वेदनाका शूलहरु

-विष्णु गौतम

सन् २००८ को २७ तारिखको टेलिफोनवार्ता नै म र मेरो छोरा कुमार वीचको  अन्तिम वार्ता हुन पुग्यो !! हामीविच कुराकानी भएको २० मिनेटपछि सडक दुर्घटनामा उसको निधन हुन पुग्यो ! शनिबारको दिन परेकाले कुमारले एकछिन साथीहरुसँग समय बिताउने निर्णय गरेछ । “बुबा म घर आउन अलिक ढिला हुन्छ है” उसले फोनमा भनेको थियो । उसैको बाटो हेरेर बसिरहेका मेरा बाबा–आमा, छोरी स्वति, कान्छु कृष्ण सबैजना ऊ ढिलो आउने कुरा थाहा पाएर खिन्न हुँदै आ–आफ्नो कोठामा सुत्न गए । लक्ष्मी र म पनि ओछ्यानमा पल्टियौं । उनी छोरा आईपुगेन भनेर गुन्गुनाउँदै सुतिन । मलाई भने किनकिन सुत्न मनै भएन । कान्तिपुर टेलिभिजनबाट प्रशारण भैरहेको कार्यक्रम “बहस” हेर्न थालें । ईन्द« लोहनी मेरा प्रिय प्रस्तोता थिए । प्रायजसो म उनको कार्यक्रम हेर्न चुक्दैनथें । १० बजे कार्यक्रम सकियो तर  कुमार आईपुगेन । म झल्याँस्स भएँ । एकपटक  ओछ्यानबाट उठेर उसको कोठामा हेरें । चकमन्न थियो । घरका अन्य सदस्यहरु  मस्त निन्द्रामा थिए ।
सवा दश बज्यो, ऊ अझै आएन !! मलाई एकदम छटपटी भएर आयो !  उसको मोबाइलमा कल गरें । कुमारको सट्टा एनटिसिकी दिदी बोलिन् – “माफ गर्नुहोला तपाईले सम्पर्क गर्न खोज्नु भएको मोबाईलको स्विच अफ गरिएको छ”। मनमा झन् चिसो पस्यो । तुरुन्तै उसको  अर्को नम्बर दबाएँ त्यो पनि स्विच अफ नै थियो । मेरो मनमा झनै ढयाङग्रो बज्न थाल्यो । पुसको चिसोमा पनि निधारमा चिट्चिट् पसिना आएको महशुश भयो । टिभीमा एभिन्यूज च्यानल लगाएँ तर  त्यहाँ कुनै नराम्रो ब्रेकिङ्ग न्यूज थिएन । तैपनि मन विचलित भयो । जीवनमै पहिलोपटक कुनै अनिष्टको आभाष हुँदैथियो । कत्ति कोशिश गरें तर मन सम्हालिन मान्दैमानेन । दुई दुईटा मोबाईल एकैसाथ कसरी स्विच अफ भयो ? कहिल्यै त्यस्तो ढिलो नगर्ने छोरो एकछिनमा आउँछु भनेर कता भुल्यो ? प्रश्नहरु बाढि झैं मडारिन थाले । उकुसमुकुस भएर आयो । एकाएक हात टेलिफोनमा पुग्यो । ट्राफिकको नम्बर दबाउँदै थिएँ, अचानक ढोकामा ढक ढक सँगै कान्छुको काँपेको आवाज सुनें । कान्छा दाई आयो ? ढोका उघारी नभ्याउँदै मैले सोधें । “बुबा !…………. मिडिया भिलेज अगाडी ………..मोटरसाइकल दुर्घटना परेको छ रे !………..भर्खर पुलिसले फोन ….”। बोल्दाबोल्दै उसको आवाज रोकियो । अचम्म ! एकछिन अगाडि कामिरहेको मेरो मुटु अचानक कठोर हुन पुग्यो !!! कठोर हुनुको मतलब संवेदनाहीन हुनु होईन रहेछ । कुमार छोरोसँग भेट हुदैन कि भन्ने त्रास झन् बढ्न थाल्यो । सानोतिनो दुर्घटना भए त कुमार आफैले फोन गथ्र्यो होला ! अनि उसको २४ सै घण्टा खुल्ला रहने मोबाईल आज अचानक किन अफ भयो त ?
मलाई तुरुन्तै निर्णय लिन गाह्रो भयो । तैपनि हिम्मत गरेर  कान्छुलाई धैर्य बढाउँदै भनें– बाबु ! आपत परेको बेलामा साहसले काम लिनुपर्छ , आत्तिनु हुँदैन । बरु घटनास्थल जाउँ हिंड । तिम्रो साथमा म छु । म कान्छुकोे अवस्था पनि अन्दाज लगाइरहेको थिएँ । ऊ थर्थर् कामीरहेको थियो !! सधैंभरि दाजुको चौडा छातिमा आमाको खोकिलामा जसरी लुक्ने कान्छु कति विवश थियो ! परिस्थिति सम्हाल्न मैले विलम्ब गर्न उचित ठानिन र तुरुन्त बाइकमा बस्न पुगें । बाइक स्टार्टको आवाजले लक्ष्मी पनि उठिन् । आत्तिंदै मेरो छेउमा आइपुगिन् र सोधिन् , “बाबु ! छोरो आइपुगेन !!! तपाँई कहाँ जान लाग्नुभएको ? कान्छु पनि किन उठेको ?”
