आग्रह

-जीवन खत्री

दोश्रो पुरस्कार (३०० डलर) प्राप्त कविता
तिमी जाँदा,
आफू संगै लगेछौ
एक अन्तरा हिउँको गीत
एक अञ्जुलि झरनाको प्यास
भञ्ज्याङको एक थुङ्गा गुराँस
र गाउँको एउटा मुस्कान पनि, लगेछौ
र संगै लगेछौ
पोको पारेर अलिकती
तिमी जस्तै चञ्चल देश

तिमी गए देखि नै हो,
फूलको अलिकती मुस्कान हराएको
आकाशले अलिकती निलो रङ गुमाएको,
चराहरुले ब्यूँझाउने पहिलो बिहान
गाइ–गोठालाहरुको गोधुली हतार
अलि–अलि सुस्ताउँदै गएको
तिमी गए देखि नै हो,

तिम्रो अभावमा आज पनि
जीवन बिर्सिएर उदाएको छ, घाम
घर भित्रैबाट देखिन्छन्
निदाएका ताराहरु
शालिक भएका छन्
भुँइफूलहरु
उड्दै,हराँउदै, गएको छ,
माटोको सुवास पनि

शायद,
तिमीले बिर्सियौ होला
हामीले हिड्न चाहेको इन्द्रेणी बाटो
बन्दै गरेको खुकुरी झैं कोदाली
फूल्दै गरेका फूल जस्तै सपना
सुन्दैछु तिमी अचेल
रोबट बनाउदै छौ अरे,
मलाइ त असाध्यै डर लागि रहेछ
रोबटको मुटु हुदैन भन्छन्

तै पनि
म रोपिरहेछु, फूल
हाम्रै शिर माथी हल्लीने, घाम र जूनमा
भञ्ज्याङ र फाँटहरुमा
नागी, गौचरन, भेडिगोठ र आफ्नै आँगनमा पनि

भो नभनौ क्यार,
भनेरै नसिध्दिने
गाम–बेसिका कुरा
आकाश–धर्तीका कुरा
थाहा छ, मलाइ
तिमीले पनि बुझेकै छौ, देश
बरु
सबैलाइ गाएर सुनाइदिनु
एक–एक अन्तरा बुद्घको गीत
र भन्नु तिमीले, अरुलाइ पनि
“हामी जहाँ रहे पनि
जति टाढा भए पनि
सबै भन्दा नजिक हुनु पर्छ
आफ्नो माटो, आमा र देश”
माकादुम ५, रामेछाप

प्रतिक्रिया दिनुहोस्

*