कमिलाको डाक्टर

—गोपीकृष्ण ढुंगाना

(बालकथा)

बिहानको ९ बज्यो । रियाज सधैंझैं घरको पेटीमा बसेर स्कूलबस कुरिरहेको थियो । रियाजसित उसका बाबा पनि हुनुहन्थ्यो । रियाज यताउति हेर्दै थियो । त्यहाँ उसले कमिलाको ताँती देख्यो । त्यही बेला कमिला कहिले रियाजको खुट्टामा त कहिले हातमा उक्लिन थाले । ऊ तिनलाई हल्लाएर फ्याँक्न थाल्यो ।
एकछिनपछि रियाज कमिलाको ताँतीलाई सिन्काले चलाउन पनि थाल्यो । कमिलासित खेल्दा उसलाई रमाइलो लागेको थियो । धेरै कमिला लस्करै हिँडेका थिए । बिहान भएकाले पारिलो घाम लागेको थियो । उसले सोध्यो, ‘बाबा कमिला कहाँ हिँडेका होलान् ?’ बाबाले जिस्कँदै भन्नुभयो, ‘तिमी जस्तै स्कूल हिँडेका होलान् नि ।’ कक्षा एकमा पढ्ने उसले जिज्ञासा राख्यो, ‘ ओहो कमिलाको पनि स्कुल हुन्छ र, तिनीहरूको स्कुल बसचाहिँ हुन्छ कि हुन्न नि?’ बाबाले हाँस्दै भन्नुभयो– ‘तिनीहरू खेल्न हिँडेका पनि हुन सक्छन् । सबै मिलेर खानेकुरा खोज्न हिँडेका पनि हुन सक्छन् ।’
धेरै कमिला देखेर रियाजलाई कमिलासित एकछिन खेल्न मन लाग्यो । ऊ कमिलाहरूलाई चलाउन थाल्यो । उसले चलाउन थालेपछि कमिलाको ताँती तितर–बितर भयो । उनीहरु कहिले यता कहिले उता गर्न थाले । केही एक आपसमा मुख जुधाएर साउती मार्न थाले । ‘रियाज, तिमीले कमिलालाई किन चलाएको ? शत्रुले मार्न आँटेको भन्ठानेर उनीहरु भगिरहेछन् । आपत परेको बेला धेरै दुःख दिनु हुन्न’, बाबाले भन्नुभयो ।
एकछिनपछि कमिला फेरि पहिलेजस्तै ताँती लागेर हिड्न थाले । ऊ फेरि कमिला जिस्क्याउन अघि बढ्यो । बाबाले सम्झाउँदै भन्नुभयो, ‘रियाज, नचलाउ है, कमिलाले टोक्ला नि ।’ रियाज चकचके केटो होइन । तर रियाजलाई भने स्कुलमा लाम लागेर राष्ट्रिय गान गाउन लागेका विद्यार्थी जस्ता कमिलालाई एकचोटि चलाउनै मन लाग्यो । मन लागेपछि गरेरै छोड्ने उसका बानी छ ।  उसले फेरि कमिलालाई चलायो । कमिला फेरि छरप्रस्ट भए ।
एउटा कमिलो उसको हातमा चढ्यो । त्यो रियाजले थाहा पाएन । घाँटीमा पुगेपछि उसले थाहा पायो र हात पु¥यायो । कमिलालाई अप्ठेरो परेकाले रियाजको घाँटीमा कुटुक्क टोकिदियो । ऊ चिच्याएर रुन थाल्यो । छिमेकीसँग कुराकानी गरिरहेका उसका बुबा अतालिएर सोध्नुभयो– ‘के भयो रियाज ?’ रियाजले रुँदै हातमा टाँसिएको कमिलो देखाएर भन्यो, ‘मलाई कमिलाले टोक्यो ।’ बाबा सम्झाउन थाल्नुभयो, ‘मैले अघि नै भनेको थिएँ नि, कमिलालाई जिस्क्याउनु हुन्न भनेर । तिमीले मानेनौ ।’
