विश्व कविताको मञ्चमा हाम्रो सानो कुनो पनि धपक्क बल्छ : मनु मन्जिल

-पदम गौतम

  • समकालीन नेपाली कविता विश्वस्तरमा कति अग्लो छ भन्ने ठान्नु हुन्छ ?

 
एकाध समस्या छन् । नत्र विश्व काव्यिक मञ्चमा हाम्रो कुनो पनि उज्यालै छ । हामी साह्रै कलामा विश्वास भएका मानिस होइनौं । हाम्रो वेग एकदमै लोभलाग्दो छ तर प्रविधि एकदमै कमजोर । कुनै भावना वा विचार नयाँ रुपमा आएपछि हामी फटाफट लेखिदिन्छौं वा बोलिदिन्छौं । त्यो त डिपार्टमेन्ट स्टोरमा साहुसित कुरा गरेजस्तो हुन्छ नि । एकान्तमा पर्खेर प्रेमिकासित सोचीसोची बोलेजस्तो वा योगीहरुको ‘सेल्फ–टक’ जस्तो सुन्दर त हुँदैन । हतारमा दौडँदा दौडदै नानी जन्माउन खोजेजस्तो गरेर हामी धेरै कुरा एकैछिनमा विगार्छौं । सबै मानिसले देवकोटा बन्न खोजेर हुँदैन । उनी त सरस्वतीका जेठा सन्तान थिए । उनको वेगमा कुनै अतिरिक्त आशीर्वाद थियो । ध्यान, मनोयोग, प्रतिभा, भाषा र कोमलताले उनी ऐश्वर्यशाली थिए । तर प्रत्येक माछो त ह्वेल हुँदैन वा प्रत्येक खोल्सी कोशी त होइन । यही नछुट्टिएर हामी हैरान छौं ।
पश्चिमाहरु प्रविधिमा एकदमै अगाडि छन् । कैलेकाहिँ उनीहरु पनि ‘नन्सेन्स’ त लेख्छन् तर ज्यादै राम्ररी । म यदाकदा विदेशी लेखकहरुसितको भेटमा ‘वेल–रिटन नन्सेन्स’का कुरा उठाउँछु । गद्य–लेखनमा पनि त्यो छ । हाम्रामा चाहिँ धेरैजसो एकदमै राम्रो कुरा वा भावना पनि राम्ररी लेखिएकै हुँदैन । समालोचकहरुले उद्धृत गरेका मोटा–मोटा पुस्तकमा कविताका हरफहरु हेर्नोस न । ती कति जीवन नभएका कविता छन् । मोहन कोइरालाको कविता छ नि ‘झिक्राझिक्री’  हो त्यसले भने जस्तै । मैले टि.एस. इलियटका अपूर्ण कविताहरु थुप्रै पढेँ । ह्विटम्यानका अपूर्ण कविताहरु पनि पढेँ । ती किन अपूर्ण छोडिए होलान् ? पर्खँदा पर्खँदै त त्यस्तो भयो होला नि । हामी चाहिँ प्रत्येक लट्ठी उभ्याएर एकैछिनमा छहारी बनाउन खोज्छौं । पर्खनु, भाव–भूमिको चयन गर्नु, ठीक अभिव्यक्तिको निम्ति भाषासित लडाईँ गर्नुजस्ता साहित्यिक खेलबाट बाहिर बाहिरै निस्केर हामी कराइ बस्छौं । विश्वले हाम्रो आवाज किन सुन्छ ?


