यसरी भत्किए कविजी

–माधव सयपत्री

अगाडि कवि महेश प्रसाईं छन् र पछाडि म छु । उनी हाकिरहेका छन् आफ्नो दुई खुट्टे अश्व यन्त्र अर्थात् मोटरबाइक । सडकको अस्तव्यस्त ट्राफिक अवस्था र सवारी साधनहरुको कुइरीमण्डल उपस्थितिलाई कविजीले छलाईछलाई आफ्नो साधन हुँइक्याउन पनि भ्याएका छन् र मसित अन्तरङ्ग कुरा गर्न पनि भ्याएका छन् । बाइक हकाइबाट थाहा लाग्थ्यो– उनी एक कुशल, अभ्यस्त बाइक चालक हुन् ।
त्यो दिन कविजीले मलाई आफ्नै घरमा बोलाए नरेफाँटमा । एकचोटि मात्र म उनको घरमा गएको थिएँ । घर पत्तो लाग्दैन न कि भन्ने संशयबाट मैले बेलैमा मुक्ति पाएँ । एउटा मन्दिर मेरो  तारो थियो । त्यही मन्दिरलाई ताकेर गएँ । सजिलै भेटेँ कविजीको कवि निवास ।
छायाँजी अत्यन्त सरल लाग्छ मलाई । अघिल्लो भेटमा महेशजी र छायाँजीको उमेर सोध्दा जुन अन्तराल सुने मैले, मैले जिज्ञासा राखिहाले । उनले जीवनमा एकपटक भत्किएको कुरा गरे । मैले कविजीको व्यञ्जनासय राम्ररी बुझिन । सुनेको चाँहि थिएँ महेशजीको दोश्रो घरजम हो यो । तर पहिलेको को थियो । कविजी कसरी र कति भत्किए मलाई पत्तो थिएन । जब कविजीले दुईघण्टा लामो हाम्रो बसाईमा उनको फाइल मलाई पल्टाइदिए तब मैले थाहा पाएँ– कविजीलाई कस्ले भत्काएछ, कसरी भत्किएछन्, कति भत्किछन् सबै कुराको जानकारी भयो मलाई ।
यसपालि कविजीले आफ्नो भत्किएको भौतिक संसारलाई पूनसम्भार गरेछन् । कोठा चोटा व्यवस्थित पारेछन् । सानो घरमा कम्पाउण्ड घेरेछन् । उनले सूर्तीमा माडिएको चुना उडाउँदै भने– “माधव जी आफ्नो जग्गा कति छ थाहा पाउन पनि कम्पाउण्ड लगाउन बाध्य भएँ । चोरको उपस्थिति बाक्लो छ यहाँ, उहाँहरुलाई दुःख नहोस् भनेर पनि कम्पाउण्ड र गेट बनाउनै प¥यो ।” म हाँसे । त्यसपछि कविजी हाँस्नुभयो । अलि पर छायाँजी हाँस्नुभयो । चोरलाई पनि कति आदर गर्दा रहेछन् कविजी । साँच्चै, चोरीकाम अपराध भए पनि काम त साहसी नै हो नि ।
छायाँजीको हातको मीठो चियापछाडि उनले मलाई यसपालिका छायाँ प्रकाशनबाट प्रकाशित मूल्यवान पुस्तकहरु थिए । मानौँ मैले एकतोला सुन पाएँ । खुशी हुँदै झोलामा हाले । बिहान मात्र कवि ठाकुर बेलबासेले रमेश श्रेष्ठको कविता सङ्ग्रह ‘अक्षरको खेत‘ र गीता पन्तको ‘साँझ ढलेपछि‘ दिएका थिए । अघिल्लो दिन नकुलजीले दिएका बगर र नदीको शृङखलाहरु पनि झोलामा हालेको थिएँ । झोलैमा थिए । महेशजीले ‘स्रष्टा र सिर्जना’, ‘म को हुँ’ दिएपछि मेरो झोलाको भार बीस किलोबाट मास्तिरै गयो । झोला चुँडिएला, भत्किएला भन्ने डर लाग्यो । ओ हो ! भत्काइ पनि फरक फरक   । महेशजीलाई घर व्यवहार तहसनहस भई भत्किएको पीर । मलाई त्यो दिन झोला भत्किएला कि भन्ने पीर ।
