थारू साहित्यको अवस्था

-कृष्णराज सर्वहारी

बिभिन्न इतिहासकारहरूले थारू जतिलाई नेपालको सबैभन्दा पुरानो आदिवासी जनजाति मानेका छन् । ‘यस जातिका कृषिमा समर्पित परिश्रमी मानिसहरू नेपालको मेचीदेखि महाकालीसम्मका तराई र भित्री मधेशका समथर भूभागमा वसोवास गरेका छन् र आफ्नो जीवनलाई हिलो धुलोमा घोलेर खेतीवारी लहलह पारेका छन् । यिनीहरूको वोलीचाली, रहनसहन  र लवाई खवाईमा वृmत्रिमताको छनक  पाँईदैन । यिनीहरूमा पाईने सरलता, हार्दिकता र सामूहिक भावनाले आजको सभ्य (?) मानवका नाकमा टिमुर लगाईदिन्छ (गिरी २०५७) ।’
२०५८ सालको जनगणना अनुसार थारूहरूको जनसंख्या १५ लाख ३३ हजार ८ सय ७९ रहेको छ । सरकारले जनगणना लिंदा पूर्वीया र पश्चिमा थारूलाई डंगौरा थारू तथा पश्चिम नेपालकै अर्को समूहलाई राना थारू  गरी जम्मा २ समूहमा वर्गिकरण  गरेको छ ।  २०५८ सालदेखि सुर्खेत प्रसारणबाटै राना थारू भाषाको छुट्टै  समाचार प्रसारण हुदै आएकोमा हाल यो स्थगित भएको छ । देशभरिका अन्य एफएम रेडियोबाट प्रसारित समाचार र कार्यक्रमले थारू भाषाको संरक्षणमा केही टेवा दिएका छन् । तर लेख्यभन्दा कथ्यमै थारू भाषा रूम्मलिएको छ । कारण सरकारी बेवास्ताले नेपाल प्रज्ञा प्रष्ठिान, साझा प्रकाशन कुनै निकायबाट थारूका बारेमा पुस्तक प्रकाशनको साइत जुरेको छैन ।  लोकतान्त्रिक गणतन्त्रसँगै संघीयतामा देश उक्लिए पनि थारूलगायत अन्य अल्पसंख्यक भाषा साहित्य संरक्षणको सवालमा सरकार कानमा तेल हालेर बसेको स्थिती छ ।

सुदुरपश्चिमाञ्चलको कञ्चनपुरदेखि पूर्वाञ्चलको झापासम्म थारूहरूको वसोवास रहेकोले थारू भाषाका विभिन्न भाषिका रहेका छन् ।  नेपाली, मैथिली र भोजपुरीपछि थारू भाषा बोल्नेहरूको संख्या चौथो स्थानमा आँउछ । २०५८ सालको भाषिक जनगणना अनुसार थारू भाषा बोल्नेको संख्या ५.८६ प्रतिशत छ । भाषासम्बन्धि ज्ञान नभएका गणकहरूबाट संकलित जनगणनाका तथ्याङ्कले थारू समाजमा प्रचलित सम्पूर्ण भाषाहरूलाई थारू भाषाको संज्ञा दिए ता पनि थारूहरूले बोल्ने सम्पूर्ण भाषा एउटै हो भनी तबसम्म ढुक्क हुन सकिदैन, जवसम्म थारू समाजमा प्रचलित विभिन्न भाषिक भेद–उपभेदहरूको राम्रो अध्ययन गरिदैन ।

 विडम्बना सरकारी, गैरसरकारी कुनै निकायबाट थारूहरूको भाषिक भेद–उपभेदको अध्ययन सम्बन्धमा खासै काम हुन सकेको छैन । त्यसो त नेपाल प्रज्ञा प्रतिष्ठानबाट महेश चौधरीले थारू भाषाको समाज वैज्ञानिक अध्ययन गरेका छन् तर यो प्रकाशन हुनसकेको छैन ।
पूर्वीया थारू भाषामा सप्तरी, सिरहातिर मैथिली भाषाको प्रभाव अधिक छ । यद्यपी भुलाई चौधरीले सोको प्रतिवाद गर्दै बरु मैथिली भाषामा थारू भाषा अधिक रहेको आफ्नो थारू संस्कृति (२०६१) पुस्तकमा उल्लेख गरेका छन् । झापा, सुनसरी, मोरङमा मैथिली भाषाको प्रभाव खासै नभएको थारूभाषीहरू बताउँछन् । उता वारा पर्सातिरको थारू भाषामा भोजपुरी भाषाको प्रभाव देखिन्छ । चितवन र नवलपुर (नवलपरासीको आधा भाग) का थारूहरूले बोल्ने भाषा भने अन्य भाषाकोे प्रभाव त्यति विध्न देखिदैन । नवलपरासीदेखि पश्चिम कञ्चनपुरसम्मको भारतीय सिमाना जोडिएका थारूहरूमा अवधि भाषाको केही प्रभाव  देखिन्छ ।

 भाषागत आधारलाइ हेर्ने हो भने खासगरी पश्चिम नेपालको दाङदेउखुरी, बाँके, वर्दिया, कैलाली, कन्चनपुर र सुर्खेतमा  ङगौरा, डेउखुरीया तथा डेशौरी गरी ३ भाषिका देखिन्छन् । यी भाषिकामा प्रयोग हुने नाम, विशेषण, क्रियाका मूल धातुमा एकरूपता छ तर क्रियाको रूप चलाउने प्रयोगमा भने सामान्यतः भिन्नता देखिन्छ । यही ६ जिल्लालाई लक्षित गरी पाठ्यक्रम विकास केन्द्रले कक्षा १ देखि ५ सम्मको पुस्तक तथा ३ वटा बाल सन्दर्भ सामाग्री प्रकाशन गरेको छ । हात्तीको खाने र देखाउने दुइटा दाँत भएझैं यी पुस्तक लागु गर्ने कुनै वातावरण नबनाएर सरकारले देखाउने दाँतको रूपमा मात्रै पाठ्यपुस्तक पस्केको छ । 
थारू साहित्यको वर्तमान अवस्था बारेको यस कार्यपत्रलाई ६ भागमा बाँडिएको छ । जसअनुसार पहिलो खण्डमा थारू साहित्यको गीत बिधा, दोश्रो खण्डमा कविता  बिधा, तेश्रोमा कथा विधा,  चौथोमा उपन्यास बिधा,  पाँचौमा निबन्ध र अन्य बिधाबारे चर्चा गरिएको छ । त्यस्तै छैठौ खण्डमा भारतीय थारू साहित्यबारे सामान्य चिनारी दिइएको छ र अन्त्यमा टुंग्याउनीमार्फत बिट मारिएको छ । 