मैले उनलाई भुलाउन  केही त भन्नु नै थियो । भनिदिएँ– “लक्ष्मी, छोराको बाइक दुर्घटना भयो रे ! खुट्टा भाँचिएको जस्तो छ रे ! म अस्पताल लग्न जाँदैछु । तिमीहरु धैर्य गर ।” मेरो शब्द झर्ने वित्तिकै उनी बिलौना गर्न थालिन्– “म पनि तपाइसगैं जान्छु,…… हे भगवान् ! मेरा बाबा……..कुमार…… तिमीलाई कत्ति दुखेको होला !!!” मलाई परिस्थिति सम्हाल्न झन् गाह्रो भयो । यता परिवारको रोदन, उता जवान छोराको सडकमा दुर्घटनाग्रस्त अवस्था ….. कति विवशपूर्ण  थियो मेरा लागि  त्यो पल !!!  हुनेहार दैव नटार ! तैपनि हिम्मतले अगाडी बढ्नु बाहेक मसंग कुनै विकल्प थिएन । परिस्थितिसँगै आफुलाई पनि संहाल्न खोज्दै मैले चर्को स्वरमा लक्ष्मीलाई भनें– त्यस्तो आत्तिनुपर्ने कुनै कारण छैन । जाऊ भित्र गएर सुत । सामान्य चोट लागेको होला, म अस्पताल पु¥याई उपचार गराएर ल्याउँछु ” । यति भनिरहँदा मेरो मनमा सुनामी आईसकेको थियो । अरु बोल्न सक्ने हालत थिएन । त्यतिञ्जेल मलाई अत्तालिएका आमा, बाबा, स्वति, सबैले घेरा हालिसकेका थिए । आफैंलाई सम्हाल्न मुश्किल भएका बेला अरुलाई सम्झाउने शब्द थिएनन् मसँग । समय पनि थिएन गलफतीको । त्यसैले एक वाक्यमा सबैलाई भित्र बस्न निर्देशन दिँदै कान्छुलाई साथमा लिएर बाइक घटनास्थल तर्फ दौडाएँ ।
घरबाट अलिकति मात्र पर तिलगंगा सञ्चारग्राम अगाडी ३÷४ मिनेट भित्र सयौं मानिसको  भिड थियो । रातको त्यो भिडले मनको आशंकामा तेल थप्यो । मुटु ढुकढुक हुनथाल्यो । गला अबरुद्ध भयो । निशब्द भक्कानिँदै भिड छिचोल्न थालें । बचेखुचेको अलिअलि आश पनि समाप्त भएकाले म शिताङ्ग भएँ । प्रहरीहरुले बालिरहेको फ्रन्ट लाइटको वीचमा लम्पसार परेको मेरो सर्वश्व ! मेरो मुटु ! मेरा लागि संसारको सबैभन्दा अमुल्य रत्न ! बम्हाण्डमै सबैभन्दा प्यारो चिज छोरो कुमारको लाश रगतको आहालमा डुबीरहेको थियो । छेवैमा दुर्घटनाग्रस्त मोटरसाइकल ढलिरहेको थियो । कान्छु अवाक् भएछ । म चेतनाशून्य भएँ । मलाइ दुःख ताप केही भएन, एकछिनको लागि निष्प्राण झैं भएँ । सोच्ने संझने क्षमता खै कहाँ हरायो कहाँ ! केवल साक्षिवत् हेरिरहें । प्रहरीहरुले मेरो छेउमा आएर पछाडी सर्न भनेपछि अचानक मुर्तिवत् म फेरि मानव भएँ– “ म मृतकको बाबा हुँ ।” मेरो आवाज सुन्ने बित्तिकै सबै प्रहरीहरु मेरो वरिपरि घेरिए । त्यहाँ प्रहरीका डाक्टर पनि रहेछन् । मलाई हेर्दै भने –उहाँको स्पोर्टडेथ नै भएछ, बाईक अलि द्रुतगतिमा पनि रहेछ, गौशलातिरबाट आईरहेको सवारीको हेडलाइट आँखामा परेको हुनुपर्छ ।” मैले धेरै प्रश्न गरिरहन उचित ठानिन । ठिक छ, तपाइहरुले गर्नुपर्ने आवश्यक कारवाही सक्नुस्, म एकपटक घर गएर आउँछु । यहाँ मेरो सानो छोरा छ, यसलाई पनि केयर गरिदिनुहोला । प्रहरी निरिक्षकले भने– हुन्छ सर…… ,बरु बाइकमा नजानु…….. हामी भ्यान पठाइदिन्छौें । मैले उनलाई भनें –धन्यवाद सर ! म जानसक्छु, चिन्ता नलिनुहोला । मैले कान्छुतिर हेरें । ऊ हुँक्क–हुँक्क ंगरि दुवै हातले टाउको समाति रहेको थियो !  म विवश बाबु एउटा छोराको मृत्यु र अर्को छोराको रोदन सहन बाध्य थिएँ ।
मैले घरमा पनि ८४ वर्षिय बाबा, ७८ वर्षिय आमा, धर्मपत्नी लक्ष्मी र छोरी स्वति लगायत अमेरिकामा रहेको माइला छोरा बलरामका साथै आफन्त सबैलाई सम्हाल्नु थियो । फर्कदा सक्दो  धैर्य जुटाउँदै गएँ । घरमा थुप्रै प्रश्नहरु तेर्सिरहेका थिए  । म विवश ! के गरौं के नगरौं अलमल्ल परें मेरो साहसले एकछिनमा दिमाग अत्यन्तै सक्रिय भयो । परिस्थिति सम्हाल्न सजिलो उत्तर खोजें “कुमारको खुट्टा भाँचिएको जस्तो छ , म उसलाई अस्पताल प¥याएर आउँछु तपाईहरु धैर्य गर्नुहोस् ।” आफैंभित्र पनि हजारौं प्रश्नहरु तेर्सिरहेका थिए । के गरुँ ? कसरी निकास निकालुँ ?
