उपन्यास लेखिरहेको छुः सम्राट उपाध्याय

-गुणराज लुइटेल
सम्राट उपाध्याय अंग्रेजी संसारमा लोकप्रियताको सिढी चढ्दै गरेका नेपाली लेखक हुन् । अमेरिकाको इन्डियना युनिभर्सिटीमा सिर्जनशील लेखनका प्राध्यापकसमेत रहेका उनी बेलाबेलामा आफ्ना विद्यार्थी लिएर काठमाडौं आउने गर्छन् । यसपटक पनि उनी दुईजना विद्यार्थी लिएर स्वदेश आएका छन् यहाँको सांस्कृतिक र साहित्यिक अन्तत्र्रिmयाका निम्ति । उनका चार कृति ‘एरेस्टिङ गड इन काठमाडौं’ (२००१), ‘द गुरु अफ लभ’ (२००३), ‘द रोयल घोस्ट’ (२००६) र ‘बुद्धज अर्फान्ज’ (२०१०ं) प्रकाशित भइसकेका छन् । यी दुई उपन्यास र दुई कथा संग्रहमा उनले नेपाली कथावस्तु र पात्रलाई समेटेका छन् । उनका कृतिले अन्तर्राष्टिय पुरस्कार र चर्चा प्राप्त गरेका छन् । पहिलो कृति ‘एरेस्टिङ गड इन काठमाडौं’ म्यान बुकर प्राइजका निम्नि मनोनयमा समेत परेको थियो । त्यसपछि उनका कृतिहरूले अन्तर्राष्ट्रिय स्तरका पुरस्कार र चर्चा आर्जन गरेका छन् । उनका कृति ‘एरेस्टिङ गड इन काठमाडौं’ले ह्वीटिङ अवार्ड, ‘द गुरु अफ लभ’ले न्यू योर्क टाइम्स नोटेबलबुक, सानफ्रान्सिस्को क्रोनिकलले बेस्ट बुक अफ द इयरजस्ता उपलब्धि प्राप्त भएका छन् । उनै उपाध्यायसँग गुणराज लुइटेलले गरेको साहित्यिक भलाकुसरी ः

यसपालि तपाई कति पछि काठमाडौं फर्कनुभयो ?
एक वर्षपछि आएको हुँ । पछिल्लोपटक पाँच दिन आएर भारत गएँ । त्यतिबेला कुनै कार्यक्रम भएन । यसअघि २०१० जुनमा अहिलेजस्तै विद्यार्थी लिएर आएको थिएँ ।

अहिले नेपालमा सिर्जनशील लेखनप्रतिको रुचि देख्नु भएको छ ?
अहिले युवामा निकै रुचि देखेको छु । क्योटोसकोभले शनिबार टेम्स कलेजमा सिर्जनशील लेखन कार्यशाला भनेर कार्यक्रम गर्न लागेको छ । आजै मैले इमल पाएँ, एक सय १० जनाले साइनअप गरेका रहेछन् । मैले त २०÷३० जनाको समूहमात्र होला भन्ठानेको थिएँ । रुचि निकै रहेछ ।

अमेरिकाका विश्वविद्यालयमा साहित्यिक लेखनबारे सिक्ने÷सिकाउने चलन निकै छ, होइन ?
सिर्जनात्मक लेखनसम्बन्धी स्कुलहरू सुरु भएकै अमेरिकामा हो । १९६० मा पहिलो पटक आयोवा राइटर्स वर्कसप भनेर सुरु भयो । त्यो अहिले पनि फेमस छ । अहिले यस्ता स्कुल अनगिन्ती नै छन् । स्नातक, स्नातकोत्तर तह हुँदै विद्यावारिधी पनि क्रियटिभ राइटिङमा दिन थालेका छन् । १० वर्षअघि सम्म अरु अन्तर्राष्ट्रिय कन्टेक्स्टमा थिएन । अहिले बेलायतमा पनि एक दुई वटा हुन थालेका छन् । अहिले अरुअरु ठाउँमा पनि खुल्न थालेका छन् ।