गीत बिधा
थारू भाषा साहित्यको लिखित इतिहास सुदीर्घ छैन । आधुनिक थारू साहित्यको सुरूवात २००७ सालको जनक्रान्तिबाट भएको मानिन्छ । २००७ सालको जनक्रान्ति पश्चात नै बढ्वा थारूबाट “बढक्क जोर्नी” गीत डंगौराहरूको थारू साहित्यमा देखा पर्छ (थारू २०५०ः १२४) । थारू साहित्यको शुभारम्भ बढ्वाकै गीतहरूबाट सर्वप्रथम भएकोेले महेश चौधरीले उनलाई थारू भाषाका आदिकवि भनेका छन् ।

त्यसो त दाङबाट बदरीनाथ योगी र चौधरी रूपलाल महतोले प्रकाशन गरेको दङ्गीशरण कथा बड्कीमार गुरूबाबक् जन्मौती काब्यको भूमिकामा योगी नरहरिनाथले लेखेका छन्– ‘सम्बत १६४४ साल मिति कार्तिक बदि १० रोज ६ मा लेषिते काथा र सुरषेलको काथा हो, किसना महतोको हाथ ब्रह दोस नाहि मकान ?’(योगी र महतो २०१६ः?) यस हिसाबले थारू भाषाका आदिकवि किसना महतो पो हुन कि ? थारू भाषाको आदिकविबारे यसै ठोकुवा गर्न गाह्रो छ । बर्कीमार गुरूबाबक् जल्मौती जस्ता काब्यका असली रचनाकार हालसम्म फेला पार्न सकिएको छैन ।
२०१५÷१६ सालतिरै दाङका जीवराज आचार्यको ‘हम्र ओ हमार बन्वा’ भन्ने कृति प्रकाशित हुन्छ । डा.द्रोणप्रसाद रजौरेका अनुसार थारू गाउँका गर्धु¥या (घरमुली) हरूवाट थारू गाउँको अगुवाको रूपमा थारू महटाँवा चुनिन्थे तर जीवराज आचार्य बाहुन भएर पनि दाङ ललौरा गाउँको महटाँवा चुनिएका थिए । थारू समुदायमा भिजेका आचार्यले गीतको माध्यमबाट बनको महत्वमाथि प्रकाश पारेका छन् (रजौरे सन् १९८१ः ५५ ) ।

२०१६ सालमा रामप्रसाद रायले ‘थरूहटके बउआ और बहुरिया’ पुस्तक प्रकाशन गरे । लेखकले यस कृतिलाई कुनै बिधा भनि नाम किटान गरेको पाईदैन । पुस्तक गद्य र पद्य मिश्रित बारा जिल्लामा प्रचलित थरूहटिया बोलीमा लेखिएको छ । बर्णन शैलीमा बढी आख्यानात्मकता भेटिने यस कृतिलाई महेश चौधरीले गीति नाटक भनेका छन् । तर गोपाल ठाकुर र दिनेश गुप्ताले यो कृतिलाई उपन्यास भनेका छन् । साथै भाषा पनि थारूमा नभै भोजपुरीमा भएको  भनिएको छ (ठाकुर र गुप्ता, २०६४ः १) । यस कृतिमा ‘बि.सं. १००० देखि २०१९ सालसम्मको एक सह्रस्राब्दीको थारू जीवनगाथा रहनसहन, चालचलन, सांस्कृतिक गुण अवगुण तथा ऐतिहासिक झलकहरू प्रस्तुत गरिएका छन् ।

थारू जातिको सहज र स्वच्छ जीवन शैली तथा कर्मठताको प्रसंसा गर्दै रक्सी सेवन, फजूल खर्च, अनमेल र वालविवाह आदि कुप्रथा बानी बेहोरा सुधार गर्नु पर्ने सन्देश दिनु यस कृति लेखनको उद्देश्य हो (खराल २०५८) ।’ ‘हम्र ओ हमार बन्वा’ भन्दा ‘बउआ और बहुरिया’ का कवि भाषिक तथा साहित्यिक दृष्टिकोणले बढी प्रखर र सशक्त देखिन्छन् । यसरी थारू साहित्यको इतिहासको शुभारम्भ गीत र कविताबाट हुन पुगेको छ (थारू २०५५) ।
थारू कल्याण कारिणी जिल्ला समिति दाङले २०२४ सालमा ‘सखिया गीत’को प्रकाशन गरेर सर्बप्रथम थारू लोकसाहित्यको संकलन र प्रकाशन गरेर सर्वप्रथम सुत्रपात गरि थारू लोकसाहित्यलाई नयाँ दिशा प्रदान ग¥यो । सोही क्रममा २०२८ सालमा प्रो. प्रफुल्ल कुमार सिंह मौनले ‘थारू लोकगीत संग्रह’ प्रकाशन गरे ।
थारू लोकसाहित्यको संकलन प्रकाशमा दाङ बैबाङका महेश चौधरीको अतुलनिय योगदान छ । दाङमा महेश, सगुनलाल चौधरी र भगवती प्रसाद चौधरी रहेको त्रिसदस्यीय थारू भाषा तथा साहित्य सुधार समिति मध्यपश्चिम नेपाल गठन भै २०२८ सालमा महेशकै सम्पादनमा थारू भाषाको पहिलो पत्रिका ‘गोचाली’ प्रकाशन भयो । यही समितिले ‘हमार कहनाई’ (हाम्रो भनाई) नामक पर्चा पनि छापेको थियो । थारू साहित्यको उत्थानमा यो समितिको ठूलो योगदान रहेको छ (महतो २०५८) ।

