बलात् सेन्टर

-तिलकप्रसाद सापकोटा

गंगा, चटक्क परेर आइछौ त ?
जस्तोसुकै हुँ के चासो ?
प्रशंसा गर्दा पनि रिसाउनुपर्छ ?
जिस्काएको पनि कहीं प्रशंसा हुन्छ ?
कहिलेकाहीं जिस्किनु स्वाभाविकै हो । अझ एउटै शाखामा बसेर सँगै काम गर्दा माया पनि लाग्छ नि ।
प¥या छैन माया गर्न ।
गणेशको केटीसँग जिस्किने बानी आजको होइन, विद्यालय पढ्दादेखिकै हो । कलेजमा पढ्दामात्र होइन, सरकारी सेवामा प्रवेश गरेपछि पनि केटीसँग जिस्किने उसको बानी थियो । सरकारी जागिरबाट रिटायर्ड भएर प्राइभेट कम्पनीमा प्रवेश गरेपछि पनि आफ्नो कार्यकक्षमा रहेका साथीहरुसँग ऊ ठट्टा गथ्र्यो । आजभोलि गणेश आफ्नै कार्यकक्षकी गंगासँग पनि ठट्टा गरिरहन्छ ।
केटा साथी होस् वा केटी साथी होस्, जोसँग पनि जिस्किनुपर्छ, आनन्दित हुनुपर्छ र जीवनमा यौवनको अनुभूति गर्नुपर्छ । गणेश साथीभाइहरुसँग कहिलेकाहीं यस्तै कुरा गथ्र्यो ।
गणेश गंगासँग विस्तारैविस्तारै नजिकिँदै थियो । एकदिन उसले गंगासामु खुलेरै भनेको थियो– हेर गंगा, ५५ वसन्त पार गरिसकेको मलाई अब कुनै चिन्ता छैन । काठमाडौंमा घर छ । एउटा कार छ । बैंकमा दस–एघार लाख रुपैयाँ ब्यालेन्स छ । छोराबुहारी अमेरिकामा छन् । बूढीले घरव्यवहार चलाउँछे । यी सबै भएर म अनावश्यक रुपमा चिन्तामा डुब्न चाहन्न । बरु साथीभाइसँग ठट्टा गरेर जीवनलाई तन्दुरुस्त राख्छु ।
मैले तिमीसँग ठट्टा गरेको जीवनलाई रसपूर्ण बनाउनका लागि हो । कार्यालय आएर तिमीले जसरी टेबुलमा घोटिइरहनु छैन मलाई । प्रेमका लागि अर्को बिहे गरेर सारा सुख सन्तोष कुल्चिनु छैन । कमाउनु छैन । बरु साथीहरुलाई जे सकिन्छ सहयोग गर्नु छ । समय बिताउनका लागि काम गरेजस्तो गर्नु छ । तिमी उच्च शिक्षा सकेर क्यारियर बनाउन लागिरहेकी छौ । म क्यारियर बनाइसकेको छु । आफ्नो भविष्यको गोरेटो सुनिश्चित गर्नु छ भने गंगा मेरो संगत गर ।
अहिलेको महँगी र बेरोजगारको दुनियाँमा सोर्सफोर्स नभए रोजगार पाउन सकिन्न । यस्तो अवस्थामा क्यारियर बनाउन कति गाह्रो हुन्छ भन्ने कुराको अनुभव मैलेजति तिमीले गरेकी छैनौ । म यहाँ छउन्जेल तिमीलाई सहयोग गरौंला । चिन्ता गरेर समस्या घट्ने होइन, बढ्नेछ । बरु ख्यालठट्टा गर आनन्दित हुन सिक ।