 

साहित्य लेखनमा आफ्ना कथा र भोगाइ हुन सक्छन् । तर, सिर्जनशील लेखनले तिनलाई आफ्नो कथा भन्न सिकाउने हो कि ?
(हाँस्दै) हो, मान्छेको आफ्नो सीप र क्षमता हुन्छ । तर, यसलाई पनि सुधार गर्दै लैजान सकिन्छ ।संगीत सिक्दा एकैपटक उच्च कोटीको संगीतकार भएर कोही पनि निस्कँदैन । दक्षिण एसियाली सन्दर्भमा त वर्षाैंसम्म गुरुसँग बसेर अभ्यास गर्दै जाने हो । खेलकुदमा पनि त्यही हो । सिर्जनशील लेखनमा पनि त्यही अवधारणा हो । आफूसँग केही सामग्री हुन्छ, आफूसँग केही क्षमता हुनुपर्छ र त्यसैलाई अलि बढी सुधार गर्दै जाने हो । एउटा खास दृश्यलाई कसरी राम्रो बनाउने भन्ने हो ।
भनेपछि हामीले कुनै वस्तुलाई एकदम राम्रो थियो भन्ने भन्दा पनि त्यो कसरी राम्रो हो भन्न सक्नु प¥यो राम्रो सिर्जनात्मक लेखनका निम्ति ?
यो कसरी राम्रो थियो र त्यसलाई कसरी अघि बढाउने भन्ने सीप नै हो । हामीकहाँ मात्र होइन अरु ठाउँको पनि परम्परागत सोचाइ के हो भने लेखकले एकपटक लेखिसकेपछि ह्वार्र एकपटक आयो र त्यो नै हो भन्ने छ । लेखक प्रतिभाशाली हो, उसको केही सम्पादन गर्नु पर्दैन, सम्पादन गर्ने भनेको पनि शुद्धाशुद्धि सच्याएजस्तो मात्र होइन । लेखकले आफ्नो सामग्रीलाई अलि आकार पनि दिनु पर्छ । हालैका दिनमा मैले नेपाली अखबारमा पनि मैले देखिरहेको छु एडिटरसीपको हामीकहाँ चलन छैन भनेर । उता अमेरिका के चलन छ भने मैले आफ्नो पाण्डुलिपी तयार पारेर सम्पादककहाँ पठाएपछि थप सुझाव दिन्छन् । सम्पादकले खाली कमा यहाँ राख भन्ने मात्र होइन, यो परिच्छेद मिलेकै छैन पनि भन्छन् । यो परिच्छेदको सट्टा यो राख्नुपर्छ वा परिवर्तन गर्नुपर्छसमेत भन्छन् ।

भनेपछि लेखकभन्दा पनि सम्पादक बढी हावी हुन्छन् ?
त्यसो होइन । यो सम्बन्ध बुझ्न लेखक र सम्पादक साथीजस्ता हुन् । आफूसँग भएको सामग्रीलाई कसरी राम्रोरुपमा ल्याउने भन्नेमा सम्पादकले मद्दत गर्छन् । यसको अर्थ सम्पादकले भनेको सबै मान्नुपर्छ भन्ने पनि छैन । सम्पादक र लेखकबीचको कन्फ्रन्टेसनका निकै कथा पनि छन् । मेरो अनुभवमा भने मेरा सबै सम्पादक सहयोगी रहेका छन् । विशेष गरी उपन्यास लेख्दा धेरै समय लगाएर लेखिन्छ । एउटा बिन्दुमा पुगेपछि त्यसको सबल र दुर्बल पक्ष के हो भन्न पनि मुस्किल हुन्छ । त्यस्तो बेलामा अर्को एउटा अब्जेक्टिभ व्यक्तिले हेरेर मूल्यांकन गरिदिँदा सहयोग पुग्छ ।

 