समकालीन नेपाली कविताको परिवेश चाहिँ  व्यापक र साँघुरो एकसाथ छ । कविता कविलाई नै लाज हुनेगरी धेरै लेखिएको छ तर उत्कृष्ट भने ज्यादै थोरै । ती थोरैलाई उभ्याइदिने हो भने विश्व कविताको मञ्चमा हाम्रो सानो कुनो पनि धपक्क बल्छ । शंका छैन । तर त्यसरी उभिनलाई चम्किलो ‘ड्रेस’ पनि चाहिन्छ र त्यो भनेको भाषा हो । हाम्रो अनुवाद अहिले पनि जम्माजम्मी एउटा प्रविधि भन्दा माथि उठेको छैन । अनुवाद स्वयम्मा कला भएर उठेको दिन पर–परसम्म हाम्रो पनि अनुहार देखिएला । आशा गरौं ।

  •  तपाईको लेखनको विषय र विचारको मूल स्रोत के हो ?
    विषयहरु वरिपरि छन् र विचार तिनैबाट निःसृत हुन्छ, जन्मन्छ । ‘म कवि बन्न चाहन्छु’ भनेर रेनर मारिया रिल्के प्रसिद्ध कलाकार रोदिनकहाँ एकविहान गए नि । रोदिनले उनलाई चिडियाखाना जाऊ भने । उनी गए । निकैदिन गए । केही लेख्न सकेनन् । रोदिनले सल्लाह दिए,  ‘तिमी फेरि जाऊ, हेर र हेरिराख जतिन्जेल तिमी देख्दैनौ’ । उनले एउटा चितुवालाई लगातार हेरे, उसमा थुनिएको आफ्नै विम्ब देखे र लेखे प्रख्यात कविता— ‘चितुवा’ । त्यो थुनिएको चितुवाको तिखो आँखा हरदम स्वतन्त्र विश्वतिर थियो तर उ थियो कैद । त्यो चितुवा मानिसको तीव्र तर थुनिएको चाहनाको विम्ब भैदियो । मानिसहरुले मन पराए
    म भनिराख्छु, पदमजी, कि कविता मेरा लागि ठूलो क्षतिपूर्ति हो । म सानामा पर्वतारोही बन्न चाहन्थे । पर्वतहरु सँधै मभन्दा अग्ला भैरहे । मैले जित्न सकिनँ । त्यो जित्ने चाहना म कहाँ लगेर राखुँ ? म एक महान बक्सर बन्न चाहन्थँे, मेरै लुरे ज्यानले दिएन । त्यो सपना कहाँ थन्क्याउनु ? किशोर वयमा कति सुन्दर छायाँहरुलाई प्रेम गरेँ । पछि लागि हिँड्न जीवनले दिएन । मैले अरुसित भन्न नसकेको कुरा, पुग्न नसकेको आकाश, बुझ्न नसकेको रहस्य, मैले हिँडी आएको, छोडी आएको बाटो, देउरालीको सम्झना यिनै कुरा कवितामा आउँछन् । ठूलो दर्शन वा वादको भारि बोक्न सक्ने कवि म हुँदै होइन । म त यौटा सानु, सङ्लो खोलाको ‘साइज’ को कवि रहेछु । सागर कहाँ छ कहाँ । म आफ्नै छेउछाउ कुदिराख्छु ।
  •  किन तपाईँका कविताहरु ‘वामपन्थी’ जस्ता लाग्छन् ? यो संजोगमात्र हो कि तपाईको विचार पनि हो ?
    हा….हा… । अलिक अघि एकजना प्राध्यापकले मलाई टाढादेखि टेलिफोन गरेरै ‘तपाई धेरैपटक हारेको मान्छे हो ?’ भनेर सोधे । मलाई केही भन्नै आएन । तपाईले ‘वामपन्थी हो?’ भनेर सोधेको प्रश्नको पनि मलाई लाग्छ मसित धेरै राम्रो जवाफ छैन । कवितामा, साहित्यमा यौटा क्षमता हुँदोरहेछ– पाठकलाई, स्रोतालाई आफ्नै अनुमानको आनन्द दिलाउने । तर तपाईको प्रश्न अलिक टेढो छ ।
    यौटा साधारण मानिसको सौन्दर्य कि प्रेम देखिन्छ कि विद्रोहमा । महान वेलायती कवि शेली–आफूलाई सत्ताको विपक्षी हुँ भन्थे तर ती ‘वामपन्थी’ थिएनन् । भएपनि तीनले ‘हुँ’ कहिल्यै भनेनन् । वर्तोल्त व्रेख्त वा नाजिम हिक्मतलाई वामपन्थी कवि भनेर प्रचार गएिको छ तर तिनका कवितामा अत्यन्त स्वतन्त्र मानिसको इच्छा र सपना पनि छन् । तबेलामा बाँधिएको घोडा मलाई उति राम्रो लाग्दैन । त्यो बेमान् लाग्छ जसले सारा वेग च्यापेर सुतेको छ । मैदानमा कुदिरहेको घोडाको छायाँ मलाई लाग्छ घोडाको सबभन्दा राम्रो विम्ब हो । त्यस्तो वेगवान यौटा घोडाको चित्र मेरो लाइब्रेरीमा पनि छ ।
