पेसा

-इन्दिरा प्रसाई

क्याम्पसमा वादविवाद प्रतियोगिताको आयोजना गरिएको थियो । आज सँधै भन्दा ठूलो संख्यामा विद्यार्थीहरुको उपस्थिति थियो । आजको कार्यक्रममा प्राध्यापकहरुको पनि निकै ठूलो संख्यामा उपस्थिति देखेर सबै विद्यार्थी र कर्मचारी छक्क परेका थिए ।

आजको समाजमा बैवाहिक संस्थाको आवश्यकता लेखिएको ठूलो तुल सभाकक्षको भित्तामा टाँगिएको थियो । तुल टाँगिएकै भित्ता मुन्तिर पन्ध्रजना मानिसहरुका लागि कुर्सी राखिएको मञ्चको व्यवस्था थियो । तुलमा लेखिएको विषयमा उपत्यकाका क्याम्पसस्तरका विद्यार्थीहरुका वीच प्रतियोगितात्मक वादविवाद कार्यक्रमको आयोजना गरिएको थियो । नेपालको मुलुकी ऐनमा भरखरै मात्र पुरुषहरुले पनि पारपाचुकेका लागि अदालतसमक्ष पहिलो उजुरी गर्न पाउने नयाँ कानुन पारित भएको सन्दर्भ पनि यसबेला मननयोग्य चर्चाको विषय थियो । 

स्नातकोत्तर प्रथम वर्षका विद्यार्थीहरुको समूह र स्नातक अन्तिम वर्षका विद्यार्थीहरुको समूहको वादविवादमा सहभागिता थियो । विश्वविद्यालयका समाजशास्त्री, महिला अधिकारकर्मी, मानव अधिकारवादी, स्थानीय राजनीतिक वृत्तका शिर्षस्थ प्रौढ व्यक्ति, नारीवादी साहित्यकार, साहित्यकार र अनुभवी प्राध्यापक समेत सम्मिलित दस जनाको निर्णायक टोलीको मञ्चमा सजग उपस्थिति थियो ।

प्रतियोगितात्मक वादविवादको विषयको पक्षमा स्नातकोत्तर तहका विद्यार्थीहरुको समूहले भाग लिएको थियो भने विपक्षमा स्नातक तहका विद्यार्थीहरुको समूहले भाग लिएको थियो ।

”समाजलाई मर्यादित राख्न, परिवारलाई बचाउन, मानवीय वंश परंपरा चलाउन, स्त्रीजातिलाई प्रतिष्ठित गर्न बैवाहिक संस्थाको आवश्यकता छ” भन्ने बुँदाहरुमा विषयका पक्षका विद्यार्थीहरुले बोलेका थिए । अर्कातिर ”स्त्रीजातिलाई दासी बनाउने, मानवीय स्वतन्त्रताको हनन् गर्ने, थोत्रो र आडम्बर पूर्णको सामाजिक मान्यतालाई शिरमा बोकाउने बैवाहिक संस्था खारेज हुनु पर्छ” भन्ने बुँदाहरुमा विषयका विपक्षका विद्यार्थीहरु कुर्लेका थिए । यी उल्लेखित दुवै पक्षका विचारहरु विद्यार्थीहरुले निकै जोडतोडले प्रस्तुत गरे । दुवैथरिका विचारहरु अत्यन्त उर्जाशील थिए । निर्णायक मण्डलले निर्णय दिइहाल्न पनि सजिलो काम थिएन ।

कार्यक्रम रोकियो र निर्णय प्रस्तुत गर्नुअघि निर्णायक मण्डलको वैठक बस्यो । कार्यक्रममा भएको रोकावटलाई सामान्य पार्नका लागि आयोजकद्वारा पूर्वनिर्धारित चियापानको त्यसैबेला व्यवस्था गरियो । क्याम्पसको प्राङ्गणमा आयोजित चियाचमेनामा निर्णायक मण्डल बाहेकका सबै सहभागी भएर विषयको पक्षविपक्षको वादविवादबारे आआफ्ना अभिमत समेत एकअर्कामा साटिरहेका थिए ।