 २०२८ सालमै महेशको ‘माँगर’ गीतको प्रकाशन, २०३१ सालमा ‘झुमरा गीत’, २०२८ सालमा ‘बड्कीमार’ (महाभारत), २०३९ सालमा ‘गुरूबाबक् जलमौती’ थारू लोकगीतको संकलन प्रकाशित भएको देखिन्छ । २०१६ सालमा सर्बप्रथम संक्षिप्त रूपमा बद्रीनाथ योगी र रूपलाल  महतोले प्रकाशन गर्नु भएको गुरू बाबाक जनमौती काब्यसंग्रहमा पछि महेशले भाग १ र २ गरी कूल १२३९ श्लोक संकलन गरेका छन् (पञ्जियारः २०५५) । 
महेश चौधरी (कुनै पुस्तकमा चौधरीया) को लोकगीतको संकलन बाहेक ‘छारा’ गीति नाटक (२०३४), ‘कमैयक पुकार’ (२०३८) काब्यजस्ता सिर्जनात्मक पुस्तक पनि प्रकाशित भएको देखिन्छ । लामो अन्तरालपछि उनले महेन्द्र संस्कृत बिश्व बिद्यालयको पाठ्यक्रमको लागि कमैयाहरूको बिषयबस्तुहरूमा महाकाब्य लेख्दैछन् । यो महाकाब्य टुंग्याउनी अवस्थामा रहेको छ ।
लोकसाहित्य अन्तर्गत महाभारतको कथाबस्तु समेटिएको बर्कीमार काब्यको जति संकलन प्रकाशित देखिन्छ, त्यति अरू बिधाका पुस्तक छैनन् । जस्तो थारू साहित्यिक बर्कीमार संकलन सम्बन्धी पुस्तक बद्रीनाथ योगी, रूपलाल महतो (२०१६) महेश चौधरी (२०३८) बाहेक अशोक थारूको थारू साहित्यिक महाकाब्य बर्कीमार (२०५५), कुर्त मेयर, पामेला डुयलको महाभारतः र द थारू बर्का नाच (२०५५), चन्द्रप्रसाद थारूको बडकीमार (२०५९), धनराज चौधरीको बर्किमार (२०६३) गरी ६ वटा पुस्तक प्रकाशित भेटिन्छन् । मूल महाभारतको कथाबस्तुसंग नमिल्ने यस काव्यमा अर्जुनलाई भन्दा भीमसेनलाई नायकको दर्जा दिइएको छ ।

गोपाल दहितको थारू संस्कृतिको संक्षिप्त परिचय (२०६२) मा थारू साहित्यबारे सामान्य चर्चा गरिएको छ । गोविन्द आचार्यको राप्ती लोकसाहित्य (२०६३) मा थारू लोकसाहित्यबारे यथेष्ट सामाग्री समेटिएको छ । लोकसाहित्यको क्षेत्रमा नेपाली लोकवार्ता तथा संस्कृति समाज, काठमाण्डौँको प्रकाशन तथा तुलसी दिवस र प्रमोद प्रधानको सम्पादनमा आएको थारू लोकवार्ता तथा लोकजीवन (२०६५) एक कोशेढुंगा हो ।
गीतका अन्य संग्रहमा थारू युवा परिवार काठमाण्डौको ‘सजना’ बिशेषांक (२०५०), जनसरोकार समूह बर्दियाको आधुनिक गीत र लोकगीत संग्रह ‘लौव चलन– भाग १ (२०५७) र भाग २ (२०६०), गोकुल चौधरीको ‘देउखुरिया रतनचुवा र दिननचवा गीत’ (२०६१) कामता प्रसाद चौधरीको ‘जुग जुग जिओ’(२०६३) गीत संग्रह रहेका छन् । गीतको पुस्तक संकलनसंगै ३ दर्जनभन्दा बढी थारू गीति क्यासेट बजारमा आएको देखिन्छ । २०६७ सम्म थारू भाषामा ४८ वटा चलचित्र बनेका छन् (तामाङ, २०६८ः ४६) । तर थारू भाषाका चलचित्रमा लोकगीत भने अत्यन्त न्यून समेटिएको छ ।
सुन्दरी माधो, कर्नौटी, कट्घोरी, गोरिया, मैना, पचरा, होलीमा गाइने गीत, बन्गीत्वा, उरगोट, सिङग्रु, लाखी, साँची, उदासी, मघौटा, बिरहन, बरमासा, पिङ खेल्दा गाइने गीत लगायत महेश चौधरीले पश्चिमा थारू साहित्यमा ३० थरी पद्यात्मक लोक साहित्य रहेको चर्चा गरेका छन् (चौधरी २०५६ः) । यी सबैजसो गीतको छुट्टाछुट्टै संकलन निकाल्न सकिन्छ तर प्रयास भएको पाईदैन ।

