त्यो विचरो !

-शुषमा मानन्धर

आज बिदाको दिन । स्कूल जानु पर्ने कुनै हतार थिएन । चिया पिएर कौसीमा घामको आनन्द लिएर बढार्दै  थिएँ । अरुबेला भागदौडको जिन्दगीमा फुर्सदिलो भएर ढँगले केही गर्न भ्याउने पनि होइन । त्यसो त , भन्नलाई म एक्लै छु । त्यतिविघ्न बितिहाल्ने काम के छ र भन्ने पनि लाग्न सक्छ तर आँखाले देखेजत्तिको काम आफू एक्लैले भ्याउनु पर्ने अवस्थामा मसँग पर्याप्त समय कसरी बच्छन् र ? उसमाथि हाडछालाको शरीर न हो,कहिलेकाहिँ विरामी भै हाल्छ । शरीर चँगा भए पनि कुनैबेला मन थाकेको हुन्छ,उदाश । त्यस्तोबेला झयालनिरको आफ्नो सिँगल वेडमाथि आफूलाई सिरकभित्र गुटमुटयाइ झयालबाहिर चिर्बिराउने चराहरुको तमाशा हेर्न मलाई निकै आनन्द लाग्छ ।
दुईचार दिन बढार्न ढिला भयो भने कौसीमा गमलाबाट झरेका पातपतिँगर टन्न थुप्रिसकेका हुन्छन् । अनि जब पानी पर्छ,कौसीबाट पानी तल जाने पाइपको मुख थुनिएर जलमग्न हुन्छ । कैयाँैपल्ट मैले मध्यरातमा उठेर झरीमा रुझ्दै कौसीको टालिएको प्वाल खोल्न जानुपरेको छ । त्यही बिचार्दै म कौसीको गमलाको कापकापमा कुचो छिराउँदै बढार्दै थिएँ, छेवैबाट चिर्चिर कराएको सुनेर आवाजतिर विस्तारै चियाएँ । रुख रोपेको ठूलो गमलापछाडि एउटा भँगेरो रहेछ । उड्न नसकेर पखेटा फ्याट फ्याट गर्दै उत्तानो परिरहेको । मैले कुचोले ढकेल्दै त्यसलाई बाहिर निकालेँ । त्यो उभिनै सकिरहेको थिएन । विस्तारै त्यसको पखेटा समाएर उठाउन खोजेँ, भँगेरो आत्तिँदै करायो र्चिचिर र्चिचिर । शायद पखेटामै केही भए जस्तो छ । किनकी त्यो सन्तुलित नबसेर बाँयापट्टि ढल्किएर बसिरहेको थियो । त्यसलाई त्यहीँ कुनामा छाडेर मैले पहिला आफ्नो काम सकाएँ । यदि यति सानै कुरामा अल्झिएर बसेँभने बाँकी काम कतिबेला गर्ने ? कौसीमा ढोका थुनेर तल ओर्लन लाग्दा छिमेकीको घरमा एउटा ढाडे कुुरिरहेको देखेँ । हुन त सानो भँगेरोको ज्यान कुनै ठूलो विषय थिएन तर त्यो उड्न पनि नसक्ने निरिह प्राणीलाई विरालोको आहारा बन्न त्यत्तिकै कौसीमा छोड्न मनले सकिँन । तल लगेर पनि कहाँ राख्ने यसलाई ? निकै सोचमग्न बनायो यसले ।
भँगेरोलाई विस्तारै उठाएर आफ्नो हत्केलामा राखँे । छाती र ढाडतिर गहिरो कालो रंग भएकोले बुझेँ, भाले रहेछ । त्यसको ढाडमा विस्तारै चोर औँलाले सुम्सुम्याउँदै कोरीदिंदा आँखा बन्द ग¥यो भँगेरोले, शायद सन्चो मानेर होला । “के भयो ? कसले ग¥यो तेरो यस्तो हविगत हँ ?” मेरो प्रश्नमा त्यसले आफ्ना स–साना गोला आँखाले पुलुक्क मतिर हेर्दै केही भने झैँ लाग्यो मलाई । “तेरो आफ्नो यस्तो पखेटा त छँदै थियो नि, भुर्रर उडे भैहाल्थ्यो, पाजी ! ” मैले गाली गर्दा पनि त्यसले आँखा खोलेन, मुन्टो निहु¥याएर चुपचाप सुनिरह्यो मलाई ।
