बेल्जियम र ‘म्यानाकमपी ’

-धर्मेन्द्र झा

भौगालिक क्षेत्रफलका दृष्टिले बेल्जियम युरोपकै सानोमध्येको देश हो । अस्तित्व र स्थापनाका दृष्टिले पनि यो देश युरोपको कान्छोमध्येको हो । दोस्रो विश्वयुद्धपछि यसले आफ्नो विकासयात्रा आरम्भ गरेको हो । आज सन् २०१० को जुनको सातौ दिन । युरोप भ्रमणका क्रममा रहेका म र समीरजंग शाह आज सम्भव भएसम्म बेल्जियमको राजधानी ब्रसेल्स घुम्ने मुडमा थियौ ।

हाम्रो मूल बसाई एन्टवोरपनेमा थियो । गोविन्द सुवेदीजीले आतिथ्यता प्रदान गरेका थिए । हामीले गोविन्दजीको यस आग्रहलाई आफूहरुप्रतिको ठूलो सम्मानका रुपमा ग्रहण ग¥यौ र बेल्जियमका प्रत्येक रात उनीसँगै एन्टवोरपेनमै बिताउने निष्कर्षमा पुग्यौ । ओम शर्माजी लगातार हामीसँगै थिए । बेल्जियम रहँदा उनको ठूलो सहयोग प्राप्त भएको थियो हामीलाई । वास्तवमा भन्ने हो ओमजीले बेल्जियममा रहँदा हाम्रालागि अभिभावकीय र पथ प्रदर्शकीय दुबै भूमिका निर्वाह गरेका थिए ।
हामी आज सबेरै एन्टवोरपेनबाट ब्रसेल्स आएका थियौ । यहाँ बर्लिनका लागि टिकटको टुंगो लागउनुपर्ने काम थियो । यहाँ हामीले रबीन्द्रजी र उनकी पत्नी रजनीजीलाई भेट्यौ । रबीन्द्रजी यहाँ लामो समयदेखि व्यवशाय गरिरहेका छन् । बेल्जियममा एकजना उदीयमान नेपालीका रुपमा चिनिन्छन् उनी । आज हामी उनकै जिम्मबारीमा थियौ । रबीन्द्रजीले आफ्नै गाडीमा ब्रसेल्स घुमाए । घुम्ने र हेर्ने क्रममा त्यहाँका संसद, पार्क, न्यायलय, चर्च आदी घुम्यौ ।  ब्रसेल्सका पुराना भवन संरचनाहरु उस्तैउस्तै छन् । पुराना निर्माणहरुलाई हालका दिनमा बडो जतनले जोगाएर राख्ने प्रयन्त गरिएको छ । रबीन्द्रजीले हामीलाई गाडीमै बेल्जियम र ब्रसेल्सबारे बेलिविस्तार पनि लगाइरहेका थिए ।
बेल्जियम पछिल्लो दिनमा बडो द्रुततर गतिमा विकास गरिरहेको देश हो ।  अझ सामरिक दृष्टिले अत्यन्तै महत्वपूर्ण बन्दै गएको छ । य्ुरोपेली युनियन, य्ुरोपेली पार्लियामेन्ट, युरोपेली कमिसनजस्ता महत्वपूर्ण कार्यालयहरु यहँी स्थापना गरिएका छन् । यस्तोमा पछिल्लो दिनमा यो देश युरोपकै राजधानी र मूख्यालयका रुपमा विकसित भइरहेको छ भन्दा अस्वभाविक हँुदैन ।
मैले रबीन्द्रजीलाई सोधँे– ‘तर यो सानो देशको मुख्य आयस्रोत के हो त ? यहाँ त्यस्तो कुनै प्राकृतिकस्रोत भए जस्तो पनि लाग्दैन । ’ रबीन्द्रजी भनिरहेका थिए– ‘मार्केटि∙ यसको मूल अधार हो । यसले आफ्ना उत्पादनको मनग्य मार्केटि∙ गर्न सकेको छ । हतियार बिक्री यसको मुल आयस्रोत मानिन्छ । ’
मैले सम्झे, हो त नि साना हतियार निर्माणका लागि यो सानो देश विश्वमै प्रसिद्ध छ । विगतमा नेपाललाई पनि यो देशद्धारा हतियार बिक्रीको कुरा चर्चामा आएको थियो । जो पछि विवादित भयो । विश्वमा निशस्त्रीकरणका दिशामा जोड दिइरहिएको वर्तमान अवस्थामा बेल्जियमजस्ता अन्य पनि केही देशहरु छन् जो हतियार बिक्रीबाटै आफ्नो अर्थतन्त्र धानिरहेका छन् । मैले पुनः रबीन्द्रजीसँग जिज्ञासा राखेँ– ‘यहाँ आन्तरिकरुपमा पनि हतियार पाइन्छ त? ’ उनको जवाफ थियो– ‘बेल्जियमको हतियार यहाँ पाइदैन । आन्तरिक रुपमा हतियार राख्न जनतालाई रोक लगाइएको छ ।

