२०६८ को पुस्तक नालीबेली

कसले मार्ला मदन पुरस्कारको बाजी ?

______________________________शिला पहारी

‘औंलामा गन्न सकिने अपवादवाहेक अधिकांश नेपाली लेखकहरु कुन्ठा, गनगन र आत्मरति लेख्छन्’ केही आलोचकहरुको आरोप छ, ‘यिनको लेखनबाट साहित्यको उत्थान होइन, कागजको नाश र प्राकृतिक विनाश मात्रै भइरहेको छ । यिनले साँच्चै साहित्य नै लेखेका हुन् भने अहिलेसम्म खोई एउटा विश्वस्तरीय कृति ?’

‘लेख्दै नलेख्नु भन्दा लेख्नु राम्रो कुरा हो । अहिले लेखनमा अघोशित प्रतिष्पर्धा बढेको छ । झन्नै सय वर्षको इतिहासपछि लेखकहरु रोयल्टी पाउने स्थितिमा भर्खर आइपुगेका छन् । लेखनलाई व्यवसाय बनाउने क्रम सुरु भएको छ ।’ अर्काथरिको भनाई छ, ‘नेपाली साहित्यलाई विश्वस्तरीय दाँजोमा पुग्न यस्तो प्रतिष्पर्धा अरु बढ्नु पर्छ ।’

माथिका टिप्पणी आ-आफ्ना ठाउँ सत्य होलान् । त्यसले हाम्रा साहित्यकारहरुको साधन र समर्पणमा कुनै वदलाव ल्याएको छैन । उनीहरु लेखिरहेकै छन् । पुस्तक बजारका जानकारहरुका भनाईमा हरेक हप्ता सरदर पाँचवटा अर्थात् वर्षमा २६० वटा नयाँ कृति बजारमा प्रवेश गर्छन् । केही लेखकलाई आफ्नो पोल्टामा पार्न प्रकाशकहरुबीच अघोशित प्रतिष्पर्धा समेत हुन थालेको छ । वर्ष दिनमा हजार प्रति सकिएर अर्को संस्करण आउँदा खुसी मान्ने दश वर्षअघिसम्मको स्थितिमा ठूलो परिवर्तन आएको छ । अहिले एउटै किताव पाँच-सात संस्करण मुद्रण हुन थालेको छ । पुस्तकको रोयल्टी खाइजीविकाको आधारमा उक्लिएको छ ।

तर लेखनको गुणवत्तामा भने खासै वृद्धि हुन सकेको छैन । बजार अनुसन्धान गरेर विषय रोज्नेभन्दा आफूलाई लागेको कुरा लेख्ने प्रवृत्तिले अझै निरन्तता पाइरहेको छ । एसएलसी परीक्षासँगै हरेक वर्ष प्रवेश गर्ने नयाँ पुस्ताका चारलाख पाठकलाई लक्षित गर्ने गरी अहिलेसम्म एउटा पनि साहित्य लेखिएको छैन । वर्षौदेखि क्याम्पसको पाठ्यक्रममा रहेको लीलबहादुर क्षेत्रीको उपन्यास ‘बसाई’ असान्दर्भिक भइसके पनि त्यसलाई विस्थापित गर्नसक्ने समयानुकूल उपन्यास अहिलेसम्म आउन सकेको देखिँदैन । एक प्रकाशन गृहका सन्चालक नाम उल्लेख नगरिदिने शर्तमा भन्छन्, ‘लेखकको संख्या बढे पनि समयलाई पछ्याएर लेख्न सक्ने कोही भएनन् ।’ सायद हरेक वर्ष थपिने २६० वटा नयाँ कृतिमध्ये अधिकांशले बजारमा घाम ताप्ने अवसर पनि नपाउनुको कारण यही नै हो ।

जानकारहरुको भनाईमा बजारको मनोविज्ञान बुझन नसक्नु अनि संकीर्णता र गुटवन्दीमा जेलिनुले पनि नेपाली लेखकहरुलाई पछाडि पारिरहेको छ । ठूला भनिने मिडियाहरु निष्पक्ष नहुनुले कतिपय राम्रा कृतिहरु ओझेल पर्ने र गलत प्रवृत्तिले प्रोत्साहन पाउने स्थिति बनिरहेको छ । त्यसले पाठकलाई भ्रमित बनाइरहेको छ । ‘मिडियामा प्रशंसा देखेपछि किनेर ल्यायो, केही पनि हुँदैन ।’ ओखलढुंगा घर भइ राजधानीमा बस्दै आएका एउटा गैसस सम्बद्ध रुपेश दाहाल भन्छ्न् । प्रमाणको लागि उनले किशोर नेपालको उपन्यास ‘पाताल’ र कुमार नगरकोटीको ‘मोक्षन्तः काठमाडौं फिभर’लाई अघि सारे ।

०६८ मा नयाँ के-के आए ?

