कल्की

-शिव प्रकाश
केही दिन अघि तर धेरै दिन पछि शाम्भवीको फोन आयो ।
” शार्दूल म बेलाबेलामा अतीतका ती फाँटमा त्यसैत्यसै डुल्न पुग्छु । हामीले टेकेका ती डोब टेक्दै हिड्छु अनि त्यहाँ त्यही तिमीलाई देख्छु । त्यही भएर आज पनि फोन गरेकी अर्थात तिमीलाई सम्झेर ।”
मैले भने- “शाम्भवी तिमी र ममा यही फरक अझै बाँकी छ । तिमी बेलाबेलामा सम्झन्छौ तर म कहिल्यै विस्रन्न । कहिल्यै नविसे्रपछि सायद सम्झीहरनु नै पर्दैन !” केहीबेर हाँसोमा परिणत भएर हाम्रो सम्वाद सकिन्छ ।
शाम्भवीसँग मेरो एकप्रकारको सम्मानित सहवास थियो । आत्मियता र मित्रताको आवादीमा फैलिएको हाम्रो सहवासमा स्नेहका नाता साइना र सम्बन्धहरु थिए तर उसँग मेरो केही छैन । न कुनै नाता-सम्वन्ध न आत्मियता न मित्रता ! यी केही नहुँदा पनि मेरो मानसपटलमा बसेको शाम्भवीको सम्झनालाई उसले प्रतिस्थापित गर्दैछे । शिलामा खोपिएकाअक्षर जस्तै मेरो स्मरणमा खोपिएर बसेकी छे त्यो केटी ! शाम्भवीलाई कहिल्यै नबिसे्र जस्तो अब उसलाई म कहिल्यै नबिस्रने भएको छु
त्यो केटी ! कति खुशी छे आफैंमा ! नितान्त नौलो त्यो आयतीत पनमा ! सापटी लिएको सँस्कारमा ! तिर्नु नपर्ने गरि ग्रहण गरेको त्यो उधारो सभ्यतामा ! यी सबैलाई उसेले जीवनशैली बनाएकी छे । ठीकै पनि छ । जीवन अरुका लागि साँच्ने भए पनि आफू खुशी बाँच्ने हो ।
म कसैको जन्मदिनको एउटा सानो जमघटमा छु । अमेरिकामा “वर्थ डे” मनाइए पनि नेपाली सँस्कार र परिकार प्रसस्त छन् । भित्र अर्को कोठामा उ बोल्दै छे । केटाहरुको झुण्ड छ उ उभिएकी छे । मेरा आँखालाई उसले आफूतिर बारम्बार तानीरहेकी छे । मेरा जस्तै हरेक आँखाहरु उसमा ठोक्किएर एकछिन् रोकिएका छन् । अनि मेरा जस्तै हरेक निख्खर आँखा उसलाई निहाल्न वाध्य छन् तर त्यो केटीको आभारुप सामू मेरा आँखा धेरैबेर टिक्न सकेनन् ।
उसको आदिमरुपको आधाँभन्दा बढीभाग आकाश जस्तै खुल्ला छ । कताकति आकाशमा देखिएका वादलका पाटा जस्तै पहिरनका पाटाले लपेटिएको छ त्यो आदिम शरीर । उसले पहिरेको पोशाकले के छोप्न खोजेको हो ? के देखाउन खोजेको हो ? ठम्याउन सकेनन् मेरा आँखाले । नसकेपछि आँखा चिम्लनु भन्दा बरु मन्टु बर्टानु ठीक ठाने । मैले मुन्टो बटारे । कान खुल्लै थिए आवाज सुनिरहेको थिएँ ।
