प्रज्ञा प्रतिष्ठान सबैको साझा थलो : कूलपति वैरागी काइला

-गोपीकृष्ण ढुंगाना

साहित्यिक लेखनमा ईन्द्रबहादुर राई र ईश्वर वल्लभसँग मिलेर तेस्रो आयामलाई अघि बढाएपछि चर्चामा आएका पाँचथरका तिलविक्रम नेम्वाङ यतिबेला नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति छन् ।
रहरले लेख्न थालेको बताउने उनी बाहिर रहँदा प्रतिष्ठानका धेरै कमीकमजोरी देख्थे । अहिले पनि
उनी पूर्ण सन्तुष्ट भने छैनन् । प्रतिष्ठानको फराकिलो कार्यक्षेत्र र सरकारको साँघुरो अनुदानका
कारण भनेजस्तो गर्न नपाएको उनको गुनासो छ । प्रतिष्ठानका कूलपति उनै वैरागी काइलासँग अन्नपूर्णकर्मी गोपीकृष्ण ढुंगानाले गरेको साहित्यिक वार्ता ः

अचेल के लेखिरहनुभएको छ ?
केही लेखेको छैन भने हुन्छ । साहित्यकारहरु आउँछन्, उनका कृतिमा शुभकामना मन्तव्य लेखिमाग्छन्, कोही पत्रपत्रिकाको कामले आउँछन् । यही भनेर केही पढ्न पनि भ्याएको छैन । जे भेट्छु त्यही पढ्छु । विषय वृहद छ साहित्यको । गम्भीरतापूर्वक पढे लेखेको छैन ।

लेखनमा केलाई केन्द्रविन्दू बनाउनु हुन्छ ?
दोस्रो जनआन्दोलनपछि दुई वर्ष कविता लेखें । आजसम्म जेजति लेखें ती सबैलाई भेला गरेर विधागत रुपमा छुट्याउने काममा छु । यो काम थालेको पनि डेढ वर्ष भइसक्यो । सर्सर्ती हेर्दा आठ दसवटा कृति निस्कने रहेछन् । तीन दसकअघिदेखि थालेको पूर्वी नेपालको सांस्कृतिक सम्पदा मानिने लिम्बू जातिको श्रुति परम्पराको पुस्तकमा बढी ध्यान दिएको छु ।

साहित्यमा कहिले र कसबाट प्रेरित हुनुभयो ?
कसबाट कसरी प्रेरित भएँ भन्न सक्दिनँ। ढाँटेको जस्तो होला, गफ गरेजस्तो होला । तर दार्जिलिङ, बनारसबाट निस्कने बालमण्डल, युगवाणीजस्ता साहित्यिक पत्रिकामा नाम छपाउने रहरले सुरु भएको हो । कति त अरुका सारेर पनि छाप्न पठाइयो होला । छापिएपछि रहरलाई बढाएर लेख्न बल गर्न थालें। गोष्ठीमा जाने, साहित्यकारसँग भेटघाट गर्ने, पत्रपत्रिका र पुस्तक अध्ययन गर्ने क्रम बढ्यो । सामाजिक रुपान्तरणमा निकै ठूलो काम हुनेरहेछ भन्ने बुझेपछि साहित्यमा होमिएँ । अहिले बुझ्दा व्यावहारिक दृष्टिले त त्यो भावनाले काम नदिँदोरहेछ तर पनि नराम्रो काम सोचिएन छ भन्ने निष्कर्षमा छु ।

तिलविक्रम नेम्वाङ र वैरागी काइलाबीच के फरक छ ?
सन् १९६१ तिर उपनाम थपियो । यो पनि फेसन नै थियो । त्यो बेला सबैले उपनाम राख्थे । कोही आँसु लेख्थे त कोही पागल । लेख्नुको पछाडि छद्म भेष धारण गरेको होइन मैले । तर अहिले अप्ठेरो भएको छ । सामाजिक र कानुनी कामका लागि तिलविक्रम नेम्वाङ चाहिन्छ । अनि साहित्यिक र सांस्कृतिक पहिचानका लागि वैरागी काइला । दुईवटा नामले हस्ताक्षर गर्ने बेलामा धेरै झुक्किएको छु । बैंकमा अर्को हस्ताक्षर गरेर कतिपटक चेक च्यात्नु परेको छ ।

साहित्यिक जीवन बाँचेका राजनेता भन्छन्, साहित्य राजनीतिको हतियार हो,
के साँच्चै हो ?