तल्लो घरबाट भाइलाई पनि बोलाएँ, घर नजिकै भाञ्जाको पनि  घर थियो, उनलाई समेत  साथ लिएर शव उठाउन जाने निर्णय गरेेंं ।। केहीबेरमा उनीहरु बाटोमा निस्किए तर अज्ञात भयले  सबै डराइ रहेका थिए । त्यतिखेर मलाई कसैले कुनै प्रश्न गरेनन् । भाइको मोटर भएकाले  मैले भाइलाई मोटर निकाल भने । भाइ, भाञ्जा र म थर्थर्  काँप्दै मोटरमा बस्यौं । मेरा लागि परिस्थिति अत्यन्तै असहज भैरहेको थियो । ४ मिनेटमा नै घटनास्थल पुगिन्थ्यो । खोई कुन शक्तिले उत्प्रेरित ग¥यो मलाई । अचानक मोटरबाट बाहिर निस्किएँ अनि छोरी स्वतिलाई च्याप्प समातेर  ५० मिटर जति टाढा लगेँ । छोरीको  मुख आफ्नो हातले बन्द गर्दै बिस्तारै भनें– “तिमीले रुन कराउन पाउँदिनौ……  छोरी मलाई मद्दत गर । म तिमीलाई अत्यन्तै अप्रिय घटना भन्न गईरहेको छु । दाजु दुर्घटनामा परेर हामीबाट सधैंको लागि  टाढा गईसकेछ ……. मैले उसको लास हेरेर आएको………… सानो भाई उहीं छ………  आफुलाई कन्ट्रोल गर…….. हामीसँग सम्हालिनुको विकल्प छैन ………. तिमी ममी, हजुरबा, हजुरआमालाई सम्हाल तर म नआउञ्जेल घरमा कसैलाई नभन्नु …पछि बाबुछोरी भएर सबैलाई सम्हालांैला ! भाई पनि कन्ट्रोलमा छ । अब म दाइको लासलाई मुर्दाघरमा राखेर आउँछुु ।” छोरीले हुँक्क–हँुक्क गरी । मैले फेरी जोड दिएँ– नानुु मलाई हेल्प गर……. स्वति !……… स्वति !! भन्दै छातीमा टाँसे । मैले रुन मिल्दैनथ्यो । कठोर हँुदै स्वतिलाई आफु नआएसम्म धैर्य गर्न भन्दै पुनः गाडीमा बसें । केही मिनेटमै गाडी घटनास्थलमा रोकियो । भाञ्जा, भाइ र हालसम्म मौनवत् कान्छु सडक वीचमा रुदै कराउँदैै ढले । म प्रहरीहरुलाई मुचुल्का उठाउन मद्दत गर्न थाले । केही प्रहरीहरुले सडकमा लडेका मेरा प्रियजनहरुलाई उठाउँदै हाम्रो गाडीमा हाल्दै थिए । आधा घण्टा जति आवश्यक कारवाही सकेर शवको पोस्टमार्टमको लागि शव वाहनमा राखेर शिक्षण अस्पतालको  मुर्दाघर तर्फ लाग्यौं ।
अस्पतालमा आवश्यक कागजपत्र मिलाउँदा एकछिन कुमारको शव  भित्रै थियो । म र भाञ्जाले शवलाई स्ट्रेचरमा हालेर मुर्दाघरमा राख्यौं । मेरो हातले उसको गाला सुम्सुम्यायो । मेरो मुखबाट एउटा आवाज निस्कियो “बाई कुमार !………… बाई फर इभर ……….यो जन्म हाम्रो असफल भयो……………….  अर्को जन्ममा  घुमेर मेरै छोरो भै जन्म लिनु ………………. हामीलाई तिमीसंग धेरै समय बिताउने इच्छा छ ।” हामी सबै शव गृहबाट बाहिर निस्कियौं । हामी शव गृहबाट निस्कनासाथ हाम्रो अगाडी धेरैवटा मोटरसाइकल र मोटरहरु रोकिन थाले । गाडिबाट  ओर्लने मेरा आफन्तहरुले मलाई वरिपरिबाट घेर्न थाले । उपस्थित धेरैका आँखाहरु मलाई प्रश्न गर्दै थिए………..के यो सत्य हो ? भिडमा जताततै साँक्क सुँक्क , घाँक्क–घुँक्क सुनिन्थ्यो । मैले कुरा चपाउनु उचित थिएन । मुटुमाथि ढुंगा राखेर भने “ कुमार अब हाम्रो वीचमा रहेन । वियोगको यो घडिमा कृपया कोही पनि रुनेकराउने नगरिदिनुहोला । म मेरो परिवारलाई सम्हाल्न कोशिस गर्छु तपाइहरुले साथ दिनु । यदी यस क्रममा मेरो धैर्य टुट्यो भने स्थितिलाई सम्हाली मद्दत गर्नुहोला । अहिले सबैजना घर जाउँ । लास भोलि १० बजे पोस्टमार्टम गरेपछि मात्रै हामीलाई दिनेछन् । त्यसपछि  सत्गतिको लागि लैजान भोली बिहान यहीँ उपस्थित हुनुपर्छ । अब घर जाउँ ।” मेरो भनाइपछि सबैजना त्यहाँबाट हाम्रो घर तिलगंगातिर लाग्यौं ।
एकातिर म कठोर हुन कोशिश गर्दैथिएँ, अर्कातिर मनमा लागिरहेथ्यो – म चिच्याई चिच्याइ कराउँ ! । जोडसँग रोउँ !!  । बौलाउँ !!! आत्मदाह गरिदिउँ !!! सडकमा गुडिरहेका मोटरमुनि छिरेर ज्यान दिउँ !!! तर म लाचार थिएँ !!  त्यस्तो केही पनि गर्न सक्दैनथें । धेरै जिम्मेवारीले बाँधिएको थिएँ । शोकाकुल परिवारमा ममाथि निर्भर अरु ६ जना सदस्यहरु घरमा थिए । माहिलो छोरो अध्ययनको लागि अमेरिकामा थियो ।
सधैं हाँसिखुशी भएर, राजशी ठाँटले हिंड्ने म ! केही पलमै सर्वश्व हारेको जुहाडे झैं भैसकेको थिएँ । परिवारका सामुन्ने जान मलाई संकोच भैरहेको थियो तर म निरुपाय थिएँ । केहीबेरमा उथलपुथल मन लिएर सबैजना घरमा पुग्यौं । कुमारको कोठामा धेरैजना आफन्तहरु मेरो परिवारका साथमा रहेछन् । धेरैका  आँखा रसाएका थिए । कोही साँक्क सुँक्क गरिरहेका देखिन्थे । मेरो मर्ने पालो त तब आयो जब लक्ष्मीले म छेउ आएर हतारिदै सोधिन् “के धेरै घाइते भएछ कुमार ? किन संगै नल्याएको ? …… आज पठाएन?” उनका शब्दले  मलाइ संसार भाँसिए जस्तो लाग्यो ! लक्ष्मीलाई  केवल यता आउ नानु भनें । उनी तत्काल आइन् । दुवैजना आफ्नो कोठामा पस्यौं । अनि मैले उनलाई सुम्सुम्याएर छातीमा एकदम टाँसेर भनें “नानु अब कुमार कहिल्यै घर आउँदैन……. उसले हामीलाई सधैंको लागि छोडेर गयो…… । मैले उसको लासलाई मुर्दाघरमा राखेर आएको हो…… ।” लक्ष्मी थचक्कै बसिन् । मैले उनलाई समाएर बेडमा पु¥याएँ । उनले अन्धाधुन्द ओछ्यानमा भएका सबै वस्तुहरु फाल्न थालिन्, रोदनले घर हल्लिएजस्तो भयो  तर धन्य मेरी लक्ष्मी ! एकैछिनमा सन्तुलित हुँदै सोध्न थालिन् –कसरी दुर्घटना भएको रहेछ ? हे भगवान अब बसरी बाँच्नु !! बलुलाई कसरी भन्नु…… ? भन्दै रुन थालिन् छिनछिनमा “कुमार मेरो मुटु ! तिमी किन हामीलाई छोडेर गयौ ।” जस्ता शब्द दोहो¥याइ रहन्थिन् । केही बेरपछि सबैजना मेरै कोठामा जम्मा भए, सबै परिवारलाई माउले बच्चाहरुलाई छोपेझैं अंगालोमा च्याप्प राख्न कोसिस गरें ।
