भोको राक्षस

-गोपीकृष्ण ढुंगाना

‘अब म तिमीहरुलाई खान्छु’, लामो कपाल, दाह्री र दाह्रा भएको अग्लो मोटो राक्षस छेवैमा आएर गर्जियो। चउरको कुनामा बसेर खाजा खाइरहेका रमेश, नरेश, स्तुति र स्मृति डराए, अतालिए र रुन थाले।
बस्तीभन्दा केही परको सरस्वती प्राथमिक विद्यालय जंगलको छेउमा थियो। खानेकुरा नभेटाएपछि त्यो बडेमानको राक्षस स्कुल पुगेको थियो। उसले यसैगरी दुई वर्षअघि पनि सोही स्कुल पुगेर दुईजना ससाना छात्रालाई खाएको थियो। डरलाग्दो राक्षस अचानक आफूसामू देखेपछि कक्षा दुईमा पढ्ने चारैजना  छात्रछात्रा रोइकराई गर्न थाले। तर उनीहरुको रुवाई कसले सुन्ने?
उनीहरुका साथीहरु चउरमा होहल्ला गर्दै आफ्नै सुरमा खेलिरहेका थिए। मौसम पनि बदलिएको थियो। पानी पर्न आँटेकाले जंगलका चराचुरुंगीको चिरविर आवाज पनि चर्को थियो। टिफिन भएकाले शिक्षकशिक्षिका पनि आफ्नै धुनमा थिए। राक्षस फेरी ठूलो स्वरमा करायो, ‘ए केटाकेटी हो, म सात दिनदेखि भोकै छु। तिमीहरुलाई खान्छु र टन्न हुनेछु।’ चारैजना झनै आत्तिएर मुखामुख गर्न थाले।
आफूहरुलाई बचाउन कोही नआएपछि चारैजना विद्यार्थी शिक्षक कक्षतिर भाग्न थाले। दुब्ली सानी स्मृतिलाई राक्षसले च्याप्प समातिहाल्यो। भाग्दै गरेका तीनजनाले त्यो कुराको पत्तै पाएनन् । एकैछिनमा ती तीनजनालाई पनि भेट्टाइहाल्यो। रमेशले चिच्याए, ‘छोडिदे, छोडिदे। बचाउ…।’ रमेशको बचाउको आवाज शिक्षिका गोमाको कानमा ठोक्कियो। गोमा पनि ‘बचाउ…’ भन्दै राक्षसतर्फ दौडिइन्।
शौचालयबाट निस्कँदै गरेका शिक्षक गोपाल पनि विद्यार्थी चोर्ने राक्षसतिरै दगुरे। खानेकुरा खोसिदेलान् भनेर राक्षस जंगलतिर कुद्यो। र झाडीमा लुक्यो। आपतमा कोही न कोही भनेझैं त्यो दिन स्कुलमा पनि अरु शिक्षकशिक्षिका थिएनन्। विद्यार्थी खोस्न जंगल पुगेका गोपाल र गोमा पनि राक्षसलाई नदेखेपछि पसिनापसिना भए।
डराएकी स्मृति ‘घुँक घुँक’ रोएको गोमाले सुनिन्। उनी चिच्याइन्, ‘राक्षस यहाँ लुकेको रहेछ।’ राक्षस फेरी भाग्यो र खोल्सामा हाम्फाल्यो। गोपाल र गोमा दुवैको मन विद्यार्थीको मायाले थुरुरु काप्यो। ‘ला यसले सबैलाई एकै चिहान बनायो होला…’, गोपाल थुचुक्क भुइँमा बस्छन्। गोमाले हुटहुटी लगाएपछि दुवै खोल्सामा पुग्छन्।
खोल्साछेउमा खेतमा काम गरिरहेका स्मृतिका बुबा रामूले छोरी च्यापेर भाग्न आँटेको राक्षस देख्छन्। रुखका हाँगा बोकेर आएका गोपाल र गोमा रामू दौडिएतिरै दौडिन्छन् । रामू पनि फरुवा बोकेर दौडदै हारगुहार गर्छन्, ‘गुहार गुहार राक्षसले केटाकेटी खान लाग्यो।’ राक्षस बस्तीमै पुगेकाले गाउँलेहरु कोही लाठी, कोही मुङ्ग्रा लिएर बाटोमा निस्किए। राक्षस अब आफूलाई गाउलेले मार्ने भए भनेर झनै जोडले दौडिन थाल्यो।
आफूतिर दौडदै आएको राक्षसलाई समाउन उसले राक्षसको खुट्टामा लौरोले बजार्यो। भूइँमा लडेको राक्षसलाई सबैले समाए। रामूले चारैजना केटाकेटीलाई अंगालोमा लिएर फकाउन थाले। कोही कुटेरै मार्ने भन्दै कराउन थाले। कोही थुन्नुपर्छ भन्ने भए। शिक्षक र अभिभावकको सल्लाहमा राक्षसलाई गाउलेले प्रहरी चौकीमा बुझाइदिए। रमेश, नरेश, स्तुति र स्मृतिका अनुहारमा खुसीका रेखाहरु देखिए।

मेरो ब्लग

प्रतिक्रिया दिनुहोस्

*