विश्व

-गोपाल पराजुली

मेरो नाममा बनेको ऊ
अर्थात् गुणदत्त
केही पनि आफ्नो भनेर लिने छैन
उसको सार्वभौम हिमालबाहेक
नदीबाहेक
पहाडबाहेक
तराई मधेशबाहेक समुद्र
उसको यहाँ केही पनि छँदा पनि छैन
दर्द उसको हो
अज्ञात समुद्रमा
दुःखको सिमाना क्रस गर्दा
हराएको वा पाएको
देश टापु
र ताल उसको हो
आफ्ना सबै चिन्तनलाई
ईश्वर बनाउँदै
र दुःखलाई
भगवान् कृष्ण बनाउँदै
कुनै कारागार नराखीकन एकान्तमा
आर्यघाटमा
जो मर्न सक्तैन
त्यो आफ्नो आत्मालाई
ब्रह्मा विष्णु महेश्वर बनाउँदै
क्राइष्ट मुहम्मद बुद्ध बनाउँदै
महालक्ष्मी महासरस्वती महाकाली बनाउँदै
आफ्नै देशमा एउटा महादेश राखेर
सम्झनका लागि राम
सीता
र क्षमा दिनका लागि रावण राखेर
सबभन्दा बढी प्रेम गरेको
विश्व
कोबाट लिने
विज्ञानबाट लिने कि
मन्दिरबाट लिने कि
आफ्नै पीडाबाट लिने
हरेक रात मृत्युलाई सुताएर
विछ्यौनामा
जीवनलाई
सूर्यलाई झैँ उठाएर बिहान
एउटा विश्व हेर्न दौडिरहेको समय
चढिरहेको उमेरमा उठाएर
मिथ्या होइन भनेर बगैँचामा फुलेको फूल
पारिजात
मिथ्या होइन भनेर
आफ्ना विचारको बिम्ब
संसारका सबै दुःख लिएर
कठोर आर्यघाट जान
र विश्वका सबै
वैज्ञानिक
विचारक
र  कविहरूको कविताको बिम्ब बोकेर
संसारमा बस्न
संसारका सबै चाँदी
र फलामका साङ्ला छिनालेर
जीवनसँग बस्न
जीवनका सबै सङ्घर्षको
उत्तराधिकार
आफूले नै वहन गर्दै
उसको सबै सङ्घर्ष हेर्न
सूर्यलाई आकाशमा उभिन दिएर
र आफ्ना सबै चोटलाई छोप्न
रातलाई हरदिन निमन्त्रण गर्दै
जीवनका सबै सङ्घर्षमा ईश्वरलाई राख्दै
र प्रणवले हेरेझैँ
सबै सङ्घर्षमा
एउटा योगीलाई हेर्दै
र प्रणवले आउन प्रतिज्ञा गरेको
देशमा आएर
एउटा अर्को पारिजातको बिरुवा रोप्दै
र आफ्नै जीवनका
दिक्दार समयलाई हेर्दै
रातको दुःखमा चन्द्रमा
दिनको सङ्घर्षमा
ग्रहण नलागेको सूर्य हेर्दै
आफ्नै भाषामा
जीवनका लय
र मेल हेर्दै
र मानिसहरू कहाँनिर हाँस्न सक्छन्
त्यहाँनिर पुगेर हेर्दै
र जीवनलाई कहिले मौनतामा राख्दै
र कहिले मृत्युजस्तै अँध्यारोबाट झिक्दै
एउटा पाहुनालाई जस्तै
जीवनलाई हृदयमा वास दिन
राख्दै
र प्रणवले जस्तै
सूर्यचन्द्र सहितको आकाश
र हिमाल समुद्रसहितको पृथ्वी
राम कृष्ण
वृष जयसहितको पृथ्वी
शान्तिमा राख्दै
र आश्रमजस्तै
शान्त जमिनको टुक्रामा
