खुट्टा-मन संवाद

-हरिवंश आचार्य

मन- ए खुट्टा ! हिँड्न त्यहाँ परसम्म जाऊँ

खुट्टा- हैन अबेर भो अब हामी घरतिर जाऊँ

मन- त्यहाँ गएर केटी हेरौं न

खुट्टा- बरु घरमै गएर आराम गरौं न

मन- त्यहाँ गएर ‘इस्क’ लडाउन

खुट्टा- मनतातो पानीमा खुट्टा ढड्याउन

मन- घर त अहिले म जाँदै जाँदिनँ

खुट्टा- म तँलाई अन्त कतै लाँदै लाँदिनँ

मन- दुई पेग ह्वीस्की तानौं न

खुट्टा- घर जाने कुरा मानौं न

मन- बिन्ती भन्छु हिँड्न यार

खुट्टा- घरकै बुढीलाई गर्न प्यार

मन- ए खुट्टा के भो तँलाई भन्दे त ?

खुट्टा- हाम्रो उमेर कति भयो गन्दे त

मन- एक र सात सत्र हो ?

खुट्टा- लप्पु खुवाइदिन्छु अहिले

मन- कति भयौं त हामी छब्बीस ?

खुट्टा- पन्ध्र अनि तीन बीस

मन- होइन यो कुरो म कहाँ पत्याउँछु

खुट्टा- हेर्न म यहाँ हिँड्दाखेरि खोच्याउँछु

मन- त्यसो भए लट्ठी टेक्न त

खुट्टा- आँखाले पनि राम्ररी देख्तिनँ

मन- आँखाले राम्रो देख्दैन ?

खुट्टा- हात कामेर पनि लेख्दैन

मन- अनि नाक र कानलाई कस्तो छ ?

खुट्टा- देशको स्थितिजस्तै छ

मन- उसो भए त खत्तम भएछ

खुट्टा- धेरै दाँतले गिजा छोडेर हिँडेछ

मन- भित्रतिर त ठिकै छ ?

खुट्टा- भित्रको कुरा पनि दिक्कै छ

मन- बनायो भने बन्दैन ?

खुट्टा- धेरै कुरा त अब चल्दै चल्दैन

मन- अरू केके भएको छ ?

खुट्टा- रगतमा सुगर गएको छ

मन- ब्लडप्रेसर पनि बढ्या छ ?

खुट्टा- तल १०० माथि १६० चढ्या छ

मन- -जंगिँदै) त्यसो भए तिमी बूढा हात, खुट्टा, आँखा, जोर्नी, नसा, मुटु, कलेजो, फोक्सो, नाक, कान सबैसँग सम्बन्ध तोड्छु । सुख, शान्ति, ऐसआरामसँग नाता जोड्छु । धेरै बाँच्छु, धेरै हाँस्छु, मज्जाले नाच्छु तिमीहरू जाओ मेरो अगाडि आउँदै नआओ । अबदेखि तिमी बूढाहरूले मुखै नदेखाओ ।

खुट्टा- हेर बाबु मन कुरा यस्तो छ, हाम्रो सम्बन्ध पनि सहमति सहकार्यबाट चल्ने राजनीति जस्तै छ ।
हामी शरीर र मन जन्मेको घडीपला एउटै छ, हामी मर्ने घडीपला पनि कहाँबाट दुईटा छ ? हामी शरीर पहिले मर्‍यौं भने तिमी मन कहाँ रमाउँछौ, हात पहिले मर्‍यो भने पैसा केले समाउँछौ ? तिमी देश होइनौ क्यारे हामी मरे पनि बाँचिरहने तिमी माया होइनौ क्यारे सधैं अबर रहने मन तिमी नेता हामी शरीर जनता असल ठाउँमा लगे मात्र हामी जान्छौं, राम्रो कुरा भने मात्र हामी मान्छौं ।

देश त बिगि्रयो बिगि्रयो हामी किन बिग्रने ?

मन तिमीलाई हामी अन्तिम मौका दिन्छौ सप्रने

तिमी सप्रने कि नसप्रने ?

त्यसपछि….

मन ह्वाँह्वाँ रुन थाल्यो

बिस्तारै बिस्तारै संयम

हुन थाल्यो

मन- एक खुट्टा हिँड अब घर जाऊँ

मीठोनमिठो जे छ स्वास्नीले पकाएकै खाऊँ

बिहान उठेर भजन गाऊँ

पशुपति गुहेश्वरी जाऊँ

यिनै हुन् हाम्रा अन्तिम ठाऊँ

यिनै हुन् हाम्रा अन्तिम गाऊँ

 

प्रतिक्रिया दिनुहोस्

*