रसिला, चोटिला, जोसिला…

-तिलकप्रसाद सापकोटा

 यात्रा एकल पनि हुने गर्दछ । यात्रा सामूहिक पनि हुने गर्दछ । कुनै उद्देश्य बोकेर, साहित्यिक विषय व्यक्तित्वलाई समेटेर यात्रा गरिँदा त्यो साहित्य समारोह नै बनिदिँदो रहेछ । त्यहाँं बाचिएका कविता, लोकगीत, निबन्धले वाहवाही, हाँंसो र तालीको गाँठो फुकाएर वरिपरि छरिदिँदो रहेछ । त्यो क्षण आकाश खुलेर झलमल्ल घाम लागेपछिको प्रकृतिजस्तै रमाइलो भइदिँदो रहेछ । मंसिर ५ गते काठमाडौं–चौतारा बृहत् साहित्य यात्रामा यस्तै अनुभूति गर्न पाइयो । न्यानो ओछ्यान छोडेर बिहानीको चिसोमा निस्कने मन कहाँ थियो र ? तर साहित्य समारोहमा सहभागी हुन बिहानै सात बजे काठमाडौंको सभागृहअगाडि पुगें । स्रष्टाहरु पनि फुत्तफुत्त त्यहीं आइपुगे मनमा उत्सुकता भरेर, चेहरामा मुस्कान छरेर र सिन्धु महोत्सवमा पुग्ने आतुरता देखाएर । तिनका हात मिलाइमा जोस थियो ।

 साढे सात नबज्दै गाडीले गति लियो, बानेश्वर, मीनभवन, कोटेश्वरबाट स्रष्टाहरुलाई टिप्दै अगाडि बढिरह्यो । बस आफ्नै गतिमा गुडिरहेको थियो, उकाली, ओराली, घुम्ती र मोड फेरिइरहे झैं हामीले पनि विधाविधामा मोडिँदै साहित्यिक यात्रा गरिरह्यौं । डा. तुलसीप्रसाद भट्टराईले पिताम्बर भण्डारीको कविता संग्रह पल्टाएर केही हरफ बाचिदिए । उता कवि कोषराज न्यौपानेले त पुस्तकविना नै कविता बाचे । उनी भन्दै थिए, ‘एउटा कार्यक्रमलाई पुग्ने स्रष्टा बसमै रहेछौं, यहीं कार्यक्रम गरेर घर फर्कौं भन्दा हाँसोमय भएथ्यो त्यो क्षण । यसरी बसभित्रै साहित्य समारोहको माहोल बन्न पुग्यो । गाडी साँगा पुग्यो । स्रष्टाहरुले झ्यालबाट चियाए, नजिकैको भगवान् शिवको प्रतिकृति हेरेर सबै स्रष्टा नतमस्तक भए । यसपछि शैव साहित्य सुरु भयो । डा. भट्टराईले संस्कृत भाषाका कविता बाचे । स्रष्टाहरु शैव साहित्यमै घुमफि गर्दै थिए, बस धुलिखेलबाट अगाडि बढिरहेको थियो ।

 सिन्धुपाल्चोकको सिमाना बन्देउमा पुगेपछि बस चौतारातिर मोडियो अरनिको राजमार्ग छोडेर । आगन्तुकहरुको स्वागतार्थ र जानकारीका लागि त्यहाँ टाँगिएका ब्यानर, तुल र सूचना बोर्डहरुले स्रष्टाहरुलाई महोत्सव स्थल आइपुगेछ भन्ने आभास भो । तर त्यो स्थल पुग्न २६ किलोमिटर यात्रा गर्न बाँकी नै थियो । थोरै उकाली, ओराली, घुम्ती र मोडहरु पार गर्न बाँकी नै थियो । झ्याल बाहिर हेर्दा कोषराज न्यौपानेले सडकका दुवै किनारातिर सालका रुख आउँदै र जाँदै गरको देखेछन्, उनी त लोकगीत गाउन थाले, ‘सालघारीमा सालको पात छ बेलघारीमा बेल छ हामीसँग जाने भए उडाई लैजाने रेल छ ।’ मेदिनीकुमार केवल चम्किए, कोषराजसँगै । उता डा. तुलसी भट्टराई पनि चुप लागेर बस्न सकेनन्, घन्काइहाले, ‘कान्छी मट्याङ ट्याङ…।’ यी दुई स्रष्टाका जुहारी र संवादले हाँसो र ताली बर्साईरह्यो ।

