ज्याद्रो लिगलिगकोट !

–युवराज नयाँघरे

चारै बजे ब्यँुझायो कोकले कराएर !
हिजोको लम्काइले खुट्टामा कैँडा लागेथे । थिल्थिलाएको जीउ गलेथ्यो झरीले । पानीमा भिजेका लुगा उसिनिएर गन्हाएका थिए । तैपनि यी सबै कुरा थन्किए त्यत्तिकै । आँखाको बिख मरेथ्यो मज्जाले । मैले मनलाई भनेँ, तैँ चुप मै चुप !
बिहानै जङ्गल पसियो र हलुक्याइयो जिउ ।
साथीहरु सभा चौतारोमा भेला भइसकेथे । त्यहाँ तातो चियाले, गाउँलेहरुको स्नेहले भरियो मन टुमुक्क । हिजो त्यति सा¥हो नदेखिएका सुन्दर बस्तीहरु, वनहरु र कसिला थुम्काहरु खुबै देखिए वरपर । हरियो वन र रातो माटोको निकै मेलजोल जताततै । कुइरो थिएन, दिन थियो निकै उज्यालो ।
‘आजको लम्काइ लिगलिगकोट सम्म हुन्छ !’
बाटो लाग्दा बताए विकाश ढकालले ।
नभन्दै इतिहासप्रसिद्घ सभा चौतारो छोड्यौँ हामीले । अनि तेर्पे र ओ¥हालो भएर लाग्यौँ राउतेपानीतिर । बाटबाटामा आइमाई–केटाकेटीको स्वागत भइरहेथ्यो खुबै । चरीजस्ता चञ्चल केटाकेटीका हातहातमा पूmलपात !
बिहान बोकेर हिँडिरहेथ्यौँ हामी ।
गुराँसका पोथ्रा जताततै देखिन्थे झ्याम्मझ्याम्म । बाँसघारीमा चराका कल्याङमल्याङ बेस्सरी सुनियो । प्रभातको मधुर समय एकान्तका गाउँहरुमा छरिइरहेथ्यो । गाईबाख्रालाई थान्कोमान्को लाउनेहरु टुप्लुकिन्थे आँखासामु । भकारो सोहोर्नेहरु देखिन्थे । कुँडो पकाउने चटारो देखिन्थ्यो त्यत्तिक्कै ।
हिजोको पानीले नराम्रो ग¥यो !
लौ बिग्रिहाल्यो नि । हत्तेरिका, खाली खेल गर्छ दिनले पनि ।
कुइरो आइरहेछ बित्थामा चम्कीचम्की । घ्वाप्पघ्वाप्प छोप्न मात्र जानेको छ कुइराले । बस्ती छोपिरहेछ । हिमाल गायब पारिरहेछ । पहाडका चेपमा तरेली भएर बसेका घरहरु निलिरहेछ खर्लप्पखर्लप्प ।
‘यसले जोरी नै खोजेजस्तो छ !’
नाक छोएर गइरहेको कुइरोलाई गाली गरेँ मैले ।
साथीहरु हाँसे ।
ग¥हँुगै छ मेरो झोला । दुईचार जोर लुगा, पुस्तकका खात, अरु खिच्रिङमिच्रिङले मस्तको भारी हुन पुग्यो झोला । जतिसुकै छोट्याए नि घुमघाममा सजिलो चैँ हुन सकिनँ म । बाटो डेउढिएर मास्तिर जाँदो छ, छ ।
पाखामा बाली लाउन ठिक्क पारिएको लाग्थ्यो । बुर्बुराउँदो माटोमा मलका थुप्रा हेर्दा गाउँलेहरुको ब्यस्तता ज्ञात हुन्थ्यो सहजै । जिन्दगीमा त सधँैको दगुरादगुर । सँधैको असिनपसिन ।
एक ठाउँमा चिया सुर्काइयो । सानो विद्यालयको चौरमा चिया र आमा समूहको भेटियो माया । कपालदेखि अनुहारका मुजा पाकेका सिलोके बूढाहरुसँग म मस्तले गप्फिएँ । तिनका झोलिएका गालामा समयको सपना पोतिएथ्यो निरुत्तर ।
‘गाउँ घुम्न आउनुभा रै’छ । आउनुभो, माया लाउनुभो, अब माया नमार्नु होला !’ बिदावारीमा यस्तै कुरा भने आमाहरुले ।
कुइरोमा पसेर कुइरोमै निस्कियौँ हामी ।
उत्तरतिरको गजधुम्मे थुम्कामा आज दिउँसोसम्म पुगेर फेरि झर्नु थियो धेरै तल हामीले । टोलैपिच्छे र बस्तीपिच्छे अरु धेरै पिँढीको प्रेमलाई सम्झनु थियो हामीले । हरेक भावनामा गाँसिएर मन भर्नु थियो टम्मटम्म ।
निकै लस्केपछि पुगिएछ पाच्यान ।
द्रव्य शाहले तल चेपेघाटबाट लिगलिगकोट दौडिरहँदा लुकीबसी पाँचजना घलेलाई यहीँ छप्काएका थिए रे ! पाँचैजनालाई एकै चिहान पारेको यो ठाउँ अहिले पाच्यानको नाउँमा विख्यात रहेछ ।
‘मानिसका तर्क जे भए नि तरबार चलेको ठाउँ चैँ हो है, याँ !’
