अर्को दिन

- दीपा लिम्बु राई
बुद्ध र गान्धीलाई नजिक राखेको छु
म युद्धविरोधी मानव
युद्धकालको यो समय
पेट्रोलले मलाई नै खोजिहिड्छ ?
राइफलको व्यारेलले मलाई नै ताकिरहन्छ ।
युद्ध विमानले मलाई नै खेदिरहन्छ ।

के म दुस्मन हुँ ?
के म शत्रु हुँ ?
कसरी म दुस्मन हुँ ?
कसरी म शत्रु हुँ ?
यो जीवनको स्वायत्तता मसँग छैन ?
के युद्धविरोधी विचारले बाँच्न पाउँदैन ?

किन पिस्तोलले मेरो कन्चट ताकिरहन्छ हँ ?
किन सुगौली सन्धिले मलाई बाँधिरहन्छ ?
किन १९४७ को सन्धिले मलाई भेटिरहन्छ ?
किन जेनेभा कन्भेन्सनले मलाई पछ्याउँछ ?
किन पहिलो र दोस्रो विश्वयुद्धले मेरो हत्या गरिरहन्छ ?
आउदो युद्धहरुले खोजिरहन्छ ?

कति नजिकबाट उड्छन् यिनीहरु
कति खोजतलास गर्छ मेरो
कति झम्टिन्छ मैमाथि
म छातीमा प्राणी अहिंसाको व्यानर टाँग्छु ।
पाखुरामा सपअस्तित्ववादको टाटु खोप्छु ।
हत्केलामा वाल स्ट्रिट ढाकको नारा पोत्छु ।

तर युद्धहरुले
यिनै निधार, पाखुरा, छातीमा
ताकेर मार्न खोजिरहन्छ ।

के म बाँचिरहँदा युद्धको मृत्यु हुन्छ ?
त्यसो भए ठीक छ ।
म बाँच्न चाहन्छु ।
म बाँच्न चाहन्छु ।

म बाँच्न चाहन्छु ।

म एउटा युद्धविहीन ब्रम्हाण्डको परिकल्पनाकार ।
धरान, सुनसरी । हाल ः सेरिया, ब्रुनाई

प्रतिक्रिया दिनुहोस्

*