सधैंजसो मेरो बाबा र आमालाई कुमारले “के छ ठिटा–ठिटी ? !” भनेर जिस्काउने, म्वाँइ खाने, अंगालो मार्ने, आदि गरिरहन्थ्यो । उसले दिएको  माया सम्झी, विछोडको पीडामा  आफैंलाई चिथोर्दै थिए मेरा  बाबाआमा ! उहाँहरु  नाति विना टुहुरो हुनुभयो !! भाईबहिनीहरु आफ्ना हरेक चाहनाहरु पूरा गरिदिंदै सधैं न्यानो माया, अनि वात्सल्य प्रदान गरिरहेको आफ्नो प्यारो दाजु गुमाउनु पर्दा विव्हल भए !! त्यो दिन परिवार र आफन्तको रोदनले थर्रायो हाम्रो घर ! अन्ततः  मनमा जति जलन, पीडा भएपनि विस्तारै एकअर्काको आसुँ पुछ्न थाल्यौं !! । त्यो अमुल्य रत्न आफुबाट चोइटिएर जाँदा पनि सबै सम्हालिएका थिए यन्त्रवत् ।
भोलिपल्ट बिहान शिक्षण अस्पताल गयौं, त्यहाँ धेरै मानिसहरुको जमघट भईसकेको रहेछ । सबैजना मलामी जानको लागि आएका थिए ।  उपस्थितहरुमा स्वदेशी देखि विदेशीहरु समेतको सहभागीता थियो । उपस्थित धेरैका आँखा रसाइरहेका थिए । कोही सुँक्क–सुँक्क गर्दै थिए कोही कराएरै रोईरहेका थिए, कसैले बोतलबाट आफ्नो टाउकोमा पानी खन्याउँदै थिए, कोही फूल, धूप, खादा, रामनामी लिएर श्रद्धाञ्जलीका लागि लामबद्ध थिए । आवश्यक प्रक्रिया सकेर सधैंझै झर्झराउँदो कुमारको नश्वर शरिरलाई बोकेर मलामीहरु आर्यघाटतिर बढे ।
मलाई पनि केहीबेरमा मेरो भाइ सागरले गाडीमा आर्यघाट पु¥यायो । म पुग्दा कुमारको शवलाई चितामा चढाइसकिएको रहेछ । आर्यघाट आफ्नै गाउँ नजिक भएकाले घाट वारिपारि  रुनेकराउनेको ठूलो भीड थियो । चित्तामा लडाएर कात्रोमाथि रामनामी ओढाइएको यस पृथ्वीमा सबैभन्दा प्यारो मेरो जेठो छोरो कुमारको नश्वर शरिर देखाउँदै पण्डितले मलाई उसको लासमा पानी चढाउनुपर्छ भन्नु भयो । मैले पनि मौनवत् उसको शिरदेखि पाउसम्म पानी चढाएँ अनि उसको  रक्तमिश्रित कपालमा हातले मुसार्दै “बाई बाबु………बाईईईई……. !!!” भन्दै भक्कानो फुटाएँ । औडाहा भयो, संसारै शुन्य भयो । एकैपटक हजारौं मृत्युको भान भयो । जीवित छु वा मरिसके थाहै भएन । दिन हो की रात हो छुट्टाउनै सकिन । सबत्र कालोनिलो देखें, भनन्न रिँगटा लाग्यो । थचक्क बसें । मलाई कसैले समातेको महशुश भयो, भिडमा हल्ला खल्ला भयो । कान्छु र स्वति मेरो गलामा झुण्डिएका रहेछन् । भीडबाट “उहाँहरुलाई घरमा लग्नुपछर्” भन्ने आवाज आयो । छोरी स्वति र कान्छु कृष्ण पनि मै माथि नै घोप्टिए , चार–पाँच जनाले समाएर हामीलाई डो¥याउन थाले,  विस्तारै आर्यघाट माथिको पुलमा पुगेर रोकियौं र जलिरहेको लास हेरिरह्यौं । मेरो मुखबाट अनायास निस्कियो

मेरो मायालुले दिएको अमुल्य उपहार फुटेर आज चकनाचुर भयो ।
हावाले उडायो, आगोले जलायो, जलिसकेको खरानी पनि पानीले बगायो ।।

जुन गीत आज लक्ष्मी नामक गीतिसंग्रहको रुपमा बजारमा उपलब्ध छ ।

१३ औं दिन भयो, काजक्रिया पनि सकियो । कुमारले मस्तसँग हातलाई सिरानी राखेर मुस्कुराउँदै सुतेको अत्यन्तै मन लोभ्याउने तस्वीर कोठाको भित्तामा टाँगिएको थियो । त्यसै फोटोमा एउटा माला चढाएँ । महशुश भयो अब ऊ भित्तामा भगवानको रुपमा रहिरहने छ । मेरो छोराबाट त चोला त्याग गरिसक्यो । मेरा हातले उसको तस्वीरमा माला चढायो । मैले ईश्वरलाई झैं हात जोडेर फत्फताएँ ।

नश्वर तिम्रो तस्वीरमा आज श्रद्धासुमनका दुई थोपा आँसु।
तिमी त गयौ विदै नमागी अब यो विरानमा कसरी म बाँचु ।।

यो गीत पनि लक्ष्मी गीति संग्रहमा नै समावेश गरिएको छ जसलाई अनलाइन पनि सुन्न सकिन्छ ।