मानिसको भीड बाक्लिदै छ । उ बोलिरहेकी छे उसको बोलीले सबैको ध्यान तानेको छ । बोलीसँगै उसको पहिरनले सबैका आँखा झन् मजाले तानेको छ । मानौ उसको शरीरमा पृथ्वीको भन्दा भारी गुरुत्वाकर्षण छ ।
ठिटाहरुको हुल एक्कासी बाहिरिन्छ । भान्साको टेबुलमा म रसपान सहित खानपान गर्दैछु । त्यो हुलमा प्रायः परिचित अनुहार छन् तर त्यो एउटा अनुहार एकदमै अपरिचित । सबैले अंकल भनेर अभिवादन गरे तर उसले “हाई बडी” भन्दै मसँग हात मिलाई । म एकछिन् अलमल्ल भएँ । अनि हग गर्न तम्सी । संकोच भयो ।
मैले नमस्ते भने मुखले तर मनमनै यसलाई सभ्यता र सँस्कार सिकाउँकी भन्ने लागेको थियो । कागको तीखो चोसोले पाकेको मेवा ठुँगे जस्तो ठुँगियो मेरो मन ।
” ओ नमस्ते ! हाईू” भनि उसले फेरि ।
हुलको एक ठिटोले भन्यो “उ प्रकाश अंकल हो ।”
उसले फेरि निसङ्कोच भनि “हाई, प्रकाश Û कस्तो छ तिमीलाई ?” यो पटक अशिष्ठताको अर्को थप्पड हाने जस्तो भयो मलाई ।
उ अँग्रेजीमा बोलिरहेकी छे म केही बोलिन । मेरो असहजताको महशूस अर्को ठीटोले गर् यो जस्तो लाग्यो । स्पष्टिकरण दिदै भन्यो– “अंकल, उ नेपाली बुझ्छे तर इङ्गलिस मात्र बोल्छे ।” नसोधेको, नखोजेको र नसोचेको जवाफ दियो त्यो ठिटाले । बन्द ओठभित्र मेरा दाँत एक्कासी लड्न थाले आपसमा । टाउको भित्र बारुलो झै भन्भनिएको रिस दाँतले दाँतसँग पोख्न थाले ।
फेरि पनि म केही बोलिन । फिस्स दाँत देखाएर सहमतिको मुन्टो हल्लाएँ तर भित्रभित्रै मनमा उप्रतिको आक्रोशको भेल उर्लिरहेको छ । मान्छेको मन कहिलेकाहीँ अनुहारमा अनुदित भए जस्तै मेरो मन पनि सायद अनुदित भयो होला उसले निधार खुम्च्याउँदै कुम कक्क्र्याउँदै मधुर बोलीमा निर्लज्ज बोली “ओ माई डियर, ह्याण्डसम ! तिमी ठीक त छौ ?” एकै स्वरमा भनि “तिमी साच्चै ह्याण्डसम देखिन्छौ ।”
“ हजूर ठीकै छु ।”
” तर प्रकाश, तिमी सहज अनुभव गरिरहेका छैनौ । मलाई त्यस्तै लागिरहेछ ।” बोलीमा थोरै आवरणले ढाकी आफ्नो पहिरन जस्तै ।
” हैन केही छैन त्यस्तो ।” उ अँग्रेजीमा बोलिरहेकी छे । म नेपालीमा जवाफ दिइरहेको छु । मभित्र यति बेलासम्ममा धेरै खुल्दुली, उत्सुकता र आक्रोसको युद्ध एकसाथ चलिसकेको छ । मेरो सहजताभित्र असहजातको कालो बादल छाइसकेको छ । मेरो मनको शान्त तलाउको तहमा आवेगको दह मिसिन थालेको छ । धैर्यताको बाँध फुट्न लागे जस्तो भइरहेछ । टिलपिल टिलपिल ! उकुसमुकुस !