मसँग अघिपछि हिँडिरहेका मित्र देवकोटा बोल्छन् बिस्तारै ।
बाटातल थिए केही थुम्काथुम्की । बाकलो थियो जङ्गल । हजारौँ वर्ष पुराना बडेमानका रुख थिए । इतिहासजस्तै प्राचीन ढुङ्गाहरुमा खोजिपसे रगतका टाटा हुँदा हुन् । मैले खराखरी हेरेँ । समयका नङ्ग्राले यी सबैलाई अँगालेर बसेथ्यो चुपचाप….चुपचाप ।
गहिरो सास फेरेँ मैले ।
‘चिहान बाहेक के छ र यो देशमा !’
मूलबाटो छोडी ठाडै उकालियो हाम्रो हुल ।
‘लिगलिगकोट पुग्ने छोटो बाटो यै हो नि !’
एकजना मगरले बताए ।
तिनी रसिक थिए निकै । बिहानैदेखि बटुकामा लाम्चो बोतलबाट खन्याउँदै खाइरहेथे झमझमे झोल । बेलाबेलामा भन्थे—‘खाइसार कि लाइसार……..!’
‘मरेपछि लम्पसार……..!’
मैले उखान पुरा गर्न सघाएँ ।
मस्तले हाँसे मगर ।
घोडा चौतारोमा पुग्दा थाहा भो, साथीहरुले अझ सजिलो बाटो हिँडेर छोडेछन् मलाई  नि । म त अघिल्लाको रहेँ न पछिल्लाको । एकलै लुखुरलुखर र संसारतिर आँखा घुमाईघुमाई हिँडिरहेँ ।
भैँसीको पाडो आइँआइँ गर्दै आयो घोडा चौतारोमा । एक, दुई गर्दै पाँचवटा पाडा आए मेरा पछिपछि । म बुर्कुसिएर उकालो लागेँ ।
बटुको पिउँदै हिँडेका मगरले पाडालाई लघारेपछि मन हलुको भो ।
‘तपाईं नयाँ देखेर झम्टेका नि !’
बटुक प्रसादले भने ।
उकालो भएकैले होला जीउ रन्कियो मस्तले । लुगा धेरै भए ज्यानका लागि । ढुङ्गेनी बाटोमा भीर र उकाली भए नछुट्टिने साथी । म पटकपटक तिनको घिच्चाइमुन्टाइमा परेँ ।
हिसीगाउँमा पुग्दा ज्यान थल्लियो मज्जाले ।
‘हत्तेरिका पाइलै सार्न नसकिने भो !’
आँफै भुत्भुताएँ ।
जुत्ता, कारण थियो । हिजोको पानी र हिलोले भातै भएथे जुत्ता । त्यस्ता जुत्ता लाएपछि औलामा ससाना खटिरा आएर दुखाइ भइरहेछ । हिँड्नुपर्ने खुट्टामा जलजलाउँदा पानीफोका आएपछि ! अब ओखती के ?
सानो चौतारीमा फेरि पानी खाइयो ।
‘मास्तिरको बस्तीको नाम के प¥यो ?’