निर्णायकहरु माझ विषयको गम्भीरताबारे निकै विमर्श भयो । कुन पक्षलाई विजयी घोषित गर्ने भन्ने छलफलले एकअर्का वीच अनुहारै रातो पार्ने गरी चर्को बहस पनि भयो । चर्काचर्कीमा नारीवादी साहित्यकारहरु निकै उत्साही देखिन्थे भने साहित्यकारको अनुहारमा कुनै रङ थिएन । मानवअधिकारवादी र समाजशास्त्रीहरु निकै गम्भीर देखिन्थे । स्थानीय एक राजनैतिक वृत्तका प्रौढ व्यक्तित्वको अनुहार प्रतिक्रिया विहीन देखिन्थ्यो । उनी कतै जाने हतारमा बारंवार आफ्नै नारीमा बाँधिएको घडी हेर्दै थिए । प्राध्यापकका अनुहारमा पनि कुनै जिज्ञाशा भए झैं देखिंदैन थियो । उनमा पनि सुस्तता देखिंदो थियो ।

”यो विषय तुरुन्त निर्णयदिने किसिमको होइन । मेरो विचारमा यी विद्यार्थीहरुलाई उनीहरुको भनाई पुष्टि गर्ने प्रकारका मौलिक उदाहरण पेश गर्ने जिम्माका साथ आजको कार्यक्रमको बीट मारौं ।” अन्त्यमा समाजशास्त्रीद्वारा राखिएको यो प्रस्ताव सबै निर्णायकलाई मान्य भयो ।

प्रौढ प्राध्यापकलाई निर्णायक मण्डलको नेतृत्वको अभिभारा दिइएकाले उनैले यो निर्णयविद्यार्थीहरु माझ उद्घोष गरे । जसअनुरुप सहभागी विद्यार्थीहरुलाई आजका दसौंदिनमा आआफ्ना पक्षले प्रस्तुत गरेका तर्क पुष्टि हुनेखालका मौलिक उदाहरणका साथमा उपस्थित हुने सूचना जारी गरिएको थियो ।

विजय पराजयको निर्णयसुन्न आतुर सहभागी विद्यार्थी र सम्पूर्ण स्रोता माझ अचानक प्राप्त अप्रत्यासित सूचनाका कारण सग्बगाहट पूर्णको वातावरणले छोप्यो । निर्णयअक्षमताको आशंका पनि विद्यार्थीहरु वीच उब्ज्यो ।

त्यसैवीच निर्णायकमध्येका समाजशास्त्री माइक सामु पुगे र बोल्न थाले, ‘प्यारा विद्यार्थीवर्ग तथा आदरणीय प्राध्यापकवर्ग ! हेर्नु होस् आजको विषय तुरुन्त निर्णयदिन सकिने किसिमको होइन । आजको हाम्रो यस निर्णयले समाजलाई मार्ग निर्देशन गर्छ । त्यसैले हचुवा पारामा निर्णयगर्नु उपयुक्त छैन । तपाईं प्रतिस्पर्धीहरुले मौलिक एवम् व्यवहारिक प्रमाण पेश गर्नु नै यस विषयको माग हो । अनि त्यसपछि मात्र हामी यस बारे निर्णय गर्ने छौं ।’

अन्ततः त्यहाँ उपस्थित सबै महानुभावलाई दस दिनपछि पुनः सोही स्थान र सोही समयमा भेलाहुने सूचना दिएर कार्यक्रम समाप्त भएको जानकारी दिइयो ।

दस दिनपछि :

सोही स्थान र सोही समयमा अघिल्ला कार्यक्रमका सहभागी र स्रोता तथा नौ जना निर्णायकहरु भेला भएका थिए । दसौं निर्णायक अर्थात् राजनैतिक व्यक्तित्वको कार्यक्रममा अनुपस्थिति रहृयो । अहिलेको नेपालमा राजनीति धेरै दुषित भइसकेकाले राजनीतिज्ञप्रति जनमानसमा वितृष्णा नै जागिसकेको छ । त्यसैले राजनैतिक व्यक्तिको अनुपस्थितिलाई कसैले वास्ता पनि गरेनन् । भागवण्डाका लागि प्रतिनिधित्व गराइएका उनको अनुपस्थिति सबैका लागि प्रिय नै थियो ।

कार्यक्रम औपचारिकता पूर्वक पुनः प्रारम्भ गरियो । विद्यार्थीहरुलाई पूर्व घोषित आआफ्ना उदाहरणहरु पेश गर्ने मौका दिइयो । त्यहाँ पक्ष र विपक्षका दुवैथरि विद्यार्थीहरुले आआफ्ना पक्षका निकै गतिला उदाहरणहरु पेश गरेका थिए । पक्षमा भाग लिएका परम्परावादी विद्यार्थीहरुले परम्पराको रक्षा गर्नु पर्ने उदाहरण पेश गरेका थिए भने विपक्षमा रहेका अत्याधुनिक विचारका प्रस्तोता विद्यार्थीहरुले सोहीसँग मिल्ने क्रान्तिकारी विचार प्रस्तुत गरेका थिए ।

पाठकवृन्द !