मैले त्यसलाई तल भान्छामा ल्याएँ  । दिमाग खियाएँ तर त्यसलाई राख्नहुने जस्तो कुनै बस्तु देखिँन । खाटमुनि जुत्ताको बट्टा थियो,त्यसैलाई झिकेर सफा गरेँ । थोत्रो सिरकको खोल सानो टुक्रा च्यातेर तह लगाई त्यो बट्टाभित्र राखी त्यसमाथि त्यो भंँगेरोलाई राखेँ । त्यो अझै पनि सानो स्वरमा कराईरहेकै थियो । मैले भँगेरो समेतको त्यो बट्टा भान्छामा एउटा बाकस माथि राखेर आफ्नो अरु दैनिक कार्यमा लागेँ ।
भँगेरो अशक्त देखिन्थ्यो । त्यो कहिले यताबाट कहिले उताबाट बस्ने असफल प्रयास गरिरहेकोथ्यो । त्यसलाई के भएको भन्ने कुरा नै मैले बुझ्न सकिँन । बाहिरी घाउ केही नभए पनि भित्र पो कहिँ चोट लाग्यो कि, मलाई पीर पनि लाग्न थाल्यो । मैले नदेख्दासम्म क्यै न क्यै, उसमाथि अन्त कतै अरुका छानामा परिरहेको भए पनि मेरो टाउको दुखाई थिएन । बचाउँछु भनेर ल्याइसकेपछि त्यसको लागि कुनै प्रयास नगर्नु, उचित थिएन शायद । जहाँ छोए नि र्चििचर कराउने हुँदा, मलाई भँगेरोलाई ओल्टाईकोल्टाई गर्न पनि डर लाग्यो । डराई डराई हेर्दा भँंगेरोको पखेटामुनि रातो दाग देखेँ । हुन सक्छ, त्यसैको चोटले घाइते भएर त्यो उड्न नसकेको हो । मैले बेसार र तेलको लेदो बनाएर त्यसको चोटमा लगाई दिए । त्यसपछि त्यो भँगेरो अघिजस्तै आँखा बन्द गर्दै बसिरह्यो । त्यो दिन र राती पनि भंगेरो त्यसरी नै सुस्त देखिइरह्यो । मैले राखिदिएकी भात र पानी त्यसले छुँदै छोएन ।
भोलिपल्ट अलिकति तँग्रिएको देखियो त्यो । म विहान भान्छामा पुग्दा ठाडो घाँटी पारी चिर्बिराउँदै थियो । “के छ बबुरो,तेरो हालखवर ?” मैले बट्टाभित्र हात छिराएर त्यसलाई छुन खोजेँ । त्यो भने मेरो पहुँचबाट बच्ने प्रयास गर्दै थियो । हिजोकै जस्तो हालत भएको भए तै के हो के हो । आजको त्यसको अवस्थाले त्योे चाँडै ठीक होला भन्ने आशा जाग्यो । मैलै दुईतीन भातका सिता बट्टाभित्र त्यसको छेउमा खसालीदिएँ । त्यसले एक नजर मलाई हे¥यो अनि मुन्टो बटा¥यो । पहिले त त्यसले भातको सिता छुँदै छोएन, पछि अलिअलि ठुँग्दै थोरै भए पनि खायो । “खानु नै थियो भने किन स्वाङ्ग पारेको, तोरी लाउरे ?” मेरो व्यङ्गयमा त्यसले शायद हैन भन्ने बताउन पखेटा हल्लाउन खोज्यो ।  मैले आज पनि त्यसको चोटमा बेसार र तेल दलिदिएँ । त्यो आफ्नो चुच्चोले प्वाँख सफा गर्दै बसिरह्यो ।