” ओ के प्रकाश, म फर्किहाँले” अँग्रेजीमै बोल्दै अर्को कोठातिर लागि । मलाइ अलिकति राहत अनुभूत भयो । लामो सास फेरेँ । कोठा भित्रबाट बाहिर उसको आवाज पहिले जस्तै चर्को र टड्कारो आइरहेछ । गानोमा मौरी झुम्मिए जस्तो गरि ठिटाहरु सबै त्यही झुम्मिएर बसेका छन् ।
मभित्र उत्सुकताको सगरमाथा ठडिन्छ । आफूलाई बुढा पहाडहरु जस्तै स्थिर , धैर्य, सहज र शान्त बनाउँदै म सोच्न थाले- “यो केटी हो को ?  यो केटी पक्कै नेपाली होइन । किन भने नेपाली बोल्दिन । होइन, नेपाली नभए नेपाली कसरी बुझ्छे त ?  होइन, यो केटी नेपाली नै हो । कता कता लाग्छ यो क्यारेवियन वा ब्राजिलियन पनि हुन सक्छे ! हैन, बंगाली जस्ती पनि छे ! कालीकाली हिस्सी परेकी निक्कै राम्री । भारतको पश्चिम बंगालमा नेपाली भाषीको सरसंगतमा रहेका धेरै बंगालीहरु नेपाली बुझ्छन् तर बोल्न सक्दैनन् । यस्तै पनि त हुन सक्छ । आखिर उसले बोल्ने भाषासँग मेरो के सरोकार ? उसको पहिरनसँग मेरो के दरकार ? उसको चालचलन र हाउभाउप्रति मेरो के अधिकार  ? व्यर्थै उसका बारेमा म टेन्सन लिइरहेको छु । म आफूलाई सकारात्क र सहज बनाउने प्रयत्न गर्छु ।
केही क्षण अघि अर्कोतिर बटारिएको मुन्टो अहिले फेरि उतिर फर्किन थालेको छ । रिसाएका आँखा लालयित हुन थालेका छन् । बारम्बार उसलाई हेरिरकेका छन् । मेरा लागि उसको गुरुत्वबल झन बढेको छ ।
” तिमी ह्याण्डसम देखिन्छौ । ओ माई डियर ह्याण्डसम !” अनि “तर प्रकाश तिमी सहज अनुभव गरिरहेका छैनौ ।” अमेरिकामा केटीमान्छेले केटामान्छेलाई यस्तो भन्नु भनेको प्रेमको सांकेतिक प्रस्ताव हो भन्ने सुनेको थिएँ । उसले केहीबेर अघि भनेका
यी शब्द दोहोरिदै तेहेरिदै मेरा कानमा लगातार ठोक्किदै मनमा गुन्जिन थालेको छन् । उसको स्वरुपले आँखाको बाटो भएर हृदयमा डेरा जमाउन थालिसकेको छ । नजानिदो चालाले मभित्र चाहनाहरु चुलिदैछन् । उच्छवासका लघु आभाष मिश्रित उत्सुकताहरु मनमा वयल खेल्दैछन् । त्यो केटी मेरो छेउमा आएर बसिदिए हुन्थ्यो । मसँग कुरा गरिदिए हुन्थ्यो जस्तो लागेको छ । उमेरमा मभन्दा उ निक्कै कान्छी छे तर पनि यसले यस्तो कुरा यत्रो मान्छे सामु मालाई नै किन भनि ? प्रश्नको भीडभित्र मेरो मन हराउन थाल्छ ।
निक्कैबेर भयो म सोचिरहेको छु । उ मेरा सामु आएकी छैन । कि अब त्यो आउँदिन ? आइमाई मान्छे भनेको बगेको खोलो जस्तै हो । त्यसमा पनि अमेरिका ! केटी, काम र मौसमको भरोसा नभएको ठाउँ । कि त्यसले पनि मलाई कतै गवाँर र पाखे त सोचिन । निक्कै अघि बोस्टनको एउटा रेष्टुरेन्टमा काम गर्दाको सम्झनाले मष्तिष्कको पाना एकाएक पल्टायो । एक साना नेपाली भाइबाट गवाँर र पाखेको विशेषणले आभूशित हुनु पर्दाको दुःखानुभूतिले एकछिन अल्मल्यायो । भरखर अमेरिका छिरेर रेष्टुरेण्टमा काम गर्न थालेको मान्छे म । एक अमेरिकी ग्राहकले बोलेको कुरा राम्रोसँग नबुझ्दा र फर्काउन नसक्दा उनले मलाई त्यो विशेषणको दोसल्ला निसङ्कोच ओढाउँदै भनेका थिए “अँग्रेजी नबुझ्ने यस्ता गवाँर-पाखे किन अमेरिका आउनु ?” मैले नसुने जस्तो गरेँ बोल्नै परेन । अर्की एक नेपाली चेली थिइन काठमाण्डुकी नेवारकी छोरी । मान्छेले मान्छेलाई मान, सम्मान, आपमान जे गर्दा पनि कोही खुशी र कोही दुःखी त हुन्छन नै । मलाइ त्यो अपमानपूर्ण सम्मान दिँदा उनले नमीठो अनुहार लाएको देखिरहेको थिएँ, फिसिकक फोस्रो हाँसो हाँसेर पचाएँ । मनमनै भने- “धन्यवाद भाइ । तिमीले मेरो कमजोरीको किलकिले समायौ ।”  