कविता बिधा
थारू भाषाको पहिलो कविता संग्रह कुन हो ? यसको यकिन हुन सकेको छैन । समालोचना बिधा कमजोर भएर पनि यस बारेमा खोजबीन छैन । यस पंक्तिकारको संकलनलाई आधार लिंदा हृदय नारायण चौधरीको ‘मेहमान’(२०४५) थारू भाषाको पहिलो कविता संग्रह हो । थारू भाषा साहित्य परिषदबाट थारू आशुकवि उपाधि पाएका हृदय नारायण चौधरीको मेहमानबाहेक ‘चतुरंगी फूल’ (२०५६) कविता संग्रह प्रकाशित छ । चतुरंगी फूल कविता पश्चिमी, मध्य, पूर्वी र मध्य पश्चिमी भाषामा लेखिएको पहिलो कविता संग्रह हो । थारू भाषा साहित्यको इतिहासमा सर्बप्रथम एक नविन कार्य हो चतुरंगी फूलको प्रकाशन ।
       सियाराम चौधरीको ‘पोह फाइट गैले’ (२०४७) र ‘हमर गाम हमर बस्ती’ (२०५०) थारू भाषाको २ वटा कविता संग्रह प्रकाशित छ । संख्यात्मक रूपले थोरै क्रमश १९ र १८ वटा कविता समाबिष्ट सियारामका कविता अब्बल दर्जाका छन् । सस्तो मायाप्रीतिका भन्दा समग्र जीवनदृष्टिबोध पाईन्छ उनका कवितामा । रेशमलाल चौधरीले आफ्नो पहिलो पुस्तकाकार कृति ‘एकथो बिरहीन कथा’ (२०५३) कविता संग्रह प्रकाशनपछि अर्काे पुस्तक निकालेनन् । मधुसुदन चौधरीको ‘मधु’ (२०५५) कविता संग्रहमा केही बाल कविता पनि भेटिन्छ ।
२०६४ माघमा  ५० औं कृति विमोचन गराएकी कवियत्री शान्ति चौधरी थारूको बेटी (२०५४), ‘गाँवके पहिचान’ (२०५५) लगायत दर्जनौ कविता संग्रहका पुस्तक प्रकाशित छन् । तर प्रायः संग्रहमा ८÷ १० वटा कवितासंगै लेख निबन्ध, पुस्तक पत्रिकाका समाचार कटिङ समावेश गरिएकोले बिशुद्ध थारू कविता संग्रहको कृति मानिन लायक छैनन् ।
कविता संग्रहका अन्य कृतिमा कविराम थारूको सैहदान (२०५२) मानबहादुर चौधरी पन्नाको (ढुकढुकी) (२०५७), बाल गोबिन्द चौधरी र सुमन चौधरीको बैशालु जोवन (२०५७) हो । मनिराम चौधरीको ‘हिमालके मुस्कान’ (२०५८) प्रेमराज चौधरीको ‘कहतुँ मैं’ (२०६०), सुरेश चौधरीको ‘तुहिन’ (२०६१) अर्जुन दहितको ‘परिचय’ (२०६२), प्रेमलाल दहितको ‘टुटल झोप्री’ (२०६२), रामबहादुर बखरियाको ‘मुटुक धड्कन’ (२०६२) हो । यी सबै कविता संग्रहमा मायाप्रीतिका बखान गरिएको हल्काफूल्का कविता छन् । सन्तराम धारकटुवा थारूको ‘छिटकल भावना’ (२०६२) कविता संग्रह भने हालसम्म प्रकाशित अब्बल दर्जाको कविता कृति हो । एम टेंर्राको फूला (२०६३) कविता संग्रह थारू, राना थारू र नेपाली तीन भाषामा प्रकाशित छ । थारू भाषाको सामयिक संकलनका रूपमा निस्किएका अन्य कविता कृतिमा हृदय नारायण चौघरीको सम्पादनमा प्रकाशित ‘बरखा’ (२०५९), ‘इजोत’ (२०५३) , मंगल चौधरीको ‘पहुरा’ (२०४९) आदि हुन् । प्रज्ञा प्रतिष्ठानको ३ महिने कविता पत्रिकाका केही अंकमा बहुभाषिक कविता गोष्ठीमा बाचन गरिएका केही थारू कविताले ठाँउ पाएका छन् । त्यस्तै, नव कविता (२०५६, पूर्णांक ४९) को फूलबारी बिशेषांक, अन्तध्र्वनी त्रैमासिक (२०६६, पूर्णांक २३) को राप्तीका भाषा विशेषांकमा पनि केही थारू कविता समेटिएको छ ।
थारू भाषाको पहिलो मुक्तक संग्रह भने कृष्णराज सर्वहारीको ‘दोसर घर जाईबेर’ (२०५६) हो । ढुकढुकी र बैशालु जोवन (२०५७) कविता संग्रहमा पनि मुक्तक पनि समाबेश गरिएका छन् । यी मुक्तकमा प्रायः मायाप्रीतिकै बर्णन पाईन्छ ।
रमानन्दप्रसाद सिंह थारूले गीताको अनुवाद ‘थारू गीता’ ल्याई खण्डकाव्य बिधाको शुरुवात गरे । बमबहादुर थारूको ‘ई जिन्गी’ (२०५५) खण्डकाब्य थारू भाषाको पहिलो मौलिक खण्डकाब्य हो । कुनै कथाबस्तुभन्दा पनि यसमा जिन्दगीकै परिभाषा खोजिएको छ । हृदय नारायण चौधरीको ‘प्रभात रोशनी’ (२०५९) लघु खण्डकाब्य, मानबहादुर चौधरी पन्नाको ‘किसान’ (२०६१) शर्मिला चौधरी ‘सृष्टि’को मनके फूला (२०६६) अन्य खण्डकाव्य हुन् । महिला स्रष्टा कम रहेको थारू समुदायमा शर्मिलाले खण्डकाव्यमार्फत नारी मनका समवेदना पस्केकी छिन् । हृदय नारायण चौधरीले बुद्धको जीवनीमा आधारित हिन्दी भाषामा रहेको ललित बिस्तर (२०६८) महाकाब्य थारू भाषामा उल्था गरी महाकाब्य बिधालाई थारू साहित्यमा प्रवेश गराएका छन् ।
थारू भाषामा हाइकु बिधाले पनि स्थान पाएको छ । कृष्णराज सर्वहारीको थारू र नेपाली दुबै भाषामा प्रकाशित ‘समयका उच्छबासहरू’ (२०५९) पहिलो हाइकु संग्रह हो । त्यस्तै तुलाराम चौधरी ‘सनम’को ‘तुहिन उपहार’ (२०६१) हवाई हाइकु संग्रह प्रकाशित छ । दिप लाईफ कियरले गोजी आकारमा ‘तुँहार लग फूला’ (२०६३) नामक थारूमा नौलो बिधा तान्का संग्रह पस्केका छन्् ।
थारू भाषामा गजल बिधाले पनि प्रवेश पाएको छ । थारू भाषाको पहिलो गजल संग्रह जोखन रत्गैंयाको ‘चोराइल मन’ (२०५७) हो । त्यस्तै, अन्य गजल संग्रहमा भुवन चौधरीको ‘आछत’ (२०६१), लक्की चौधरीको ‘सहीदान’ (२०६१), छविलाल कोपिलाको ‘भौगर’ (२०६१) सागर कुश्मीको हस्ताक्षर (२०६८) हुन् । भौगर नेपाली र थारू भाषा दुबै भाषामा छ । कोपिलाको थारू बाल गजल संग्रह कहिले फूल्छ ऊ (२०६३) पनि नेपाली र थारू भाषा दुबै भाषामा छ । गुर्वावा प्रकाशन प्रालिको अग्रासन मासिकले (२०६२ पूर्णांक ७) लाई गजल बिशेषांकको रूपमा ‘कैहदेऊ गुर्वावा संग्रह’ भनि प्रकाशित गरेको छ । जसमा कृष्णराज सर्वहारी, सोम डेमनडौरा, नरेश लालकुसम्या, राजकुमार कुसम्या, नारायण चौधरी, शेखर दहितको दश–दश थान बेशी गजल समाविष्ट छ । यसमा अन्य फुटकर गजल पनि समेटिएका छन् । थारू भाषामा भित्रिएको गजलमा रदिफ र काफियामा नेपाली भाषाको प्रभाव मनग्गे भेटिन्छ (सर्वहारी, २०६२ः२–३) । 

 

 कथा विधा
चितवनबाट २०१६ सालमा धार्मिक पुस्तक ‘जित बाहन कथा’ प्रकाशित भेटिन्छ (महतो २०५८) । धार्मिक पुस्तकबाट कथा बिधाको शुरुवात भए पनि थारू लोककथाको संकलन भने साठीको दशकमा मात्रै आएको देखिन्छ । बरु आधुनिक कथा संग्रहको प्रकाशन तीसकै दशकमा भएको पाइन्छ । आधुनिक थारू कथाका जनक बाराका हृदयनारायण चौधरीलाई मानिन्छ । २०३२ सालमा उनको ‘कहली, सुनली, बुझली’ कथा संग्रह पं्रकाशित भएको छ ।

