अविजित प्रदेशका अविजेय योद्दाहरु

- गणेश खड्का

१००० डलरको पुरस्कार प्राप्त आजको चर्चित कविता

अग्घोर मानवेतर मान्छे जस्ता आकृतिहरु
युद्दोन्मादमा आकाशको फैलावट र
धर्तिको विशालता सिमातिक्रमण गरेर
मझेरीलाई ‘प्रदेश’ र आँगनलाई ‘परदेश’ को
खण्डित भागबण्डा लगाउँछन्
र ईप्सित एकलकाटे इमारत प्राप्तार्थ
ओठ निचोर्दा दुध आउने भुराभुरिलाई रक्षा कवच बनाएर
निहित स्वार्थको अडबाङ्गे युयुत्सा कुर्लिरहन्छन्
खोइ, मान्छेको जात नै कहाँ होला र मान्छे बाहेक ?
आँफैले टेकेको धर्ती नै लुटिएपछी
कुन प्रदेशको योद्दा बनेर
कुन प्रदेश प्राप्तिको लडाईं लड्ने ?
अतुकान्त काब्यको भाँती बेढङ्गी युद्द ।

घरमूलीहरु नै नखाने भक्ष्य सेवन गरेर
धतुलाउन थालेपछी
साखा-सन्तानहरुले गती नछाडेर कुन ईलम गरुन् ?
युद्द बिरोधी / शान्तिप्रिय / पौरखी निरिहहरु
आफ्नै आङको मासु ‘पिलो’ बनेर टनटनाएपछी
घर छोडेर हिंड्दारहेछन् प र दे श…
स्वाभिमानका पखेराहरु जब कित्ताकाट हुन्छन्
खुशीका उतुङ्गहरुको बलजफ्ती इस्तिफा बुझाएर
उदरपूर्तिको मेलोमेसोमा हुईँकिन्छन्
जीवन संघर्षको अगम पहाड भत्काउन
शायद यही हो, प… र… दे… श…
शायद यो पनि एउटा ” युद्द ” हो ।

घरदेशदेखी, प………. र… परदेश
परदेशदेखी पनि फेरी, प……. र … घरदेश
जताबाट हेर्यो
दुबै प……. र देखिन्छन्
घरदेश र परदेश त अलग-अलग हुन्
अब घरभित्रै “प्रदेश” निर्मित हुँदैछ
सिलिङमा झुण्डिएको रिनको जाँतोसँग तर्सेर
भित्ते घडीको टिक् टिक् देखी डराउँछन् मनहरु
सातो हराएको नानी जस्तो,
छेस्किनी बिनाका उदाङ्गा भाग्यका जस्केलाहरु र
गजबाररहित खुल्ला कर्मका दैलाहरुबाट फुत्त निस्केर
दाँया घरदेश र बाँया परदेश ताक्छन्
भोक बिरुद्दको लडाईं लड्ने योद्दाहरु
झिसमिसेका पँधेर्नीहरुलाई पत्तै हुन्न
कठै, सोधिपठाउँछन्-
युद्दमा हिंडेका सिपाहीहरुलाई- “कहिले फर्केर आउने ” भनेर ।

देश त मुग्लानमै दुख्दोरहेछ बेस्मारी
भबितब्यले गुँड छोडेर बसाईँ सर्न वाध्य
निर्वासित चराहरुको मुटु जस्तो
युद्द, घरदेश र परदेश दुबैतिर व्याप्त छ
युद्दमा प्रत्यक दिन
एक मानो जिन्दगी गुजार्न
दुई छाक जीवन टार्न
र एक निद्रा रात धान्न
असंख्य खुशीहरु / रहरहरुको हत्या हुने गर्दछ
काठमाडौं खाल्डोले कहिंकतै
आफु भन्दा बाहिर-
कसैलाई मोफसल देख्छ
कसैलाई मुग्लान मान्छ
कसैलाई लाहुर ठान्छ
र यतिबेला कसै-कसैलाई डायस्पोरा भन्न थालेकोछ
घरदेश माटो अंशबण्डाको लडाईं लड्दैछ
परदेश सातु प्राप्तिको लागि कसरत गर्दैछ ।