मैले सोधेँ पानी खुवाउने बूढा मगरलाई ।
उनले भारतीय सेनामा जागीर खाएको, पेन्सन लिन स्याङ्जा जानुपरेको, कान्छी पत्नीले दुःख दिएको, जेठी पट्टिका छोराहरुले भातका थालमा माटो हालिदिएको कथा सुनाए । सँगैका साथी माथि पुगेर ‘छिटो आइज’ भन्न थालिसके । तर मलाई मगरले छोडेका होइनन् । गलपासो भो मलाई । बतुरिन छोडेनन् उनी । लाहुरे मगर त आँफैमा मस्त !
मैबल पुगिएछ ।
तलपट्टि सा¥है राम्रो टार बारी थियो । बारीमा जोतिएर फुकाइएका परेली गोरु जुधेर दिक्क भएको देखिन्थ्यो हली ।
‘खान मिल्ने भए यै पाटामा तँलाई छिनालेर मासु भाग लाउँथेँ !’
जुधिरहेका गोरुलाई सरापेको सुनियो ।
रिसले आँखै देखेनछ बिचराले ।
‘ए नानी, यो तल्लो मैबल रे ! माथ्लो नि ?’
मलाई क्वारक्वारी हेरिरहेकी, मोटो सिउँदो कपाल कोरेकी एउटी काली किशोरीलाई सोधेँ ।
‘तिदुँ स्वारा ।’
छिट्छिटो भनी उसले ।
मैले उत्तरतिरको हरियो डाँडो हेरेँ । वन रित्तिएर खेत बनिरहेको देखियो पाखो । पाखामा ढुङ्गाका खात थिए बेस्सरी । अर्को पटक आउँदा ढुङ्गाकै हालीमुहाली पो हुने हो कि !
वन फाँडिएर पातलिएथ्यो । घरमा कुकुरहरु भुकिरहेथे चम्कीचम्की । पहरोमा थर्किएर आएको कुकुर भुकाइ झन् लाग्थ्यो कुद्घ । बूढी आइमाईहरु साना नानीहरुलाई पछाडिपट्टि बर्कोले कसेर हाम्रो जत्थालाई हेर्न बारीबारी हाम्फालेका देखिन्थे । हुल निकै वरवर आउन थाल्यो । हामी गइरहेछौँ जोडिँदै, चुँडिदै ।
बाटोपश्चिम थियो बाटो ।
हामी पूर्व लाग्यौँ । कुइरो थियो डम्माडम्मी । ठाउँठाउँमा भेटिन्थे केटाकेटीका झुरुप्प
हुल । गुराँसका फूल हात पर्थे । ताली बजाएर माया र हार्दिकता साट्थे ती ।
‘क्या बोर, हिमाल बेपत्ता !’
मेरा छेउमा कालो अनुहारका एकजना गफाडी आइजाइ गरिरहेथे । ती राँक्किएको सुनेँ ।
‘हो नि, सारा हिमाल निलेछ कुइराले !’
म साथी भएँ उनको रिसमा ।
निकै लम्केपछि पुगिएछ दर्खेपानी ।
बाटातल च्युँडोमा हात लगाएर बसेका भेटिए विष्णु श्रेष्ठ । तिनले मलाई बताए—‘द्रव्य शाहले खाने गरेको पानी हो यो । मान्छेले शब्द बिगार्दै बेग्लै बनाइसके । द्रव्य–पानीपछि दर्वे–पानी । अनि दर्खे–पानी । आजभोलिका तन्नेरीहरु द्रव्य शाहको नामै सुन्न रुचाउँदैनन् । ती त दर्सन पानी भन्छन् !’
चनाखा कानमा भरेँ विष्णुका कुरा ।
बाटामा भेटिए तीनचार युवतीका गुनगुन । तिनले दिए गुराँसका झरिला थुँगा । घाम चर्केथ्यो गम्केर । मौवाघारी निरको रुखमा सिँयाल तापिरहेथेँ । गुराँसले हम्किरहेथेँ अनुहारमा । कसो –कसो आँखा परे । हेर्छु त पातपातमा लेखिएको पो रहेछ ।
‘हामीलाई तल्लो जातको भनेर हेला गर्छन् !’
‘कक्षामा समेत सँगै पढाउँदैनन् !’
‘एउटै कुवामा पानी खान पाइन्न !’
‘जातभात हटाउनु प¥यो !’