”त्यस कार्यक्रममा प्रस्तुत अधिकांश उदाहरणहरु हाम्रै आँखा ओरिपरि छ्याप्छ्याप्ती भएका कारण म ती सबै उदाहरणहरु यहाँ प्रस्तुत गरेर तपाईंहरुको समय खेर फल्न चाहन्न । तर मलाई पनि घत लागेको स्नातक तहका विद्यार्थीहरुद्वारा विषयको विपक्षमा प्रस्तुत गरिएको एउटा उदाहरण तपाईहरुलाई पनि पढाउन मन लागेकाले सो उदाहरण म यहाँ उल्लेख गर्ने अनुमति चाहन्छु । अनि यो सबैभन्दा अन्तिम उदाहरणका रुपमा कार्यक्रममा प्रस्तुत गरिएको कुरा पनि यहाँहरुलाई जानकारी गराउँछु ।

उदाहरण :

१. धुमधाम प्रेम गरेपछि उमेश र उन्नतीले विहे गरे । केही वर्षसाथै विताएका उनीहरुले एउटा सन्तान पनि जन्माए । तर क्रमशः आर्थिक हाहाकारको चपेटाले उनीहरुको प्रेम नै धरासयी हुन लाग्यो । ‘ल अब अरु जस्तै म पनि विदेश गएर पैसा कमाउँछु,’ उमेशले उन्नतीसँग भन्यो र दिनरात विदेश जाने चक्करमा लाग्यो । तर उसले मौका पटक्कै पाएन । दलालहरुसँगको निरन्तरको उठबसले स्वास्नीलाई पठाउने हो भने सकिन्छ भन्ने कुरा उमेशले नै पत्ता लगायो । ‘दिनरात घर झगडा गरेर बस्नुभन्दा बरु आफुले बच्ची हेरिदिएर उन्नतीलाई नै विदेश पठाउन सके पैसाको त दुक्ख हुने छैन ।’ उमेश र उन्नतीवीच कुरा मिल्यो र नै उन्नती पैसा कमाउन इजरायल जाने भई ।

छुटि्टने रात एकअर्कालाई अँगालो हालेर उमेश र उन्नती खुबै रोए । जन्मजन्मान्तरसम्म पनि एकअर्काको बाटो हेर्ने, एकले अर्कालाई कहिल्यै धोका नदिने उनीहरूले वाचाबन्धन गरे । एकअर्कामा मायाँ साटासाट गर्दागर्दै र भविष्यको योजना बनाउँदा बनाउँदै उनीहरुले रात छर्लङ्ङै विताएका थिए ।

भोलिपल्ट गलामा सयपत्रीको माला र निधारमा रातो अक्षताको टीका लगाएर आँखामा आँसु छचल्काउँदै र छातिमा भक्कानो फुटाँउदै उन्नती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र छिरी । उमेशले पनि छातिभरि वेदना र आँखाभरि आँसु पारेर स्वास्नीलाई आँखाले देखुञ्जेल हात हल्लाएर विदा दियो ।

उन्नती इजराइल पुगी र उमेश घर व्यवहारमा व्यस्त भयो । त्यसपछि पनि केही दिनसम्म दुवैले हप्तैपिच्छे फोनमा पनि माया साटे । यति हुँदाहुँदै पनि विस्तारै उमेश ओरिपरिको दुनियाँमा हराउन थाल्यो । अब उनीहरुवीचको फोनको कुराकानीको समय पनि विस्तारै विस्तारै पातलिदैं जान थाल्यो