आफ्ना चार कृतिको प्रकाशनपछि अर्को नयाँ कृतिको तयारी गर्दै हुनुहुन्छ ? यो भ्रमणले पनि तपाईंलाई थप सहयोग गर्दैछ कि ?
(हाँस्दै) यो भ्रमण त त्यो तयारीको क्रममा होइन । तर, मैले एउटा उपन्यास लेखिरहेको छु । यो एकदम आधारभूत तहमा छ अहिले । कति आधारभूत भने रफ र त्यो पनि हातले लेखिरहेको छु । आफूले गल्ती देखे पनि सम्पादनै नगरेको अवस्थामा छ । कहिलेकाहीं साइड नोट पनि लेख्छु, आइ निड टु एक्पाण्ड दिस मोर । मेरो उपन्यास लेख्ने प्रक्रिया कस्तो छ भने पहिला सबै लेखिसक्यो, सबै लेखिसकेपछि देखिन्छ, मैले के सिर्जना गरेँ त । त्यसपछि यहाँ यो मिलेको छैन, यो राख्नुपर्छ, यो पात्र भएकै छैन, कि यो पात्रलाई निकालेर अर्कोलाई राख्नु प¥यो, कि बढी पात्र भए । कहिले विषयवस्तु मिलेको हुँदैन, यो विषयवस्तुमा लेख्दा पाठकलाई अलमलमा पार्ला भनेर हेर्छु ।

तपाईं सुरुमै कम्प्युटरमा बसेर नलेखी बिस्तारै कपीमा लेखेर वृहत नक्सा आउने भएपछि मात्र कम्प्युटरमा लेख्न बस्नु हुन्छ ?
म कम्प्युटरमै लेख्थेँ । यसपालि यो उपन्यास कम्प्युटरमा लेख्दै थिएँ । कम्प्युटरको आकार किताबको जस्तो भएपछि मलाई अलि ब्लकेजजस्तो भयो । त्यो छापिएकैजस्तो देखियो । अहिले त म बल्ल सामग्री खोजिरहेको छु । त्यसैले हातले लेख्न थालेपछि सुइसुइ आयो । हातैले लेखेर ड्राफ्ट पूरा गर्छु । अनि फेरि टाइप गर्छु ।
कसरी यो नयाँ प्रक्रिया तपाईंमा विकास भयो त ?
हरेक नयाँ किताबले लेखकलाई चुनौती दिनुपर्छ । मेरो फिलोसफी यही हो । पुरानै सामग्री भयो भने मलाई चुनौती हुँदैन, दिक्दारीमात्र हुन्छ । यो नयाँ सामग्री भएकोले मलाई पनि चुनौतीपूर्ण भयो । मलाई पहिलो किताब लेखिसकेपछि अरु किताब लेख्न त भर्रर आइहाल्छ, सजिलो हुन्छ भन्ने थियो । अहिले त्यसको ठीक विपरीत भएको छ । हरेक नयाँ किताबले नयाँ चुनौती दिएको छ । आफ्नै अपेक्षा पनि बढेर जान्छ । त्यो अपेक्षा बढेर गएपछि त्यसलाई कसरी समाधान गर्ने भन्ने हुन्छ ।

तपाईंका अरु किताबले जस्तै यो किताबले पनि नेपालकै कथावस्तुलाई बोक्नेछ ?
नेपालकै कथावस्तु छ । अहिले रफ ड्राफ्टमा अमेरिकाको पनि केही कुरा आएको छ । (हाँस्दै) हेरौं अब फाइनल ड्राफ्टमा के हुन्छ ?