प्रतिवाद गर्नु भन्दा नसुने जस्तो गर्न नै ठीक ठाने । अरु केही नेपालीहरु पनि थिए सबैले दाइ भनेर सम्मान गर्थे नजानेको सिकाउथे । दरवारिया खान्दानको हूँ भन्ने ती फुच्चे त्यहाँ काम गर्ने हामी नेपालीमा सबैभन्दा कान्छा र होचा थिए तर अरुलाई होच्याउनेमा सबैभन्दा अग्ला तिनै थिए । सबैले राजाराजा भन्थे आफूलाई राजै ठान्थे । मनले नभने पनि मूखले बेलाबेलामा म पनि भनिदिन्थे । कानाको देशको आँखा चिम्लनु लंगडाको देशमा खुट्टो खोच्याउनु भन्ने सम्झेर चुपचाप बस्थे ।
कतै यसले पनि मलाई यस्तै पो सोचि की ? मनको बाघले खान थाल्यो । उ हरेक शब्द अँग्रेजीमा बोलिरहेकी थिइ म हरेक शब्द नेपालीमा भनिरहेको थिएँ तर उसले जे सोधी त्यसको जवाफ त दिएकै छु नि । नबुझेको त हैन नि । हैन, यसले यस्तो सोचिन ! हैन, नसोचेको भए म छिट्टै आइहाले भनेर पल्लो कोठामा गएकी केटी उतै रमाएर किन बसी ? मनमा फेरि तर्क-वितर्कहरुको दोहोरिलत्ता चल्न थाल्यो । म बेलाबेलामा उतिर हेर्छु तर उ उतै रमाइरहेकी छे । मलाइ भने छटपटीले हुट्हुटी पार्न थालिसकेको छ । उ आइन भने के गर्ने ?
सोचेँ- “म पनि मुर्खको भाँडो नै हुँ ।” उसले मेरो त्यत्रो प्रशंसा गर्दा मैले त्यही अनुरुपको शाब्दिक वा प्रतिकात्म अभिव्यक्क्ति व्यक्त गर्न सकिन । सायद त्यसैले उ मबाट एकैछिनमा अलग्गिएकी होली ! एक छिनमा नजिक भइ, एकै छिन्मा टढा । यहीँका अमेरिकनहरु जस्तै ! हुन त मान्छेको मन र शिशा उस्तै हो भन्छन् सानो कुराले टुट्ने । के मैले यसालाई टुटाएँ त ?  आखिर मलाई राम्रो नभन भन्ने मान्छे को छ यो संसारमा ? मलाई राम्रो भन, तिम्रो मनले खराब ठाने पनि । म मान्छे हुँ भन्ने कुरा मैले किन विर्सेको ? मैले पनि क्षणिक भावुकता मिसिएको भए पनि उसले जस्तै प्रणयमिश्रित प्रेममय बोली बोलिदिएको भए के विग्रन्थ्यो ?  मेरै प्रश्नको पहिरोमा म एकछिन पुरिन्छु । उसको कोमल हृदयलाई मेरो कठोर व्यवहार र रुष्ठ अनुहारले सायद चुडियो कि क्या हो ? मलाई फेरि मनको बाघले खेद्न थाल्छ । केही क्षण अघिसम्म आगो भएको मान्छे अहिले म पानी भएको छु । उ मेरो मनको तहमा तैरन थालेकी छे । भित्रभित्रै मभित्र केही हराए जस्तो भइरहेछ । मनले केही खोजे जस्तो भइरहेछ ।
केही बेर फेरि सोचेँ- “हैन अमेरिकामा केटीमान्छेले केटामान्छेलाई यस्तो कुरा भन्नु सामान्य नै होला । भालुको मन खनिउ माथि जस्तो भएको होला मेरो मन !”
अर्को उपाय सोचेँ- “ल म जानु पर्यो” भनेर अली ठूलो स्वार बोले । मुखले बोलेँ मात्र तर मनले हिड्न चाहेको थिइँन । मात्र उसलाई म सुनाउन चाहन्थे र उसको प्रतिकृया बुझ्न चाहन्थे । सुन्ने बित्तिकै उ दौडेर आई । मेरो पाखुरा सामाउँदै कुर्सीमा बसाई र भनी- “एकछिन् बस न !” के खोज्जस् काना आँखा जस्तो भयो मलाई । मन फुरंग, मस्तिष्क हलुंगो भयो ।
” मैले तिमीसँग कुरा गरिसकेकै छैन कहाँ जान लागेको अहिल्यै” म मुस्कुक हाँसे मात्र ।
” ए तिम्रो नाउँ के रे” उसले फेरि मेरो नाउँ सोधी मैले बताएँ । उ अहिले पनि अँग्रेजीमै बोलिरहेकी छे । म मेरो मातृभाषा नेपालीमै बोलिरहेको छु ।
” तिमी के काम गर्छौ ?”