२. त्यसपछि घर नजिकैकी सन्तु भाउजुको पसलमा उमेशको धेरजसो समय वित्न थाल्यो । सन्तबहादुर पनि पैसा कमाउन इजरायल नै गएको दुई वर्ष भइसकेको थियो । ससाना दुइटा छोराहरु सम्हालेर सन्तु भाउजु पसल थापेर बसेकी थिई । सन्तु भाउजुको पसलमा उमेशको बाक्लिंदो उपस्थितिले गाँउमा निकै खासखुस पनि हुनथालेको थियो । एउटाकी स्वास्नी विदेश गएकी अर्कीको लोग्ने परदेश गएको ! दुवैको खुबै हिमचिम बढेको कुराको सर्न्दर्भले निकै गहिरो अर्थ दिंदै आएको थियो । उनीहरूका माझको सम्बन्धको घनिष्ठताले सबैले लख काटिसकेका थिए । यसअघि पनि हाम्रो समाजमा यस्ता घटना प्रशस्त भएकै हुन् । पुरुष र स्त्री एकअर्काप्रति घनिष्ठ भएपछि सँगै जीवन विताउने घटना नयाँ पनि थिएन । त्यसैले सबैको अनुमान थियो, उमेश र सन्तु भाउजुले अब पक्कै पनि सँगै जीवन  विताउने छन् ।

३. इजरायलमा उन्नती पुगेपछि उसलाई घरको र छोरीको सम्झनाले आक्रान्त पार्‍यो । ‘पैसै सबैथोक होइन, काखकी छोरी र त्यस्तो माया गर्ने लोग्ने छोडेर यहाँ आएर  मैले यो के गरें’ भन्ने पछुतो पनि भयो उसलाई । एक मन ‘फर्क्यौ कि’ जस्तो पनि लाग्यो उसलाई । तर पैसैका लागि लोग्ने स्वास्नीका वीचमा हुने गरेका झै झगडा पनि तत्काल उसले सम्झी । पैसा नभए छोरीको भविष्य अन्धकार हुने पनि उसले सम्झी । अनि त्यसैत्यसै नेपाल फर्किने मन मरेर आयो उसको । ‘होस् .. अब जे होला ! आएको खर्च उठाउँछु । अलिअलि खर्चपानी पनि जम्मा गर्छु अनि मात्रै फिर्छु भन्ने दह्रो निर्णय गरेर उसले मन बाँधी ।

विदेश पुगेको एकमहिनापछि आफुसँगै काम गर्ने र अन्यत्र काम गर्ने निकै साथीभाइसँग उन्नतीको चिनजान भयो । ऊसँगै काम गर्ने सन्तबहादुरले उन्नतीको निकै हेरविचार गर्न थाल्यो । एकै गाँउका हुनाले पनि उन्नती र सन्तबहादुरले एकअर्कालाई अलि नजिकको महसुस गरेका थिए । विस्तारै विस्तारै उनीहरु एकअर्काका लागि अनिवार्य आवश्यकता जस्तै हुन थालेका थिए । सहकर्मी साथीहरुले पनि उनीहरुको जोडीलाई रमाइलो आँखाले हेर्ने गरेका थिए । सन्ते र उन्नती अब छुटि्टँदैनन् नै भन्ने सहकर्मीहरुको बलियो अनुमान भइसकेको थियो । फुर्सत्को अधिकांश समय एकअर्कासँगै विताउने उनीहरुको विषयमा जे सोचे पनि हुने नै भएको थियो । परम्परागत हिसाबबाट मूल्याङ्कन गर्दा अब बाँकी जीवन पनि उनीहरु सँगै नै बस्लान् भन्ने सोच्नु कुनै अनौठो पनि थिएन ।

४. सन्तबहादुर र उन्नती सल्लाह गरेर एकहप्ताको फरकमा घर फर्के । त्यसक्रममा पहिले सन्तबहादुर घर फर्केको थियो ।

अँगालो भरिकी स्वास्नी छोडेर परचक्रि दुनियाँमा पैसाका लागि हराउनु परेको दुखेसो सन्तबहादुरले आफ्नी स्वास्नीसँग पोख्यो । सन्तबहादुरले दुई वर्षको हुँदा छोडेर गएको जेठो छोरो सात वर्षको भइसकेछ । कान्छाको न्वारन गरेर ऊ विदेश गएको थियो, त्यो पनि अब हुर्किसकेछ । आफ्ना कल्कलाउँदा दुई भाइ छोरा देखेर सन्तेको मन खुशीले उम्लिरहृयो । सन्तबहादुरका लोग्नेस्वास्नीले एकअर्काको अभावमा विताएका अनिंदा रातहरुको बखानमा रुँदैहाँस्दै पहिलो रात विताए । एकअर्कालाई आआफ्ना पत्नीव्रता र पतिव्रताको प्रमाण पनि पेश गरिरहे । दुवैले एकअर्कालाई कहिल्यै धोका दिन नसक्ने विचारहरु पनि आपसमा साटिरहे । साथै एकअर्काका कामकुराले दुवै जना सन्तुष्ट भए ।