पातमा लेखिएका यी कुरा पढ्दै गएँ । अघि डराईडराई किशोरीले दिएका गुराँसका थुँगामा कति ठूलो आग्रह रहेछ, विद्रोहको बोली रहेछ । गुराँसका गुच्छामा मैले ठूलाठूला शब्द, आन्दोलन र रुपान्तरणका स्वर देखेँ ।
पानी खाइयो बिजुले डाँडामा ।
हाम्रो जत्थाले यहाँ झन् बढी स्वागत पायो, सत्कार पायो र सम्मान पायो । हामी मध्येका एक मोटाघाटालाई सबै आमा, चेलीबेटी र केटाकेटीले मालाको थुप्रोले छोपे, अबीर ओइराए । अनि पन्चैबाजाको तालमा डो¥याए । तिनले मन्त्री आउने सुनेका थिए रे ! मोटे मनुवा यतिबेला आमाहरुको सत्कारमा थिए झकिझकाउ ।
मनभरि गुराँसका गुच्छैगुच्छा । लौन, कति धेरै माया !
घाम चर्के पनि तल फैलेको तुवाँलोले सारा बस्ती छोपेथ्यो । मैलो सिरकमा केटाकेटी झल्याकझुलुक देखिएझैँ लाग्थे हिउँचुलीका सुकिला चुचुरा ।
अब लम्किरहेका छौँ पश्चिम भएर । चितवन, पोखरा, काठमाण्डौ, बन्दीपुरका अनुहारले छपक्क छ यो ठाउँ । कविता, गीत र सङ्गीतका पाइला पछ्याउँदै लम्किरहेछु म । हुलहाल छ एकदमै । भीडकै एउटा सदस्य छु । अत्यासलाग्दो भीड उभिन्छ जताततै ।
‘बाजागाजाले संसारलाई छुने !’
मन बोल्छ ।
घरघरबाट मान्छेको धुइरो छुटेको छ बेपत्तैसँग । तिनलाई तान्ने काम पन्चै बाजाको पनि नर्सिङ्गाले गरेको ठान्छु म ।
कुनै समय तल चेपघाटबाट दौडेर डाँडाको लिगलिगसम्म कुदेर आउने व्यक्ति नै राजा हुने गर्थे रे । तर बाठा द्रव्य शाहले त्यो परम्परा भत्काएर सँधैलाई आफ्ना वंशज राजा हुने थिति बसाएका थिए । आजभोलि फेरि पुरानो चालचलनलाई ब्युँताउन दौड प्रथा गरिएको सुनियो ।
खोल्ली गाउँमा खाइयो रसिलो पानी ।
ढुङ्गेनी बाटो तेर्पे भए पनि अप्ठ्यारो थियो । आज बिहानैदेखि खुट्टामा पानीफोकाले फुर्ति देखाएको ठान्दैछु । छालाका जुत्ताको करामत यत्ति नि नभए, के अर्थ ? काँधको झोला बटारिएर चारै दिशा घुम्थ्यो पटकपटक । हैरानी नि कति कुराको ?
तेर्छो लाग्दैछु म ।
टुप्पामा पुग्नु छ । लिगलिगकोट नजिकै जस्तो देखिए पनि टुप्पो छ झन् टाढा । तल देखिएको खरबारीमा नयाँ सुइरा पिपिराएको देख्छु म ।
‘दरबारको हो कि खरबारी ?’
‘पैलापैला त दरबारको खटनमा गाउँलेले खर काट्थे । अ‍ैले गाउँलेले खटाईखटाई दिएको अन्नपातले लिगलिगकोट दरबार चल्छ !’