हतियार त बाहिरी देशलाई बेच्न मात्र उत्पादन गरिन्छ । ’ मैले मनमनै गमे, बाहिर बिध्वंश मच्चाउने समाग्री पठाएर आफू भने कति आनन्दले बस्ने ? विश्वका द्वन्द्वग्रस्त देशमा शान्तिका लागि पहल गरेको देखाउने युरोपेलीहरुको मुख्यालयलाई यसका बारेमा थाहा छ कि छैन ? बेल्जियम हतियारबाहेक झुमर, हिरा, कार्पेट र चकलेटका लागि पनि विश्वमा प्रसिद्ध छ । यहाँका कलात्मक झुमर र कार्पेटको विश्वमा ठूलो मात्रामा माग छ ।  हिराको त संभवतः विश्वमा सबैभन्दा ठुलो कारोवार यहीँ हुन्छ । मैले मेरा साथीहरुलाई जिस्किदै भने – ‘यहाँ प्रसिद्धमध्ये झुमर, कार्पेट, हिरा र चकलेट हेर्न अवसर त जु¥यो तर  हतियार भने हेर्न पाइएन । ’  मेरो मनदशाको अभिव्यक्तिपछि सबै एकछिन हाँसेका थिए ।
घुम्ने क्रममै हामी ब्रसेल्स सेन्ट्रल र डाउनटाउन आइपुगेका थियौ । रबीन्द्रजी र ओमजीका अनुसार यो ब्रसेल्सको प्रसिद्ध पर्यटकीय स्थल हो । यहाँ नआई ब्रसेल्सको भ्रमण पूर्ण हुँदैन । ढुंगा छापिएका पुराना सडक र गल्लीहरु । प्राचीन संरचनायूक्त भवनहरु । तुलनात्मकरुपमा होचा घर, पारस्परिक सामाग्री र क्युरियोका पसल, विगतको राजतन्त्र सम्झाउने राजाको पुरानो दरबार, भव्य चर्च । यो ठाउँको चर्चका बारेमा एक किम्बदन्ती छ । यो चर्च बनाउने मुख्य कालिगढले चर्चको निर्माण सम्पन्न हुनेबित्तिकै आत्महत्या गरेका थिए । चर्च निर्माणमा एक सामान्य त्रुटी रहन गएका कारण उसले स्वयं मृत्यु वरण गरेको भनाइ छ ।

यहीँ रहेको एउटा क्युरीयोको पसलमा नेपालका पनि केही सामाग्री छन् । यी सामाग्री कि त चोरीपछि यहाँ पु¥याइएका छन्, कि त कुनै बेल्जियमबासी नेपाल जादाँ लिएर आएको हो कि त कुनै नेपालीले यहाँ बेचेका हुन् ।  जे पनि हुन सक्छ । मूल कुरा के भने नेपालमा संरक्षित हुन नसकेका पुरातात्विक, ऐतिहासिक र सास्कृतिक दृष्टिले महत्वपूर्ण  सामाग्री यहाँ बिक्रीका लागि राखिएका छन् ।

यसै ठाउँमा ‘म्यानाकमपी ’ पनि छ । पिसाब गरिरहेको सानो ढुंगे बाल आकृति हो यो ।  पछिल्लो दिनमा बेल्जियमलाई विश्वमा चिनाउने सानो पं्रतीकका रुपमा विकसित भएको छ । म्यानाकमपी अर्थात यो ढुंगे बालकले कहिलेदेखि पिसाब गरिरहेको छ ? कसैले यकिनपूर्वक भन्न सक्दैनन् । तर उक्त बालकले अझै निरन्तर पिसाब गरिनै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

*