कविजीले खाजा नखाई उम्किनै दिएनन् । उनले भने ‘आज म तपाईलाई कताकता जानुछ त्यतैत्यतै पु¥याइदिन्छु । गाउँको स्रष्टा आउनु भएको छ । अनि तपाइँ कथा लेख्नुहुन्छ, तपाइँलाई कथा लेख्न एउटा ‘टिप्स’ दिन्छु ।’
मलाई बढी नै खुशी लाग्यो । घुम्न पनि पाइने । एउटा कथा पनि जन्मने, त्यै पनि कवि महेश प्रसाईको सौजन्यबाट । त्यसैले पनि म उनले जाउँ नभनुन्जेल बसी रहेँ ।
महेशजी उठे, छायाँजीसँग बिदा माग्न बिर्सिएछु । छोरी अभिलाई भने एउटा बालउपन्यास उपहार छाडिसकेको थिएँ । महेशजीले बाइकमा जीवन दिए, चढ्न संकेत गरे । म चढेँ । उनले आफ्नो बाइकलाई एयरपोर्टतिर मोडेर केएमसी हुँदै पुरानो बानेश्वर पु¥याए । बिजुली शुल्क असुली अड्डामा छिराए । टोकन लिए उनले र शुल्क बुझाउन समय पर्खे । अड्डामै उनका साथीले चिया खुवाए । त्यहाँ पनि भत्कनु–बन्नुको चर्चा चल्यो । त्यो चर्चा चाँहि सरकार र राजनीति लक्षित थियो । भारतको चुनावको परिणाम बाहिर नआई यहाँ सरकार बन्दैन । काम चलाउ सरकारले नै काम चलाइरहन्छ । त्यहाँका एक वरिष्ठ कर्मचारीको राजनैतिक भविष्यवाणी थियो त्यो । म चुप रहन सकिन । प्याच्च बोलिहालेँ– ‘राजनीतिमा भविष्यवाणी समयसापेक्ष हुँदैन । राजनीतिमा सम्भावनाको अन्त पनि हुँदैन । जे पनि हुन सक्छ ।’ ती कर्मचारी मलाई हेरेर महेशजीतिर राजनैतिक विश्लेषणमा लागे ।
हामी छिट्टै उठ्यौँ । कविजीलाई एउटा कम्प्युटर चाहिएको रहेछ, त्यै पनि छोरीलाई । मलाई कविजीले भने– ‘माधवजी तपाईं कम्प्युटर पसल हेर्दै गर्नुहोला ।’ उनको तीव्र गतिको बाइकमा बसेर कतिबेला मैले साइन बोर्ड पढ्न भ्याउनु । मैले कम्प्युटर पसल देखिन । तीनचार ठाउँमा त टी. भी पसलमा पो म झुक्किएछु । त्यहाँ मेरै आँखा भत्किएछन् अथवा एउटा गाउँलेले टी.भी र कम्प्युटर छुट्टयाउन नसकेर त्यस्तो भएको हो ।
पुतलीसडक नपुगी खास्सा कम्प्युटर सोरुम भेटेनौँ । कम्प्युटर सोरुम देखेपछि कविजीले बाइक रोके र मलाई ओर्लिन संकेत गरे । म ओर्र्लिएपछि उनले बाइकलाई पार्किङमा राखे ।
उनी र म सोरुममा पस्यौँ । क्याटलग माग्यौँ । दियो पसलेको कारिन्दले तर फसाद प¥यो । एउटा कम्प्युटरलाई पूरा जिउँदो बनाउन के के चाहिन्छ त्यैत्यै सामानमा चिनो लगाउनु पर्ने रहेछ । उनी सहरबासी, प्रशस्तै पुस्तक निकालेका, प्रकाशकलाई समेत त्यस सम्बन्धी ज्ञान रहेनछ । म त दूरबस्तीमा, सल्लाको फेदमा विद्यार्थीलाई धुलौटोमा अक्षर कोर्न सिकाउने मास्टर न परेँ । कम्प्युटर चलाउन त के माउसमा हातै नपुगेको । मैले के आइडिया दिने कविजीलाई । तैपनि भनेँ– ‘महेशजी, तपाईंलाई पनि यस सम्बन्धी ज्ञान त्यति रहेनछ । एकजना कम्प्युटरमा दख्खल भएको साथी लिएर मात्र कम्प्युटर हेरे राम्रो होला कि !’