बजार रणनीति पित्को बराबर पनि नभएको साहित्यिक पुस्तक छाप्ने पुरानो संस्था साझा प्रकाशनले डा. ध्रुवचन्द्र गौतमको उपन्यास ‘सातौं ऋतु’, प्रदीप नेपालको उपन्यास ‘यात्रा’, राजेन्द्र पराजुलीको कथासंग्रह ‘सपनामा माक्र्स’लगायत २० वटा नयाँ कृति बजारमा ल्यायो । साझाका कर्मचारीको अल्छे प्रवृत्ति, साहित्यिक पुस्तक प्रवर्द्धन गर्ने नीतिको अभावका कारण तीमध्ये अधिकांश कृतिले विगत वषहरुमा जस्तै बजारमा घाम ताप्ने अवसर समेत पाउन सकेनन् । भवानी क्षेत्रीको निबन्धसंग्रह ‘आमाहरु’ स्तरीय भइकन पनि पाठकको नजरबाट ओझेल पर्‍यो । भर्खरै बजारमा आएको झापा विद्रोहकी लडाकु तथा पूर्वसंसाद गौरा प्रसाईँको आत्मकथाले पनि त्यही नियति व्यहोरिरहेको छ ।

निजी क्षेत्रका पहिलो प्रकाशन गृह रत्न पुस्तक भण्डारले ०६८ मा तोया गुरुङको कथासंग्रह ‘कुसुम’, मन्जुलको संस्मरण ‘पहाडजस्तो बाटोजस्तो म’, पत्रकार कपिल काफ्लेको उपन्यास ‘बाघ पासा’, टंक उप्रेतीको निबन्ध ‘खण्डित सपनाको गीत’लगायतका १२ वटा साहित्यिक कृृति बजारमा ल्यायो । महिनौं पालोमा राखी निणर्ायक कमिटीको सिफारिसबाट छापिएका उसका अधिकांश किताबले बिक्रीमा हावा खाए । स्तरीय भइकन पनि नीलम कार्की निहारिकाको कथासंग्रह ‘बेली’ समेत प्रचारको अभावमा बिकाउ बन्न सकेन । रत्नले यसै वर्ष निकाल्न लागेको हरि अधिकारीको आत्मसंस्मरण ‘६० वर्षपछि’ले के गर्छ त्यो भने हेर्न बाँकी नै छ । यद्यपि स्तरीय लेखनका लागि अरुलाई अर्ति दिनमा खप्पिस अधिकारीले दुई लाख रुपैयाँ लिएर सम्पादन-प्रकाशनको प्रवन्ध गरिदिएको अन्जु पुरीको उपन्यास ‘सपना कतिपय’ बजारमा झूरपट्याँस सावित भयो । अर्की नवोदित उपन्यासकार अनुपम रोशीको ‘कुमारी आमा’ले भने लेखककै कमजोरीका कारण लिनुपर्ने जति बजार पनि लिन सकेन ।

बजारमा आक्रामक रुपमा प्रस्तुत हुँदै आएको नेपालयले यसवर्ष हावा खायो । उसले प्रकाशन गरेको प्रकाश सुवेदीको ‘छोरी ज्वाईँ भेट्न अमेरिका’लाई मिडियाले जतिसुकै काँधमा हाले पनि पाठकले रछ्यानमा पुर्‍याइदिए । नेपालय नै प्रकाशन रहेको आनी छोइङको आत्मानुभूतिको अंग्रेजी अनुवाद ‘फूलको आँखामा’ भने राम्रैमा गनियो । भर्खरै बजारमा आएको पत्रकार रविन्द्र मिश्रको ‘खान पुगोस् दिन पुगोस्’ पनि पत्रपत्रिकामा पहिल्यै प्रकाशित लेखहरुको संग्रह भएकोले उत्साही हुने ठाउँ देखिँदैन ।