नाकको लम्बाई
आँखाको गोलाई
र अनुहारको चौडाई मापनमा
योजनाबद्द चर्किंदाछन् चरणबद्द लडाईंहरु
बिरामी आमालाई एक्लै छोडेर मुग्लानिएका
भूमि रक्षक छोराहरु
मकै पिस्दा भाग्यले बचेँका घुन सरह
जबर्जस्त जिउँदो शहिद जीवन धान्न वाध्य छन्
घरदेशमा रोपाहार,बाउसे र खेताला नपाएर
बाँझिएका सिमखेत रणभूमी हुँदा
परदेश,
माछालाई मिनपचासको जाडो भगाउन
बालुवामा स्थानान्तरण गरे जस्तो अनौठो छ
मरुभूमिमा सुकाइएका बिस्कुन अनुहारहरु
बगरमा बाली नपाकेपछी
फगत पसिना पिएर तिर्खा मेटाउन विवश छन्
यतिखेर,
समस्त स्वर्गिय रहरहरु र दिबङ्गत खुशीहरु
अगती परेका जागित्रा इच्छाहरु
मसानघाटबाट जुरुक-जुरुक उठुनुपर्दछ
अबदेखी उसो-
लूटको धनमा फुपुको सराद हसुर्न पल्केका
लबस्तरा गधाहरु र अगस्ती साँढेहरुलाई
रणक्षेत्रमा एक्लै छोडेर शान्तिभूमिमा फर्किने सिलसिला थाल्नुपर्दछ ।

अभावको खाडल पुर्ने उपक्रममा
कोखका पारसमणी धमाधम प्रवासींदा
बिरक्तिएकी आमा देश बनेर रुँदैछिन्
त्यही रगतको नाता दाबी गर्ने कुलङ्गारहरु
पवित्र माटोमा बिषका बेर्ना सारेर
अमृत फलाउने पाखण्डी हुँकार डुक्रिन्छन्
देउरालीको ढुङ्गो जस्तो देश
कठैबरा, आफ्ना सन्तान खोज्दै मुग्लान चिहाउँछ
अन्धाको देशमा चश्मा व्यापार गर्नेहरु
मृत्युदण्ड सुनाइएको आफ्नो नागरिकको जात चिन्दैनन्
आफ्नो अनुहारको धूलो नदेखेर ऐना सफा गर्ने बहुलठ्ठीहरु
भँडार खनेर आगन पुर्नुमा आनन्द मान्छन्
बाढी-पहिरो ग्रसित क्षेत्रका युद्दपिचासहरु ।

मनहरु घरदेश र परदेशमा दोहोरो युद्द खेप्छन्
वर्तमानका बाटाघाटाहरु र भविष्यका घामजूनहरु
किन निस्पट्ट अँध्यारा लाग्छन् ?
यक्षातियक्ष प्रश्नका चाङहरु अनुत्तरित नै छन्
अन्तत: युद्द
जितेर पनि हार्नु हो र हारेर झन् हार्नु हो
त्यसो र अब,
समानुपातिक झरनाले निकालेका
सिम्फोनी धूनहरुसँगै
सुबिचारको कल्पब्रीक्ष झाँगियोस्
कर्म र संस्कारको कसौटीमा सबै उत्तम दरिउन्
युद्दले, जङ्गे पिलर लाई
यथास्थानमा सार्न सके मात्र सार्थकता भेटिन्छ
नत्र,
बकम्फुसे युद्दको कुनै तुक छैन
सङ्ग्राम क्षेत्रहरु ध्वस्त हुनुपर्दछ
रणभूमिहरु भासिनु पर्दछ
युद्द ईलाकाहरु भत्किनु पर्दछ ,
अविजित प्रदेशका अविजेय योद्दाहरु !
शत्रु बिनाका समरहरु बेकार छन्
जित बिनाका युद्दहरु वाइह्यात हुन्
मनमनका बगैचाहरुमा शान्ती मगमगाउन सके
कलेवर जगतमा जन्मिनु पर्ने अर्को बुद्द छैन ।

तिवारी भञ्ज्याङ्ग – ४ , भोजपुर
हाल : फ्रिगेट आइल्याण्ड , सेसेल्स

प्रतिक्रिया दिनुहोस्

*