 ५८ पृष्ठको यो कथासंग्रहमा शीर्षक कथासंगै मानके लड्डु, कर्तव्य, जम, गाँइसी गरी ५ वटा कथा संकलित छन् । थारू भाषाको दोश्रो कथा संग्रह लक्ष्मण किशोर जोगेठ्वा ‘परदेशी’ को ‘इज्जतके दाम’ (२०५५) हो । यो कथा संग्रह पनि ५८ पृष्ठकै छ । शीर्षक कथासंगै नगहर, बर्कासाहेब, बौरहवा, बुद्धयार जन्नी, भूल, असली बाबा, भाग तकदीर, यस संग्रहमा संकहित कथा हुन् । ‘कहली सुनली बुझली’ र ‘इज्जतके दाम’ दुबै कथा संग्रंहमा औसत रूपममा थारू समाजको यथार्थलाई झल्काउने प्रयास भएको देखिन्छ ।
बारा जिल्ला थारू कथा संग्रह प्रकाशनमा अगाडि छ । बाराका मधुसुदन चौधरीको ‘मधु’ कथा संग्रह (२०५५) र परशुराम चौधरीको ‘चमत्कार’ (२०५६) मा मध्यम खालका कथा समाबेश छन् । कैलालीका मनिराम चौधरी पनि कथा बिधामा २ वटा कथा संग्रह लिएर उदयीमान कथाकारका रूपमा देखा परेका छन् । उनको ‘रसाइल करम’ (२०५९) र ‘दुखियारी बगिया’ (२०६१) कथा संग्रह हुन् । कथा संग्रहको सामान्य मान्यतालाई त्यागेर दुखियारी बगियामा मात्र एउटा कथा समावेश छ । सन्तराम धारकटुवा थारू पनि थारू कथाकारमा सशक्त हस्ताक्षर हुन् । ६ वटा कथा समावेश गरिएको उनको ‘हमार जुनी’ (२०६१) कथा संग्रह प्रकाशित छ । यस बाहेक फुटकर रूपमा उनका प्रशस्त कथा छरिएर रहेका छन् । उनका कथा अनुवाद गरेर नेपाली भाषामा प्रकाशन गर्न सके उनी राष्ट्रिय रूपमा चर्चित हुन सक्ने कथाकार हुन् । त्यस्तै शत्रुघन चौधरी र कृष्णराज सर्वहारीको सम्पादनमा थारू प्रतिनिधि कथा–१ प्रकाशोन्मुख रहेको छ । यसमा बिभिन्न १५ कथाकारका एक–एक थान कथा समेटिएको छ ।
थारू बालसाहित्यको बिधामा खडेरी परेको देखिन्छ । कृष्ण सर्वहारीको थारू बाल कथा संग्रह ‘सुुख्ली’ (२०६२) हाल सम्मको एक मात्र बाल कथा संग्रह हो । कैलाली थारू साहित्यको लागि उर्वर क्षेत्र हो । यहाँका हिरालाल चौधरीले दुःखके भौंरी (२०६३) तथा एम टेंर्रा वास्तविकले लालमुरै (२०६४) कथा संग्रह दिएका छन् । कञ्चनपुरकी कल्पना चौधरीको उजरल घर दुवार (२०६२) कथा संग्रह प्रकाशित छ ।

 कृष्णराज सर्वहारीको लेखन संकलनमा रुम टु रिडले २०६६ सालमा ४ वटा चित्रमय कथा प्रकाशित गरेको छ । जसमा सत्तलसिंहको कथा, तुलारामको चर्तिकला, हलो जोत्ने माछा लोककथा हो । अनारकलीको अन्र्तकथा भने एक कमलरीको सत्यघटनामा आधारित कथा हो । यी पुस्तक थारू र नेपाली दुबै भाषामा आएका छन् । थारू भाषाका अन्य कथाकारमा श्रीपती चौधरी, कान्तुप्रसाद चौधरी, मंगल थारू, सोम डेमनडौरा, देवराज अमित, धर्मराज चौधरी, ओमप्रकाश गोइंजिहार, नरेश लाल कुसम्या, प्रसादु थारू आदि हुन् ।
थारू समुदायको लोककथा संग्रह नेपाली भाषामा ‘मामा भान्जा’ (२०६०), थारू लोककथा–१ (२०६७)  कृष्णराज सर्वहारीको संकलन, सम्पादनमा आएको छ । यसबाहेक सहयोग समाज नेपाल दाङले थारू मातृभाषामा बटकोही (लोककथा) संग्रह (२०६४) प्रकाशन गरेको छ । त्यसैगरी बिहान पत्रिकाले २०६० मै बटकुही (लोककथा) बिशेषांक प्रकाशन गरेको छ । थारू लोकसाहित्य अन्तर्गत लोककथामा धनी भए पनि धनपट गुरूवा, सोनकेस्री रानी, बेलौटी रानी, फुलौटी रानी, पसरज्वा, ढेङरज्वा जस्ता कथाको संकलन प्रकाशन हुन सकेको छैन । कथा भन्न जान्ने बृद्धबृद्धाहरू बितेर यो  लोप हुने  अवस्थामा छ ।

उपन्यास बिधा
आख्यान बिधा अन्तर्गत उपन्यास क्षेत्रमा पनि थारू समुदाय अझै बामे सर्दैछ । तेजनारायण पञ्जियारले २०४९ सालमा बुद्धको जीवनी ‘शाक्य बुद्ध’ लेखे । पञ्जियारको यस पुस्तकबारे आत्मकथन छ– “यो पुस्तक प्रकाशनबाट थारू भाषा उपन्यास दिशातर्फ उन्मुख भएको सूचना दिन्छ (पञ्जियार २०५५ः१५) ।” थारू भाषाको पहिलो मौलिक उपन्यास भने कृष्णराज सर्वहारीको ‘फुटल करम’ (२०५५) हो । अन्य उपन्यासमा मनिराम चौधरीको बिधवा (२०५७), छविलाल कोपिलाको मुक्तिक खोज (२०५९), हरि आसमा महतोको ‘आत्मा भितरक गाथा भेलई जिन्गीक काथा’ (२०६२) र आदर्श बान्धबको ‘चमेलिया’ (२०६२) प्रकाशित छ । महतोले आफनो लघु उपन्यासमा गजल र खेलसम्बन्धी जनाकारी समेत समावेश गरेर पुस्तकलाई खिचडी बनाएका छन् ।