उसका बाआमाले खोजेर सन्तेका हातमा कन्यादान गरिएकी सन्तेकी स्वास्नीले बिहानै उठेर लोग्नेको खुट्टा ढोगी । त्यसरी लोग्नेका खुट्टा ढोग्दा स्वास्नीको गलामा झुण्डिएको रातो पोतेको झुत्तोका बीचमा गौरवान्वित पहेंलो तिलहरिमा सन्तेले आफ्नी स्वास्नीको सतित्व मुस्कुराएको देख्यो । सन्तेले कल्कलाउँदा छोराहरुलाई सुम्सुम्यायो र धितमरुञ्जेल अँगालोमा चेप्यो । त्यति खेर उसलाई आफुभन्दा भाग्यमानी मानिस संसारमा अर्को छ जस्तो लागेन । सन्तेकी स्वास्नीलाई पनि लोग्ने घर आएपछि आफ्नो संसारै  अझ उज्यालो लाग्यो ।

५. उन्नती तीन वर्षपछि घर आइपुगेकी थिई । रुपियाँ पैसा त उसले मनी ट्रान्सफरबाट पनि पठाइरहेकै थिई । अहिले उसले आफुसँग मनग्गे सरसामान पनि ल्याएकी थिई, लोग्ने, छोरी र घरपरिवारका सबैजसोलाई । त्यति बेला घर परिवारका सबैको खुशीको सीमा नै थिएन ।

उमेशले स्वास्नीलाई पहिलेभन्दा पनि राम्री देख्यो । लाउन खान पनि सिकेकी, श्रृंगारपटार गर्न पनि जानेकी, बोल्न पनि सिकिछे । उन्नतीको सिंउदोको रातो सिन्धुरको लामो धर्कोमा उमेशले आफ्नो दीर्घायू देख्यो । त्यसैत्यसै रहरलाग्दी भइछ उन्नती ! आफ्नै स्वास्नीको पनि झनै लोभ लागेर आयो उमेशलाई । त्यसरात अँगालोमा बाँधिएर एकअर्काको तिर्सनामा विताएको समयको व्याख्या गर्दै उनीहरुले रात विताए । उमेशका छातिमा टाउको राखेर अब सुनैको संसार पाए पनि पतिको विछोड सहन नसक्ने विलौना गायी उन्नतीले । विगतमा एकअर्काको प्रतीक्षामा एकदमै चरित्रवान भएर चोखो जीवन विताएको विश्वास पनि दिलाए दुवैले ।

६. उमेशले सिनेमाको टिकट काट्यो । उन्नतीले छोरी डोर्‍याई । उनीहरु सिनेमा हेर्न गए । सन्ते स्वास्नी र दुईभाइ छोरा चेपेर मेला घुम्न गयो । उमेशले सन्तु भाउजु तिर फर्केर पनि हेरेको थिएन । सन्तु भाउजुले पनि उमेशलाई पसलमा आउनेजाने अन्य ग्राहकजस्तै सामान्य चिनेकोजस्तो मात्र गरेकी थिई । अनि सन्ते र उन्नतीले पनि एकअर्कालाई सामान्य चिनेजानेको मानिसको जस्तो मात्र भाव व्यक्त गरेका थिए । मानौं हिजो दुवैको सम्बन्ध एकअर्कासँग घनिष्ठ थियो भन्ने कुराको दुवैलाई हेक्कै थिएन । त्यस बेला दुइटै जोडी आफ्नो पेशाप्रतिको गर्वमा समाहित थियो । सत्यवान र सावित्रीको पर्याय जस्ता भएर त्यस घडी दुवै जोडी हाँसिरहेका थिए ।

‘अहिले प्रत्यक्ष जे देखिंदै छ यही नै मात्र सत्य हो । बाँकी सबै झुठो हो, मात्र झुठो !’ वातावरण गुञ्जायमान थियो ।