स्कुल बस अझै आएको थिएन । रियाज छिटो आए बस ढिलो आउँछ, बस छिटो आएको दिन रियाज आउन ढिलो हुन्छ । कमिलाले कहिल्यै नटोकेको ऊ ¥याल सिँगान हुञ्जेल रोयो । साथीसँग छरिएका केही कमिला हिँडिरहेका थिए । घाँटी सुम्सुम्याइरहेको रियाज रिसाएको थियो । छालाको जुत्ता लगाएको उसले एउटा कमिलोलाई फुटबलझैँ  हान्यो । कमिलो किचियो । किचिएको कमिलो छट्पटाउन थाल्यो । तर कमिलो रोएको सुनिएन । रियाजले सोध्यो, ‘बाबा कमिलो त रोएको छैन नि ?’ ‘रियाज, कमिलोलाई किन कुल्चेको ?’, बाबाले भन्नुभयो, ‘कमिलो मान्छेजस्तो रुँदैन, हेर त कति दुखेको छ उसलाई । तिमीलाई जस्तो फकाउने उसको बाबा पनि हुनुहुन्न । हिँड्न पनि सकेको छैन विचरा ।’
केहीबेर छट्पटाएपछि घाइते कमिलालाई साथीले देखे । पालैपालो ती कमिला उसको छेउ आउँथे र छुन्थे अनि जान्थे । तर कसैले उसलाई जाती पारेनन् । न साथमा लिएर गए । न त कोही उसका साथमा बसे । सबै दृश्य हेरिरहेको रियाजको मन मायाले भरिएर आयो । उसले घाइते कमिलोलाई मायाले छुन खोज्यो । तर अघि टोकेको सम्झिएर हात आफैंतिर तान्यो  । बुबाले भन्नुभयो, ‘रियाज, ल हेर कमिलोलाई कति दुखेको छ, अब ऊ म¥यो भने ? उसका छोराछोरीले कहाँ खोज्लान् ? कति रोलान् ? उसका छोराछोरीलाई खानेकुरा कसले खुवाउला ?’, बाबाको कुरा सुनेर रियाज रून थाल्यो । भन्यो, ‘बाबा, अब के गर्ने ?’
बाबा नबोलेपछि रियाजले एउटा उपाय बतायो, ‘बाबा, कमिलालाई हाम्रो डाक्टर अङ्कलले निको पार्नुहुन्न ? लगिहालौं न ।’ ‘डाक्टरले त मान्छेलाई मात्र ठिक पार्ने हो, कमिलोलाई त हेर्नुहुन्न’, बाबाले भन्नुभयो । ‘बाबा, अबदेखि म कमिलोलाई कहिल्यै कुल्चिन्न हस्’, गल्तीको पश्चाताप गर्दै थियो रियाज । पेटीमा कमिलो छट्पटाइरहेकै थियो । कमिलो छटपटाएको देखेर रियाजलाई धेरै नरमाइलो लाग्यो ।
उसले कमिलाहरू बिरामी हुँदा कुन अस्पताल जान्छन् होला ? कमिलाले कुन पसलमा औषधि किन्छन् होला ? कमिलाको एम्बुलेन्स हुन्छ कि हुन्न होला ? क्रमशः प्रश्न सोध्दै थियो । कमिलोको पीडा देखेर रियाजलाई स्कुल जानै मन लागेन । उसले फेरि भन्यो–‘बाबा, कमिलालाई कमिलाकै डाक्टर भ’को ठाउँमा लगौं न त ।’ यत्तिकैमा बसले हर्न बजायो । बाबाले भन्नुभयो, ‘बाबु, कमिलाको डाक्टर हुँदैन । मानिसले नै सबै जीवजन्तुको संरक्षण र हेरचाह गर्नुपर्छ । ऊ हेर तिमीले कुल्चेको कमिलो पनि मरिसक्यो । अब कमिलाको चिन्ता छोड । स्कुल बस आइसक्यो, अब तिमी स्कुल जानुपर्छ ।’ रियाजलाई भने आज स्कुल जान मनै लागेको थिएन ।

twitter मा म

गठ्ठाघर, भक्तपुर ।

प्रतिक्रिया दिनुहोस्

*