+ + +

बेलुकाको खानपिन सकेर गंगा ओछ्यानमा पुगी । दिउँसो कार्यालयमा गणेशले भनेको उसले सम्झी । निकै बेर घोत्लिई पनि । क्यारियर बनाउनका लागि उसले अरुको साथ सहयोग चाहिन्छ भन्ने अनुभव गरिसकेकी थिई । अहिलेको कमाइले आफ्नो भविष्य बन्दैन भन्ने पनि उसलाई थाहा थियो । उसले सोची, ‘गणेशले सहयोगको बहानामा तलब बढाइदिने र प्रमोसन पनि गरिदिने आश्वासन दिएर कुनै दिन मलाई थाङ्नामा सुताउने त होइन ? त्यस्तो भयो भने मेरो यो सुन्दर परिवार भताभुंग हुन्छ । पैसावाल, पढालेखा, आधुनिक भनाउँदा यी हाकिम आफ्ना कार्यालयमा काम गर्ने हामी बच्चाका माउलाई समात्ने हक नै हुन्छ भन्ठान्छन् । प्रलोभन र आश्वासन देखाएर असल महिलाको जीवन भताभुंग पारिदिन्छन् । पुरुषहरु महिलाको इमानदारीलाई सम्मान र मनन गरौं भनेर कहिल्यै ठान्दैनन् । बरु कमजोरी ठान्छन् । इमानदार पुरुष कसैसँग ठट्टा गर्दैन र लोभ पनि देखाउँदैन, आफ्नो कर्ममा विश्वास गर्छ । गणेश सर इमानदार र अनुभवी हुन् भने आश्वासनको जाल मतिर किन फ्याँक्थे ?
गंगाले आफ्नो आर्थिक अवस्था पनि सम्झी । आफ्नो र पतिको महिनाबारी तलबले छोराछोरीको पढाइ खर्च र घरव्यवहार चलाउन ठिक्क छ । गणेश सरले सहयोग गरौंला भनेकै छन् । उनलाई प्रभावित पारें भने तलब बढ्छ भने मैले पछि हट्नु हुँदैन । सरकारी जागिर खाएर पेन्सन खान थालेका पाका मान्छेले भोलिका दिन छोरीसमानकी ममाथि कृकृत्य त नगर्ला नि । उनीप्रति अनर्गल कुरा सोचेर अवसर चुकाउनु हुन्न मैले । गणेश सरले भनेजसरी काम गरेर देखाएँ भने र तलब बढ्यो भने त मैले अन्यत्र लाग्नै पर्दैन । जागिर छोडेर व्यापार–व्यवसाय गर्ने पुँजी पनि मसँग छैन ।
भोलिपल्ट गंगा १० बजे नै कार्यालय पुगी । गणेशले आउँदाआउँदै भनिहाल्यो, ‘गंगा, आज मसँग घुम्न जाने होइन ?’
‘किन नजाने ?’
आजभोलि गंगा हाँसीहाँसी जवाफ दिन थालेकी छ । एक दिन गणेशले गंगासँगै बसेर खुलस्त कुरा गरेपछि गंगाले गणेशप्रतिको दृष्टिकोण बदलियो । गणेशप्रति जाती भएर भनेजति तलब वृद्धि गर्ने गंगाको दाउ थियो । यसका लागि पनि गंगा गणेशतिर नजिकिन्थी । हाँसीहाँसी बोलिदिन्थी । गंगा परिवर्तन भएकोमा गणेश पनि मक्ख थियो । कामको सिलसिलामा झुक्किएर वा जानाजान गणेशले छोए भने पनि गंगा कुनै संकोच मान्दैनथी ।