                              ०

यो कस्तो बैवाहिक संस्था हो – यस्तो झुठो र आडम्बरी संस्थाको औचित्य के हो – किन चाहियो यस्तो नाटकीय संस्था – अबको समाजमा यस्तो संस्थाको अस्तित्व नै समाप्त पार्नु पर्छ । बैवाहिक दुईदुई जोडीको एकैठाँउ खामिएको उदाहरण यसरी देखापरेपछि यस्तै थुप्रै आक्रोशित प्रश्नहरु प्रतिध्वनित हुने नै भए । हो ! त्यसैले यस्तो बैवाहिक संस्थाको औचित्य छँदैछैन । बैवाहिक संस्था यथाशिघ्र खारेज गरिनु पर्छ भन्ने हाम्रो माग छ ।”

 

काठमाडौंको पुसको जाडो याममा पनि यो उदाहरण पढिसकेको विद्यार्थीले उसको अनुहारबाट बगेको खल्खली पसिना गोजिबाट रुमाल झिकेर पुछेको थियो ।

अब विद्यार्थीहरुबाट उदाहरण प्रस्तुत गर्ने कार्यक्रम सकिएको थियो ।

त्यसपछि पुनः निर्णायकहरुलाई निर्णयगर्ने समय दिनका लागि सहभागी र आमन्त्रितलाई कार्यक्रममा चियाचमेनाको व्यवस्था गरिएको थियो । त्यसैले सभास्थल ओरिपरि स्रोतादीर्घाका मानिसहरु चियाखाजामा व्यस्त देखिन्थे ।

बन्द कोठाभित्र बसेर छलफलमा लागेका निर्णायकहरुको निकै चर्को स्वर पनि बेलाबेला झयालढोकाका काप नाघेर बाहिर आउन खोजेको जस्तो लाग्थ्यो । केहीबेरमा चियाचमेनाको समय सकिएकाले पुनः कार्यक्रम प्रारम्भ भएको कुरा उद्घोषकले जानकारी दिए ।

निर्णायक मण्डलको नेतृत्व गरिरहेका प्राध्यापक निर्णयबोकेर स्रोता सामु माइकमा उभिए । सँधै गम्भीर देखिने प्रौढ प्राध्यापक त्यसबेला थप प्रौढ देखिएका थिए । उनको गम्भीर अनुहारको तल्लो किनारातिर रहेको मुख विस्तारै खुलेको थियो र त्यसबाट गह्रौं आवाज निस्केको थियो । ‘तपाईं विद्यार्थीहरुले लिनुभएको पक्ष र विपक्षका उदाहरणहरु सुनेर हामी निर्णायकहरुले कसैलाई पनि विजयी घोषित गर्न उपयुक्त ठहर गरेनौं । तर तपाईंहरुले नै प्रस्तुत गर्नु भएका उदाहरणकै आधारमा हामीले वैवाहिक संस्थाका बारेमा यस्तो ठहर गरेका छौं :

“हाम्रो विचारमा बैवाहिक संस्थाको आवश्यकता आज पनि हिजो जत्तिकै छ । तर कुनै पनि सन्दर्भलाई समय सापेक्ष बनाउँदै लैजानु समयको माग हो । हाम्रो समाजमा जुन बेला जुन किसिमले वैवाहिक संस्थाको स्थापना भयो त्यस बेलाको सांसारिक र सामाजिक स्वरुपमा आज अकल्पनीय परिवर्तन आइसकेको छ । त्यसैले उतिबेला स्थापित वैवाहिक संस्थासम्बन्धी मान्यताहरु अहिलेको परिवर्तित र दु्रतत्तर परिवर्तनशील समाजका लागि अनुपयुक्त हुनु अनौठो कुरा पनि होइन । पारम्परिक वैवाहिक संस्थाका मुल्य र मान्यता अब धरासयी भइसकेका छन् । तिनै मूल्य र मान्यतालाई नै अङ्गीकार गर्न नछोड्ने हो भने वैवाहिक संस्थाले किमार्थ निरन्तरता पाउन पनि सक्तैन । पारपाचुकेको भयदायक संख्यात्मक वृद्धि त्यसैको परिणति हो ।’

प्राध्यापकको आवाज शुष्क भएपनि उनको प्रस्तुतिकरण ओजस्वी थियो । आफुले प्रक्षेपण गरिरहेको विचारको प्रतिक्रिया हेर्न उनले एकै क्षण वाचन रोकेर स्रोता दीर्घातिर आँखा दौडाए । स्रोता दीर्घा अकल्पनीय रुपमा उनको विचारप्रति आकषिर्त थियो । सचेत जनसमूहको आफु केन्द्रित ध्यानले प्राध्यापकलाई थप विचार प्रस्तुतिका लागि प्रेरित गर्‍यो । उनी पुनः लिखित विचार प्रक्षेपणमा लागे ।