” म सानोतिनो स्टोरमा काम गर्छु ।” मेरो जवाफ सुनेर निधार खुम्च्याउँदै हात फिजाउँदै घाँटी कक्र्याएर उसले भनि- “किन सारा नेपाली स्टोर, ग्यास स्टेशन र ईण्डियन रेष्टुरेन्टमा मात्र काम गर्ने?  उसको बोली र हाउभावमा हेय भावको अमिलो गन्ध मिसिएको भान भयो मलाई । मैले स्पष्टिकरण दिइन । फेरि पनि भलाद्मी हाँसो मुसुक्क हाँसे ।
उसको अँग्रेजी बोलाईको लवजले लाग्छ यो अमेरिकन होइन । यो यहाँ जन्मेकी पनि होइन । यो यहाँ धेरै सानो उमेरमा आएकी पनि होइन । मेरो मस्तिकमा यो  प्रश्नको लट्टु फनफनी घुमीरहेको छ । प्रश्नै प्रश्नको लामो सूचि तयार भै सकेको छ । उ मेरो एकदमै नजिक बसेकी छे । मान्छेको उपस्थिति पातलिदै छ । मभित्र कताकता असहजताको अनुभूति पनि भइरहेको छ । अचेतनाको आवरणभित्र लुकेको उसको बेलेबेलाको शसक्त सचेत स्पर्शले मेरो शरीर संक्रमित गरिसेको छ । आगो सामुन्नेको मैन जस्तै लोग्ने मान्छेको मन ।
उ अब अमेरिकाका बारेमा , नेपालीको अवस्थाका बारेमा महाभारत सुनाउन थाली । धेरै कुराहरु बताई अमेरिका बारेमा । मानौ म अमेरिका भरखर आएको छु । मैले केही जाने, बुझे र देखेको छैन । म सर्तकतासाथ मेरो भलाद्मी पनलाई बचाउँदै होमा हो र ए, ए भन्दै टाउको मात्र हल्लाई रहेको छु । बेलाबेलामा मुसुक्क हाँस्दै त्यो महाभारतको कर्कश ध्वनी एककोहोरो सुनाउन वाध्य बनाउछु मेरा निरिह कानलाई । उसले नेपाल र नेपालीका बारेमा धेरै कुरा गरि तर ती धेरैमा धेरै नराम्रा मात्र गरि । यहाँबाट अब म फेरि उल्टो हुन थालेँ । पहिले सुरुमा उसले हात मिलाउँदाको अवस्थामा म विस्तारै फर्किन थाले । भित्रभित्रै विपरित दिशा तिर बग्न थाले । हावाहुण्डरी जस्तो कहिले पूर्वबाट । कहिले पश्चिमाबाट । छिन्छिनमा दिशा परिर्वनतन गर्दै छ मेरो मनले ।
अहिले ती ठिटाहरुको झुण्डलाई उसले त्यसरी नै छोडिदिइ जसरी केहीबेर अघि मलाइ छोडेकी थिई । फल रित्तिएको रूखलाई चराहरूले छोडे जस्तै । मन भाँडिने र बाँडिने क्रम जारी छ । फेरि बाँडियो । एक मनले अब यो केटीको फन्दाबाट उम्किनु नै वेश हुन्छ भन्ने ठाने । अर्को मनले हैन यसको बारेमा मैले जान्नै पर्छ भने । सोधेँ- “हामीबीच धेरै कुरा भयो तर तपाइँको नाउँ थाह भएन ।”