+ + +

गंगासँगै काम गर्ने रत्नेका चारपाँचजना साथी टिफिन समयमा उसको कार्यकक्षमा ह्वार्र पसे र एकछिन गफिए । अगाडिकाले पस्नेबित्तिकै भनिहाल्यो, ‘आज रत्नेको कार्यकक्ष सुनसान छ नि किन ?’
‘गंगा नभएको बेलामा त रित्तै हुन्छ है रत्ने’, दोस्रोले बोल्यो ।
‘बूढो भ’का गणेश सर पनि गंगाको पछिपछि लाग्दैछन् है ?’, तेस्रोले भन्यो ।
‘गणेश सर अनेक प्रलोभन देखाएर गंगालाई कुन दिन कप्लक्क पाछन् है’, चौथोले भन्यो ।
‘आजभोलि त गंगा पनि मस्किन थालेकी छे । सुरुसुरुमा गणेश सर बोल्यो कि जंगिन्थी’, पाँचौंले भन्यो ।
‘यो कार्यकक्ष त गणेश सरलाई मात्रै फाप्ला जस्तो छ’, छैटौंले भन्यो ।
‘यस अफिसमा गंगालाई नहेरी चित्तै बुझाउने को होला र ? कतिपय त गंगालाई देखेर घुटुक्क थुक निल्छन्’, सातौंले भन्यो ।
‘किन अर्कालाई भन्छौ, तिमीलाई पनि गंगा नहेरी चित्त बुझ्दैन त’, आठौंले भन्यो ।
‘रसिक छन् है बूढा’, नवौंले भन्यो ।
‘हैन रत्ने, के हेरेर बस्छस् ? तेरो ठाउँमा म भइदिएको भए गणेश सरले चान्स नै पाउँदैनथे’, दसौंले भन्यो ।
‘कन्नेकेटी भेटे भने त गणेश सर पागलै होलान् है’, दोस्रोले फेरि भन्यो ।
‘पत्याउनु पनि प¥यो नि’, पाँचौंले भन्यो ।
‘त्यो त हो । बच्चाका माउलाई यिनले सजिलै पट्याए’, तेस्रोले भन्यो ।
‘कन्नेकेटी पट्याउन त यिनलाई शिव कवच नै चाहिन्छ’, सातौंले भन्यो ।
‘जे होस्, बूढाको मन त तन्नेरी नै र’छ’, छैटौंले भन्यो ।
‘यो कार्यालयका कर्मचारी कोही छोराछोरीका बाउ त कोही छोराछोरीका माउ ताक्छन्’, आठौंले भन्यो ।
‘गणेश सरलाई छोराछोरीका आमा भए पनि हुने र’छ’, नवौंले भन्यो ।
‘हत्तेरिका रत्ने, तेरो यौवन पनि काम लागेन’, दसौंले कोठाबाट निस्कँदै भन्यो ।
रत्नेले भन्यो, ‘गंगामाथि हामफालेर आफ्नो सानो सुखी संसारलाई भताभुंग पार्नु छैन मलाई । म गणेश सर होइन, रत्ने हुँ ।’