    कुनै पनि राजनीतिक पार्टीको प्रचार सामग्रीको झोला बोकेर म कहिल्यै यौटा आँगन बराबर पनि हिँडेको छैन । कवितामा यौटा कम्युनिष्टको जस्तो विद्रोह पनि आयो होला, यौटा प्रजातान्त्रिक लडाकुको सपना पनि आयो होला । संगत त उनीहरुकै छ । तपाईँलाई थाहै छ हाम्रो राजनीति पिठ्यूँमै बोकेर हिँडौं जस्तो सुन्दर छैन । यौटा अराजक समयमा बाँचेको कविबाट तनावको अभिव्यक्ति आउनु स्वाभाविक नै होला । म त्यही भन्ठान्छु । तर दाह्री पालेको यौटा अधवैंसे मानिसलाई ‘तपाईँ कार्ल माक्र्स हो ?’ भनेर सोध्यो भने त्यो मानिस कसरी अलमल्ल पर्ला ? त्यस्तै मजस्तो साधारण मानिसको सोचको राजनीतिक परिभाषा के होला ? अब कसैलाई सोधेर अनि भन्छु ।
  • नेपाली कविता अहिले सुध्रिँदै छ कि बिग्रिँदै ?
    अहिले कविता विविध भएर आएको छ तर सघन भएर आएन । विभिन्न रुप धारण गर्दागर्दै आफ्नै स्वरुप गुमाएको, धुलोमा हराएको इन्द्रेणी जस्तै भयो यो । पहिले समालोचकहरु पनि राम्रा थिए । रामकृष्ण शर्मा, कृष्णचन्द्रसिंह प्रधान, ताना शर्मा, अभि सुवेदी जस्ता समालोचक राम्रो कविता टपक्क टिप्थे र तिनमाथि महत्वपूर्ण र झरिला बहसहरु दिन्थे । देवकोटा, भूपी, रिमाल, माधव घिमिरे, बासु शशी, वैरागी काइँला आदि तिनैले चिनाएका कवि हुन् । अहिले समालोचकहरु ‘डि–सेलेक्ट’ गर्नै जान्दैनन् । आज साहसी समालोचकको ठूलो अभाव छ । कविताबारे साँचो बोल्ने मानिस नहुनु कविताको लागि दुर्भाग्य भैदियो । झारले पनि बगैँचामा सम्मानको ठाउँ पायो ।
    कविता त शब्दको खेल हो नि । शब्द चिन्दै नचिनी, शब्दलाई सुन्दै नसुनी कवितामा, गीतमा प्रयोग गरिएको पाइन्छ । तीनलाई ‘लो प्रोफाइल’ मै राखेर प्राध्यापकहरुले, समालोचकहरुले उच्च गुणयुक्त कविताको प्लेकार्ड हातमा लिएर बोल्न सक्नु पथ्र्यो । अध्ययन विना, मेहनत बिना, आकांक्षा बिना, शिल्प बिना कविहरु मैदानमा उत्रिनुले हेर्नुस्न, कविताको ‘स्कोरबोर्ड’ लगभग रित्तो भैसक्यो । हिउँचुलीमा पुगेको लोकप्रियताले जमिन  टेकिसक्यो । धेरै कविको कविता सुन्नुभन्दा नानीहरुको झगडा हेर्नु सुन्दर छ । एउटा महान कलालाई हामीले त्यस्तो बनायौं ।
    अर्को कुरा, कविता त ‘पर्फर्मेन्स आर्ट’ पनि हो नि । यौटा साधारण गीत पनि लय र सुरमा गाउँदा कहाँ पुग्छ । ‘भूपी त मान्छे पछाथ्र्यो’ भन्नुहुन्छ काईँला दाई, उनको वाचनकलाको प्रशंशामा । अहिले त धेरै कविहरु स्टेजमै ओछ्यान लगाएर ‘सुतुँला झैं’ गर्छन् । टि.भी. वार्तामा कविहरु लगभग आधा निदाएर बोल्छन् । कवि मञ्चमा उक्लेपछि त सम्पूर्ण मञ्च रौनकले टम्म हुनुप¥यो नि । देशमै दुई–चार कविमा मात्र त्यो ‘देखिने ग्लेमर’ छ । बाँकी स्टेजमा आए गएको दर्शकलाई थाहासमेत हुँदैन ।