तपाईं २१ वर्षको उमेरमा अमेरिका जानु भयो । तर, तपाईं नेपालकै विषयवस्तुमा आधारित कथा भन्न रुचाउनु हुन्छ, कारण के होला ?
विभिन्न तरिकाले यसलाई हेर्न सकिन्छ । २१ वर्षको उमेरमा त मानिसको धेरै संवेदनशीलता परिपक्व भइसकेको हुन्छ । मेरो संवेदनशीलता मुख्यतः नेपालमै विकास भयो । मेरो प्राज्ञिक  ट्रेनिङ भने अमेरिकामा भयो । तर लेखनमा त आफ्नो संवेदनशीलतामै जानुपर्छ । लेखनमा दिमागमात्र होइन ह्दयलाई पनि छुनुपर्छ । नेपालको बारेमा लेख्न सामग्री पनि धेरै छ । आफूलाई नेपाली पात्र बुझेको छु भन्ने पनि लाग्छ ।

लामो समय अमेरिका बसिकेपछि त्यहाँका पात्रले पनि तपाईंलाई कथा लेख्नका निम्ति तान्न सक्नु पर्ने होइन र ? कि तपाईंले आफ्ना जानर नै त्यसरी विकास गर्नु भएको हो ?
मलाई लाग्छ त्यो जानर नै हो । मलाई ती कथाले तान्न नसकेको भन्दा पनि साहित्यिक लेखनमा जुन गहिराइ चाहिन्छ, त्यो गहिराई नेपालमै छ । 

आख्यान लेख्दा केही न केही यथार्थ घटना वा पात्रलाई समावेश गरिएको हुन्छ । के तपाई पनि आफूले थाहा पाएका वा भोगेका यथार्थलाई नै आख्यानको रुप दिनुहुन्छ ?
मैले समकालीन नेपाललाई प्रतिनिधित्व गर्छु भनेर कहिल्यै सोच्दिन । नेपाली एकदमै धेरै परिवर्तन पनि भइरहेको छ । समकालीन नेपाल कसको भर्जन भन्ने कुरा पनि आउँछ । सबैले नेपाल एकै किसिमले अनुभव गरेका छैनन् । नेपाल सबैले एकै रुपमा हेर्ने भएको भए यत्रो द्धन्द्ध पनि हुने थिएन । नेपालको बारेमा लेख्दा भाषा र यहाँको संस्कृतिसँग पात्रले कसरी अन्तरक्रिया गर्छ भनेर सोच्छु । तर, एकदम यथार्थ (सुपर रियल) हुनुपर्छ भनेर सोच्दिँन । मेरो पहिलो पुस्तक एरेस्टिङ गड इन काठमाडौं पुरानो काठमाडौं हो । नयाँ किताबमा नयाँ नेपालको कुरा पनि लेखेको छु । दी रोयल घोस्टमा माओवादी द्वन्द्व पनि छ । बुद्धज अर्फान्जमा समकालीन नेपाल छ ।

तपाईंका सबै किताब अंग्रेजीमा छन् । नेपालीमा पनि ती किताब भएका भए तिनको प्रभाव कस्तो हुने थियो भन्ने लाग्छ ?
अंग्रेजी प्रकाशन जतिसुकै गरे पनि सीमित पाठकका निम्ति हो । काठमाडौं र अन्य शहरी क्षेत्रमा सीमित अंग्रेजी पाठकले मात्र पढ्छन् । काठमाडौंमै कतिपयले मेरो नाम पत्रिकामा पढेको हुन्छ, तर किताब पढेको हुँदैन । कतिपय मेरै नातेदारले किताब पढेको हुँदैन ।

 

आम पाठकमा पु¥याउन आफ्ना किताबको नेपालीमा अनुवाद हुनुपर्छ भन्ने सोच्नु भएको छ ?
सोचेको पनि हो । अरेष्टिङ गड इन काठमाडौं यहाँ लोकप्रिय पनि भएको थियो । त्यो बेला एउटा कथा आफैले अनुवाद पनि गरेको थिएँ । तर एकदमै समय लाग्ने भयो । धेरै समय लाग्ने भएपछि मैले पूरा किताब अनुवाद गर्ने कि मैले अर्को किताब लेख्ने भन्ने भयो । केही मान्छे अनुवाद गर्ने भनेर पनि आएका थिए । तर, म विश्वस्त हुन सकिँन । तर, अहिले चाहिँ यहाँ माहोल राम्रो भएको छ ।

लुइटेल अन्नपूर्ण पोष्टका कार्यकारी सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्

*