भँगेरोलाई भान्छामा राखेको पनि तीन दिन भयो । मैले ढक्कन उघारिदिएँ तर भँगेरो बाहिर निस्केन । बट्टा ढल्काएपछि भँगेरो भुर्र बाहिर आएर दराजमाथि बस्यो । आफ्ना कुँजिएका पखेटाका प्वाँखहरु टोक्दै त्यसले सानो टाउको घुुमाएर भान्छा सवैतिर निरिक्षण ग¥यो । त्यसपछि त्यो कहिले झ्यालको भेन्टिलेशनमा, कहिले तख्तामा, कहिले बट्टामाथि र कहिले टेबुल गर्दै भान्छाभरी घुम्नथाल्यो । त्यसरी उड्दा टेबुलमाथिको बोटल खसेकोले, डराएछ कि क्या हो कुन्नि, दराजमाथिको बट्टा पछाडि लुकेको भँगेरो बाहिरै निस्केन । त्यसले पोखाउन सक्ने कुरा दराजमा राखेर त्यसको निम्ति चामल र पानी राखी त्यसलाई त्यत्तिकै छाडी म स्कूल लागेँ । स्कूूलमा बच्चाहरुलाई पढाउँदै गर्दा पनि भँगेरोले घरमा के उधुम ग¥यो होला भन्ने दिमागमा आइरह्यो । साँझ फर्कदा त्यो झ्यालको भेन्टिलेशनमा बसिरहेको थियो । भुइँमा दुई तीनवटा प्लास्टीकका बट्टा खसेका थिए । भोलिपल्ट भँगेरोलाई स्वतन्त्र गर्ने विचारले रिकापीमा थोरै भात तरकारी राखेर झ्याल तल राखेँ । भँगेरोले रिकापीतिर एक नजर पनि हेरेन । “लौ घुर्की नलाइकन राम्रोसँग खा त,भोलि जा लास् आफ्नो घर । ” आफ्नो धन्दा सकाई राती भान्छाको ढोका लाएर तल ओर्लदा भँगेरो भान्छाभित्र अझै भुर्र भुर्र उडिरहेको थियो ।
विहान सबेरै भान्छाको झ्याल खोलिदिएँ, भँगेरो बेतोडले झयाल बाहिर उड्यो । कति बेला झ्याल खुल्ला र उडुँला भन्दै बसेको होला विचरा त्यो । भँगेरोलाई बचाएर कुनै ठूलो पुरुषार्थ गरेको नभए पनि एउटा निरिह चराको ज्यान जोगाउन सकेकोमा आफूलाई सन्तोष लाग्यो । पशुपन्छिका पनि आफ्नै दुनिँया होलान्,आफ्नै भाषा । मैले त्योसँग कुरा गर्दा घरिघरि मलाई हेरेर धन्यवाद दिए झै लागिरहन्थ्यो मलाई । हुन सक्छ, त्यो मेरो भ्रम थियो । तर भ्रमै भए पनि आहा,कति मीठो । भान्छाभरी ठाउँठाउँमा भंगेरोले विष्टाएको थियो । त्यो सबै ठाउँ बढारेर कपडाले सफा गरेँ । कागजको बट्टालाई कुच्याएर डालोमा मिल्काएँ । हिजो अस्तिसम्म भात राखिदिनु पर्छ भन्ने चिन्ता लागिरहन्थ्यो,भँगेरो उडेपछि कामै नभएको जस्तो खाली भए झैँ लागिरह्यो ।
साँझ, स्कुलबाट फर्केर चिया पकाउँदै थिएँ,बार्दलीमा चराहरु चिर्विराए रहे । बराण्डामा बाहिर निस्केर हेरेँ, दुई चारवटा भँगेराहरु विहान फालेको पाउरोटीको टुक्रामा भोज गरिरहेका थिए । “ए । भँगेरो तैँ होस् कि ? ” म अगाडि आएको देखेर भँगेराहरु चिर्रर्र कराउँदै उडे । हेर्दा सबै भँगेराहरु उस्तै देखिने तर त्यसमा सायद त्यो भँगेरो थिएन ।
दिनहरु बिते,एकपछि अर्को । जाडो र गर्मी एक अर्कालाई पछ्याउँदै बितिरहे । नहारे पनि थाक्दै गरेकी एउटी अधबैंसे म पनि एक्लै यी चराहरुलाई साथी बनाउन बाध्य , जिन्दगीसँग बगिरहेकी थिएँ । मैले पढाउने स्कूले बच्चाहरु जस्तै निर्दोष र सरल, चराहरुको साथ मेरो समय बिताउने एउटा राम्रो बहाना बनेको थियो ।