 

  •  अनि, मिडियाले कवि र कवितालाई फाइदा पु¥याएको छ कि सस्तो बनाएको मात्र हो ?
    केन्द्रीय मिडियाले साहित्यलाई ठूलो ठाउँ दिएको छ । खासगरी प्रिन्ट मिडियाले । कलाप्रतिको यो उदारता र आदरभाव अन्यत्र समेत विरलै छ । मञ्च दिएपछि के लिएर त्यहाँ जाने भन्ने कुराको जिम्मा कलाकारको हो । लेखकको हो । ‘कैलेकाहिँ हाम्रो राम्रो कथा, कविता वा लेख पनि मिडियाले छाप्तैन’ भन्ने आरोप पनि छ । मलाई त्यस्तो लाग्दैन । सुन्दर र ‘बिक्ने कुरा’ मिडियाले नछाप्नुपर्ने कारण नै हुँदैन । अध्ययन, अवलोकन र सुन्दर भाषाले झरिलो सिर्जना खै कतै अर्कै युग पर्खेर चुप लागेर बसेको मलाई थाहा छैन । ती कुनै न कुनै मिडियामा प्रकट भएकै छन् ।
    मिडियाले कुनै यौटा राम्रो कवि, लेखक वा कलाकारको खल्ती च्यातेर, लुगा खोसेर वनवास पठाएको मलाई थाहा छैन । मिडिया हो, कस्तो भाषा वा शैली भएको लेखन छाप्ने वा नछाप्ने छुट त हामीले दिनु पनि प¥यो । साह्रै गहिरो दर्शन वा आध्यात्मिक प्रवचन छापेर त मिडिया चल्दैन नि । आम पाठकको रुचीको विषय, भाषा, शैली त हुनै प¥यो ।
    मजस्तो राजधानीबाट टाढा बसेको यौटा लेखकको निम्ति मिडिया यौटा ठूलो उपलब्धी हो । नभए त म उहिले आफ्नै सानो गोरेटोमै हराइसक्थेँ । मुख्य कुरो शब्दको खेलमा चाहेको अभिव्यक्ति दिनु वा सोझै ‘गोल हान्नु’ महत्वको कुरा नै होइन र खेलमा खेल्ने शिल्प र लेखनमा लेखन प्रक्रियाको सौन्दर्य ज्यादै आवश्यक हुन्छ । भाषिक तिक्ष्णता उत्तिकै जरुरी छ । लाटा शब्दहरुको पिरामीड मिडियाले किन छाप्नु ?
    तपाईँले यदि खराब लेखकको चर्चाको संकेत गर्नुभएको हो भनेपनि जवाफ सजिलो छ । त्यो ‘लुरे बक्सर’ को प्रचार भिडन्तको दिनसम्म मात्रै हो । त्यसपछि त अखबारको क्यामरा छाडेर उ आफ्नै किनारातिर गैहाल्छ । तर यौटा खतरा भने छ । जस्तो छापिएको यौटा खराब कविताले समग्र कवितालाई घाटा पार्ने सम्भावना रहन्छ । खराब कविताका निम्ति भनेर सम्पादकहरुले आफ्नो छेऊमा एकौटा अलिक ठूलो ‘डस्टविन’ राखेको राम्रो होला । त्यो डस्टविनले कविताको मूल्य बचाउन ठूलो सहयोग गर्छ ।