+ + +

एक दिन गणेश र गंगा अफिसबाट सँगै निस्किए । लजमा पुगेर चिया पिइसकेपछि गंगाले भनी, ‘गणेश सर, के कुरा हो भन्नुस्न । मलाई ढिला हुन्छ ।’
‘किन हतार गर्छौ ? चिया खाइसक न, अनि भनौंला’
‘बाटोमै भन्दा पनि हुन्थ्यो नि, लजमै आउनुपथ्र्यो र ?’
‘हेर, बाटोमा सबै कुरा गर्न मिल्दैन । गर्नु पनि हुँदैन । यहाँ म तिम्रो लागि आएको हुँं । यहाँ खुलेर कुरा गर्न पाइन्छ । धक फुकाउन पाइन्छ । बरु भनन, अस्तितिर केके गुनासो गथ्र्यौ त ?’, गणेश गर्दैगर्दै गंगातिर नजिकियो ।
गंगाले पनि गुनासोको पोको फुकाउँदै गई ।
गणेश गंगातिर नजिकिँदै थियो ।
केही बेरसम्मको यो निरन्तरता सर्वांगासनमा पुग्यो र एकछिनपछि बालासनमा बालासनमा बदलियो । शक्तिहीन अवस्थामा पुगेको गणेशले सुस्ताउँदै भन्यो, ‘गंगा, कस्तो अनुभव ग¥यौ ?’
गंगाले सुस्केरा हाल्दै भनी, ‘मलाई त बेग्लै अनुभूति भइरहेको छ ।’
‘कस्तो अनुभूति भनन’, गणेशले उत्सुत्कतापूर्वक सोधिहाल्यो ।
‘यो भूगोल बलात् सेन्टर हो । यस भूगोलका सहरका लज, होटेल, मसाज सेन्टर, कार्यालय, घरका करेसा, गोठ, उखु तथा मकैघारी, ओडार, खोल्सा, पाखापखेरा यी सबै बलात् सेन्टर हुन् । सके प्रलोभनमा, नसके जबर्जस्ती एकल या सामूहिक रुपमा यी ठाउँमा बालिका, किशोरी, अधबैंसे, वृद्धा अवस्थामा हामी बलात्कृत हुन्छौं । यो भूगोलको आधा आकाश ओगटेका हामी थोरैमात्र छौं, जो यहाँ पुगेका छैनौं ।
गंगाका कुरा सुनेपछि केही बेरअघिको उत्सुकताले भरिएको गणेशको अनुहार एकाएक मलीन भयो । उसको मुहारमा बादल देखियो । गणेशले एकछिन घोरिएर सोध्यो, ‘गंगा, तिमीले के सोचेकी ? तिमीले के यसलाई बलात्कार ठान्यौ ?’
‘हो, तपाईंको प्रस्तुतिमात्र आधुनिक रहेछ, पढेर मात्र आधुनिक हुनुभएको रहेछ । बलात्का लागि मात्रै तपाईं हाकिम हुनुभ’को रहेछ । तपाईंको प्रवृत्ति फेरिएको रहेनछ । बलात्कार गर्नु हुँदैन भन्ने कुरालाई तपाईंले त लत्याउनुभयो भने अरुले कसरी मनन गर्लान् र ? आफ्नो पेसामा इमानदार भएर काम गरिरहेकी मजस्ती बच्चाको माउलाई तपाईंले वेश्यालयमा किन ल्याउनुभएको ?’, गंगा अझ खुल्दै गई ।
‘कतिपय घरपरिवार मिलेको, सुखी देखिनुमा यौनको महत्वपूर्ण भूमिका हुन्छ । विगतमा म पनि तिमीले जस्तै सोच्थें तर त्यसो होइन रहेछ । पढाइ, पद, पैसा त आवरण मात्र हुन्, यी वस्तुले ढाकेर मेरो इच्छा पूर्ण हुँदैन । इच्छा पूर्ण हुँदैन । त्यसैले पनि गंगा, मैले आफ्नो सुखी जीवनका लागि तिमीलाई यहाँ ल्याएको हुँ ?’, गणेशले आफ्नो बाध्यता सुनायो ।
‘तर तपाईंले मेरो सुखी जीवन भत्काउनुभयो’, गंगाले भनी ।
‘गंगा, आफ्नो श्रीमान्बाट कहिल्यै नभत्किएकी तिमीलाई मैलेचाहिँ एकैपटकमा कसरी भत्काएँ ? यसलाई भत्काएको नभन । बरु सुखी जीवनको सुरुवात भन्ठान । इमानदारी देखाएर तिमी जस्ता निम्न वर्गका परिवार यो सहरमा बाँच्दैन, भनेजति पैसा पाइँदैन । यो मजस्ता मान्छेहरुको सहर हो, तिमीजस्ताको होइन । यो सहरमा प्रवेश गरिसकेकी तिमीले अब इमानदारी देखाएर आफ्नो भविष्य बनाउन सक्दिनौ । लैजाऊ यो पैसाको बिटो । र, सुखी राख आफ्नो जीवन’, गंगाको कुराले गणेश एकाएक आवेशमा आयो र त्यहाँबाट निस्कियो । उता गंगा निस्तब्ध, असरल्ल अवस्थामा बलात् सेन्टरकी वेश्या झैं उभिइरहेकी थिई ।

काठमाडौं

प्रतिक्रिया दिनुहोस्

*