मेरो सल्लाह, सुझावलाई उनले पोजिटिभ्ली लिए र भने ‘ठीक भन्नु भो माधवजी, कम्प्युटर किन्दा मुर्गा भइन्छ । ज्ञानै नभएको विषयमा हात हाल्नु ठीक छैन ।’ क्याटलग बोकेर हामी भोलि आउने बाचा गरी निस्क्यिौ ।
मलाई त कविजीबाट कथाको प्लट चाहिएको थियो । कविजीले बिर्सन्छन् कि भन्ने संशय प¥यो तर उनैले प्रस्ताव राखे– ‘माधवजी, चिया पिऔँ । आउनुस् उ त्यो रेस्टुरेन्टमा जाउँ । उनैले रेस्टुरेन्ट छाने । हामी गयौँ । वेटरले मेनु तेस्र्यायो । मेनुसेनुको हामीलाई वास्ता परेन । कविजीले चिया अर्डर गरे । चिया नआउन्जेल कविजीले भत्किने र बन्ने दार्शनिक कुरा गरे । भने– ‘हेनुस् माधवजी, भत्कनु र बन्नु एउटा क्रम हो । भत्केपछि बन्न सुरु भैहाल्छ अथवा परोक्ष कतै बन्दै गरेको हुन्छ । एकपटक म भत्किएँ, तर म अहिले मानसिक र भौतिक दुवै रुपले मेन्टेन हुँदैछु । तपार्इं पनि भत्कनु भएको छ । प्रकाशकले तपाईंलाई नराम्ररी भत्काइदिएका छन् । गाँस काटेर तपाईं पुस्तक निकाल्न प्रकाशकलाई पैसा दिनुहुन्छ । कति पटक तपाईंका पुस्तक छापिन्छन त्यो कुरा तपाईलाई के थाहा । उल्टो आफ्नै किताब किनेर बाड्नुहुन्छ । सके बेच्नुहुन्छ र पैसा प्रकाशकलाई नै ल्याइदिनुहुन्छ । तपाई भत्कनु हुन्छ । माधवजी, त्यो मात्र सबै कुरा हैन नि ! प्रकाशकले तपाईंलाई जति भत्काए पनि तपाईं बन्दै हुनुहुन्छ । प्रकाशक पैसाको उचाइले चुलिन्छन् । तपाईंका कथाहरु सबैतिर पुगिरहेका हुन्छन् ।’
वेटरले चिया ल्यायो । पिउन थाल्यौँ । महेशजी फेरि बोले ‘सारा समस्याको निदान गर्ने बोधिवृक्षको जरा राजनीति नै दिनहुँ भत्किरहेको छ त अरु कुरा वा हामी भत्कनुमा कुनै नौलो कुरै भएन ।’
मेरो आशय वा चाहना ओझेल पर्न लागेको ठानेँ मैले र भनिहालेँ– ‘कविजी मलाई कथाको टिप्स खै त !’ उनी बोले ‘यै बिग्रे भत्केका कथा लेख्नुस् न । लेख्नेलाई यति भए पुगेन र !’ मैले भनेँ– ‘भत्केका कथा कति लेख्नु । तपाईंकै टिप्सअनुसार एउटा कथा लेख्नुछ मलाई ।’ उनलाई मैले कक्र्याएँ अर्थात् भत्काएँ । उनी भत्कदै गएँ, म बन्दै गएँ कथामा
स्थान– तीनतोलिया विराटनगर मोरङ्गको धनाढ्यहरु जम्मा हुने एक्जिक्युटिभ क्लव । समयकाल पन्ध्र वर्षअगाडि । दिन भत्एिकर रात बलियो हुदैछ । औद्योगिक घरानाका धनाढ्यहरुको जम्मा हुने क्रमउपक्रम जारी छ क्लवमा । पार्किङस्थलमा महङ्गा गाडीहरु प्रवेश भैरहेछन् । मद, मात्र्सय, उन्मादको स्वर उरालिइरहेको छ क्लवमा । उत्तेजित