औपन्यासिक ‘मिथ’ तोडेको छु : किशोर नेपाल

-कुसुम भट्टराई

उपन्यास ‘शहरको कथा’भित्र कसको कथा छ ?
बाह« वर्षको हिंसात्मक द्वन्द्वका क्रममा धेरै मानिस आफ्ना घर, थाँतथलोबाट विस्थापित भए । केही विदेश गए । तर सबै विदेश गएनन् । कोही सदरमुकाम झरे । कोही काठमाडौँलगायत शहरमा पुगेर बाध्यता र विवशताका जिन्दगी बिताउन थाले । ‘शहरको कथा’ यिनै नेपालीको कथा हो । द्वन्द्वका कारण राजनीतिक, सामाजिक र पेशागत रूपमै विस्थापित मानिसहरूको व्यथाको कथा हो । भर्खरै एसएलसी पास गरेर थप शिक्षा हासिल गर्न नपाएका वा बिए पास गरेर पनि जागिर नपाएर शहरमा भौँतारिइरहेकाहरूको कथा हो यो उपन्यास ।

अघिल्लो उपन्यास ‘पाताल’ र ‘शहरको कथा’मा के फरक छ ?
‘पाताल’मा एउटा ऐतिहासिक कालखण्ड हुँदै जनमत संग्रहसम्मको काठमाडाँै समाजको कथा छ । हामीले गुमाउँदै गएका मौलिक परम्पराहरूको कथा छ । शहरका तल्लो वर्गका मानिस कसरी माथिल्लो वर्गमा पुगे र काठमाडौँ शहर कसरी बन्यो भन्ने प्रसंग छ । काठमाडौँ निर्माणको ऐतिहासिक पृष्ठभूमि छ । तर ‘शहरको कथा’मा भने पछिल्लो दश÷बाह« वर्षको द्वन्द्वको प्रभाव समेटिएको छ ।

एक वर्षको अन्तरालमा तपार्इँ त भटाभट उपन्यास प्रकाशित गरिरहनु

भएको छ नि ?
यो संयोगमात्र हो । ‘पाताल’को रचना गर्भ २०५० सालतिरकै हो । त्यसैताका मित्र मदन ढकाल र मैले केही समय ‘विश्वदीप’ नामक पत्रिका निकाल्यौँ । यसमा धारावाहिक रूपमा ‘पाताल’का केही अंश प्रकाशित भए । त्यसपछि, यो उपन्यास त्यसै थन्कियो । काठमाडौँले आकर्षित गरेका कारण म काठमाडौँको कथा लेख्न चाहन्थेँ । ‘पाताल’मा त्यो अभिव्यक्त छ । पन्ध्र वर्ष थन्क्याएपछि बल्ल प्रकाशित गरेँ । ‘शहरको कथा’ भने २०५८ सालपछि लेख्न थालेको हुँं । शहरी जीवनको रिपोर्टिङ गर्दा गर्दा दिक्क लागेर म त्यसताका मुलुकका गाउँवस्ती पसेको थिएँ । गाउँ गाउँ डुल्दा मैले नेपाली युवाका करुण अवस्था देखेँ । बाह« वर्षका कलिला केटाकेटीले रहरैरहरमा कम्ब्याट ड्रेस लगाएको देखेँ । त्यसयता समाजमा हलचल र परिवर्तन आयो । त्यसले मानिसमा आकांक्षा बढायो । तर, परिवर्तनले ती युवाका आकांक्षालाई थेग्न सकेन र मुलुक आजको अवस्थामा आइपुगेको छ । यही कुरा समेटेर ‘शहरको कथा’ लेख्न थालेँ । तीन पटकको लेखनीपछि कृति बजारमा प्रस्तुत गरेको हुँ । यो उपन्यास मैले रातारात लेखेको होइन । 

 नयाँ कृतिका प्रकाशन संस्था पनि नयाँ नै रहेछ नि ?
उपन्यास प्रकाशनका लागि मैले पहल गर्दा आफूलाई ठूला, स्थापित र बौद्धिक भन्ने प्रकाशकले नाक खुम्च्याए । किनकि ‘शहरको कथा’मा मैले हालसम्मको औपन्यासिक मिथ तोडेको छु । यसमा पहिले पहिले लेखिने उपन्यासमाझैँ ठूला वर्गका पात्रको साटो निम्न वर्गका पात्र छन । यसको प्रस्तुतिको शैली अराजक छ । त्यसैले शब्दहरू पनि अराजक छन् । कतिपयले ‘आईमाइलाई नंग्याउने उपन्यास छाप्दैनौँ’ पनि भनेका थिए । कतिपयले मुखले ‘तपाईँको कृति छाप्न पाए त राम्रै हुन्थ्यो, तर..’ भनेर घुमाउरो पाराले अस्वीकार गरेका थिए ।
 ‘न्यु थट पब्लिकेसन’को थट चाहिँ कसरी आयो त ?
 विदेशमा रहेका केही मित्रले म र मजस्ता लेखकका कृति छाप्ने रुचि देखाए । गएको दसैँमा नेपाल आएको बेला उनीहरूले आफ्नो इच्छा राखे । उनीहरू विदेशमा बस्ने भएकाले स्वदेशमै रहेका सक्रिय साथीहरूले त्यसमा पहल गरे । अनि ‘न्यु थट पब्लिकेसन’को जन्म भयो । यसले नै मेरो नयाँ उपन्यास बजारमा ल्याएको हो ।
 