 कैलालीकै भोजराज चौधरीले तिरिया जलम (२०६३) उपन्यास प्रकाशन गरेका छन् । कृष्णराज सर्वहारीको अर्काे उपन्यास नेपाल संस्कृत विश्वविद्यालयको प्रवीणता तहको पाठ्यक्रमका लागि ‘लाल केरनी’ (२०६३) उपन्यास बुझाइएको छ । यो २०६४÷२०६५ मा कैलालीको हमार पहुरा दैनिकमा धारावाहिक रुपमा छापिएको छ, तर पुस्तकको रुपमा भने आएको छैन । कैलालीकै शर्मिला चौधरी ‘सृष्टि’ले ‘दुःखके हल्कोरा’ (२०६४) लेखेर पहिलो थारू महिला उपन्यासकारको रूपमा नाम दर्ता गराएकी छिन् । कृष्णराज सर्वहारीले नेपाली भाषामा लेखिएको बसाई उपन्यासलाई थारू भाषामा अनुवाद गरेर उपन्यास बिधालाई फराकिलो बनाउने कार्यको थालनी गरेका छन् । उपन्यास बिधामार्फत थारू उपन्यासकारहरूले आफ्नो समुदायको सकारात्मक नकारात्मक सांगोपांगो बखान गर्न सक्छन् तर उपन्यासकारहरूको संख्या पर्याप्त रूपमा थपिन सकेको छैन ।

निबन्ध बिधा
लक्की चौधरीले चाडपर्वको चिनारी ‘तिहुवार’ (२०६१) मनिराम चौधरीले ‘हरबड्डा’(२०६२) तथा भुलाई चौधरीले ‘थारू सस्ंंकृति’ (२०६१) लाई निबन्ध संग्रह नाम दिएका छन् । यद्यपी भुलाईको संग्रहमा केही नेपाली लेख समेत समाविष्ट छ । जय नारायण चौधरीद्वारा सम्पादित लोप हैले लागलाहा निवन्ध संग्रह (२०६८) मा सम्पादका अतिरिक्त भुलाई चौधरी, जयप्रकाश चौधरी, रिमो कुमारी चौधरी नरेन्द्र कुमार चौधरी, सिएन चौधरीको निवन्ध समावेश छ । यद्यपी पुस्तकको आवरणमा सम्पादक नलेखी लेखककै रुपमा जय नारायण चौधरीले आफ्नो नाम मात्रै राखेका छन् । अशोक थारूको नेपालीमा प्रकाशित थारू लोकसाहित्यमा इतिहास, कला र दर्शन (२०६३) समालोचनालाई थारू भाषामै पनि छाप्नु जरुरी देखिन्छ । यसरी बिशुद्ध साहित्यक निबन्ध संग्रह अझै पनि थारू सहित्यमा आउन सकेको छैन ।

 

नाटक बिधा
थरुहटको गाउँघरमा हुने नाचगान कार्यक्रममा नाटक देखाउने परम्परा रहे पनि लिखित रुपमा नाटक, एकांकी संग्रहको भने अभाव देखिन्छ । महेश चौधरीको बाहेक छारा गीति नाटक (२०३४) यस बिधामा पहिलो संग्रह हो । आदिथलो दांगबाट बसाईसराई गरेर जानेहरुको ओइरो लाग्न थालेपछि महेशले यसको रचना गरेका थिए । विभिन्न विद्यालयमा समेत सफल मञ्चन गरिएको छाराको प्रकाशित प्रति भने हाल अपर्याप्य छ । २०६०÷६१ सालमा सैडान रेडियो कार्यक्रममार्फत कृष्णराज सर्वहारीको लेखन÷निर्देशनमा करीब एक सय थारू एकांकी प्रसारण भएको थियो । त्यसमा प्रसारित केही नाटक सैडान (२०६१) बुलेटिनमा प्रकाशित छन् । जय नारायण चौधरीको इजोत  नाटक संग्रह २०६७ सालमा आएको छ ।

अन्य बिधा
उखान टुक्का, गाउँ खाने कथा, लोककथासम्बन्धी पुस्तक थारू भाषामा नगन्य भेटिन्छन् । प्रकाशन बर्ष उल्लेख नभएको राजबिराजका दिलिप कुमार चौधरी ‘सुमित्र’ ले पर्चा अन्तर्गत १७२ वटा उखान–टुक्का संकलन गरेका छन् भने सियाराम चौधरीको ‘कैहबी संग्रह’ (२०५५) अन्तर्गत पुस्तकाकार रूपमा थारू भाषाको उखान टुक्काको संकलन प्रकाशनमा आएको देखिन्छ । जिवेन्द्रदेव गिरीले लोक साहित्यको अवलोकन (२०५७) पुस्तकमा सयभन्दा माथि थारू उखान संकलन, बिश्लेषण गरेका छन्  ।

 पत्रपत्रिकामा फाट्टफुट्ट रूपमा थारू गाउँखाने कथा प्रकाशनबाहेक पुस्तकका रूपमा यसको संग्रह हालसम्म आएको छैन । हिरालाल चौधरीले हाँस्यब्यग्ंयको नाँउमा चटनी (२०६४) नामक चुटकिला संग्रह निकालेका छन् । कृष्णराज सर्वहारीको ढों ढों पों पों (२०६८) हाँस्यब्यंग्य संग्रह तथा मुक्त कमैया बस्तीमे भगवान (२०६८) लघुकथा संग्रह प्रकाशोन्मुख छ ।
 यस भाषामा हाँस्यब्यंग्य लगायत लघुकथा, समालोचना, यात्रा संस्मरण लगायतको संग्रह हालसम्म प्रकाशित भएको छैन । थुपै्र बिधामा खनजोत गर्न अझै बाँकी देखिन्छ । थारू भाषाको पहिलो पत्रिका गोचाली (२०२८) ले प्रकाशनको चार दशक पार गरेको छ । २०६३ साउनसम्म साहित्यिक ६५ तथा समाचारमूलक ६ गरी ७१ ओटा थारू भाषाका पत्रिका प्रकाशित भएका छन् (सर्वहारी, २०६४ः ७–११) । तर केही अपवादबाहेक ती पत्रपत्रिकाले साहित्यिक बिशेषांक प्रकाशनमा ध्यान दिएको पाइन्न । २०६५ भदौसम्म १११ ओटा थारू भाषाका कार्यक्रम एफएम रेडियोबाट प्रसारित भएका छन् (सर्वहारी, २०६४ः २३५–२४०) । तर रेडियोमा थारू भाषाका पुस्तक कार्यक्रमले स्थान पाएका छैनन् ।

