मन्थली, मकैको खेती र स्रस्टा जमघट

-गोपीकृष्ण ढुंगाना
पुगेकै साँझ थाहा भयो, रामेछापको मुहार एक्लो प्रयासले फेरिएको रहेछ । सुनेर होइन, देखेपछि पत्याउन करै लाग्यो । रामेछापका बस्तीबस्ती पुगेर सरकारले त्यहाँको जीवनस्तर सुधारेको होइन रहेछ, झन्डै तीन दसक निरन्तर समर्पित भएर लागेका रामेछाम मन्थलीका जगदीश घिमिरेले पो रहेछ ।
त्यसो त विकास निर्माणको कार्य एक्लै त किन हुन्थ्यो र ? तर त्यसको सोच र योजना बनाएर नेतृत्व नगरे समाज परिवर्तनजस्तो गहन र जिम्मेवार काम त्यसै फत्ते पनि त हुँदैन । त्यही सोच उब्जाए, योजना बनाएर त्यसको नेतृत्व गरेका रहेछन्, समाजसेवी बनेर साहित्यकार घिमिरेले । जान्न र बुझ्न चाहनेलाई पटकैपिच्छे भन्नुभन्दा समग्र तस्वीर झल्कने गरिको डकुमेन्ट्री बनाएर देखाउने सोचले तयार पारिएको आधा घण्टे त्यो ‘गतिशिल तस्वीरहरु’ देखेपछि राजधानीबाट पुगेका करिब दुई दर्जन स्रस्टा र पत्रकारलाई पत्याउन करै लाग्यो ।
‘मकैको खेतीको विमोचन’ भन्दै निमन्त्रण पाएपछि गत शुक्रबार म गजलसम्राट ज्ञानुवाकर पौडेल, साहित्यकार रोचक घिमिरे र कथाकार एवं पत्रकार तृष्णा कुँवरसँग तामाकोसी सेवा समितिको गाडीमा मन्थली पुगेको थिएँ । यात्रामा अरु को र कति छन् भन्नेसम्म हामी कसैलाई थाहा थिएन । आठ घण्टाको यात्रापछि मन्थली पुगेको आधा घण्टापछि वरिष्ठ साहित्यकार कमलमणि दीक्षित, पत्रकार एवं प्रकाशक कुन्द दीक्षितको आगमन भयो । अर्को गाडीमा नगेन्द्रराज शर्मा, वियोगी बुढाथोकी र विष्णुबहादुर सिंहसँग आइपुगे । मूल टोली त माइक्रोमा रहेछ। मन्थली पुगेपछि अधिकांशलाई ‘सरप्राइज’ भयो, ‘ए तपाई पनि ?’ जगदीश र दुर्गा घिमिरे र उनकै काकाका छोरा सुरिद र रेखा घिमिरेले जुनारले स्वागत गरेपछि सुरु भयो, ‘कथा उज्यालो मुहारको ।’ जगदीशले २०४६ सालमा निर्णय गरी तामाकोशी सेवा समितिमार्फत् रामेछापको मुहार फेर्ने कामको थालनी गरेका रहेछन् । साथ रहेछ पत्नी दुर्गाको ।
दिन बिताएर घासको भारी, एक गाग्रो पानी वा एक डोको दाउरा गर्नेहरुले राहत पाएका रहेछन् । जगदीशलाई लागेको रहेछ, ‘पानी र घाँसदाउरा गर्ने समय करेसाबारी वा अन्य उपयोगी काममा लगाए यहाँका जनता सम्पन्न हुने थिए ।’ सरकारले गर्न नसकेको काम गरेको पाइयो । उनले त दीगो सामुदायिक विकास गरेका रहेछन्, ५५ गाउँ विकास समितिमध्येका २८ गाविसमा र लाभ पाएका रहेछन् झन्डै ४० हजार जनताले । तरकारी खेतीको अभियान नै चलेको रहेछ । कार्यक्रममा भेटिएका विरुवा बाजे र अनार बाजे यसका साक्षी थिए । उनले स्थानीय स्रोत र साधन परिचालन गरेर २०४० सालमा १५ शैयाको तामाकोशी सहकारी अस्पताल निर्माण गरेका रहेछन्, नेपालको पहिलो सहकारी । उपचारका लागि काठमाडौं जानुपर्ने र महंगो उपचार गर्नबाट जोगिएका स्थानीयले २४ सै घण्टा आकस्मिक सेवा पाएका रहेछन् ।