दिनहरु बित्दै गए सबैलाई बाँच्नका लागि खान र लाउन जरुरी हुन्छ । हामीलाई पनि त्यो जरुरी थियो । आँसु जति बगाएपनि, पीडा जति भएपनि त्यसले पेट भर्दैन रहेछ । खान लाउनको निम्ति काम गर्नु जरुरी रहेछ । सोही अनुरुप म तथा मेरो परिवारले पनि आ–आफ्नो कामलाई निरन्तरता दिन थाल्यौं । जीविकोपार्जनको लागि लक्ष्मी पसलमा बस्न र व्यापार गर्न थालिन् । स्वति छोरीले (स्टाफ नर्स भएकीले ं) पाटन अस्पतालमा सेवा निरन्तर जारी राखिन् । कान्छु एस.एल.सीको तयारीमा जुट्यो । म पुरानै काममा लागें ।
विगतका दिनमा कुमार र मेरो वीच समाज रुपान्तरणका लागि पर्यटकीय संभावना बोकेका  ग्रामीणमुखी गन्तव्यहरु पहिचान गरी तिनै ठाउँमा व्यवसाय संचालन गर्ने विषयमा कुराकानी भैरहन्थ्यो । ऊ चाहन्थ्यो कि काठमाडौं वा खास खास सहरमा मात्र केन्द्रीत रहेर काम गरिरहेका व्यापारीहरु समेत कार्यशैलीमा परिवर्तन गरी नयाँ गन्तव्य खोज्दै कुनाकन्दरासम्म पुगुन् ।   त्यसो हुँदा केन्द्रीकृत पुँजी गाउँ–गाउँमा फैलिन शुरु हुनेछ र ठूलो जनशक्ति  आ–आफ्नै गाउँमा रोजगार हुनेछन् भन्ने  हाम्रो प्रबल विश्वास थियो ।
हामीसँग के छैन ? यहाँ भएका प्राकृतिक सम्पदा, ऐतिहासिक धरोहर, विश्वकै उत्कृष्ट हिमश्रृंखला, हेर्न र बुझ्न उल्लेख्य पर्यटकहरु आउनेछन् । प्रकृतिले अद्भुत सम्पदा दिएको हाम्रो देशका उत्तर र दक्षिणका छिमेकी राष्ट्रहरुबाट मात्र उनीहरुको जनसंख्याको १ प्रतिशत पर्यटकहरु भित्र्याउन प्रयास गरेमा मात्र पनि हाम्रो देशको अर्थतन्त्र निकै मजबुद हुने कुरामा कुमार सधैं जोड दिईरहन्थ्यो । तिनै घुमन्ते पर्यटकहरुलाई हाइकिङ्ग, ट्रेकिङ्ग, माउण्टेनियरिङ्ग, ¥याफ्टिङ्ग, बन्जी जम्प, प्याराग्लाइडिङ्ग, हर्सराइडिङ्ग, साइक्लिङ्ग यात्राका लागि आकर्षित गर्नुका साथै स्पोर्ट टुरिज्म, हेल्थ  टुरिज्म, एग्रो टुरिज्म, होमस्टे टुरिज्मका लागि  वातावरण तयार गर्न सके पर्यटकहरुको संख्या बृद्धि हुने र प्रशस्त विदेशी मुद्रा देशमा  भित्रिने कुरामा हामी आश्वस्त थियौं ।
यसैकारण पनि कुमार  देशमा प्रशस्त पर्यटकहरु भित्र्याउन आफ्नो ट्राभल मार्फत् देशविदेशमा  खटीरहेको थियो । साथसाथै ग्रामीणमुखी पर्यटन विकास गरौं भन्ने सोचले हामीले कुनै एउटा गाउँमा राम्रो रिसोर्ट बनाउने निर्णय ग¥यौं । म योजनाअनुसार पहिलो चरणमा पर्यटकहरुका लागि रमणिय गन्तव्य निर्माण गर्नको लागि काभे्र जिल्लाको अनेकोटमा पुगें । ४० रोपनी जग्गामा कम्पाउण्ड गरेर ५५ वटा  सुन्दर  कटेज बनाउने तयारी गर्न थालें । एउटा नमुना कटेज बनेको मात्र के थियो, दुर्भाग्यको पहिलो बज्र कुमारको दुर्घटनाका रुपमा हामीमाथि प¥यो । उसको असामयिक निधनले परिवारको नाउ नै ढलपल भयो । कहिल्यै नपुरिने चोट मुटुमा लाग्यो तर पनि ऊ फर्केर नआउने सत्यलाई हामीले चाहेर वा नचाहेर पनि स्विकार्नै प¥यो । ऊ त गयो तर उसका सोचहरु हामीसँगै थिए । त्यसैले उसले सोचेको काम पुरा गरेर उसलाई सच्चा श्रद्धाञ्जली दिने विचार गरि म पुनः रिसोर्ट निर्माण कार्यमा व्यस्त भएँ ।
बलराम अमेरिकामा पढ्दै थियो ।  सन् २००८ मा गणित विषयमा अमेरिकाको युनिभर्सिटी टप गरेर “वर्ष विद्यार्थी २००८” हुन सफल मेरो बलराम सन् २००९ मा पनि “ आउटस्टयाण्डिङ्ग सिनियर अवार्ड “ पाउन सफल भयो । यसअघि नै उसले उपराष्ट्रपति र राष्ट्रपति अवार्ड पाईसकेको थियो । ठुलो छोराको विछोडको घाउ गहिरो भएपनि माहिलो छोराको प्रगतिको खुशीले हामीलाई उतारचढाव वीच अगाडी बढ्न मद्दत गरिरहेको थियो । अब हाम्रा आशा र सपनाहरु बलराममा केन्दि«त हुन थालेका थिए । कुमार हाम्रा लागि छोरा भन्दा पनि बढी साथी तथा  सल्लाहकार थियो । अब उसको विछोडमा यी कामहरु वलरामसँग शेयर गर्न थालेको थिएँ ।
समय एकनाश कुदिरह्यो । असोज महिनाको आगमनसँगै दशैंले पाइला सारिसकेको थियो । कुमारको मृत्यु भएको पनि ९ महिना वितिसकेछ ।  हाम्रा लागि विगतमा खुशीपूर्वक मनाइदैं आएको दशैं र यसपालीको दशैंमा आकाश पातालको अन्तर थियो । लाग्दै थियो ज्वालामुखी विस्फोटनबाट निस्केको लाभाको महासागरमा हामी पौडदै छौं ! दशैं आउनु र जानुले यसपटक हाम्रा लागि कुनै महत्व राखेन । आम दिनहरु जस्तै दशैं पनि बोझिल थियो, निरस थियो ।