 

  • कवि कविताजस्तै असल हुनुपर्छ कि जरुरी छैन ? कि यो संसारमा त्यस्तो हुन सकिँदैन, आफ्नो जीवनको अनुभूतिलाई समेत मिसाएर भन्दा … ?
    यौटा कवि पनि ‘कवि’ हुने भनेको कहिलेकाहिँ हो । अरुबेलामा उ पनि अरुजस्तै आफ्नो कमिज तान्दै, मिलाउँदै बाटामा हिँड्छ । तर यौटा भावना राम्रो भएको मानिसको जीवनशैली साह्रै खराब हुँदैन । उसको जीवनशैली लेखनमा पनि कताकति आउँछ । कविता त अधिकतर आत्माको तलाऊ कति गहिरो र सफा छ त्यसको प्रतिविम्बिन हो कि लाग्छ मलाई । त्यो मानिसभित्रको यौटा ‘चीज’ ले सुन्दर हुने हो जसको खास नाम के हो म पनि जान्दिन ।
    मलाई लाग्छ प्रत्येक राम्रो लेखकको सिर्जना कतै न कतै ‘अटोबायोग्राफिकल’ भएर सजिएको हुन्छ । थाहै नपाई सांस्कृतिक पृष्ठभूमि पनि रचनामा पसिसक्छ । त्यसलाई सकेसम्म कुण्ठामुक्त गरेर निर्वैयक्तिक बनाउनुले जस मिल्छ । मेरो निजी कुरा भन्नु यहाँनेर केही छैन । मेरा कविताहरुले मेरो भावनात्मक प्रतिनिधित्व गर्लान् नै । तर मेरो व्यक्तित्वमा कुनै चमक वा महानता भएजस्तो लाग्दैन । भए मेरो ऐनाले मलाई उहिल्यै देखाइसक्थ्यो । तपाईँले पनि देखिसक्नुहुन्थ्यो ।

 