फाइनपि्रन्टले निकालेमध्येमा बुद्धिसागरको ‘बुद्धिसागरका कविता’, सुमन खरेलको ‘रेडियो यात्रा’लगायतका कृति पनि अतिप्रचारका वावजुद बजारमा असफल ठहरिए । खगेन्द्र संग्रौलाको निबन्ध ‘आफ्नै आँखाको लयमा’ र मनु मन्जिलको कवितासंग्रह ‘ल्याम्प-पोष्टबाट खसेको जुन’ भने पाठकबाट राम्रै रुचाइए ।

नयाँ प्रकाशन गृह सांगि्रलाले प्रकाशन गरेमध्येमा अभय श्रेष्ठको कथासंग्रह ‘तेस्रो किनारा’, बैरागी काइलाका कवितासंग्रह ‘अन्धा मान्छेहरु र हात्ती’, इन्द्रबहादुर राईका ‘प्रतिनिधि कथाहरु’, किशोर नेपालको उपन्यास ‘पाताल’, श्यामलको कवितासंग्रह ‘हतारमा यात्रा’ले पनि बजार जमाउन सकेनन् । पूर्वप्रकाशित कृति र माझिएको लेखनीका आधारमा नयनराज पाण्डेको उपन्यास ‘लु’ले पनि पाठकको मन लुट्न सक्ने विश्वास गर्न सकिन्छ ।

गतवर्ष झमक घिमिरेको ‘जीवन फूलकी काँडा’कृतिले मदन पुरस्कार पड्काएपछि चर्चामा आएको ओरियन्टल प्रकाशनका यसवर्षका दर्जनजति छनोटहरु बजारबाट अस्वीकृत भए । लेखकबाट मोटो रकम लिएर प्रकाशन गरिने भएकोले पर्दा पछाडिका साहुजी डा. गोविन्दराज भट्टराईलाई खासै फरक नपरे पनि समालोचकीय शाख भने बाँकी रहन पाएन । यद्यपि उनको आफ्नै महत्वाकांक्षी उपन्यास ‘सुकरातको डायरी’ले के गर्छ त्यो थाहा पाउन भने केही साता धैर्य गर्नै पर्छ ।

यसवर्ष आएका प्रयोगपरक कृतिहरुसमेत पाठकले रुचाएनन् । सुस्मिता नेपाल र रजनी ढकालको संयुक्त उपन्यास ‘पत्रैपत्र’, समालोचकहरुले ‘स्तरीय’ भनेर बुईँ बोकेको शर्मिला खड्का दाहालको ‘क्यान्भासमा कोरिएका कथाहरु’, टंक चौलागाईको साइबर उपन्यास ‘जिरो कटेज’, नेपालकै पहिलो धारावाहिक उपन्यास दावी गरिएको दीपकिरण शर्माको ‘चक्रवात-२’ आदि पनि बिकाउ बन्न सकेनन् । पछिल्लो समयमा सबैभन्दा बढी पढिने स्रष्टाको दावी गर्ने कृष्ण धरावासीको कथासंग्रह ‘आमा’ले पनि खर्च समेत नधानेर पैरवी बुक हाउसलाई पानी पिलायो । प्रा. मोहनराज शर्माको कथासंग्रह ‘भर्खर’ ले पनि लगानी फिर्ताका लागि डीकुरा प्रकाशनलाई जिल्ल पार्‍यो । बरु पाँचपोखरी प्रकाशनले निकालेको नयाँ पुस्ताका कथाकार सुबिन भट्टराईको ‘कथाकी पात्र’ पाठकको नजरमा स्तरीय ठहरियो ।