टिकाको भोलपल्टै म हामीले रिर्सोट बनाइरहेका ठाउँ काभे्रको अनेकोट गएँ । अरु परिवार काठमाडौमा  नै थिए । असोज १७ गतेसम्म  दशैे भएकाले  स्टाफहरु सबैलाई छुट्टी थियो । रिर्सोटमा पालिएका माछाहरुको लागि  दाना सकिएको रहेछ । म बिहान ९ बजे  अनेकोटबाट दाना किन्नको लागि पाँचखाल जाँदै थिएँ । अचानक मोटरसाइकलको चेन चुँडियो । ओर्लेर कच्ची बाटोमा विस्तारै बाइक डो¥याउँदै थिएँ, पसिनाले निथ्रुक्क भिजेको थिएँ । मेरो मोबाइलमा घण्टी बज्यो । बलले अमेरिकाबाट फोन गरेको रहेछ । उसलाई “बाबु म एकछिनमा कल ब्याक गर्छु ।” भनेर मैल मोबाइल डिस्कनेक्ट गरिदिएँ । मलाई उसले “हस बुबा” भन्दा असजिलो मानेको महशुश भयो । केहीबेरपछि मोटरसाइकल वर्कसपमा पुगेर मैले उसलाई  कलब्याक  गर्दा फोन उठेन । सोचें  ऊ निदायो होला, किनभने त्यतिबेला अमेरिकामा रातको ११ बजीसकेको थियो । त्यो दिन त्यसै बित्यो । दिनभरि नै उसँग सम्पर्क भएन ।
रातको एघार बजे मेरो मोबाइलमा अज्ञात नम्बरबाट फोन आयो । म निन्द्राबाट झसङ्ग बिउझिएँ । “यति राति कसको फोन आयो होला” कौतुहलता भन्दा पनि मनमा चसक्क भयो । “मामा, तपाई काठमाडौं जानु प¥यो, म गाडी लिएर गेटमा आएको छु । कपडा लगाएर बाहिर निस्कनुहोला !! – फोन  नकुलले गरेको थियोे । नाताले ऊ मेरो भाइको सालो हो तर ऊ मात्र होइन गाउँका सबैजना बच्चाहरु देखि वृद्धवृद्धाहरु समेत मलाई “मामा” भनेर सम्बोधन गर्ने गर्थेे ।  उसको शब्दले मेरो शरिरभरि कम्पन छुट्यो । । अज्ञात परिणामले मलाई तर्सायो । रातको एघार बजे काठमाडौं जानुपर्छ भनेर गाडी गेटमा बसेको छ !! पक्कै केही अनहुनी भएको हुनुपर्छ भनेर ठम्याउन मलाई गाह्रो भएन !!  मैले अलि कडा स्वरमा सोधें, “नकुल , भनन के भएको ?” उसले छोटो उत्तर दियो “सरी मामा, मलाई पनि केही थाहा छैन, खाली हजुरलाई लिएर आउनु भनेका छन् । मैले ठम्याएँ– पक्कै गम्भिर घटना घटेको छ । नत्र कोही मलाई किन बताउँदैनन । म हिंड्नको लागि तयार हुन थालें । पाले भाइले गेट खोलिसकेछ । मोटर भित्र छि¥यो । मेरै कोठाको  अर्को बेडमा सहयोगी राम भाञ्जा सुतेका थिए । उनी पनि उठी सकेका थिए ।
मैले कसैलाई पनि कुनै प्रश्न गर्न उचित ठांिनन् । विश्वास थियो कसैले केही बताउने छैनन् । सरासर गाडीमा बसें अनि रामभाञ्जालाई म गएँ है भने । पाले भाईलाई पनि राम्ररी हेर्नु भने । दुवैले केही बोलेनन्, केवल थरथर् कापिरहेका थिए ।
पूर्णिमाको जुनको प्रकाश चिर्दै हाम्रो गाडी कच्ची सडकमा घन्द्रयाङ् घुन्द्रुङ् गर्दै तामाघाटतिर लाग्यो । म असमन्जस अवस्थामा थिएँ । कसलाई के भयो केही थाहा थिएन । लक्ष्मीलाई पो केही भयो कि ? – मनमा शंका उठ्न थाल्यो– केही महिना अगाडी आफ्नो कोखको अमुल्य मोति गुमाएकी आमा शायद हृदयघातको शिकार भईन् की ? रातको साढें एघार बजे म चढेको मोटरलाई गाउँलेहरु अर्कै ग्रहबाट आएको एलियन जसरी हेरिरहेका थिए । बच्चा, बुढाबुढी लगायत सबैजना कच्ची सडकमा लामबद्ध भएर मलाई हेर्ने कोशिस गर्दै थिए । अघिपछि मलाई देखेर मामा–मामा भनेर चिच्याउँदै आउने बालबालिकाहरु चिहाएको शैलीमा मलाई हेर्दै थिए । मलाई विश्वास  भैसकेको थियो– अज्ञात घटना सामना गर्नुपर्ने छ जुन घटना गाउँमा सुकेको खरमा सल्केको आगोझैं फैलिसकेको थियो ।
आधा किलोमिटर तल पुग्दा गाडी रोकियो । त्यहाँ गाडीको ढोका खोलेर प्रकाश भाञ्जा मलाई अंगालोमा भर्दै भक्कानिएर रुन थाले । उनको हालत देखेर मैले कडकिएँ “के भयो प्रकाश के भयो? मलाई भनन । किन कसैले मलाई केही भन्दैनौ ।” तैपनि उनले केही भनेनन् । केवल मलाई केही थाहा छैन मामा भनिरहे । मैले पुनः सोध्ने प्रयास पनि गरिन । केहीबेरमा गाडी तिनपिप्ले हँुदै धुलिखेलतिर उकालो लाग्यो । मैले अमेरिकामा बलको नम्बर दबाएँ । घण्टी गईह्यो तर फोन उठेन । बाबुको मन ! ड्राइभ गर्दै होला भन्ने सोचें र मनमनै अब बललाई काठमाडौ बोलाउनुपर्छ भनेर योजना बनाउन थालेँ । गाडी केराघारीबाट उकालो लाग्यो । मैले विभिन्न नम्बरमा सम्पर्क गर्नासाथ सबैले स्वीच अफ गरिहाल्थे । कसैले पनि मेरो मोबाइल रिसिभ गरेनन् । अन्तिम पटक मञ्जु छोरीको नम्बरमा फोन लाग्यो । उसले फोन उठाई ।  “ठूलोबुबा , हजुर गाडीमा हो ?” मैले हो भने । “हेर्नुस् न बुबा  हामीलाई कस्तो दशा लागेको । बलदाई पनि !……. बुबा बुबा…….. , बलदाई …….पनि !!!” मैले सबै कुरा बुझिहालेँ । सनन्न भयो र मुखबाट अनायाश निस्कियो “बलु तिमी पनि !!”
