आत्माग्लानी

-बसन्त श्रेष्ठ ‘क्षितिज’

धोएर सुकाए झै खुम्चिएर मुजा मुजा परेको निधारको रेखीसँग ऊ मेरो सामुन्ने उभिएको थियो ।

“हजुर दुई दिनदेखि भोकै छु” याचिकाको कटौरा फैलाई हाल्यो ।

‘म पनि भोकै छु’भनिदिउ झै लाग्यो । अभावले,सरापले खर्लप्पै निलेको शरीर देखेर केही बोलिन । दुनियाँको नजरमा ऊ माग्ने थियो । आफ्नो नजरको गणनामा म माग्ने थिए ।

“के खान्छौ ?”

“हजुर,पैसा दिनु भए त्यो होटेलमा भात खान्थे ।”

कति पर्छ ?

“पैतिस रुपे हजुर !”

छाम छुम गर्दा मुस्किलले साठ्ठी रुपैया निस्कियो ।

यो दोबाटोमा आए पछि म अलमल्ल परेको थिए । कता जाने ? कहाँ जानु छ ? बिर्सिएको थिए । काठमाडौंको व्यस्त चोकभित्र म एक्लै थिए । डेराबाट दश मिनेटको दुरीमा आइपुगे पछि जमल छेउमा त्यो माग्ने भेट्टिएको थियो ।

बीस,दश र पाचको तीन नोट पाए पछि ऊ दङ्ग पर्‍यो ।

“हजुरको कल्याण होस् ।” खुलेको आकाश झै हसिलो भएर मेरो आँखाबाट ओझेल भयो ।

 

“खै त मासु ?” कोठाको चौखटमा पाइला राख्न नपाउदै कल्याणी च्याठिदै बोलिन । कल्याणी मेरी पत्नी । भरखरै आमा बनेकी ।

“आउँदै थिए कुकुरले खायो ।” सरासर ढाटे । एक पाऊँ कुखुराको मासु लिन गएको थिए भन्ने ज्ञात भयो ।

“हे ! भगवान त्यो कुकुरलाई छेरौटी लागोस,टोक्न त टोकेन नि ?तपाईंलाई त केही भएन् ?” सराप्दै,अतालिदै सोधिन । म चुपचाप थिए ।

“छोड्दिनुस्,आज गुन्द्रुकलाई मासु सम्झेर खाउला हुन्न ?” उनी मुस्कुराउदै बोलिन, बादलले ग्रहण छोपेर ।

आत्माग्लानी साथ उभिएको थिए ।

 

प्रतिक्रिया दिनुहोस्

*