मसँगै सुस्ताईसुस्ताई हिँडिरहेका गोर्खाली तन्नेरी बताउँछन् ।
समयसँग कसैको क्यै लाग्दैन । जित्नेहरु पराजित हुन्छन्, हारेकाहरु जितुवा हुन पुग्छन् । लिगलिगकोटका तरेली यसका साक्ष्य हुन्, प्रमाण हुन्, तथ्य हुन् ।
पाखोबारीमा काब्रो, चुलेत्रो, टाँकी र खनायोका बोट खुबै देखिन्छन् । खरबारीमा सुलुलु चिप्लिरहेका साना केटाकेटीका हुल कति हो कति ! खाली खुट्टाले खरबारीमा हल्लीखल्लीसाथ कुदेका छन् ती । के दुख्दैन, के बिझाउँदैन, के डर छैन तिनमा ? म हराउँछु तिनको हाँक र निर्भय देखेर । पाँच–छ तरेली हिँडेपछि फेरि पाइयो पूmलमाला ।
‘म अलमस्तीको मान्छे । बिस्तारै उक्लिन्छु, तपाईंहरु लम्किए त्यति आपत्ति छैन मलाई ।’—मैले अरु मित्रहरुलाई भनेँ ।
हो, म आँपैmमा पूर्ण भएर घुम्ने मान्छे । भीडभाड, घन्चमन्च, हुलहालमा मेरो चेतनाले प्राकृतिक सरलता पाउँदैन । कत्ति मान्छेहरु प्रभावित पार्न खोज्छन्, बनावटी संवाद बोलेर छाप छोड्न खोज्छन् अनि कति सँगीहरु बिनाबित्थाका कुरा कथुरेर घुमन्ते मनलाई भाँजो हाल्न खोज्छन् ।
म यी सबैबाट टाढै हुन खोज्छु ।
यी नाटक, अभिनय र रंगमञ्च मेरा निमित्त हैरानीका कुरा परे ।
वाह ! कालिका मन्दिर पुगेपछि हलुँगियो छाती । मान्छेको भीडभाड । अलल्लिने बाजागाजा । किसिमकिसिमका लुगामा डटिएका आमा समूहको खित्का, हाँसो र ठट्टाले लिगलिगकोटको लोभलाग्दो वातावरण ।
‘मित्रजी, यहाँको गुल्जार सँधै यस्तै हो ?’
‘हैन नि ! द्रव्य शाहले दौड जित्दा यत्तिका मान्छे भेला भए । कि त आजै !!’
‘ए, ए !’
मित्रका कुराले म परेँ पक्क ।
नेपाल जोड्ने, सगरमाथा जोड्ने, लुम्बिनी जोड्ने, यै लिगलिग । मेची, महाकाली र सारा अखण्ड नेपालको बीज यै लिगलिग । अहिले भेटियो मौन, चुपचाप र चकमन्न इतिहासमा । हेला र हाँसोमा छ आजको हालत ।
कालिका मन्दिरको फन्को उक्लेँ लिगलिगकोट दरबार । ढुङ्गैढुङ्गाको छरपष्ट टेक्दै माथि उक्लेँ । के छ र नेपाल जोड्ने यो प्राचीन दरबारमा । क्यै छैन । जताततै ढलेपलेका चट्टानहरु छन् । बगिरहेका छन् पर्खालहरु । घाँसपातले खाइरहेका छन् पुरानो कला र सभ्यताको चिनो । हरेक कुरो भइरहेछ धुलिसात् ।
‘यो इतिहासको चिनो हो । अब यसलाई प्रकृतिसँग नजिकिने मनलाई एकाकार बनाउन सकिन्छ । गणेश, अन्नपूर्ण र मनास्लु हिमालका चुचुरा हेरेर दिन गुमाइन्छ !’
एकजना गोर्खाली बूढा बखान्छन् ।
तर आज त तुँवालोले निलेको छ सबै । चित्त बुझाउँछु कुराका रसदपानीमा । भनाइका रसबरीमा ।
हेरी नपत्याए पनि सुनी पत्याउनु मेरो कर्तव्य भइरहेछ ।
भोकले आन्द्राभुँडी छुत्ती खेल्न थाले ।
पूर्वपश्चिम र उत्तरदक्षिणका संसार हेर्छु सबै खाले । थुम्का, टार, खोला र करेली बस्तीको सुन्दर क्रम आँखामा मिल्ने भएर आउँछन्, जान्छन् । आकाश कराइरहेथ्यो, बादल झुम्मिइरहेथ्यो ।
‘हिजोको जस्तै हावाहुरी आयो भने त….!’
‘म त अकासतिर फर्केर मुतिदिन्छु….!’
‘आज केके गरुँला भन्ने छ !’
‘पानीले बबाल नगरोस् है…..!’
