रातको अँगालोमा…

-राजु दहाल

रात हामीलाई आफ्नो अँगालोमा लुकाउन सफल भैसकेको छ , घामले त निकै अघि बिदा मागीसक्यो । छुट्नलाई गारै परेरै त होला नी एकछिन पहिले माथि डाँडाबाट लुकामारी खेल्दै थियो रबि । आकाशमा ताराहरु चम्कन लागीसकेछन् तर मेरो मनको आकाशका ताराहरु रातको चकमन्नतासँगै गायब छन् ।

नयाँ ठाउँ नयाँ गाउँ अनि थकित हामी, समाबेशीको चर्को आवाज देशमा उठेको बेला कामीडाँडाको यात्रामा हिँडेका हामी खै किन किन मनभित्रैबाट अल्मलिएका छौँ अनि केहि निराश पनि । रातले हाम्रो यात्रालाई निरस बनाउने प्रयास गर्दै थियो अनि त्यहि निरसतालाई हटाउन सकभर हल्ला गर्दै थियौँ साथी सबिन सिँह, प्रमिला थपलिया अनि म आफैँ लगायत । ढुङखर्के कान्छो उपनामले सम्मान गरिएका मित्र जयराम तिमल्सीना जो यो यात्राको हर्ताकर्ता सबै हुन्, हामीलाई निराश हुन नदिन र ढुक्क बनाउन सक्दो प्रयास गरिरहेका छन् ।

कामीडाँडा आएको संकेत मिल्नासाथ हामी आ–आफ्नो झिटीगुन्टा उठाएर बसबाट उत्रीयौँ । ओहो ! त्यो तिखो अनि चिसो बतास मिसीएको लोडसेडीङ्ग युक्त रातमा त्यहाँको बासिन्दाको उत्साह, सम्मान अनि हामी प्रतीको जिज्ञासाले अत्यन्तै प्रसन्न बनायो हामीलाई । सरासर बाटो लाग्ने हुँदा कामीडाँडाको पहिलो अतिथी बनिएको माला लगाएर अगाडी पुग्दा थाहा भयो, केहि लजाउँदै अल्मलीदाँ अल्मलिदैँ साथीहरु आईपुग्नुभएछ । त्यो धामी नाच हेर्दै खाएको मकै भटमास र गुन्द्रुक अनि लोकल चियापत्तीको चिया  साँच्चै अझै पनि जिब्रोमा कतै लुटपुटिएको छ कि जस्तो लाग्छ । केहि बेरमै खानामा सिस्नुको साग र ढिडोँ साँच्चै अबिस्मरणिय थियो हाम्रो लागी । पर्सिपल्ट सम्म पनि पेट गडबड हुनुको दोष पाइरहेको थियो साथीहरुबाट त्यो सिस्नुले त ।

“नमस्कार हजुर ।” – नजिकै एकजना बृद्ध ब्यक्ती हुनुहुन्थ्यो ।

“ओहो ! नमस्कार बा ” –असजिलो मान्दै हात जोडेँ मैले ।

“अनि खानपिन भो त सर ?” – थोते गिजामा बाँकी भएका एकदुई वटा काई लागेका दाँत देखाएर हाँसे उनी । मलाई त्यो बाँकी रहेका केहि दाँत बेथानचोकबाट देखिएको सुन्दर हिमाल झै लागीरहेको थियो अनि उनको चाउरी परेका गाला नारायणथान मुनिको जंगल झैँ ।

“भयो बा ।” – म नतमस्तक हुँदै बोलेँ । “अनि बाको नाम ?”

“मान बहादुर …………….।” – लजाउँदै हाँसे उनी लाग्थ्यो चुरेको जंगलमा घाँस काट्न गएकी नवयौवना सुन्तली हामीलाई देखेर लजाईरहेकी छे ।

“अनि बा, यो कार्यक्रमले पर्यटकहरु बढ्लान त ?” – हाम्रो यात्राको नामै  बेथानचोक साहित्यीक पर्यटन यात्रा त्यसैले पनि जान्न चाहेँ मैले ।

“खै सार, मैले त केहि बुझ्दैना क्या हो क्या हो ?” –मानबहादुर मज्जाले हाँसे । वा ! कति निश्छल अनि कति निर्मल हाँसो म झन झन लठ्ठ परिरहेछु ।

चारैतिर नजर लाएर मख्ख अनि फुलेल छन् उनी । न उनलाई थाहा छ यहाँ आएकाहरु को हुन भनेर ? न केहि चाहना न केहि स्वार्थ बस् चुपचाप निश्छल मुस्कान छरेर मुस्काईरहेछन् । अनि घरि घरि हात जोडेर स्वागतार्थ खडा छन् उनी ।

“बा, हजुरको गाउँमा आएका मान्छे कोही  चिन्नुहुन्छ  ?” – म उनको ध्यान भङ्ग गर्छु ।

“अँह,………….।” – कति सजिलै भनिदिए उनले । “को हुन त सर ?” – जिज्ञासाको झटारो मैतिर आयो ।