‘मानिस परिवारमा रमाउने जीव हो, परिवार उसको आवश्यकता हो । पारपाचुकेले परिवार भत्काउने काम गर्छ । जसको असर सम्पूर्ण समाजलाई पनि पर्छ । त्यसैले वैवाहिक संस्थालाई जोगाउनु भनेको परिवारलाई जोगाउनु हो । परिवार जोगाउँदा क्रमशः समाज, राष्ट्र र विश्व जोगाउने उपक्रम वैवाहिक संस्थासँगै गाँसिएका छन् । त्यसैले अबका दिनमा बैवाहिक संस्थालाई जोगाउन जत्ति आवश्यक छ त्यसभन्दा बढी यस संस्थालाई परिमार्जन गर्न पनि आवश्यक छ ।

जैविक, भौतिक तथा मानसिक आवश्यकताका लागि प्राणीले अनिवार्य रुपमा साथ पनि खोज्छ । आफैद्वारा आफूलाई सर्वोच्च प्राणीमा दरिने मानवमात्रले यस्तो संगती कहाँ, कतिखेर र कोसँग गर्छ भन्ने कुरा समय र परिस्थितिले नै निर्धारण गर्छ । पुरुषले युगौंदेखि गर्दै आएको नारीमाथिको एकाधिकारपूर्णको शासनको पनि अब अन्त्य भइसकेको छ । अहिले नारीले पनि आफ्नो अधिकारको झण्डा फहराइसकेको युग हो । त्यसैले पनि पितृसत्तात्मकताको उपज प्रचलित बैवाहिक संस्थाको स्वरुपको औचित्य भने अब समाप्त प्रायः छ ।

अहिलेको एक्काइसौं शताब्दीमा मानवजीवनका अथाह विश्रृङ्खलताहरुले थिचिएर संवेदनाको मृत्यु भइसकेको छ । यर्सथ पनि यस युगमा पतिपत्नीको सम्बन्धलाई मायाप्रेममा मात्रै बाँध्नुभन्दा यस सम्बन्धलाई एउटा पेसाका रुपमा नै रुपान्तरण गर्नु आवश्यक छ । अबका दिनमा बैवाहिक संस्थाभित्र प्रवेश गर्ने लोग्ने मानिसले आफुलाई ‘लोग्न’ पेसामा र स्वास्नी मानिसले आफुलाई ‘स्वास्नी’ पेसामा संलग्न भएको स्वीकार्नु पर्छ । बैवाहिक संस्थामा संलग्न भएका दुवै पेसाधारीले आय आर्जनका लागि बाहिरी दुनियाँमा संलग्न हुनुपर्ने संभावना अत्याधिक छ । लोग्नेस्वास्नी पेसाधारीले आफ्नो लोग्नेस्वास्नी पेसाप्रति चाहिं इमान्दार भएर आय आर्जनमा पनि लाग्नु पर्छ । जुन पेसाको प्रमुख दायित्वका स्वरुप उनीहरुकै सन्तान हुने छन् । त्यसैगरी यस पेसाको क्षेत्रफल उनीहरुद्वारा नै निर्धारित वंशपरम्परा हुने छ । यस पेसाले परिवारको सीमारेखा भित्र कर्त्तव्यपरायणताको आचारसंहितालाई पालन गर्नु पर्ने छ ।

स्नातक तहका विद्यार्थीहरुद्वारा विषयको विपक्षमा प्रस्तुत गरिएको अन्तिम उदाहरण नै आजको वैवाहिक संस्थाले माग गरेको स्वरुप हो । तर यस उदाहरणको प्रस्तुतिपछि वैवाहिक संस्थाको खारेजीको माग गरिएकाले यस समूहलाई पनि हामीले विजयी घोषित गर्न सकेनौं ।’

आदरणीय महानुभावहरु ! प्रतियोगितात्मक यस वादविवादमा सहभागी सबैको जीत र सबैको हार भएको छ भन्ने हाम्रो निर्णयछ ।

प्रौढ प्राध्यापकले निर्णयसुनाइसकेपछि स्रोता दीर्घातिर प्रतिक्रियाका लागि पुनः आँखा घुमाए ।

तर स्रोता संसार चाहिं मौन थियो ।

nai.com.np@gmail.com

 

 

प्रतिक्रिया दिनुहोस्

*