भारतको थारू साहित्य
भारतको थारू साहित्यबारे के कति अध्ययन भएको छ, यो खोजको बिषय हो । लोकगीत, लोककथाजस्ता कथ्य रुपमा लोकसाहित्य भए पनि त्यहाँ लेखन परम्परा भने खासै देखिदैन ।  भारत बिहारको पश्चिम चम्पारन थारू कल्याण महासंघले बिभिन्न विद्यालय, कलेजसम्म सञ्चालन गरेकोमा त्यहाँ थारू साहित्यबारे पठनपाठन गरेको पाइएन । आफूहरु थारू भए पनि थारू भाषा नभई भोजपुरी भाषा बोल्ने गरेको महासंघका पदाधिकारी लगायत थारू गाउँका गुमस्ता हरुले जानकारी दिएका थिए ।  यद्दपी भाटु (भिनाजु) लगायत केही ठेट शब्द भोजपुरीसँग मिल्दैनथ्यो । यसरी त्यस क्षेत्रका थारूहरु आफूहरु भोजपुरी भाषा बोल्ने गरेको मानसिकताले थारू लोकसाहित्यको अध्ययन, अनुसन्धानमा लागेको स्थिति देखिन्न, आधुनिक थारू साहित्यको रचना त परको कुरा भयो ।
 भारतको पश्चिम चम्पारन क्षेत्रमा बोलिने भाषा नेपालको बारा, पर्सा जिल्लामा बोलिने थारू भाषासँग मिल्दोजुल्दो छ । भारतको उत्तर प्रदेशअन्तर्गत भामर क्षेत्रमा बोलिने भाषा नेपालको दांग जिल्ला अन्तर्गत देउखुरी उपत्यकामा बोलिने थारू भाषासँग मिल्दोजुल्दो छ । त्यस्तै, उत्तर प्रदेश अन्तर्गतकै दुधवा राष्ट्रिय निकुञ्ज वरपर रहेका राना थारूको भाषा नेपालको कैलाली, कञ्चनपुर जिल्लामा बोलिने राना थारू भाषासँग मिल्दोजुल्दो छ ।  नेपालमै पनि राना थारूको लिखित साहित्य शैशबावस्थामा छ ।
डा.जगदीश नारायण सिंह ‘निर्भिक’ले भारतीय तथा नेपाली दुबै देशको थारू लोकसाहित्यको गहिरो अध्ययन गरेका छन् । उनले थारू लोक नाट्यः नाच (सन् १९९२) तथा थारू लोकसाहित्यको क, ख, ग (सन् १९९९) आलेखमा बिहार र उत्तर प्रदेशका थारूहरुको लोकसाहित्यबारे चर्चा गरेका छन् । जो यहाँका डंगौरा थारूहरुको लोकसाहित्यसँग धेरै हदसम्म मेल खान्छ । ‘निर्भिक’ले दशै तिहारको अवसरमा नैनीतालमा नाचिने मण्डलाकार नाच तथा बिहारमा नाचिने मयूर नाच थारूका मुख्य नाच रहेको चर्चा गरेका छन् । अन्य पौराणिक नाचमा सत्य हरिश्चन्द्र, बीर अभिमन्यू, भक्त प्रह्लाद, पूनरमल रामलीला आदि रहेको तर यसको मञ्चन प्रायः लोप हुँदै गएको छ (सन् १९९२ः १३४–१३५) । उत्तरप्रदेशको गोण्डा, बहराइच, पीलीभीत, नैनीताल तथा बिहारको चम्पारनमा सोरठी बृजाभान या सोरठी इन्द्रासनी नाटक देखाइने तथा नेपालको देउखुरी उपत्यकामा चलनचल्तीमा रहेको सखिया नाच मण्डलाकार नाचको रुपमा नैनीतालमा लोकप्रिय  छ (सन् १९९२ः १४०–१४१) ।

नेपालका डंगौरा थारू र उत्तर प्रदेशको गोण्डा क्षेत्रको झुमरा नाचमा समानता पाइने भन्दै थारू लोकसाहित्यमै विद्यावारिधी गरेका ‘निर्भिक’ले भारतीय र नेपाली थारूहरुको झुमरा गीतको तुलना गरेका छन् । यी गीतमा पाइने लाचारी, आर्थिक कठिनाई, पारिवारिक संघर्षको चर्चा दुबै देशका थारू समुदायका यथार्थ संस्कृति झल्काउँछन् । (सन् १९९२ः १४४–१४५) । भारतीय थारू साहित्यमा केटाकेटी फुल्याउने गीतका अतिरिक्त उखान–टुक्का, लोककथा प्रशस्त छन् (निर्भिक, सन् १९९९ः १२) । चम्पारनका थारूहरुले बिरहनी गाउँछन् (पाण्डेय, सन् १९९९ः ३४) ।
उत्तर प्रदेशको पचपेड्वा, गैंसडी, तुलसीपुरका सुनारले बनाउने चाँदीका बिभिन्न थरीका गहनाका ग्राहक नेपालका डंगौरा थारू हुन् । यस्ता गहना नेपालका सुनारले बनाउँदैनन् । यसले भारत र नेपालको थारू महिलाले लगाउने गहना परम्परा एकै त छैन ? भन्ने प्रश्न जन्माउँछ । जगदीश नारायण सिंह ‘निर्भिक’ को खोज अनुसन्धानलाई मनन गर्ने हो भने नेपाल र भारतको सीमा क्षेत्र जोडिएको थरुहट गाउँको लोकसाहित्यको तुलनात्मक अध्ययन गर्न सकिने प्रचुर सम्भावना छ । भारतका थारूहरुको कथ्य रुपमा रहेको लोकगीत, लोककथाजस्ता मौलिक लोकसाहित्य प्रशस्त रुपमा फेला पार्न सकिने अवस्था पनि देखिन्छ ।