“सबै साहित्यकार, पत्रकार अनि चित्रकारहरु हुनुहुन्छ यहाँ ।” – मैले परिचय दिने प्रयत्न गरेँ ।

“ए ऽ ऽ ऽ कार ।” – केहि बेर रोकिएर बोले उनी । “पहिले एकपटक काठमाण्डुमा चढेको हो क्यारे ……………………।”

म एक्लै हाँस्दै आफ्नो बाटो लागेँ । नजिकैको बिद्यालयमा रातमा पनि भएको भब्य कार्यक्रम पश्चात सुत्नको लागी भागमा परेको घरमा लम्किीयौँ म अनि कबि दाजु रमेश कँडेल । घरमा पहिल्यै मज्जैले अड्डा जमाएर आदरणिय नियात्राकार दाजुहरु प्रतिक ढकाल र युवराज नयाँघरे अनि उमेरले राम्रै साथ दिएपनि जोश अनि जाँगरले उमेरलाई थिचीराख्न सकेका यात्राभरका मेरा भाई राधेश्याम लेकाली भाई, हैन हैन दाई  के रे भाई नै पो…………. ??? उहाँहरुको सामिप्यता साँच्चै लोभलाग्दो रह्यो त्यहाँ । त्यो अबेला रातमा उहाँहरुको अनुभव अनि ठट्यौलीले निकै हाँस्यौ । संयोग हो वा हाम्रो भयंकर हाँसोको प्रतिफल हो ? हाम्रो कोठामा मात्र लोडसेडिङ्ग भएपछि हामी चुपचाप सुत्ने प्रयासमा लाग्यौँ ।

भोलिपल्ट बिहान उठेर नित्यकर्म पश्चात हामी चिया पान गर्ने क्रममा एउटा नमिठो  समाचार सुन्दा कता कता लाज लाग्यो । कुनै साथीले नजिकै एउटा घरको पिढीको छेउमै अघिल्लो दिनको सिस्नु र भात फिर्ता गरेछन् । चिया र खाजा खाए पश्चात बिहान हामी हिड्ने बेलामा उनी अर्थात मान बहादुर चिरपरिचीत मुस्कान छरिरहेका थिए लोभलाग्दो अनि मायालाग्दो गरेर । म अर्को कुनामा बसेर उनलाई नियालिरहेको छु । जब जब हाम्रो हुल उनको सामुन्नेबाट अगाडि बढ्दै जान्छ त्यती त्यती उनको मुस्कान कम हुँदै गईरहेको भान हुन्छ मलाई । त्यो हिमालझैँ अडिएका केहि दाँतहरु हिमालमा बादलले छोप्न खोजेझैँ प्रतित हुन्छ । उनको मुस्कान क्रमश कम हुँदै गइरहेको छ । क्रमश सबै साथीहरु ओझेलमा पर्छन तर म उनलाई नियालीरहेछु । अन्तमा हिमाललाई बादलले छेक्यो उनको मुस्कान बन्द भयो अनुहार एकतमासको भयो उनको ।

शिरको टोपी हातमा लिएर हठात् निहुरन्छन् उनी, म बादलले ढाकेको उनको मुहार हेर्न सक्दिन, नजिकै जान अनि भन्न चाहन्छु –“बा ! चिन्ता नगर्नुस, हामी फेरि आउँछौ तपाईको अतिथि बनेर । अनि बा, हामी सक्दो कोशिस गर्नेछौँ देशी बिदेशी पाहुनाहरु तपाईको गाउँमा पठाउन । कोहि लेख्नेछौँ, कोहि बोल्नेछौँ, कोहि सुनाउनेछौँ, कोहि तस्बिर कोर्नेछौँ, कोहि तपाईको गाउँको फोटो बनाएर देखाउनेछौँ तर यहाँको ओठको मुस्कान मर्न दिनेछैनौँ । तपाई चिन्ता नगर्नुस बा, मात्र यहाँको अमुल्य मुस्कान सम्हाली राख्नोस अनि सँगाली राख्नोस ।

यहाँ हरेक दिन अनेक कारहरु आउने छन् । पत्रकार, साहित्यकार, चित्रकार अनि कार मात्रै हैन बा टक पनि आउँछन् देश बिदेशका ट्रक पयर्टक……………..।” – म उनको छेवैमा पुग्न लाग्दा बसको संगीतमय हर्न बज्यो ……….। म हतार हतार दौडिदैँछु ।

हो नि आजै बेथानचोक जानुछ , अनि ढुङ्खर्क पनि त पर्खिरहेछ ।

-बेथानचोक साहित्यीक पर्यटन यात्राको अन्तिम दिन ढुङ्खर्कमा आयोजित कार्यक्रममा बाचन गर्न तत्काल केहि मिनेटमा लेखिएको रचना । आज केहि अतित सम्झँदा याद आएर यहाँहरु सँग बाँड्ने जमर्को गर्दैछु । यसलाई के भन्ने भनेर अप्ठेरो भएपनि मैले एउटा संस्मरणात्मक कथा नाम दिएको छु)

समाप्त

प्रतिक्रिया दिनुहोस्

*