिसे देशमा मैले के हेरेर बसिरहने बा ! म त भोलि नै जान्छु … जान्छु, एक जान्छु– दुई जान्छु ।’

मलाई किन किन रुन मन लाग्यो । श्रीमतीको अनुहार हेरें – ऊ पनि रुने उपक्रममा थिई । त्यहाँ अहिले कसैसँग कुनै जवाफ थिएन ।

‘यो घर नि – यो घर कसले हेर्ने ?’ मैले चिच्याउन चाहें –‘जुन घरमा मेरो चार चार पुस्ता बित्यो । जुन घरमा तिमीहरु जन्म्यौ, हुक्र्यौ र बढ्यौ । यो घरमा के अब कोही नबस्ने ? सबै विदेश जाने ? यो कसको घर हो ? … के मेरो मात्र हो ? यो सब हुनुमा के म मात्र जिम्मेवार छु ।’ मलाई चिच्याउन मन लाग्यो ।

जसको जवाफ कोहीसित थिएन । मैले परिवारका सारा सदस्यहरुको गम्भीर र भावुक अनुहार हेरें – जो मेरो रगतका नाताले नजिक थिए । तर ती सारा अनुहारहरुमा मैले एकै पटक पढें – दिलमान ! यो घर कसैको होइन । यो घरको जिम्मेवार कसैमा छैन । र, यो घर एक दिन अवश्य पनि ढल्ने छ। अहिल्यै आजै यो घरबाट भाग्नु नै बुद्धिमानी हुनेछ ।

(प्रधानको कथोपन्यास ‘घर’ को अंश)

प्रतिक्रिया दिनुहोस्

*