सरदार रूद्रराज पाण्डे

- नरेन्द्रराज प्रसाई

सरदार रुद्रराज पाण्डे संवत् १९५७ साल फागुन २६ गते पद्मराज पाण्डे र टीकालक्ष्मीका सुपुत्रका रूपमा काठमाडौँमा जन्मेका थिए । पाण्डेका पुर्खा गोर्खाका शाह र पाल्पा अनि तनहुँका सेन राजाहरूका गुरु थिए ।

सरदार पाण्डे नेपालका एउटा नागरिक मात्र थिएनन्; नेपालका एउटा होनहार, त्यागी र तपस्वी व्यक्तित्व थिए । पाण्डेकै दूरदर्शी सोचाइको कारण नेपालीले स्वतन्त्रतापूर्वक नेपाली शब्दलाई उच्चारण गर्न पाए । राणाकालीन समयमा नेपाली भाषालाई भारतमा लगेर मान्यता दिलाउने रुद्रराज पाण्डे नै प्रथम गुरुबाबु थिए । नेपालका विद्यार्थीलाई पटनामा पुगेर म्याटि्रक (एस.एल.सी.) दिने प्रचलनलाई उनले हरेक जुक्ति पुर्‍याएर नेपालबाटै सो परीक्षा दिने परिपाटी मिलाई दिए ।

सरदार पाण्डेको सबैभन्दा मनपर्ने चीज नेपाल थियो, नेपाली भाषा थियो र नेपाली राष्ट्रियता थियो । त्यसैले उनी नेपालका लागि मरिमेटे, नेपालको शिक्षा विकासका लागि समर्पित भए र नेपाली भाषाको विकासका लागि चारैतिर कुदे । उनी नेपालमा शिक्षाको दियो सल्काउने महारथी थिए । त्यसैले उनी पहिलोपल्ट सरदार बने । उनलाई प्रायः धेरैले सरदार बाजेका नाउँले नै चिने ।

सरदार बाजे शिक्षा विकासको एउटा राजमार्ग थिए । राणाकालीन युगमा नै नेपाली भाषा प्रचारप्रसारमा पाण्डे दत्तचित्त भएर लागे । उनैको सल्लाहमा जुद्धशमशेर महाराजले नेपाली भाषा प्रकाशिनी समिति र नेपाली भाषा अनुवाद परिषद्को समेत स्थापना गरे ।

पाण्डे हक्की, स्पष्ट र निर्भीक थिए । उदाहरणका लागि भन्ने हो भने उनी त्रिचन्द्र कलेजको प्रिन्सिपल भएताका गङ्गालाललगायत केही विद्यार्थीलाई समात्न कलेजक्षेत्रमा पुलिस प्रवेश गरे । अनि पुलिसको अनुशासनहीनताको कारण उनी कड्किए, “त्रिचन्द्र कलेज मेरो जिम्मामा छ, यहाँभित्र पुलिस पस्न पाइँदैन ।” त्यस घडी एउटा नैतिक व्यक्तित्वका अगाडि राणाप्रशासन पनि मौन भयो ।

नेपाली समाजमा अनुकरणीय प्रेरणादायी र उल्लेखनीय योगदान दिने एउटा विशिष्ट व्यक्तित्व थिए सरदार पाण्डे । उनी काम गरेर राणाकालीन युगमा नै चर्चित भए । राणा शासक पनि उनको योगदानले आहृलादित थिए । त्यसैले राणाकालमा नै यी विभिन्न पगरीले सुशोभित थिए ।

पाण्डेले स्कुले शिक्षा दरबार हाइस्कुलमा ग्रहण गरेे । नेपालमा पढे तापनि भारतबाट जाँच दिने प्रावधानले कलकत्ता विश्वविद्यालयबाट उनले प्रथम श्रेणीमा म्याटि्रक पास गरे । त्यसबापत उनले राणा सरकारबाट तीन सय रुपियाँ बकस पनि पाएका थिए ।

म्याटि्रक पासपछि पाण्डेलाई आइए पढ्न राणाले नै छात्रवृत्ति दिए । त्यसैले उनी कलकता विश्वविद्यालय गए । तर त्यहाँ उनी धेरै बसेनन् र इलाहावाद पुगे । उनले त्यहीँको प्रयाग विश्वविद्यालयबाट एमए पास गरे ।

एमए पास गरेपछि श्री ३ चन्द्रशमशेरले पाण्डेलाई त्रिचन्द्र कलेजको प्रोफेसरमा ठाडो नियुक्त गरे । त्यसैताका दरबार स्कुलको मास्टरमा पनि उनको नियुक्त भयो । केही समयपछि उनलाई सो स्कुलको हेडमास्टरमा बढुवा गरियो । त्यस बेलासम्म नेपालमा अरू हाइस्कुल पनि थिएनन् र उनी प्रथम नेपाली हेडमास्टरमा स्थापित भए ।

पाण्डे अनुशासनका नम्बरी सुन थिए । त्यसैले उनी जहाँ जान्थे त्यहाँका विद्यार्थी डरले थर्थरी काम्थे । त्यस बेलासम्म मुसलमान तथा दलितले अरू विद्यार्थीसँग बसेर पढ्न नपाइने प्रचलनलाई पनि यिनले एक्कासी तोडिदिए । शिक्षाका सन्दर्भमा उनी जे बोल्थे त्यो झन्नै कानून झैं हुन्थ्यो ।