टुङ्ग्याउनी
थारू भाषाको पहिलो पत्रिका गोचाली (२०२८) को प्रकाशनले थारू पत्रकारिताको यात्राले चार दशकको पार गरेको छ । एफएम रेडियोमा सयभन्दा बढी थारू भाषाका कार्यक्रम प्रसारणमा छन् । तर तिनमा कुनै एउटै साहित्यिक बिधालाई प्राथमिकता दिएका कार्यक्रम छैनन् । प्राथमिक तहको लागि पाठ्यपुस्तक तयार भए पनि लागु हुन सकिरहेको छैन । माध्यमिक तहमा समेत पाठ्यक्रम लागु गर्न सकिने स्तरका रचना जन्मिन सकेका छैनन् । उता नेपाल संस्कृत विश्वविद्यालयले भने थारू भाषाका विभिन्न बिधामा पुस्तक लेखाएर गतिलो कामको शुरूवात गरेको छ । प्राप्त पाण्डुलिपिमा परिमार्जन गराइ क्याम्पस तहमा लागु गर्न सकिए थारू भाषा साहित्यमा यो कोशेढुंगा सावित हुनेछ ।
थारू भाषामा बैज्ञानिक सर्वेक्षण नभएकोले भोजपुरीले थारू भाषाको कृतिलाई आफ्नो भन्ने दावी गरेको स्थिति छ । थारूमा ब्याकरण तथा शब्दकोशसमेत लेखिएर प्रकाशनसमेत भैसकेकोले एकरूपताको मियो बिस्तारै बलियो होला भन्ने आशा गर्न  सकिने ठाउँ भने छ । राष्ट्रिय रूपमा थारू साहित्यकारहरूको जमघट नहुँदा, साहित्यमा लागि परेकाहरूलाई प्रोत्साहन पुरस्कार नहुँदा द्रुत गतिमा अघि बढ्न सकेको स्थिती छैन ।
बिभिन्न अध्ययनले भारतीय थारू साहित्यको बिबिध पक्षबारे उजागार गरेका छन् । यसले गर्दा नेपालका थारूहरुको छाता संगठन थारू कल्याण कारिणी सभा तथा भारतका थारूहरुको छाता संगठन थारू कल्याण महासंघबीच भाषा साहित्यको उत्थान बिषयमा थारू साहित्यकारहरुको संयुक्त रुपमा अन्तक्रिया, जमघटको नियमित आयोजनाको आवश्यकता दर्शाउँछ ।

सन्दर्भ सामाग्री
खराल, गणेश प्रसाद । २०५८ । थारू संस्कृति संगीत र साहित्यका अमर साधक स्व. रामप्रसाद राय संक्षिप्त परिचय । हमार सनेस । १(१), जेठ ।  चितवनः थारू विद्यार्थी समाज, पृ.३६–४० ।
गिरी, जीवेन्द्रदेव । २०५७ । लोक साहित्यको अवलोकन । काठमाण्डाँैः एकता प्रकाशन ।
चौधरी, महेश । २०६४ । समाजभाषा वैज्ञानिक दृष्टिले थारू भाषाको बृहत अध्ययनः नेपाल प्रज्ञा प्रतिष्ठानबाट गरिएको अप्रकाशित शोध ।
 महतो, चन्द्रमणि ।  २०५८ । थारू भाषक बिकास हसे साहित्यिक सृजना । हमार सनेस । १(१), जेठ । चितवनः थारू विद्यार्थी समाज ।
चौधरी महेश । २०५६ । दाङको थारू भाषा र साहित्यको छोटो चिनारी । गोचाली । २८(१२), पृ. ३७–६० ।
तामाङ, शिवा । २०६८ । जातीय चलचित्र बनाउने लहर । जनपहुँच मासिकः ३(१), साउन                                                   पृ.४६ ।
थारू, तेजनारायण पञ्जियार । २०५५ । थारू भाषा एक परिचय । सप्तरीः बौली चौधरी ।
थारू, फनिश्याम । २०५५ । थारू साहित्यको ऐतिहासिक बिकासक्रम, समकालिन साहित्य । ३(३), पूर्णाक, ११, असोज, पृ.१२४ ।
थारू, बम बहादुर । २०५५ । ई जिन्गी  खण्डकाव्य । रुपन्देहीः धनी राम थारू । 
दहित, गोपाल । २०६२ । थारू संस्कृतिको संक्षिप्त परिचय । ललितपुरः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ।
सर्वहारी, कृष्णराज । २०६२ । पश्चिमा थारू भाषामा अन्य भाषाको प्रभाव । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा मंसीर २४ गते नेपालगञ्जमा आयोजित स्थानीय भाषामा अन्य भाषाको प्रभाव विषयक गोष्ठीमा प्रस्तुत अवधारणा पत्र ।
सर्वहारी, कृष्णराज । २०६४ । थारू पत्रपत्रिकाको विगत र वर्तमान । मिडिया अध्ययन २ । हुमागाई, देवराज, प्रत्यूष वन्त, शेखर पराजुली र कोमल भट्ट,; सं । काठमाण्डाँैः मार्टिन चौतारी । पृ.१–३३ ।
सर्वहारी, कृष्णराज । २०६५ । थारू भाषामा रेडियो कार्यक्रम ः संख्यामै जोड । स्वतन्त्र रेडियोको एक दशक विकास, बहस र सामाजिक सरोकार । हुमागाई, देवराज, प्रत्यूष वन्त र कोमल भट्ट,; सं । काठमाण्डाँैः मार्टिन चौतारी । पृ.२११–२४१ ।
सर्वहारी, कृष्णराज । २०६७ । थारू भाषा साहित्यको रुपरेखा । सयपत्री । पूर्णांक २१,  जेठ–कार्तिक, पृ ४४–६५ ।
सर्वहारी, कृष्णराज । २०६८ । थारू भाषा साहित्यमा अनुबादको स्थितिः चुनौती र सम्भावना । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा असार १९ र २० गते काठमाडौँमा आयोजित मातृभाषाको अनुवाद गोष्ठीमा प्रस्तुत अवधारणापत्र ।
योगी, बदरीनाथ र रूपलाल महता चौधरी, सं. । २०१६ । गुरुबाबक् जल्मौटी । दाङः योगी, बदरीनाथ र रूपलाल महता चौधरीे ।
रजौरे, दी. । सन् १९८१ । थारूज् अफ दाङ । कैलाश । ३ (१५) ।
भारतीय पत्रिका
पाण्डेय, आशुतोष । सन् १९९९ । अब उड्ने लगे खेतोसे मादक गीत बिरहनी । थारू महोत्सव स्मारिका । १४ फरवरी । हरनाटाँड (बगहा)ः थारू कल्याण महासंघ । पृ ३४–३५।
सिंह, जगदीश नारायण । सन् १९९२ । थारू (जनजातीय) लोक नाट्यः नाच । मानव । २०(२), अप्रैल–जून । लखनऊः एथनोग्राफिक एण्ड फोक कल्चर सोसायटी । पृ १३३–१४८ ।
सिंह, जगदीश नारायण । सन् १९९९ । थारू लोकसाहित्य का क, ख, ग । थारू महोत्सव स्मारिका । १४ फरवरी । हरनाटाँड (बगहा)ः थारू कल्याण महासंघ । पृ ११–१४।

 

प्रतिक्रिया दिनुहोस्

*