ज्यामीपत्नीको घोषणा

-कृष्ण जोशी

यो
त्यही आँगन हो
जहाँ आएर आत्महत्या गर्छु भन्थें
अपशोच !
यस अर्थमा भयो कि
आत्महत्या गरिसकेछन् यहाँ नै झुन्डिएर
मभन्दा पहिले
दैव अनि धर्म दुवैले

मृत्यु भएको थियो
यही आँगनमा
त्यो अग्लो घरको आठौं तलाबाट खसेर
ज्यामी काम गर्ने मेरो लोग्नेको
ढलान गर्दै थिए
त्यसबेला उनी

सिमेन्ट इँटा र फलामका सबै जोर्नीहरुमा
पोलिएको छ डढेको छ
मेरो लोग्नेको हाड, करङ र मासु
रंगिएका छन् त्यो घरका सबै भित्ता पर्खालहरु
उनकै रगत बाछिटाले

थाहा पाउँदैनन्
चारैतिर फैलिइरहेको
त्यही हाड, करङ, मासु कुहिएको दुर्गन्ध
खिया लागेका फलामका टुक्रा रहेछन्
त्यो घरमा बस्ने मान्छेहरुका
नाक, मुख, जिब्राहरु

हेरिरहेछौं
त्यही घरतर्फ
यही आँगनमा हिजो अस्तिदेखि आएर

उनै ज्यामीकी पत्नी र काखमा तीन वर्षको छोरो
अन्न हुँदैन
अलिकति पानी हुँदैन हामीसँग
रात परेपछि
आँसु र शीत पिउँछौं
अलिकति उज्यालो निल्छौं घाम लागेपछि

थाहा पाएनौं
पेट कतिबेला रित्तियो
थाहा भएन
पसिना कति बगेर सुक्यो त्यो घर बनाउँदा
बिहान उस्तै थियो
उस्तै थियो दिन र रात
त्यही घरभित्र
हामी अटाउने अलिकति ठाउँ छैन

कहाँ जाउँ कता जाउँ
ओत लागौं कतै पराले झुपडी बनाएर
एक टुक्रा किनार उब्रिएको छैन
कुनै नदी र खोलाहरुमा
आकाश खसालेर बसौं
कहाँ कता धेरै टाढा छ
हामीभन्दा धेरैमाथि छ त्यो आकाश

पालेका छन् घर मालिकले
विदेशी महंगो कुकुर
सानो सुन्दर चिटिक्क परेको घर बनाएर
त्यही खोरको छेउमा पनि अटाएनौं हामी
सानो अँध्यारो कुना पाएनौं
छिडीमुनि
भ¥याङमुनि

सिठोपिठो खस्रो मसिनो मुखमा परेको
सपना देख्यो
त्यही सपना झुन्डाएर आँखामा
आएकी थिएँ ज्यामी काम गर्न
म पनि यो घरमा

दशाग्रह बिग्रिएको त्यो साँझ
इँटाको थुप्रो र सिमेन्ट बोराहरु अचानक खस्यो
त्यो सातौं तलाबाट ममाथि
म मुच्र्छा परें

भाँच्चिएका रहेछन् दुवै हातहरु
होस फर्किएपछि थाहा पाएँ
घाउ पाकिरहेछ
भित्रभित्र कुहिरहेछ
झर्न सक्छन् भरे, भोलि, पर्सि जीउबाट यी हातहरु

अस्पताल गएँ
तर्सिएँ औषधि उपचारको हिसाब सुनेर
चिच्याएँ त्यही अस्पतालअगाडि उभिएर
खुट्टा बेचिदिन्छु
आँखा बेचिदिन्छु
बेचिदिन्छु जीउको बाँकी रहेको रगत
सुकेको ओइलाएको शरीर पनि बेचिदिन्छु
कसैलाई
मन परेन यो जीर्ण शरीर

देख्दैनन् हामीलाई
स्वर्णिम चस्माभित्रबाट हेर्ने आँखाहरुले
बोल्दैनन्
काँक्राको बियाँजस्ता मन र मुटु भएका मान्छेहरुले
सोधिरहेछु
ठूलो घरका लाटोगाँडोहरुलाई
क्ति रात काटौं शित खाएर
कति दिन बाँचौं उज्यालो खाएर ?

सुन्निँदैछ, फुल्लिँदैछ
भोको बालक छोराको पेट
हलचल गर्दैन बोल्न सक्दैन
मुख मिठ्याउँदै थियो भर्खरसम्म
अनेकन व्यञ्जन खोरभित्र कुकुरले खाएको देखेर
अचेत भएजस्तो छ
सूर हराएजस्तो छ अहिले यसको

फ्याँलिदिन्छु
यहाँ नै यसलाई
बाँचोस् आफ्नै ज्यामी बाबुको
हाड, रगत मासुको दुर्गन्ध खाएर
धरतीविहीन
मान्छेविहीन
आकाशविहीन यो जिन्दगी
अल्झियो दुम्सी भएर मभित्र म बाहिर
फ्याल्न नसकेर मबाट झिकेर त्यसलाई
आएकी थिएँ यही आँगनमा आत्महत्या गर्न

पश्चातापसहित
यो घोषणा गर्दछु
मभन्दा पहिले आत्महत्या गरिसकेछन्
दैव अनि धर्म दुवैले यही आँगनमा झुन्डिएर ।

काठमाडौं, नेपाल

प्रतिक्रिया दिनुहोस्

*