  • तपाईले चरम अभाव र संघर्षका समयमा कस्तोसम्म दुःख गर्नुभयो ?
    म यौटा करोडपतिको छोरो । बाबा व्यापारमा टाट पल्टेपछि म सानैमा यौटा झुप्राको मानिस भएँ । बुवा ऋणले लखेटिएर चारवर्ष बाराको रतनपुरको जंगलमा दिनभर हराउने र राती ११ बजेतिर घरमा आइपुग्नुहुन्थ्यो । म कहाँ ‘काजी’ को छोरा, कहाँ निजगढमा आफन्तकहाँ बाख्रा चराएर, घाँस काटेर पढेँ । रतनपुरमा बस्ता जमिन थिएन । म रुख कटहर बोकेर जंगल पार गरेर ‘लाल’ भन्ने उत्तरको पहाडमा गएर मकैसित कटहर साटेर फर्कन्थेँ । बुवाको जीवनमाथि नै मैले लेखेको हुँ – ‘पहाड र पहिरो’ शीर्षकको कविता । यौटा धनाढ्य व्यापारी र सम्मानित समाजसेवीको जीवनमा पहिरो गयो । उहाँ लुकेर दाउरा बेच्ने मानिस बन्नु भो । त्यसपछि हाम्रो आर्थिक हैसियतले फेरि कहिल्यै शिर उठाउन सकेन ।
    यो ऋण त ‘हेरेडिटरी’ रोगजस्तो पो छ मेरो । पछि काठमाडौंमा मैले पनि व्यापार डुबाएर आफैँ नदेखिने गरी ऋणमा डुबेँ । राजधानीको प्रत्येक बाटो मेरा लागि वर्षौं अप्ठेरो भयो । जुन रङको लुगा लगाएर मानिस बाटैबाटो आउँदा पनि म मेरो मात्र साहु आइरहेको देख्थेँ । कलेज पढ्दाताका एउटा सेतो सर्टले तीनवर्ष थेगेको छु । पछि व्यापार डुबेर सत्रवर्षको कमाइले ऋणमात्र तिरेँ । त्यो अवधिको पीडा, अपमान र दुर्दशा तपाईँ अन्दाज गर्न सक्नुहुन्छ । भनेर साध्य छैन । तर भावनाको निर्माणमा ती सबै कुरा एकसाथ आए कि भनेजस्तो लाग्छ । अहिले यौटा, कलेजको संस्थापक हुनु र यौटा कवि र लेखकको परिचय पाउनु मेरालागि साधारण कुरा थिएन । मैले आफ्नै प्रत्येक दुःख जोडेर जीवनको बाटो बनाएँ । उभिने ठाउँ बनाएँ । फर्किहेर्दा जिन्दगीको ल्याडस्केपको पल्लो क्षितिजसम्म दुःखैदुःख मात्र देख्छु । कसरी आएँ होला भन्ठान्छु । म आफू सिमसारमा उभिएजस्तो मानिस हुँ लाग्छ । भन्नै असजिलो छ ।

 

  • त्यो बेला सिर्जनालाई चाहिँ अन्याय गर्नु भयो कि भएन ?
    अन्याय गरिन तर अन्याय भयो होला । म सँधै ‘समय नभएको’ मानिस रहेँ । बाल्यकालको खेल्ने समय दुःखले लग्यो । किशोर हुँदाको समय पनि म एक स्वप्नदर्शी जस्तो आफ्नै बाटो परपरसम्म, रहस्यको छेउसम्म जान सकिँन । सप्पै समय अभावले लग्यो । युवाकालको सत्र वर्ष यौटा ऋणी भएर हिँड्दाहिँड्दै सकियो । सँधै ‘टाइम आउट’ । म त अल्वेयर क्यामुको ‘आउटसाइडर’ जस्तो भएँ । जिन्दगीले त्यसरी छेऊ लगायो ।
    भाग्यवश पढ्न र लेख्न चाहिँ छोडिनछु । नत्र कुन जमिन्दारको यौटा आँगन हिँड्दा हिँड्दै मेरो आयु सकिने थियो । त्यो बेला खुब लेखेँ । परिष्कार भएन । पुनर्लेखन भएन । पछि मध्यरातमा उठेर लेख्ने बानी बसाएपछि मेरो पनि समय छ जस्तो लाग्यो । केही लेख्छु कि त भनेजस्तो भयो ?
  •  लेखकमा हुनैपर्ने गुणहरु के के हुन् ?
    श्वर राम्रा भएको मानिसले जे गाउँदा पनि सुन्दर लाग्छ नि । उहिले मिथकको यौटा गायकको कुरा सुन्नु भएकै होला जसले मारिनुअघि गाएको गीतको प्रेममा एउटा शासक समेत जीवनभर मूच्र्छित भयो । त्यस्तै राम्रो भाषा भएको लेखकले आफ्नै ‘डेथ नोट’ पनि मेहनत गरेर, सुन्दर, बनाएरै लेख्छ । केही लेखकहरुसित अतिरिक्ति केही भन्ने क्षमता सर्वदा हुन्छ । ती राम्रा लेखक हुन् । भाषा, कल्पना, प्रविधिमा नवीनता ल्याउने लेखक आकर्षक हुने हो । राम्रो पुस्तक पढेको लेखकले नै राम्रो लेख्छ । उसमा सिर्जनात्मक पागलपन भन्ने कुरा हुन्छ ।
  • सुरुमा कुन नेपाली लेखकबाट निकै प्रभावित हुनुहुन्थ्यो ? अनि पछि विभिन्न कारणले त्यो प्रभाव कम गरि नितान्त मौलिकता
    कसरी सिर्जना गर्नुभयो ?