 साहित्य र बैंसले सँगसँगै पालुवा हालेका युवा स्रष्टा जुरुक्क उठेर नाचौं झैं गर्थे । बसभित्रै साहित्य कार्यक्रम चलिरहे जस्तो । रचना बाचिरहेजस्तो । त्यहाँ न उद्घोषक थिए, न कुनै छेकबार । कुनै नियम थिएन । थियो हाँसो, ताली र स्याबासी । मुखैमा आइपुगेको कविताका हरफ प्रसंग मिलाएर बाचिदिन्थे । कोषराजको आग्रहमा घनश्याम नेपालले अठोट गरे– अहिलेसम्म म कवितामा रमाउन सकिनँ खैनी खाएरै, अब म निरन्तर कवितामा रमाइरहनेछु खैनी नखाएरै । घनश्यामले आफूलाई छिट्टै बदले कविताका निम्ति । कोषराजको त्यो आग्रह घनश्यामका लागि मात्र थिएन, अरु स्रष्टाका लागि पनि थियो । बस सालघारीको वनलाई पछाडि पारेर डाँडातिर उकालियो । पहिलोपटक सिन्धु यात्रा गर्दै रहेका स्रष्टाहरु झ्यालबाट चियाएर बाहिर हेर्थे र गाउँ, वन, बेंसी र बजारका बारेमा सोध्थे श्रीस्वस्थानी कथामा शिवभट्टले ससुरालीबाट अन्मिएर घर लाग्दा गोमा ब्राह्मणीसँग बाटोमा सोधें झैं ।

 हामी साँगाचोकतिर नजिकिँदै थियौं । एकाएक बसको इन्जिन बन्द भयो । त्यसपछि हामी हिँड्दै पुग्यौ साँगाचोक बजारसम्म । आकाश खुलेर झलमल्ल घाम लागिरहेको थियो तर स्रष्टाका मुहार घुर्मैलो झैं देखियो । तर चौताराबाट बस आइरहेको कुराले सबैको चेहरामा खुसी देखियो । बसपार्क पुगेपछि हामी अगाडि बढ्यौं । पर क्षितिजमा स्रष्टाहरुका नजर पुगेका मात्र के थिए उनीहरुका मुखबाट शब्दहरु फुत्त निस्किए– अहा जुगल । जुगल हिमाल यति धेरै खुलेर त होला सबैका बीचमा लोकप्रिय बनेको । बन पाखाहरु यति धेरै हरियाली देखिएको । तर मान्छे किन खुल्दैन ? मान्छे खुल्नै नसकेर होला जुगल झैं प्रिय हुन नसकेको । हरियाली छाउन नसकेको । संकीर्ण भएर हो कि ? सिन्धुमै नखुलेर हो कि ? स्रष्टाहरु पनि जुगल झैं खुल्न नसकेका ।