मैले जानेर यस पृथ्वीका मानिस मात्रै हैन अन्य प्राणी समेतलाई क्षति पुग्ने काम गरेको जस्तो लाग्दैन । जातजातीको नाममा कहिल्यै भेदभाव गरिन । केवल “हामी मानव हौं र मानव भएर बाँचौं” भन्ने मेरो मान्यता रह्यो । कुनैपनि राजनीतिक दलसँग आबद्ध भएको छैन तर सबैलाई सम्मान गर्छु । आफुले चाहेको ठाउँमा हामीले स्वतन्त्र रुपले मत हाल्न पाउनुपर्छ । अरुलाई बोल्न नदिनु, अरुको सिद्धान्तलाई अनादार गर्नु लोकतन्त्र होइन । सबैले बोल्न, काम गर्न र बाँच्न पाउनुपर्छ भन्ने लागिरह्यो । समाजका लागि जसलाई जहाँसुकै पनि आपतविपत परेको ठाउँमा सम्भव भएसम्म पुग्न कोशिस गरेको छौं । हामीले आफ्ना छोराछोरीहरुलाई पनि यस्तै संस्कार दिने प्रयास गरेका थियौं ।
म काठमाण्डौ घर पुग्दा रातीको १ बजेको थियो । गाडिबाट ओर्लनासाथ सयौं मानिसहरुले मलाई घेरे, विसौं हातहरु मलाई छुन तेर्सिए । प्लिज म बाटो पाउँ भन्दै सरासर भित्र गएँ । कोठामा ६÷७ जना महिलाहरु लक्ष्मीलाई पानी छ्यापेर पंखा हम्कँदै थिए । कान्छु, स्वाती र बा–आमा डाँको छोडेर रुँदै थिए । लक्ष्मी वियोगको असैह्य पीडामा छट्पटाउँदै थिईन् । मलाई देखेर भक्कानिँदै भनिन्– “बाबु ! बलुलाई बोलाईदिनुस् न…… उसलाई केही हुनै सक्दैन…….बलु…..बलु…..मेरो बलु…….। म आफैं असैह्य पीडामा जलिरहेको थिएँ । लक्ष्मीलाई सान्त्वना दिंदै भनें – कान्छु म आएँ हेर त । त्यो भन्दा बढि बोल्ने शब्द थिएन मसँग । अनि उनलाई छातीमा टाँसेर राखें । र, विस्तारै लगेर बेडमा बसाएँ । त्यसैबेला स्वाती, कान्छु, आमा, बुबा सबै ममाथि नै घोप्टिनु भयो । बज्रको पहिलो चोट ताजै थियो, त्यही आलो घाउमा नियतिले फेरि अझ भयानक चोट थपिदियो । आँखाहरु ओभाउन पाएकै थिएन, फेरि आँसुकै भेलमा डुब्यौं हामी । बचेका अलेलि आशा पनि त्यही भेलमा बगे । कस्ता कस्ता सपना थिए, सबै शिशा झैं चकनाचुर भए । हामी निःशब्द रोयौं, रोईरह्यौं । होशहवास ठेगानमा थिएन । टेकेको धर्ती भासिए झैं भयो, आफु माथिको आकाश खसे झैं भयो । आखिर हामीलाई मात्र किन यस्तो परेको ? एकपछि अर्को भयानक प्रहार ! सुन्दा पनि कहाली लाग्ने कथानकका हामी साक्षत पात्र बनेका थियौं । आखिर किन ?
त्यो किनको जवाफ हामीसँग थिएन । हामीलाई सान्त्वना दिन आएका अरु कसैसँग पनि थिएन । भगवानसँग हुँदो हो तर भगवानले जवाफ दिंदैन । त्यसैले हामी निरुत्तर जलिरह्यौं घोर पीडाको दन्कँदो रापाग्नीमा । भित्ताको वा नाडीको घडिलाई यसको कुनै परबाह थिएन । टिक ! टिक ! घडिको सुई घुमिरह्यो । एक घण्टा बित्यो, दुई घण्टा बित्यो । ठिक तिन बजे अमेरिकाबाट कुन्दनको फोन आयो । फोनमा ऊ भक्कानिएर रोयो, उसको पछाडी पनि धेरै जना कराई कराई रोइरहेको आवाज सुनियो । म झन स्तब्ध भएँ, आवाज घाँटीमै रोकियो । बोल्न खोज्यो, सकिँदैन । के भनुँ ? भन्ने कुरा पनि आउँदैन । निकैबेरपछि आफुलाई संहाले । कुन्दनसँग दाहसंस्कारको कुरा भयो । “भैगो, अब नेपाल नल्याउने, उतै दाहसंस्कारको व्यवस्था गर्नु” भनिदिएँ । आज पनि त्यो क्षण सम्झँदा छाती चर्कन्छ । तर त्यसबेला कुन शक्तिले काम ग¥यो होला ? यत्ति भन्ने हिम्मत कसरी जुटाएँ हुँला ?
हुन पनि मानिसलाई भगवानले चोट दिँदा त्यसलाई सहन सक्ने ताकत पनि दिँदो रहेछ । मुटु छियाछिया हुँदा पनि मान्छे बाँच्न सक्दो रहेछ । विस्तारै विस्तारै सामान्य जीवनमा फर्कन कोशिश गर्न थालियो । तर त्यो कोशिश पनि कम्ता पीडादायक थिएन । जबरजस्ती मनलाई पाता फर्काउनु पनि त सानोतिनो हिम्मतले पुग्दैन । जिम्मेवार र आशलाग्दा जवान छोराहरु गुमेपछि मेरो यो पाको काँधमा जिम्मेवारीको झन ठुलो खात लाग्यो । त्यसैले पनि म संहालिन खोज्दैथिएँ । यो दोश्रो वियोगले लक्ष्मी अझै हत्प्रभ भईन् । आमाको मन शब्दमा संझाउँदैमा कहाँ सम्झन्छ र ! फेरि दिमागीस्तरमा संझदैमा कहाँ मनले मानिहाल्छ ! १५ दिन बितिसक्दा पनि अश्रुधारा रोकिँदै रोकिएनन् । दिनरात आँशु अविश्राम बगिरहे ।
छोरो गुमाउनुको पीडा आफ्नो ठाउँमा थियो । लक्ष्मीलाई कसरी संहाल्ने भन्ने अर्को चिन्ता । एक साँझ अचानक मनमा विचार आयो – एउटा संस्था किन नबनाउने ? किन उनकै नाममा संस्था खोलेर छोराहरुको समाज सेवाको सपनालाई साकार नबनाउने ? परिवार, आफन्त र शुभचिन्तकसँग विचार बाँडें । सबैले सहमति जनाए । यसरी दिवंगत छोराहरुको संझनामा तिनकी आमालाई सान्त्वना दिनका लागि लक्ष्मी प्रतिष्ठानको जन्म भयो । त्यसबेला लक्ष्मीको मन बुझाउनु नै पहिलो कारण थियो । यो संस्था धेरै अगाडि जान्छ भन्ने त यकिन थियो तर यत्ति छोटो समयमा यत्ति बृहत होला भनेर सोचेका थिएनौं ।