    स्कुल पढ्दा त मलाई ज्ञान उदास मन पर्थे । सानो कविता सरल भाषामा लेख्ने । मलाई कविता लेख्न सक्छु भन्ने हिम्मत आउँथ्यो । ‘गौरी’ पढेपछि र ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ पढेपछि मलाई तीनले यसरी दबावमा राखे कि म सुन्दर अभिव्यक्ति खोज्दै खोलाको किनारै किनार हिँड्ने मानिस भएँ । ज्ञान उदासको सोझो भूतले मलाई पछ्याउँनै छाड्यो । पछि मोहन कोइराला, बैरागी काइलाका कविताहरु पढेपछि म आफ्नै सतहबाट चिप्लिएर हराएझैं भएँ । पछि ती भन्दा अप्ठेरा कविहरु पनि पढेँ र आफू एउटा सपनाको बाटामा उभिएँ ।
    यो मौलिकता चाहिँ अलिक पछि आउने चीज रहेछ । पहिले त जो पढ्यो उस्तै बन्न मन लाग्ने । र सिकारु सिकर्मीलाई मास्टर कार्पेन्टरको प्रभावजस्तै हुँदोरहेछ । त्यो सिकारु मानिस पहिले नक्कल नै त गर्छ । विस्तार अभ्यास गर्दै गएपछि उसले नविन टेक्निकहरु अपनाउँन थाल्छ । भिन्दै भएपछि मात्रै उसको बजार सप्रन्छ भन्ने पनि जान्दछ र अब भिन्न सोचले निर्देशित भएर काम गर्न थाल्छ । गद्यमा पनि त्यही भएको छ । नारायण वाग्लेको ‘पल्पसा क्याफे’ वा नयनराज पाण्डेको ‘लु’ शिरिषको फूल जस्ता छैनन् र पनि सुन्दर छन् । कुमार नगरकोटीको कथा वि.पी. कोइरालाको जस्तो छैन फेरि पनि रोचक छ । बुद्धिसागरको उपन्यास वा अमर न्यौपानेको कथा वा उपन्यास गोविन्द गोठाले वा ध्रुवचन्द्र गौतमको जस्ता नभएरै सुन्दर छन् । सिक्नै त पूर्वजहरुबाटै सिके होलान् उनीहरुले, तर पछि स्थापत्यलाई चुनौती दिनसक्ने भए । आफ्नो समयको हैसियत राख्नसक्ने भए नि । कवितामा श्रवण मुकारुङको कुरा गरेपनि, विप्लव ढकाल, रमेश क्षितिज, उपेन्द्र सुब्बा वा अरु राम्रा कविका कुरा गर्दा पनि मौलिकता पछि विकसित  भयो । माझीको बच्चाले बाउलेजस्तै पौडी खेल्छ भन्ने हुँदैन रहेछ । सिर्जनामा त्यही हुने हो ।
  • क–कसका कस्ता रचनामा रमाउनु हुन्छ ? नेपाली … विदेशी … ?
    मलाई नेपाली गद्यमा देवकोटाका निबन्धहरु हरदम शक्तिशाली लाग्छन् । पारिजातको उपन्यास ‘शिरिषको फूल’ बेलाबेला पढिरहन्छु । कवितामा भूपी सँधै जिउँदा मानिस हुन् लागिरहन्छ । आत्मकथामा वि.पि.को आत्मवृत्तान्त उच्च कोटीको र प्रेरक लाग्छ । नाटकमा अभि सुवेदी मन पर्छन् ।