होला पनि। वास्तवमा साध्य र साधन दुवै हो साहित्य । सामाजिक रुपान्तरणमा निकै ठूलो भूमिका खेल्छ यसले । भारतमा गुरुले कविता सुनाएकै भरमा क्रान्तिमा होमिएका कुरा पढेको छु । आफ्नो लाभका लागि जसले जे पनि गर्न सक्छन् । आफूलाई प्रगतिशील भन्ने मित्रहरुले माक्र्सवादीय चिन्तनका आधारमा साहित्यलाई आफ्नो विचारको संवाहकको रुपमा पनि प्रयोग गरिरहेकै छन् । व्याप्त वर्गीय भेदभावले सिर्जित समस्यालाई निमिट्यान्न पार्न भूमिका खेल्छ भन्ने उहाँहरुको आग्रह नै हो । विद्धान साहित्यकारहरु साहित्यलाई राजनीतिबाट मुक्त पार्नुपर्छ भन्नेमा छन् । त्यो दलको विचारमात्र बोक्ने साहित्य हो भन्नेहरु पनि छन् । तर यी दुवैमा आंशिक सत्यता छ । दलका लागि साहित्य लेखेर भरियाचाँही बन्नु हुँदैन । सन्तुलित पार्नुपर्छ ।

मनपर्ने विधा कुन हो, किन ?
मेरो लेखनको मूलविधा चाँही कविता नै हो । मनपर्ने भएरै होला कविता लेख्छु । तर हिजोआज लेखनीको समीक्षा गर्दा गद्य लेख नै बढी पाइरहेको छु । मनपर्नुको एउटै कारण मान्छेले अनुभव र अनुभूति गरेका कुरा र भावलाई विम्व, अलंकार र प्रतिकका माध्यमबाट थोरैमा धेरै अभिव्यक्त गर्न सकिन्छ । तर किटान गरेर भन्न सक्दिनँ, किनकी मेरोजस्तो अल्पज्ञानले किटान गर्न सक्दैन । पढ्ने कुरामा सिद्धान्त र दर्शनका पुस्तकमा रुची छ ।

तपाइका कवितामा पाइएका विम्व, प्रतिक र अलंकारले वर्तमानलाई
कसरी परिभाषित गर्छ ?

कविता उपन्यासजस्तो लामो ढंगले भन्ने विधा होइन । काव्यात्मक संरचना उपमा, अलंकार, प्रतिक आदिमार्फत् भन्न सकिन्छ, भन्नुपर्ने अवस्था पनि आउँछ । लामो विषयलाई छोटोमा भन्नुपर्दा यिनको प्रयोग गरिन्छ । तर यिनको छनोट परिवेश र समयमा मिल्ने गरी गर्नुपर्छ । सामाजिक उतारचढावको आँगनमा टेकेर लेखेपछि उपयुक्त हुन्छ नै, नत्र समयबाट विच्छिन्न हुन्छन् ती । सबै रुपमा प्रासंगिक हुने ढंगले लेख्नुपर्छ ।

साहित्यको इतिहासमा तेस्रो आयामको छुट्टै महत्व छ, यसको वर्तमान अवस्था के छ ?
तेस्रो आयाम निकाल्दा महान साहित्यकारहरुले लेखेका बाहेक सबै साहित्यकारमा त्यस्तो गाम्भीर्यता थिएन । वस्तुमा लम्बाई, चौडाई, उचाई वा गहिराई भएमात्र त्यो पूर्ण हुन्छ भन्ने हाम्रो मान्यता हो । सबैको हुनसक्ने विषय लेखिनुपर्छ भन्ने मान्यता हो । वैचारिक हिसाबले पनि सान्दर्भिक हुनुपर्यो । आयामका हामी तीनमध्ये ईश्वर वल्लभ बित्नुभयो, मैले लेख्न छोडें । दार्जिलिङमा बसेर ईन्द्रबहादुर राईले तेस्रो आयामलाई समयानुकूल माझ्दै केही अघि बढेर लीला लेखनतिर लम्किनुभयो । यो पनि ठिक छ । किनकी विचार सधैं एउटै गतिले अघि बढ्न सक्दैन । मैले पनि सैद्धान्तिक रुपले छोडेको होइन, सिर्जनात्मक लेखनको मूल मबाट सुक्दै गएको छ ।

प्रज्ञा प्रतिष्ठान प्रवेश गर्नुअघि कसरी मूल्यांकन गर्नुहुन्थ्यो ?
प्रतिष्ठानबाहिर रहँदा साहित्यकारले जे मूल्यांकन गर्छन् म पनि त्यो भन्दा फरक रहिनँ । ज्ञानको दुनिया हो प्रतिष्ठान । यसले सहित्यलगायत अन्य धेरै क्षेत्रलाई समेटेको छ । स्थापनाकालदेखि केही वर्ष राम्रो चल्यो। बीचमा राम्रो हुन सकेन। अहिलेको मूल्यांकन अरुले गर्ने हो । सरकारी अनुदानमा निर्भर भएर कामको फराकिलो दायरामा लपेटिनु पर्दा समस्या धेरै हुँदारहेछन् । सबै काममा हात हाल्नुपर्ने तर पूर्ण हुन नसक्ने अवस्था छ । त्यसो त राम्रा काम पनि भएका छन्, सन्तुष्टि लिने ठाउँ पनि छन् ।