लक्ष्मी प्रतिष्ठानमार्फत विभिन्न क्षेत्रमा कल्याणकारी काम गर्न थालेपछि हामीलाई माया गर्ने हाम्रा शुभचिन्तक मित्रहरु धेरै नै भइसक्नु भएको छ । आज उहाँहरुको साथ तथा सहयोगले  प्रतिष्ठान राम्रैसंग दुःखीजनको घाउमा मल्हम बन्दै गइरहेको छ । हामीले करिव २ वर्षको छोटो समयमा नै ५÷६ जिल्लामा पाइला टेकिसकेका छौं । धेरै बालबालिकाहरुले शिक्षाको ज्योति पाइरहेका छन् । केही विद्यालयका विद्यार्थी भाईवहिनीहरुले स्कुल ब्लक पाएका छन् । केही स्कुलमा पिउने पानीको व्यवस्था मिलाइएको छ । केही स्कुलले जमिन पाएका छन् । केही अनाथ बालबालिकाहरुले न्यानो कपडा, स्वस्थ्य खाद्य तथा मसलन्द पाएका छन् । केही विद्यार्थीहरुले  पुस्तकालयको सुविधा पाएका छन् । अल्पशिक्षित भाइबहिनीहरुले सिपमुलक कामका लागि तालिम पाइरहेका छन् । निरक्षर दिदीबहिनी तथा दाजुभाइहरुले प्रौढ शिक्षा तथा “सिपमुलक तालिम कार्यक्रम” मार्फत्  अक्षर पढ्न र सिप सिक्न पाईरहेका छन् । दुःखी तथा अपाङ्गता भएका व्यक्तिहरुले सहयोग पाएका छन् । आज हामीले यस यात्रामा साथ दिंदै अभियानलाई सघाउने  हजारौं छोराछोरीहरु  पाएका छौं ÷आमाबाबु पाएका छौ ÷ भाई भतिजा पाएका छौं ।
संसारमा जन्मेपछि सबैको मृत्यु अवस्य हुन्छ नै ।  जीवन र जगतलाई बुझेर हेर्ने हो भने यस पृथ्वीमा दुःख–सुख सबैलाई साथी मानेर अगाडी बढ्नै पर्छ । जुनसुकै मोडमा जे भएपनि स्वीकार्नुपर्छ ।। यत्ति बुझ्दा बुझ्दै पनि पीडा चाँही हुँदो रहेछ । मृत्यु त मृत्यु हो नि । तैपनि अल्पायुमै आफन्त गुमाउनु पर्दा प्राकृतिक मृत्युभन्दा बढी पीडादायी हुनेगर्छ । तर सँग–सँगै प्रश्न पनि  जन्मिन्छ – उसो भए पीडाको विकल्प के त ? पीडाको विकल्प पीडा नै चाँही पक्कै होइन । समय अनुसार आफुलाई बदलेर बाँच्नु नै सही बाटो र विकल्प हुन जान्छ । गीतामा भनिएको छ –“ जे भयो ठीक भयो, जे भइरहेछ ठीक भैरहेछ, जे हुनेछ त्यो पनि ठीक हुनेछ, तिमीले संसारमा के ल्याएका थियौ र के गुमायौ ? त्यसैले कर्म गर फलको आशा नराखी मानवताको लागि काम गर” । थाहा छ – भन्नु र गर्नु दुई अलग कुरा हुन् । शास्त्रले जे भन्छ, त्यसको अनुशरण गर्न कठिन छ । तैपनि हामीले ईश्वरीय प्रहारमा २ जवान छोराहरुको मृत्युको असह्नीय पीडा भएपनि शास्त्रमा भनिएझैं यी शाश्वत् शब्दभित्र पीडाको विकल्प खोज्यौं र मानवताको लागि काम गर्ने निर्णय गरियो । फलस्वरुप त्यही पवित्र कर्म गर्ने आशयले लक्ष्मी प्रतिष्ठान जन्मियो । हाम्रा दिवंगतहरुको भौतिक मृत्यु भएको छ तर भावनात्मक रुपमा लक्ष्मी प्रतिष्ठानमार्फत् थालिएका पवित्र कर्महरुले उनीहरुको साँच्चिकै हजारौं जन्म भएको छ ।
म विशेषगरि संसारभरका हामीजस्ता अल्पायुमा सन्तान गुमाउनु भएका बाबा आमाहरुसंग आफुले गुमाएका सन्तानहरुको मृत्युलाई शोक मात्र नठानी त्यहींबाट जीवन जीउने कुनै विन्दु खोज्न अनुरोध गर्दछु । विश्वमा प्रत्येक दिन लाखौं मानिसहरु मरिरहेका हुन्छन् र तिनीहरु प्नि कसै न कसैका छोराछोरी नै हुन् । तसर्थ हामीसँग मात्र अनर्थ भएको हैन भन्ने ठानी, मानवताको लागि कल्याणकारी  काम गरौं ।  संसारमा  धेरैै दुःखीहरु छन् जो हुँदामात्र खान पाउँछन् , जो शिक्षाबाट वञ्चित छन् , जो एउटा चक्की सिटामोल वा एक पाकेट जीवनजल किन्न नसकी मरिरहेका छन् ।     अभावले श्रृजना भएको विवशताबाट पथभ्रष्ट भई कोही– कोही त आफ्ना परिवार पाल्न अरुको गर्दनमा हतियार राख्ने समेत गर्छन् । हामी त्यस्ता जोखिमपूर्ण अवस्थाहरु आउन नदिन र विवशतावशः उब्जने यस्ता परिस्थितिको न्यूनिकरण गर्न कोशिश गरौं । उनीहरुको जीवन रुपान्तरणका लागि काम गरौें । पथभ्रष्ट साथीहरुलाई पनि म अनुरोध गर्दछु – तपाईहरुले खाँदा कसैको गाँस नखोसियोस् । सदैव ध्यान दिनुहोला । एक छाक खान साँच्चिकै बेइमान बन्नु पर्दैन, त्यो त ईमान्दारीको कमाईले नै पुग्छ । मुख्य कुरा आफुमाथि भरोसा राख्नुपर्छ र संतुष्ठ हुन जान्नुपर्छ ।
हामीहरु यतिखेर सीमित श्रोत साधनका बाबजुद पनि  वियोगको पीडाबाट माथी उठेर शोकलाई शक्तिमा बदल्दैै लक्ष्मी प्रतिष्ठानमार्फत धेरै नै कल्याणकारी कामहरु गरिरहेका  छौं । लक्ष्मी प्रतिष्ठान आर्थिक रुपमा धेरै सम्पन्न त छैन तर मनमा दृढ सङ्कल्प र पवित्र विचार भएपछि मन वचन कर्मले काम गरिरहेका छौं । दैवको दण्डले गर्दा  हामी  पनि यस पृथ्वीमा अति दुःखीहरुको पंिक्तमा छौं र बारबार भन्छौं – कसैले यस्तो दुःखद् दिन देख्न र सहन नपरोस् । हामीलाई जवान छोराहरुले अल्पायुमानै छोडेर गए पनि हजारौं चिरपरिचितहरुको माया र स्नेह दिएर गएका छन् । आज हरेक सेवाग्राहीहरुले आफ्नो घरका भित्तामा हाम्रा दिवंगतहरुको तस्वीर मात्रै टाँसेका छैनन् उनीहरुको मनको कुनामा हाम्रा दिवंगतहरुलाई सदैव जीवित राखेका छन् । यसरी वेदनाका ती शूलहरु किरण बनी फैलदैछन्, फैलिरहनेछन् ।

तिलगंगा,  काठमाण्डौ

प्रतिक्रिया दिनुहोस्

*