    हाम्रामा उच्च कोटिका पुस्तकहरु धेरै नभएको र अन्य कारणले पनि अंग्रेजीका सामग्री पढ्नै पर्छ । पश्चिमा कविमा शेली, ह्विटम्यान र माया एन्जेलो म बारम्बार पढिरहन्छु । अहिलेका पश्चिमी कविहरु ज्यादा प्राविधिक कविता लेख्छन् । तीनको कविता स–स्याना एक पृष्ठका मरुभूमिजस्ता लाग्छन् । चिनुवा अचिवे, मार्खेज, अरुन्धती रोए आदिका गद्य पनि पढिरहन्छु । सकेसम्म चाहिँ राम्रा कविता र कथाहरु खोज्छु ।
  • गद्य रचनामा अहिले उपन्यास फस्टाएको किन होला ?
    उपन्यास फस्टाउनु सुखद कुरा हो । साहित्यका पाठकहरु बढिरहेका छन् । मिडियाले पनि महत्व दिएको छ । जुन कुरो राम्ररी लेखिन्छ त्यही फस्टाउने हो । पछि आएर उपन्यास लेख्नेहरु काव्यिक पृष्ठभूमिका छन् । तिनको भाषा र जीवनको चित्रण लोभलाग्दो छ । अर्को कुरा उपन्यासले पाठकको दमित यौनेच्छा र सरल सपनाको पनि सहज सम्बोधन गर्छ । यो ठीक छ । पहिले पनि उपन्यासका पाठक थिए । तर कविता धेरै प्रभावशाली थियो । पछि आएर कवितामा जीवनका सुन्दर अभिव्यक्तिहरु हराए । विम्बहरु त कहिँ देखिनै छाड्यो । कविताले राजनीतिमा ज्यादा भाग लियो र नारा कविताको रुपमा छापिनुले कविताको लोकप्रियता स्वाट्टै घट्यो । साहित्यको पाठकले त्यो क्षतिपूर्ति उपन्यासमा भेट्यो । कविता राम्रो लेखिए त्यही पाठकले कविता पनि पढ्छ । निबन्ध पनि पढ्छ । समस्या छैन । तर उपन्यासले पनि पल्पसा क्याफेको, राधाको जस्तो भाषा प्रयोग गरे साहित्यको ‘टेस्ट’ बाँचिरहन्छ ।
  • जागिर÷काममा चाहिँ कविता र साहित्यमा जस्तै जम्नु र रम्नु भएको छ कि छैन ?
    छु । मेरो खेतीपाती, व्यापार, उद्योग, कालोबजारी जे भनेपनि पढाउनु हो । कलेजको कक्षामा पसेपछि मेरो आत्मबल सँधै उच्च हुन्छ । र म बोलेरै दिन काट्छु ।

नाम   ः मनु मन्जिल
ठेगाना   ः  इटहरी, सुनसरी, नेपाल
जन्म   ः  २०२६ असार १५
पेशा   ः शिक्षण
प्रकाशित कृति ः  १. आँधीको आवेग
          २. ल्याम्पपोस्टबाट खसेको जून
३. पाँचवटा कृतिको अङ्ग्रेजी अनुवाद
पुरस्कार  ः  १.षडानन्द प्रतिभा पुरस्कार २०६२
              २.दक्षिण एसियाली युवा कवि पुरस्कार २०११.
संलग्नता  ः १. अध्यक्ष, साहित्यसञ्चार प्रतिष्ठान, इटहरी
         २. सदस्य, वाणी प्रकाशन, विराटनगर

प्रतिक्रिया दिनुहोस्

*