 कविवर केदारमान व्यथित सिन्धुको माटो समातेर धरधरी रोएको त्यसै होइन रहेछ । सिन्धुमै खुल्न नपाएर रहेछ । पैदलै पुग्यौं चौतारा अस्पतालको चमेना गृहसम्म । त्यसपछि चमेना गृहबाट फर्किएर जिविस हलसम्म, जहाँ साहित्य समारोह स्थल थियो । एकाएक बग्रेल्ती स्रष्टाहरुको समारोह हल भरियो । कविता बाचेरै स्वागत गरे जगन्नाथ आचार्यले सुमधुर ध्वनिले दिने आनन्द झैं उनका कविताले दिएथ्यो । यसपछि कवितावाचन यात्रा चलिरह्यो निरन्त र । कवि कोषराज न्यौपाने, भुवनहरि सिग्देल, पिताम्बर भण्डारी, बलराम दाहाल, बाबा बस्नेत, राधेश्याम लेकाली, बुनु लामिछाने, शिवप्रसाद पौडेल, बुलु मुकारुङ, ठाकुर शर्मा, घिमिरे मैदेली, लक्ष्मण गाम्नागे, धीरकुमार श्रेष्ठ, आयुशा कार्की, बलराम घिमिरे, घनश्याम ढकाल, नरेन्द्रराज पौडेल, मधु न्यौपाने, रमेश पौडेल, राजेश दुलाल, जीवन श्रेष्ठ, डानियल श्रेष्ठ, धिता चिरिच्याट्ट, टीका सुवेदी, उज्ज्वल जिसी, ज्ञानेन्द्र गदाल, यदुनाथ वसन्तपुरे रामेश्वर राउत मातृदास, यदुनाथ भट्टराई, पारसनाथ आचार्य, मेदिनीकुमार केवल, हिमाल तामाङ, निरुपा ढुंगाना, नवराज गजुरेल, अमृत दुलाल, श्रीबाबु कार्की, सुजन दुलाल, हरि पाण्डे, शशि थापा, रमेश चालिसे, सरस्वती चिमरिया, ईश्वरी अधिकारी आदि बग्रेल्ती स्रष्टाहरुले बाचे कविता पनि बग्रेल्ती । तिनका कविताबारे समीक्षा गरे विशेष अतिथि डा. खगेन्द्रराज लुइँटेलले । प्रमुख अतिथि थिए डा. तुलसीप्रसा भट्टराई ।

 जाँगरिला स्रष्टाका कविता पनि कति झरिला, रसिला, रहरिला, जोसिला, चोटिला र गहकिला । हान्दा ट्वाक्क लाग्ने । छुँदा च्वास्स घोच्ने । पढ्दा मज्जा आउने र सुन्दा आनन्द दिने । यात्राका तीता अनुभूतिका छेउटुप्पै भेटिएन त्यहाँ । तर सिन्धुवासीको हैसियतले अर्को तीतो यथार्थ भने भन्नैपर्छ– सिन्धुकै गहकिला स्रष्टा नपाएर साहित्य समारोह रानो हराएको घार जस्तो देखियो । द्वन्द्वकालमा युवा हराएर बूढाबूढी र केटाकेटी मात्र भएको घर जस्तो देखियो । रसपूर्ण छन्द कविता सुनाएर आनन्दै आनन्द दिने महाकवि चन्द्रप्रसाद न्यौपाने, डम्बरबहादुर भारती, त्रिलोचन आचार्य, प्रेम बानियाँ, अमित घिमिरे, कवितामान श्रेष्ठ, केशवलोचन शर्मा, ठाकुरनाथ कुइँकेल, साहित्यिक पत्रकार सुरेश कसजू, झन्डैझन्डै गुरुप्रसाद मैनालीकै जस्ता कथा लेख्ने राम केसी चौतारे आदि सिन्धुकै स्रष्टा साहित्य समारोहमा नआउनुमा तिनका मनका अन्तरकुन्तरमा कसैले चिमोटिदिएको हुनुपर्छ, यात्रामा ठेस पु¥याएको हुनुपर्छ ।

 यदि त्यसो हो भने युगकवि मोतीरामकालीन रेवतीरमण न्यौपाने, कविवर केदारमान व्यथित, देवीदत्त पराजुलीको जन्मभूमिका लागि त्यो भन्दा दुःखद क्षण अरु के होला ? सिन्धुकै महोत्सव स्थलमा थुप्रैथुप्रै जाँदै थिए, रमाउँदै थिए र फर्किंदै थिए । उता नरेन्द्रराज पौडेलको सभापतित्वमा भएको साहित्य समारोहमा स्रष्टाहरु कविता बाच्दै थिए । पश्चिमतिर सूर्य लम्किरहेको देखेपछि म समारोह स्थलबाट सुटुक्क बाटोमा ओर्लिएँ, आफू जन्मिएको, हुर्किएको, साथीभाइसँग खाइखेली गरेको आफ्नो प्यारो घर कुविन्डेतिर लम्किएँ।

tilak.pd@gmail.com

 

प्रतिक्रिया दिनुहोस्

*