हाँसो थपिइरहेछ । जति आउँछन् नशाले रङ्बङ्गिएर आउँछन् । कामुक आँखा बोकेर आउँछन् । आ–आफ्ना कारका साँचाका झुप्पाहरु राउण्ड टेबुलमा फालिन्छ । जसले जुन झुप्पो भेट्छ त्यसले त्यै टिप्छ । जसको भागमा जसको साँचो पर्छ, एक घण्टाका लागि साँचोवालाकी श्रीमती साँचो भेट्टाउनेकी भइदिने नियम नै बनिसकेको छ । पश्चिम मुलुकमा यो सामान्य मानिन्छ । पन्ध्र वर्षअगाडि विराटनगरमा त्यस्तो थियो । अहिले काठमाण्डौँमा कस्तो होला । यो त झन बौलाइसकेको छ । नैतिकता स्खलित, विनिर्मित भैसकेको छ । यहाँ त किशोर किशोरी र जनावरका बीच केके कुराहरु सुनिन्छन् ।
क्लव नाङ्गो नाँच नाच्न थाल्यो । श्रीमान्का अगाडि श्रीमती नाङ्गिए, श्रीमतीका अगाडि श्रीमान नाङ्गगिए । लाज सबै नाङ्गियो । साँचोवालाकी श्रीमतीसित साँचो पाउने कामुक नाँच नाच्न थाल्यो । के के भयो भयो । नयाँ नयाँ जोडी बनेर कोठातिर पसे एक घण्टाका लागि ।
एकघण्टाको अवधिमा एउटा उद्योगपति पुरै भत्किएछ । टाटै भएर भत्किएछ । एकसुका पनि नराखी भत्किएछ । उसको दश लाखको बिटो भत्किएछ । भत्काउने आईमाई आँखै अगाडि हुँदा पनि उसले चुँसम्म बोल्न सकेन । म भत्किए भन्न सकेन । सधैँ लेनदेनको व्यवहार गरेको, चिनेको आईमाईबाट ऊ भत्कियो । उसले उसको श्रीमानलाई केही भन्न सकेन ।  कारण सबै स्वेच्छाले भत्किन तयार भएर भत्केका थिए ।
आफ्ना आफ्ना कारका साँचाहरु फिर्ता गरिए । लागे गन्तव्यतिर । भत्कने त भत्केको भत्क्यै भयो । ऊ आधी म¥यो आधी बाँच्यो ।
महेशजीको कथा सकियो । चिया पनि सकियो । उनले पार्किङ्ग फि रु ५ तिरे । मलाई फेरि बस्न संकेत गरे र बाइक हुँइक्याए बागबजारतिर । साँझ पर्न लागेकोले स्पिड बढाए तर के बढाउनु सडकभरि मुर्दाहरुको जिउँदो लस्कर । कविजीले बाइकको स्टार्ट बन्द गरे । त्यो यन्त्र सास फेर्न छाड्यो । कविजीले आकाशे पुलको एउटा साइडमा उभिएकी एउटी युवती र अर्को साइडमा उभिएको एउटा युवकको आँखा नियालेछन् । मलाई उनले भने– ‘माधवजी, यतैकतै हेर्नुस् त  यौवनाहरु भत्कने क्रम शुरु हुन लागेको छ । देख्नुभो यो शहर संसाँझै यसरी नै भत्कन्छ र बन्ने उपक्रममा लाग्छ ।’
मुर्दाहरुको जिउँदो लस्कर चल्यो । मलाई ठूलो चोकमा छाडी कविजी पूर्वतिर भत्किए । म त्यो रातको भत्किने र बन्ने बास खोज्न लागेँ । गाँस, बास र कपास मेरो पहिलो प्राथमिकता थियो । समय चिप्लिएर चन्दागिरि कटिसकेको थियो ।

रामेछाप, नेपाल

प्रतिक्रिया दिनुहोस्

*