विनाहात हतियार
एक्काइसौँ शतादीको भाग्य राख्न
योगीजस्तै गम्भीर बनेको
र मानिसको प्रेमको आश्रय बनेको
पृथ्वीको छातीमा
मानिसका सबै निर्दोष सपना
इच्छा राख्न
सबै मानवीय शङ्का हटाउँदै
र जस्मिन जाई
जुही र पारिजातको बोटवरिपरि
पृथ्वी विछ्याउँदै
नाइटिङ्गल र कोइलीलाई गाउन
वेदका ऋचाहरू वटुकलाई
पढ्न दिँदै
नयाँ गीत सकिएको भए
लिरिक कविलाई लेख्न
र ताजा र फुल्न लागेका गुलाबहरू
बालकहरूलाई हेर्न दिँदै
जीवनमा दुःखद त्रासद
एक्ला क्षणका परिश्रम
र सङ्घर्ष
अन्त्य भएको
र मित्रहरूसँग विच्छेद भएको सम्बन्ध
फेरि जोडिएको घोषणा
मुस्काउनेहरूका अनुहार
हाँस्नेहरूको हाँसो
कुनै आँखामा पुगेर नमर्दै गर्दै
बालकहरू हतियारविहीन पृथ्वी हेरेर नकाँप्दै
र रगत र हाँसो र सपना र यौवन
आत्मा र ईश्वरको
सबै यात्रा निर्दिष्ट गर्ने समयलाई बुझाउँदै
तारा जूनसहितको आकाश बुझाउँदै
इतिहासको अन्तिम
र शताब्दीको प्रथम दिन बुझाउँदै
सबै भ्रम
मिथ्या भाषण
र वृद्धहरूका सुस्केरा
युवतीहरूका प्रेमका प्रस्ताव बुझाउँदै
ब्रह्माण्डको उत्पत्तिबारे अनुसन्धान
‘महाप्रयोग’ मा जेनेभामा
हिग्स बोसोन भनिने अद्भुत तवको झलक
देखिएको
र सृष्टिको रचनासँग सम्बन्धित
रहस्य अब खुल्ने आशा गरिएको
सूचना
र भविष्य लिँदै
लिली मेरिगोल्ड ह्यासिन्थ
र संसारका सबै फूलहरूलाई
एक एक फुल्न दिँदै
रूखहरूलाई
गाउँहरूलाई उठ्न
सहरहरूलाई
मानिसलाई उठ्न
र बाँच्न स्वतन्त्र हुन दिँदै
एउटा कैदखाना पृथ्वीबाट
सटक्क झिकेर
आँखा नदेख्नेहरूको छातीमा सूर्य
र देख्नेहरूका आँखामा
एउटा ‘ग्रिन जोन’ राख्न
पृथ्वीमा
‘ग्रिन जोन’को गाउँ हेरेर मर्न चाहने
प्रणवको चाहनामा
प्रणवलाई र मलाई र हामी सबैलाई
हाम्रै मुस्कानले सहयोग गरेको हेर्दै
ईश्वरको केन्द्र मानिसमा सारेँ
मानिसको केन्द्र
ईश्वरमा सारेँ
मानिस र ईश्वर दुवैलाई मान्ने प्रणवको
मेरो परिचयको केन्द्र
ब्रविममा सारेँ
सार्दै
प्रत्येक दिन आउने
बिहानको सूर्यले
हामीलाई बाँच्न
र संसार हेर्न सहयोग गरेजस्तै
पृथ्वी प्रणव ब्रविमलाई लगातार हेर्दै
र यो विश्वलाई
मेरो आवाजको प्रथम
सुरक्षाको
यो प्रस्ताव बुझाउँदै
म गुणदत्त तिनीसम्म पुग्न
आफूलाई सहयोग गर्नेछु
आफ्ना सबै परिचयलाई बिदा गर्दै

काठमाडौं

प्रतिक्रिया दिनुहोस्

*