पाण्डे जनचेतनाका लागि हरेक जुक्ति निकाल्थे । उनी शिक्षित वर्ग सामाजिक जागरण लाग्नु पर्छ भन्थे । त्यसैअनुरूप हरेक कसरत गरेर उनले १९९४ सालमा नै बालकृष्ण समकृत ‘मुकुन्द इन्दिरा आफ्ना विद्यार्थीद्वारा अभिनय गर्राई पर््रदर्शन गराएका थिए । वास्तवमा उनको योगदानबाट शासक वर्ग सधैं नतमस्तक हुन्थ्यो । किनभने उनी मुलुकको भलाईमा मात्र केन्द्रित हुन्थे ।

पाण्डेको उत्कृष्ठ योगदानको कदरस्वरूप राणा सरकारले उनलाई त्रिचन्द्र कलेजको प्रिन्सिपलमा नियुक्त गर्‍यो । उनी प्रिन्सिपल भएपछि त्यहाँ बीएस्सीे स्तरको पनि पर्ढाई हुन थाल्यो । वास्तवमा उनी विद्यार्थी र अविभावककै चाहनामा लगेर आफ्नो विवेक र कर्म जोडिदिन्थे ।

पाण्डेको उत्कृष्ट शिक्षासेवाको छाप राणा शासनमा नै छापिएको थियो । त्यस घडीको उनको त्यस छापले प्रजातन्त्रवादी राजनीतिज्ञहरुको समेत मन ढाकेको थियो । त्यसैले २००७ सालमा प्रजातन्त्र खुलेपछि पाण्डे शिक्षा मन्त्रालयको सचिवमा नियुक्त भए । त्यहाँ बसेर पनि उनले शिक्षा विकासका लागि आफूलाई समर्पित गरिरहे ।

पाण्डेको योगदान विर्सिनसक्नुको थियो । त्यसैले प्रथम आमचुनावका लागि गठित निर्वाचन आयोगमा उनी आयुक्तमा मनोनीत भए । त्यस काममा पनि उनको निष्पक्ष व्यवहारको धेरैले तारिफ गरे । उनी जे गर्थे मर्यादित भएर गर्थे । किनभने उनले आफ्ना शिरमा सधैं नैतिकताको फेटा गुँथ्थे ।

पाण्डे २०१७ सालसम्म राष्ट्रको सेवामा कृयाशील थिए । त्यसपछि शान्तिप्रिय जीवन भुक्तान गर्ने अभ्रि्रायले उनी काशी गए । त्यति बेला उनले नेपाल नर्फकने हिसावमा आफूलाई बाँधेका थिए । तर राजा महेन्द्रले उनलाई नेपाल आएरै काम गर्न निक्कै दरो आग्रह गरे । अनि उनी नेपाल आए । नेपाल आगमन हुनेवित्तिकै उनी त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा मनोनीत भए । त्यसपछि उनले विश्वविद्यालयको विविध विकासमा महत्वपूर्ण पाइला चाले । त्यस बेला पनि यी फेरि चर्चाका शिखरमा चढे । वास्तवमा नेपाली समाजमा यिनको खुबै सम्मान हुने अर्को कारण पनि थियो । त्यो के हो भने- उनी साहित्य लेखनमा पनि प्रसिद्धि कमाई सकेका स्रष्टा थिए ।

नेपाली भाषासाहित्यको पहिलो मौलिक र सामाजिक उपन्यास ‘रूपमती’ १९९१ सालमा प्रकाशनमा आएको थियो । ‘रूपमती’का लेखक पनि पाण्डे नै थिए । अनि यस उपन्यासको अङ्ग्रेजी भाषामा शान्ति मिश्र र उर्दूभाषामा प्रा.डा.ताहिरा निगत नैयरबाट अनुवाद भयो ।

पाण्डेले नेपाली भाषासाहित्यमा डेढ दर्जन कृति लेखे । उनका कृतिहरू उपन्यास, कथा, नाटक, हास्यव्यङ्ग्य, प्रहर्सन, इतिहास र धार्मिक चिन्तनमा आधारित छन् । उनको सम्पूर्णा कृतिहरू समेटेर नइ प्रसाईको सम्पादनमा एउटा वृहद् समालोचनात्मक ग्रन्थ ‘रुद्रराज पाण्डे : सृष्टि र दृष्टि’ (२०५४) प्रकाशित भयो ।

पाण्डेलाई श्री ३ जुद्धशमशेरले गोरखादक्षिण बाहु चौथा र सरदारको पद्वी दिए । उनलाई पद्मशमशेरले त्रिशक्तिपट्ट तेस्रो दिए । अनि राजा महेन्द्रले उनलाई पहिलो दर्जाको गोरखादक्षिण बाहु प्रदान गरे । उनले अलङ्कार, पदक र पुरस्कारका प्रमाणपत्रहरू एक डोको जति पाएका थिए । पाण्डेले नै आफ्ना बुबा, आमा र गुरुका नाउँमा पनि पुरस्कार र विद्यापदकहरूको स्थापना गरे । उनको शेषपछि उनका ज्वाइँ अर्थविद् डा.यादवप्रसाद पन्तको अध्यक्षतामा रुद्रराज पाण्डे साहित्य समितिको स्थापना पनि भएको थियो ।

पाण्डेले आफू बनारसको केदारघाटमा नै ब्रहृमलीन हुने इच्छा राखेका थिए । त्यही अनुरूप उनकी धर्मपत्नी चेतकुमारी र उनका छोराहरू माधवराज, कृष्णराज र बद्रीराज अनि छोरीहरू रमादेवी पन्त र श्री भण्डारीले उनलाई त्यहीं पुर्‍याइदिए । अनि त्यहाँ पुगेको दस दिनमा अर्थात् २०४३ साल चैत २३ गते उनले त्यसै ठाउँमा आफ्नो प्राण त्यागे।

naiprasai@gmail.com

प्रतिक्रिया दिनुहोस्

*