भीडमा सुनिएको हल्ला, हाँसो र खित्का ।
दुई किशोरीहरु हातमा खैँजडी लिएर अभ्यास गर्दैछन् गीतको । छेउमा मादल बजाउनेको आफ्नै तन्मय छ । उता बाँसुरी फुक्ने औँला आफ्नै सुरमा छन् ।
रुखका फेदमा ऐना हेर्दे अनुहार सिँगार्नेको देख्छु नखरा । लुगा फेरफार गर्नेहरुको रौनक देख्छु झन् भर्भराउँदो ।
सिङ्गो लिगलिगकोटमा मनको आवाज छ, आँखाको बोली छ, धुकधुकीको स्वर छ । र, चेतनाको चमकदमक छ । सबैका पैतालामा गतिमयता देखिरहेछु म । जीवनले इतिहास र वर्तमान चरित्रका पृष्ठ पढेको देखिरहेछु म ।
घाम उक्लिएपछि नाँच, गीत र साहित्यका क्रम झन् रङ्गिए । दरौँदी भएर, मस्र्याङ्दी भएर अनि चम्पावती भएर भावना उर्लिए त्यहाँ । युद्घ, हतियार र रणनीतिका अनन्त राग गुन्जिए त्यहाँ । षड्यन्त्र, समर्पण र शान्तिका आलाप भेटिए त्यहाँ ।
रागिनासकोट, श्रीनाथकोटबाट यो लिगलिगकोटमा मान्छेको धुइरो थपिएकोथपिएकै थियो । कुनै सीमा थिएन उमेरको । युद्घ, हतियार र लडाइँभन्दा माथिको नीति रहेछ गीत, साहित्य र सङ्गीत । यही युद्घमा भर्ती हुन यति धेरै मान्छेहरु यहाँ ओइरिएको हुनुपर्छ ।
मलाई थपीथपी खाना खुवाउने हीरा थापालाई सोधेँ—‘गाउँमा मेलमिलाप छ ?’
‘गाउँ त चरचरी चिरिएको छ । चिर्नेहरु पनि हाम्रै गाउँका । यी चिरुवाहरुलाई जिताउने नि हामी नै । अब चिरिएको हाम्रो मन जोड्ने नि हामीले नै !’
‘कसरी यो काम हुन सक्छ ?’
‘नहुने होइन । हुन समय लाग्छ हजुर !’
आशाको ठूलो अनुहार भेट्छु हीरामा ।
यो एकलासको डाँडामा कुनै समय सिङ्गो नेपाल जोड्ने सपनाले ठाउँ पायो । सपनाका पछाडि गाँसिएका आँखामा योजनाले स्थान पायो । यही सपना र योजनाका निरन्तर दौडादौडले नेपाल भन्ने संरचनाले प्राप्त ग¥यो आकार ।
ओर्लिरहेको घाम हेर्दै लिगलिगकोटको दरबार हेर्छु म ।
केहीले भने पनि—‘हामीलाई सिध्याउनेको पुर्खाको दरबारलाई हामीले नि सिध्याउनु पर्छ ।’
‘हैन, जोगाउनु पर्छ !’
केहीले यसो पनि भने ।
मलाई पनि बचाउनु पर्छ भन्ने चेतनाले छोइरह्यो ।
इतिहासले सिकाउँछ । सिक्न पछि परे नोकसान हुन्छ हामी आँफैलाई । फेरि अन्तिम टुङ्गो केहीको नि नहुने रैछ । अनि सिध्याउने कसरी ?
ज्याद्रो रहेछ लिगलिगकोट । त्यसकै मुहुनीमा तानिएर हामी पुगेथ्यौँ त्यहाँ । उसले बोलाएको होइन, हामी नै देशको नासो बुझ्न गएथ्यौँ लड्दैपड्दै ।

नाँच रोकिएनन्, गीत थामिएनन्, बाजागाजा थन्किएनन् । सबै लठ्ठिएर सुनिरहेथे, चाल दिइरहेथे, हुरुक्किएर बगिरहेथे । सबैका आँखामा थियो सुन्दर जिन्दगीले रोपेको हराभरा पूmलबारी ।
‘भरेको बास हर्मी भन्ज्याङमा हुन्छ रे !’
यति सुनेको छु ।
तर मानिसका मन रमाएको हेरेर नथाकेपछि, मानिसका हृदय उफ्रेको हेरेर नगलेपछि, मानिसका खुशी हाँसेर नथामिएपछि—मैले भरेको ओच्छ्यान र भोजनबारे केको चिन्ता लिनु !!
छोडिदिएँ भरेबारे । गोर्खालीको नाँचगानमा नाँच्दैछु म, गाउँदैछु म, बिलिँदैछु म ।
लिगलिगकोटको बैँस छचल्केको छ बेस्सरी !

०००

प्रतिक्रिया दिनुहोस्

*