“ कसरी थाह हुन्छ त ? तिमीले अहिलेसम्म सोधेका छैनौ ।” उसको बाचाल जवाफले मलाई एकछिन् नाजवाफ बनायो । म फेरि भलाद्मी हाँसो हाँसे मुसुक्क । उसले आफ्नु नाउँ बताई । उसको नाउँ सुनेर फेरि म एकछिन अल्मलिएँ । यस्को नाउँ न हामी नेपालीसँग न भारतीयहरुसँग मिल्ने खालको छ ! म एकछिन् घोसेमुन्टो लाएर एककोहोरिएँ । म निक्कै होसियारी र सतर्कतासाथ उसालाई पढ्ने प्रयत्न अझै गर्दैछु । म फेरि पुरानै कुरामा फर्नक चाहेँ र सोधेँ- “स्यान्ड्रिया तपाइँको मातृभूमि कुन हो अर्थात कुन देशबाट आएकी ?” मलाइ विश्वास थियो यो केटी अमेरिकामा जन्मेकी चैं हैन ।
अनुहार खुम्च्याउँदै बताइ- “नेपालबाट !” थोरै सोचेको तर धेरै नसोचेको उत्तर दिई उसले । दार्जिलिँगेहरु धेरै नखरा पार्छन भन्ने सुनेको थिएँ । उतैकी होली भन्ने थोरै अनुमान थियो ।
नेपालबाट भन्दा खुशी हुनु पर्ने तर मभित्र एउटा दुःखको पहाड उचालिएर ज्वालामुखी फुट्यो । आफूलाई आफैभित्र काबुमा राख्दै फेरि सोधेँ- “के काम गर्नुहुन्छ ?” आँखी भौं तन्काउँदै अनुहारमा गर्वको अनुभूति झल्काउँदै अलि उच्च स्वरमा भनि- “अमेरिकनको बच्चा हेर्छु ।” मानौ अमेरिकनको बच्चा अप्सराले मात्र हेर्छन् ।
आफूलाई अझ सामन्य बनाउँदै सोधेँ – “कति भयो अमेरिका आएको ?”
नजरका छड्के तीर मेरा निर्दोष आँखा तिर तेस्याउँदै सहज जवाफ दिइ- “सात वर्ष !”  उसको त्यो सात वर्ष भन्ने जवाफ मेरो मुटुमा सात तीर भएर रोपिए जस्तो भयो ।
विनम्रता साथ फेरि सोधेँ- “अहिले तपाइँ कति वर्षकी हुनु भयो ?” “चौविस ।”
यो सबै उसले अँग्रेजीमै बताइरहेकी छे । एकछिन फेरि चुपचाप बसेँ आँखा चिम्लिएँ । भगवान सम्झिएँ ।
“ प्रकाश के भयो ?” आश्चार्यवोधक बोली बोली । “खासै केही हैन ।” मभित्रको असहजतालाई थिच्दै सहज जवाफ दिएँ । के सोचेको भन्दै मेरो हत्केला तानी । झसङ्ग जस्तो भएँ र फेरि मुसुक्क मुस्कुराउँदै भने- “केही हैन ।” मनमा फुलेको उच्छवासको फूलमा पराग बनेर बसेको उप्रतिको प्रेमरागको रस अब सुकिसेको छ । म रिठ्ठो भै सकेको छु ।
“ मलाई त म्याराथन मन पर्छ । तिमीलाई कुन खेल मन पर्छ ?” एकाएक उसले एक पागल प्रश्न गरि । आकासको कुरा पाताल पुर्याए जस्तो लाग्यो मलाई । उसले किन एकाएक यो कुरा सोधी भित्रभित्रै म आफैलाई सोध्न थाले ।
“ मेरो प्रश्नको जवाफ किन नदिएको ?” फेरि मलाई घचघच्याई । मैले भने- “बुझिन यो कुनै चाखलाग्दो र उत्तेजनात्मक  खेल पनि होइन तै पनि मन पर्नुको कारण के हो ?”