अचेल मकहाँ कौसीमा राखिएका भात र पाउरोटीका टुक्राहरु खान थुप्रै भँगेराहरु आउँन थालेका थिए ।  तिनमा त्यो भँगेरो हुन्थ्यो या हुँदैनथ्यो म जान्दिन । मैले ख्यालै गरिँन ।
एकदिन म गमलाको बोटमा पानी दिइरहेकी थिएँ,बरान्डाको बारमाथि एउटा भँगेरो बसिरहेकोे थियो । सधैँ आउने कुनै भँगेरो जस्तै साधारण भँगेरो होला भनी म वास्ता गरिँन । भँगेरो पछाडि फर्केर चिरचिर गर्न थाल्दा अनायसै त्यसको पखेटामा आँखा गयो, त्यहाँ केही दाग जस्तो थियो त्यो मेरो भ्रम थियो वा साँच्चीकै कुनै दाग ,भन्न सक्दिन । “यो त त्यही भँगेरो जस्तो पो छ । कहाँबाट आइस् हँ ,यत्तिका दिन पछि ?” मलाई आश्चर्य र खुशी दुवै लाग्यो । भित्रबाट पाउरोटी ल्याएर त्यसको सामु राखिदिएँ । त्यसले नखाई मेरो अनुहार हेरिरह्यो । चुच्चोमा सानो टुक्रा पाउरोटी च्यापेर भुर्र उड्नु अघि, भँगेरोले आफ्नो सानो टाउको घुमाइ हे¥यो मलाई ।
भोलिपल्टदेखि ख्याल गर्न थालेँ त्यो भँगेरोलाई । साँझैबिहान झयाल बाहिर र बरान्डामा उफ्रिउफ्रि हल्ला गरिरहने थुप्रै भँगेराका हूल, मभित्रको कोलाहललाई एउटा शान्ति दिन्थे । एक अर्काका प्वाँखहरुमा मायाले टोक्दै आफ्नी भँगेरीलाई फकाउन जिस्किन खोज्ने भँगेरो, फोहरको थुप्रोमा सुकेका रोटीका टुक्रा खोज्दै बस्ने भँगेरी र मुखमा किरा च्याप्दै उड्दै गरेका चराका जोडीहरुले धेरैकुरा सिकाइरहेका हुन्थे । कहिलेकाहिँ एक्ल,ै कहिलेकाहिँ अरु भँगेराको साथमा भुर्रभुर्र गर्दै वरिपरि उडिरहने त्यो भँगेरो मेरो दैनिक अवलोकनको एउटा अँग बन्दै गैरहेको थियो ।
आज फेरि अलिकति फुर्सद निकाल्दै थिएँ । कोसीका केही गमलामा किरा लागेकोे थियो । भित्रभित्रै जरा खाएर बोटै मार्ने सेता किराहरु,म एक पछि अर्को निकाल्दै थिएँ,चिमटाले । भँगेरो कौसीको डीलमा बसेर चिर्बिराउँदै मैले गमलाबाट किरा निकाल्दै गरेको हेर्दै थियो । घामले उकुसमुकुश ओढेको खास्टो फुकालेर मूढामाथि राखेँ । भँगेरो डीलबाट ओर्लेर धुलोमा केही खोस्रन थाल्यो । गमलाका माटो गोड्न तल भान्छाबाट सानो कुटो लिएर आउँदा कौसीमा भँगेरो थिएन । यताउता हेरेँ, कौसीका कुनामा भँगेराका थोरै प्वाँखहरु छरिएका थिए । त्यत्ति नै बेला मुखमा केही च्यापेर छिमेकीको छानाबाट अर्को छानामा हाम्फाल्दै गरेको विरालो देख्छु । विचरा ! कुटो त्यत्तिकै कौसीमा छाडेर भारी मनले चुक्चुकाउँदै मूढामाथिको खास्टो उठाएँ । अब त्यसपछि मैले कौसीमा काम गर्ने मूड बनाउनै सकिंँन ।

sumisayemi@gmail.com

प्रतिक्रिया दिनुहोस्

*