समितिमार्फत् २० हजार शौचालय बनाइएको रहेछ । आकाशेपानी संकलनमात्र होइन, ठुलै कष्ट र लगानीमा घरघरमा धारा पुयाइएको रहेछ । मन्थली बचत तथा ऋण सहकारी केन्द्र र त्यसबाट सुपथ सहकारी पसलबाट गाउँलेले आर्थिक उन्नति गरेको पाइयो । सहकारीले स्थानीय साहूको चर्को ऋणबाट मुक्ति दिलाएको र अर्कोतिर सुलभ व्याजमा ऋण लिएर बंगुर, माछा आदि पालन गरेका रहेछन् । समग्रमा रामेछापका जनता र पाखाहरुमा जगदीशले बालेको दीयो सूर्यको किरणसरि छरिएको पायौं हामीले । उनले छरेको प्रकाश उनकै आङमा पनि प्रतिविम्बित हुन पुगेछ, आशय प्रतिबिम्बनामक संस्थाले जगदीशलाई अमेरिका बोलाएर १८ लाख नगदसहितको अन्तर्राष्टिय पुरस्कार प्रदान गरेको रहेछ ।
‘मन्थलीमा खाने र बस्ने मेरो तर्फबाट अनि आउने र बाटोको खानपीन कमलमणिबाबुबाट’, जगदीशले सबैलाई प्रस्ट पारे। रामेछापको विकास वर्णनपछि सुरु भयो कोक गोष्ठी । संरक्षण रहेका कोक गोष्ठीका कमलमणि दीक्षितले भने, ‘कोक गोष्ठी भनेर अनेक अर्थ लगाउनुपर्दैन, यो कोठे कवि गोष्ठी हो । राजधानीमा ५६ औं श्रृंखला पार गरेर आज खुला आकाशमुनि यो मन्थलीमा क्याम्पफायरमा फरक ढंगले ५७ औं कोक गोष्ठी गर्दैछौं ।’ उनले सुरुमै छन्दमा रचिएका, नयाँ सिर्जना तर छोटा, नेपाली भाषामै लेखिएकाजस्ता केही अकाट्य नियम सुनाए । गोष्ठीका अध्यक्ष रमेश खकुरेल र गोष्ठीका अन्य सदस्य कोषराज न्यौपाने, भुवनहरी सिग्देल, सनतकुमार वस्ती, मातृका पोखरेल, प्रभा भट्टराईले छन्दोबद्ध कविता सुनाए । क्रमशः बढिरहेको चिसोलाई एकातिर क्याम्पफायर र अर्कोतिर ज्ञानुवाकर, अमला अधिकारी, गोपीकृष्ण ढुंगाना, माधव सयपत्रीलगायतका गजलले तताएको थियो । कोक गोष्ठीलाई मन्थलीमा पुगेर गोष्ठीकै सदस्य प्रभाले आकाशे कवि गोष्ठी र अध्यक्ष खकुरेलले धुनी कवि गोष्ठीको उपमा दिए।
भोलिपल्ट अर्थात् पुस १६ गते विपी जयन्ती । नेपाली कांग्रेस मन्थलीले आयोजना गरेको ‘विपीको शालिकमा माल्र्यापण’ को निमन्त्रणा स्वीकार्दै हाम्रो साहित्यिक टोली पनि बिहानै बजारतर्फ लाग्यो । साहित्यकारसमेत भएकाले हाम्रो टोलीले विपी कोइरालालाई सम्झने प्रयास गर्यो । २०३३ सालदेखि मनाउन थाले पनि मेलमिलाप दिवसको सार्थकता नभएको निष्कर्ष निस्कियो कार्यक्रममा। वक्ताहरुले सधैं झगडा गर्ने अनि वर्षेनी दिवस मनाउने ? भनी प्रश्न गरे । प्राडा सनतकुमारले विपीसँग बनारसमा भेट भएको प्रसंग सम्झे । मातृका पोखरेलले आफ्नो कृतिबाट विपीबारेको छन्दोवद्ध कविता वाचन गरे । जगदीशले विपी र गणेशमान मन्थली आउँदा बस्ने घर मर्मत नभएको र आफूले गर्छु भन्दा पनि नदिएको गुनासो गरे ।
