समयसँग युद्ध

— ठाकुर बेलबासे

बिहानीसँगसँगै
उदाएका हजारौं सूर्यहरू
कहाँ हराउँदै छन्

कहाँ हराउँदै छन्
सपनाका लाखौँ ताराहरू

किन आकाश यसरी रित्तोे बन्दैछ ?

आआफ्ना गीत गाउँदै
चराका बथानहरू एकसाथ उड्नसक्ने
झुल्कँदै गरेको बिहानी कहाँ गयो ?  

थाकेका नानीहरू
निर्धक्क सुस्ताउन सक्ने
हरेक आमा–बाले भोलिको सपना देख्नसक्ने
न्यानो लाग्दै गरेको साँझ कहाँ गयो ?

कहाँ जाऊँ शरणार्थीजस्तै
यो माटो छोडेर
कहाँ हराऊँ हावाजस्तै
यी मान्छे विर्सिएर

आफूभन्दा
प्रिय लाग्छन् यी  बस्तीहरू

कोसँग जुधौँ
समानताका नाममा
एक्लो सारङ्गीजस्तै बनेको छ , जिन्दगी
कोसँग आक्रोश पोखौँ
न्यायका नाममा
भत्केको पँधेरोजस्तै बनेको छ ,  मन

भीर बनेर बाटोमा
उज्यालो बनेर आगोमा
दुःख ,
मान्छेलाई लखेटिरहेको छ

संसारमा सत्यदीप निभेका बेला
तिमी मसंगै उभिदेऊ
म दुःखको थाप्लो फोडेर
तेजिलो सूर्य निकालिदिन्छु

जून पृथ्र्वीमा झरेका बेला
तिमी आकाश निर्माण गर
चारैतिरबाट हामी जुटेका बेला
म मान्छेको हाँसो पुनर्निर्माण गर्छु

अर्घाखाँची
राष्टिय कविता महोत्सव 2069 मा प्रथम भएको कविता

प्रतिक्रिया दिनुहोस्

*