‘प्रतिष्ठित संस्था’हरूले प्रकाशित नगर्नुको खास कारण ?
 हेर्नुस्, साहित्यमा पनि कार्टेलिङ हुँदोरहेछ । प्रकाशक र लेखकहरूको कुनै निश्चित घेराभित्र पस्न सकियो भने जे लेखे पनि राम्रो ठानिने र त्यही अनुसार प्रचार गर्ने चलन रहेछ । म नयाँ सर्जक हैन । तीस वर्षअघि नै म कथाकार, कवि र निबन्धकारको रूपमा स्थापित भइसकेको हुँ । नेपाली साहित्यका इतिहास जान्नेहरूलाई यो कुरा राम्ररी थाहा छ । साहित्यको कार्टेलिङले मलाई समेत शिकार बनाउन खोज्यो । धेरै दुःख दियो ।

उपन्यासको ताजा प्रतिक्रिया कस्तो छ ?
सुखद छ । मलाई धेरैले फेसबुक, फोन, इमेलमार्फत कृति राम्रो छ भनेका छन् । पत्रकार विजयकुमारले ‘उपन्यास एक सिटिङमै सकँें’ भने । धेरैले एक सिटिङमै पढेर सकेको प्रतिक्रिया दिएका छन् । शरच्चन्द्र वस्तीले एसएमएसमार्फत भनेका छन्, ‘उपन्यास एकै सिटिङमा पढिसकेँ । उपन्यासले उत्सुकता कायम गर्छ । रोचक त छँदैछ । अरोजाको चरित्र निर्माण राम्रो छ ।’ त्यसै गरी बुद्धिसागरले ‘दाजु किताब पढिसकेँ, गजब छ, अझ कालीकोटको पार्टमा त झन रमाइलो छ’ भनेर एसएमएस गरे ।

‘शहरको कथा’मा भाषागत अराजकता किन ?
‘शहरको कथा’मा हालसम्म प्रयोगमा नआएका शब्द प्रयोग गरेको छु । मेरो प्रयोग आफूलाई ‘सभ्य र शिष्ट’ ठान्नेहरूका लागि अपाच्य पनि हुनसक्छ । हेर्नुस्, हामी सबाल्र्टन र उत्तर आधुनिकताको गफ गर्छौं । तर हाम्रा व्यवहार, शब्द र शैली मध्ययुगीन छन् । हामी आधुनिकताका नाममा शब्दहरूको दुरुपयोग गर्छौं, सदुपयोग गर्न जान्दैनौं । हाम्रो लेखनमा दरिद्र मानसिकता प्रतिविम्बित छ । अंग्रेजी लेखनमा ‘फकिङ’ शब्द सहज रूपमा लेखिन्छ र पढिन्छ । अंग्रेजीमा लेख्ने नेपालीहरू पनि त्यसलाई सहजै लेख्छन् र पढछन् । र, पाठकहरू सहजै पचाउँछन् । तर, त्यही शब्दको नेपाली अर्थ लेख्न हामी घिन मान्छौँ । यो पाखण्ड भएन र ? मैले ‘शहरको कथा’मा यही पाखण्ड तोड्ने प्रयत्न गरेको छु ।
हामीकहाँ यौनका मामलामा पुरुष नै बढी सक्रिय हुन्छन् भन्ने सोच छ । तर, मेरो उपन्यासका केटीहरू सेक्समा सक्रिय र खुला छन् । उनीहरू सेक्सका बारेमा अघिल्लो पुस्ताका मान्यतालाई मान्दैनन् । मेरा पात्रहरू साहसी छन । सेक्सलाई ठूलो महत्व दिएर त्यसलाई छोपेर हिँड्दैनन् । व्यक्तित्व विकासका लागि उनीहरू सेक्सको उपयोग पनि गर्छन् ।

सक्रिय पत्रकारिताबाट फेरि साहित्यतर्फ फर्किनुभएको हो ?
म अहिले पनि सक्रिय पत्रकारितामै छु । विगत २५÷३० वर्षदेखि राजनीतिक टिप्पणीकारका रूपमा स्थापित छु । तर, राजनीतिक फ्रेमवर्कभित्र आफूलाई अभिव्यक्त गर्दा केही अनुशासन मान्नुपर्ने हुन्छ । तर्क, सिद्धान्त र शैलीका आफ्नै मर्यादा हुन्छन् । तर, साहित्यमा त्यस्तो हँुदैन । म यहीँनेर विपी कोइरालाको भनाइ सम्झिरहेको छु । २०३६ सालमा रत्नराज्य स्कुलमा देवकोटा जयन्ती मनाउँदै गर्दा विपीले भन्नुभएको थियो, ‘साहित्यमा सम्राट पनि विवस्त्र  हुन्छ । राजनीतिको सानो मानिसलाई पनि पोशाक चाहिन्छ ।’ म कतिबेला विवस्त्र हुने त ? त्यसैले मैले साहित्य रोजेको हुँ । जसरी विपीले आफूलाई साहित्यमार्फत पूर्ण रूपमा अभिव्यक्त गर्नुभयो, विवस्त्र हुन साहित्यको माध्यम अपनाउनु भयो, म पनि त्यही उपायको अनुयायी भएको  हुँ ।

प्रतिक्रिया दिनुहोस्

*