त्यतिबेलासम्म त्यहाँ उ र म मात्र छौ । प्राय सबै आ-आफ्नो गन्तव्यतिर लागिसकेका छन् । पल्लो कोठामा केही मान्छे गफ गरिरहेका छन् आ-आफ्नै धुनमा ।
“ म्याराथन धावक भनेका लामा दुरीका धावक हुन् । तिनमा स्टेमिना ज्यादा हुन्छ । लोग्नेमान्छेमा स्टेमिना हुन जरुरी छ । माइ डियर, सेक्स फिलोसफी पढ त्यसबाट थाह हुन्छ । म्याराथनका खेलाडी अलि पाका र छिप्पिएका हुन्छन् थाह छ, मलाई यस्तै लोग्नेमान्छे मन पर्छ ।” यो सुनेर मैले उसलाई यसपटक तलदेखि माथिसम्म आरामले हेरेँ । म उसलाई पढ्न खोजीरहेको छु तर अब झन् अल्मलिएँ । उ मेरालागि झन क्लिष्ट, झन् गुढ र झन् रहस्य बन्दै गई । एउटा अवोधगम्य महाकाव्य जस्तो । उसँग आँखा जुधाउने प्रयत्न गरेँ सकिन । मसँग कुरा गर्दा गर्दै उसले निक्कै वाइन पनि पिइसकेकी छे ।
“ अनि तपाइँको खास नाउँ के हो बताउन मिल्छ ?” विनम्रतापूर्वक सोधेँ ।
उसको अनुहार एकाएक फूलजस्तै फक्रियो । आँखा सन्काउँदै टाउको हल्लाउँदै भनि- “मिल्छ माइ डियर ! तिमीलाई सबै कुरा बताउन मिल्छ । नेपालको मेरो नाउँ शारदादेवी हो तर मलाई यो नाउँ मन पर्दैन । त्यसैले मैले आफूलाई स्यान्ड्रिया बनाएँ । ओ प्लिज ! मलाई तपाइँ नभन । तिमी भन ।”
मभित्र भुतभुते खनिए जस्तो भयो र पनि मनमनै हाँसेँ । मनको हाँसो सायद मेरो अनुहारमा फेरि कताकता पोतियो होला ! उसले अनुमान लाउँदै भनि- “तिमीलाई मेरो कुरा मन पर्यो र त तिम्रो अनुहार हँसिलो भयो ।” म केही बोलिन ।
फेरि सोधेँ- “अनि किन अँग्रेजीमात्र बोल्नु भएको ?”
मेरो हात समाउँदै भनि- “सरी, मैले नेपाली सबै विर्सिएँ !”
यो जवाफ सुनेर म एकाएक छाँगाबाट खसे जस्तो भएँ । तातो झिरले घोचे जस्तो घोच्यो मेरो मुटु उसको यो अन्तिम वाक्यले । यसले सात वर्षमा आफ्नो मातृभाषा विर्सिइ भने यसले आफ्ना मातापिता पनि विर्सिइ । दाजुभाइ, दिदीबहिनी, नातागोता, इष्टमित्र, साथीसंगत, गाउँठाउँ सबै विर्सिइ ! अर्काको देशमा शरणार्थी जस्तो बसेर आफ्नो मातृभूमिको खिल्ली उडाउने कुरा बाहेक यसले सबै विर्सिइ ! नराम्रा बाहेका राम्रा सबै विर्सिइ । महिनौ कोखमा बास दिने र धरतीमा पहिलो पाइला टेक्न साहस दिने ती माता र मातृभूमिलाई सात वर्षमा विर्सनेले मलाई त सात मिनेटमा विर्सन्छे । सायद यसले मलाइ सात मिनेटका लागि धावाक चुन्न खोजेको हो !
******
सृष्टि विधाको अनुपम सृजनाको स्वरुप नारी, त्याग र तपस्याकी प्रतिरुप नारी, उत्सर्गको उपमा नारी, प्रेमको आधार र स्रोत नारी ! त्यो नारीको श्रद्धा, सुधा, शक्ति, लज्जा, दया, मायाँ, छाँया, दातृ, भातृ र मातृरुपका ती सुन्दर स्वरुप सम्झेँ । अनि त्यही नारीको यो विरुपमय/विभत्स रुप ! यो कल्कीरुप !
म जुरुक्क उठेँ र भने- मिस शारदादेवी उर्फ स्यान्ड्रिया तिमीले सोचे जस्तो म्याराथन धावक म नहुन सक्छु … ! उ निधार गाँठौ पार्दै अँग्रेजीमै फ…फ… उच्चारण गर्दै थिई, म हिडेको हिड्यै भएँ । अहिले त्यही स्यान्ड्रिया शाम्भवीजस्तै सम्झिरहनु नपर्ने गरी मेरो मस्तिष्कमा सधैं नाचिरहेकी छे ।

जून १४, २०११ बोस्टन, अमेरिका

प्रतिक्रिया दिनुहोस्

*