२०६८ का अब्बल कृति

यसवर्ष बजारमा आएका पुस्तकमध्येमा शारदा शर्माको यात्रा संस्मरण ‘भुईँ फूलको देशमा’, किशोर नेपालको उपन्यास ‘शहरको कथा’ डा. सञ्जीव उप्रेतीको समालोचना ‘सिद्धान्तका कुरा’ र सुबिन भट्टराईको कथासंग्रह ‘कथाकी पात्र’ले आ-आफ्नो विधामा बिक्रीतर्फको बाजी मारे । त्यस्तै मन्जुश्री थापाको ‘सिक्लेसको ठिटो’, मन्जु थापाको ‘संघर्षका पाइला’, र अर्चना थापा सम्पादित ‘स्वअस्तित्वको खोज’ समीक्षकहरुका दृष्टिमा अब्बल मानिए । पुरानो प्रकाशन संस्था जगदम्बाले छापेको ददि सापकोटाको ‘त्यो नेपाल’ र साझा प्रकाशक रहेको भवानी क्षत्रीको निबन्ध ‘आमाहरु’ले चाहिँ स्तरीय र प्रेरणास्पद भइकन पनि ओझेलमै परे । यसै वर्षभित्र बजारमा आउने क्रममा रहेका परशु प्रधानको कथोपन्यास ‘घर’, कृष्ण धरावासीको आत्मकथा ‘पाण्डुलिपि’, रवीन्द्र समीरको लघुकथासंग्रह ‘अणु र पहाड’, कृष्ण अविरल सम्पादित कथोपन्यास ‘जयमाया’, विवश वस्तीको कथासंग्रह आदिले भने कस्तो स्थान लिन्छन् त्यो भने प्रतीक्षाकै विषय छ ।

अहिलेसम्म निस्केमध्ये सवैभन्दा उत्कृष्टचाहिँ ददि सापकोटाको ‘त्यो नेपाल’ र मनु मन्जिलको कवितासंग्रह ‘ल्याम्प-पोष्टबाट खसेको जून’ नै हुन् । तर ‘त्यो नेपाल’को प्रकाशक दीक्षितहरुकै जगदम्बा प्रकाशन हुनु र ‘ल्याम्प-पोष्टबाट खसेको जून’मा मनुको पूर्वप्रकाशित कृति ‘आँधीको आवेग’भित्रका कवितासमेत कोचिनुले दुवै कृति दुई-दुईलाख रुपैयाँ राशी भएका मदन र पद्मश्री पुरस्कारका हकदार हुने मापदण्डबाट दुवै बाहिर परेका छन् ।

आखिर ती पुरस्कारको बाजी कुन-कुनले मार्लान् त ? विज्ञ पाठकहरुको भनाइमा ‘लु’, ‘सिद्धान्तका कुरा’, ‘शहरको कथा’, ‘आफ्नै आँखाको लयमा’ र ‘भुईँ फूलको देशमा’ अग्रपंक्तिमा देखिन्छन् । कमल दीक्षितहरुको ब्ल्याकलिष्टमा परेका नयनराज पाण्डेको उपन्यास ‘लु’ले मदन पुरस्कार नपाउने निश्चित भए पनि पद्मश्री कला सम्मान पायो भने नौलो नमाने हुन्छ । तर लू सार्वजनिक भएसँगै किताव पढिसकेका कतिपयले भन्न थालेका छन- लू चर्चा गरिएजस्तो दमदार छैन, बिचबिचमा अश्लिल पनि छ, त्यसैले पुरस्कारको सूचीमा पर्दैन् । अघिल्लो उपन्यास ‘घनचक्कर’मै दावेदार भनेर चर्चामा आएका डा. सञ्जीव उप्रेतीको ‘सिद्धान्तका कुरा’ले मदन पुरस्कारको बाजी मारे अनौठो नठानिएला । यद्यपि लेखकको उमेरलाई समेत मापदण्ड बनाएर किशोर नेपालको ‘शहरको कथा’ उत्कृष्टमा दरिने सम्भावना पनि उत्तिकै छ । तर पुरस्कार गुठीमा खुसुक्क दर्ता गरेर आगामि वैशाख भित्रमा अरु कुनै अब्बल कृति निस्किए वा अरु कसैले चाकडी पुर्‍याएर माथि उल्लेख गरिएकाहरुलाई उछिने भने पनि अनौठो हुने छैन । किनकि विगतको इतिहास केलाउँदा मदन पुरस्कार वितरणको पहिलो मापदण्ड कृति नभई चाकडी जो भएको देखिन्छ । पद्मश्रीका बारेमा भने अहिल्यै अनुमान गर्न सकिन्न ।

२०६८ चैत २७

साभार ः अनलाइन खबर डटकम

प्रतिक्रिया दिनुहोस्

*