अहिलेको तपाइको नेतृत्वको प्रज्ञा प्रतिष्ठानमा विगतको जस्तो आकर्षण छैन नि ।
प्रजातन्त्रको पुनर्बहालीपछि प्रज्ञा प्रतिष्ठान केही पटक पुनर्गठन भयो। धेरै बुद्धिजीवीले गठनमा चित्त बुझाएको देखेको छैन । जान्ने, सुन्ने विज्ञहरुको अनुसन्धान गर्ने संख्या बढ्यो । तिनलाई ल्याएर प्राज्ञिक चेतनाको सम्बद्र्धन गर्दै प्रतिष्ठान अघि बढ्नुपर्छ । तर त्यो हुन सकेको छैन । प्रतिष्ठानमा आउनेभन्दा बाहिर बस्नेहरु कयौं विद्धान छन्, ख्यातिप्राप्त छन् । उनीहरुसँग समन्वय गरेर काम गर्न सके राम्रो गति दिन सक्छौं । हाम्रो भूमिका संयोजनकारी भयो भने राम्रो हुनेछ ।

 डायस्पोरा साहित्यलाई प्रज्ञा प्रतिष्ठानले कसरी समेट्दैछ ?
पठाए प्राप्त भए प्रतिष्ठानको ‘कविता’ मा छापिन्छ । कोष भएसम्म प्राप्त उनीहरुका पुस्तक छापिन्छ । सबै संभव पनि हुन्न । विदेशमा रहेका उनीहरुलाई प्राज्ञ सभाको सदस्य बनाउन सकिन्न । प्रज्ञा प्रतिष्ठानले ठूलो छाति बनाउनैपर्छ, बनाएको जस्तो लाग्छ पनि । समालोचकले पनि दूरदृष्टि राख्नुपर्छ । स्वदेश आएको समयमा सूचना दिए साहित्यकारहरु भेला गराएर अन्तक्र्रिया गराएकै छौं । नत्र को आयो को कहिले गयो कसरी थाहा पाउने ?

प्रज्ञा प्रतिष्ठान सबै लेखक साहित्यकारको साझा थलो हो भनिए पनि त्यो हुन नसकेको गुनासो बारम्बार सुनिन्छ नि ?
पछिल्लो समयमा आशातीत प्रज्ञा बन्न सकेको छैन । पुनर्गठन गर्दा सरकारलाई दिने सिफारिस समितिले जान्ने कुरो हो यो । साझा बनाउन समितिको भूमिका अहं हुन्छ । दुई चरणमा गरिएको थियो मेरो पालामा गठन । वैचारिक हिसाबले समावेशी होस् भन्ने चाहना हो मेरो पनि । मैले दोस्रो चरणमा त्यो पूरा होला भन्ने अपेक्षा गरेको थिएँ । तर माओवादीका तर्फबाट कोही पठाइएनन् । तर मैले अनुसन्धानका विषयमा समावेशी बनाउने प्रयत्न गरेको छु । कार्यक्रम र योजनाहरुमा पनि समेटेको छु । तर कतिपय योजना बनाउने बेलामा हराउँछन् र अन्तिम समयमा अपेक्षा गर्छन् । त्यस्तो बेला बजेट कसरी बाँड्नु ?

प्रज्ञा प्रतिष्ठानको भावी योजना ?
प्रतिष्ठानमा आठजना सदस्य भएबमोजिम विभागहरु बाँडेका छौं । सबैले आगामी वर्षका लागि आआफ्नो तहबाट नयाँ कुरा ल्याउँदै हुनुहुन्छ । प्रतिष्ठान विषय, भाषा, साहित्य र संस्कृतिको मात्र होइन । सबै विषय, भाषा, साहित्य र संस्कृतिको साझा थलोको रुपमा उपयोगी हुने खालको बनाउनुपर्छ भन्ने मेरो योजना र ध्याउन्न छ ।

र अन्त्यमा…?
सबै बुद्धिजीवी र प्राज्ञिक वर्गलाई प्रज्ञा प्रतिष्ठानप्रति सहानुभूतिपूर्वक अवलोकन गरी कठिनाई, कमीकमजोरी देखाइदिन आग्रह गर्दछु । राम्रो कामहरुलाई जनसमक्ष पुयाइदिए काममा हौसला बढ्ने अपेक्षा गरेको छु । नराम्रो भए टिप्पणी होस्, हामीलाई सुधार्ने मौका मिल्छ ।

मेरो twitter

सम्प्रति ः अन्नपूर्ण पोष्ट, संयोजक ः शैली परिशिष्टांक

प्रतिक्रिया दिनुहोस्

*