माल्यार्पणले कुन्द दीक्षितले प्रदर्शन गर्ने भनेको फोटो प्रदर्शनी केही घण्टा पछि सर्यो । १५ वर्ष नेपालबाहिर पत्रकारिता गरेको बताउने कुन्दले अमेरिकामा पत्रकारिता पढेपछि लडाई भएका एसियाका विभिन्न देशमा गएको र सोहीक्रममा नेपालमा जनयुद्ध भएपछि आफ्नै देशको लडाईबारे केही गर्ने सोच बनाएको जानकारी दिए। उनले मिडिया इन्डस्टीका रुपमा विकास भए पनि पत्रकारितामा शान्तिका लागि लडाई खेल्ने नियम नभएको असन्तुष्टि प्रकट गरे । लडाईमा जनता, फेरि यस्तो नहोस् र युद्धपछि जनतानामक तीन फोटो पुस्तकका तस्वीरहरु हेरेपछि पत्रकार र साहित्यकार पुनः एकपटक जनयुद्ध, त्यसबाट पीडित नेपाली र त्यसले पारेको शारीरिक एवं मानसिक पीडा सम्झन बाध्य भए । बाध्यमात्र भएनन्, फोटोले बोक्ने हजार शब्दको भाषा पनि मनन् गरे ।
एकपछि अर्को कार्यक्रम तय भएका रहेछन् । जगदीश घिमिरे प्रतिष्ठान मन्थलीले आयोजना गरेको कार्यक्रममा जगदीशले सम्पादन गरेको मकैको खेती लोकार्पण गरियो । ह्दयराज शर्माले २०१३ सालमा लेखेको कृतिको पनि पुनः प्रकाशन गरेर निषिद्धा पनि लोकार्पण गरियो । वियोगी बुढाथोकीले दसकौंदेखि प्रकाशन गर्दै आएको साहित्यिक पत्रिका शिवपुरी सन्देशको बर्मा अंक पनि विमोचन गरियो। रोचक घिमिरेले १९२४ सालमा मन्थलीको कठजोरमा जन्मिएका सुब्बा कृष्णलाल अधिकारीको कृति मकैको खेतीलाई जगदीशले पुनर्जीवन दिएको बताए । उनले भने, ‘नौ सय ९९ वटा मकैको खेती तत्कालीन सरकारले जफत गरी जलायो, बचेको एउटाबाट नयाँ संस्करण निकालिएको हो ।’ तीनवटै कृतिको विमोचन गर्दै कमलमणि दीक्षितले मकैको खेतीको एक प्रति मदन पुरस्कार पुस्तकालयमा रहेकाले यो संभव भएको बताए ।
मन्थलीको अर्को नामले पनि चिनिन थालिएको रहेछ, तीनलाल। तीनलाल अर्थात् कृष्णलाल, पुष्पलाल र गंगालाल । तीनलालको नामबाट एफएम पनि खोलिएको रहेछ । मन्थली आसपासमा धरणीधर कोइराला, शम्भुप्रसाद ढुंगेल, भरतराज मन्थलीलगायतका स्रस्टाले साहित्यको बिजारोपण र विस्तार गरेको जगदीशको भनाइ छ । जगदीशले मन्थलीमा धेरै कामको थालनी गरेकाले सोही सन्दर्भमा चार वर्षअघिदेखि स्रस्टा जमघटको कार्यक्रम पनि जानकारी दिए । चौथो वर्षको यो जमघटले गत शनिबार पनि निरन्तरता पायो । पुसको पारिलो घाम ताप्दै गद्य र पद्य दुवै सिर्जना सुनाउन तल्लीन भए स्रस्टा । दोस्रो दिन राजधानी र स्थानीय स्रस्टाहरु डा. लक्ष्मणप्रसाद गौतम, तुलसीहरि कोइराला, पेशल आचार्य, डा. सुमन कर्माचार्य, विक्रम नेपाली, नवीन मगर गाउँले, रमेश ढुंगेल, नगेन्द्रराज शर्मा, दुर्गा घिमिरे, हिरालाल आचार्य ‘अनारबाजे’, सीता श्रेष्ठ, विष्णुविरही श्रेष्ठ, अञ्जु अधिकारी, राजन कार्कीलगायतले पनि सिर्जना सुनाए । कमलमणिले बीचबीचमा गर्ने ‘कमेन्ट’ र सुरिद घिमिरेले सुनाउने हिन्दी जोक्सले कार्यक्रममा सुनमा सुगन्ध थपिएको थियो । अधिकांशको मुखबाट निस्कियो, ‘गोष्ठी बडो रमाइलो भयो ।’
तीन साताअघि मन्थली आएका जगदीशले विदाइ गर्दै आफू दुई सातापछि आउने बताए । मैले जिज्ञासा राखें। ल्यापटप देखाउँदै उनले राज खोले, ‘बेपत्ताको डायरी’ लेखिरहेको छु ।’ सन् २०११ लाई बिदाइ नयाँ वर्ष २०१२ लाई स्वागत गर्दै पुनः कर्मथलो काठमाडौंतर्फ लाग्यौं ।

काव्य कुञ्ज, गठ्ठाघर, भक्तपुर, नेपाल

प्रतिक्रिया दिनुहोस्

*