हाम्रा राम

- तिलकप्रसाद सापकोटा

म बसेको घरमा एकजना राम छन् । उनीसँग नजिक भएदेखि एक महिनासम्म मैले उनका सबै क्रियाकलाप नियालें । यतिन्जेलमा उनले अठारभन्दा बढी रामावतार लिएछन् । तिनले त्रेतायुगका अयोध्याका राजा रामचन्द्रदेखि हाम्रा गाउँका तल्लो टोलदेखि माथ्लो टोलसम्म र बजारका विशाल भवनदेखि कोठासम्मका रामावतार लिन्छन् । अयोध्याका रामका बारेमा वर्णन गर्न आदिकवि भानुभक्त आचार्यले त सकेनन् भने म कहाँ सक्छु र ? म त उनलाई कोटिकोटि नमस्कार मात्र गर्न सक्छु । तिनका बारेमा लेख्ने त कुरै नगरौं । अहिले आँट गरें भने अर्को जुनीमा चाहिँ लेखिएला कि ? आधुनिक कालका रामहरूको पनि वर्णन गर्न सक्दिन । एकजना राम छन्, जो म बसेकै घरमा बस्छन्, मैले तिनका बारेमा मात्र लेख्न खोजेको हुँ ।
यी राम हरेक दिन बिहान मिर्मिरे नखस्दै उठ्छन्, नित्यकर्म सकेर नुहाउँछन्, धोती फेर्छन् । पूजाआजा गर्छन्, रूद्री, चण्डी पढ्छन् । भजन गाउँछन् । अरू कोठामा बस्नेलाई तीलक लगाइदिन्छन्, प्रसाद पनि खुवाउँछन्, आशीर्वाद र उपदेश दिन्छन् । खाना खाएर कोठाबाट ननिस्किन्जेल उनलाई जो कोही पनि यी राम अयोध्याका जस्तै छन् भनेर दण्डवत गर्छन् ।

घरबाहिर निस्किएपछि उनलाई सडक राम भन्छन् । चार हात फाल्छन्, लम्बेतान पर्छन् र सडकको मध्यभागमा सुकला हुन्छन् । त्यसपछि त एकाएक सवारी रोकिन्छन्, चालकहरू, यात्रीहरू खैलाबैला गर्छन्, ‘कसले मान्छे मारेर फालेछ सडकमा ?’ यात्रु भन्छन्, ‘आज पनि सडक जाम !’ थाहा पाउनेहरू भन्छन्- यी हरामले आज पनि गरे सडक जाम ! प्रहरी आउँछ, सर्जमिन गरी मुचुल्का तयार पार्छ, लास उठाओ भन्दा त सडक राम जुरूक्क उठ्छन् ‘सरी भन्छन्, फटाफट आफ्नो बाटो हिँड्छन् । देखिरहनेहरू भन्छन्- रामको बानीको कहानी कसले जान्नी ?

यी राम राजनीति पनि गर्छन् । राजनीति कहिलेकाहीं मात्र देश र जनताका पक्षमा गर्‍या जस्तो गर्छन् धेरैजसो त आफ्नै पक्षमा मात्रै गर्छन् । बेलाबेलामा अरूभन्दा अगाडि देखा पर्छन् । अरूको विरोध गर्नुपरे बडो कड्किन्छन्, अरू सबै नेता छायामा पर्छन् । बौदल आ’को बेलामा बाटोघाटो, पुलपुलेसा उद्घाटन गर्दा  सबैले भनेका थिए, ‘यी त विकासे राम हुन् ।’

गणतन्त्र आएपछि बिचरा प्रतिपक्षमै थुप्र्‍या थुप्र्‍यै छन् । सरकारको नेतृत्व गर्न खोजेका थिए । तर के गर्नु ? प्रचण्ड, झलनाथ र डा. बाबुरामले मिलेर संसद्मै अठारपटक लडाइदिए । अहिले त संसद्मा छिरे भने सबैले भन्छन्, ‘ऊ आए अठारौं औतारी राम ।

साँझका रामका बारेमा त बताउनै बाँकी छ । यी राम कार्यालय समयमा र्फकनुपर्नेमा एकदुई घन्टा ढिला गरेर मात्र फर्किन्छन् । बसबाट ओर्लेर घरको गेटसम्म आइपुग्न अरूलाई दस मिनेट लाग्ला तर उनलाई एक घन्टा लाग्छ । घरको गेटबाट कोठामा पुग्न अरू बीस पाइला हिँडे पुग्छन्, उनलाई आधा घन्टा लाग्छ । यस बीचमा उनी दसचोटि लड्छन् र उठ्छन् । एकपटक उठ्न पाँच मिनेटजति लगाउँछन् । बल्लबल्ल उठ्छन्, दुई पाइला सारेपछि फेरि डङरंङ लड्छन् ।
उनी कसैलाई चिन्दैनन् । आफैंलाई पनि चिन्दैनन् । ‘म को हुँ भन्न यार’ भनेर अरूलाई पो सोध्छन् । चिनेकाहरूलाई नै ‘ता को हा ?’ भनेर सोधिरहन्छन् । आफ्नै श्रीमतीलाई ‘तिमी को हा ? तिमी र म बिहे गरौं न’ भन्छन् । आफ्नै छोरालाई ‘बाबुको नाम के हो हा ?’ भनेर सोध्छन् । छोरोचाहिँ ‘मा तपाइँकै छोरो होइन’ भनेर पटकपटक भन्दा पनि उनी छोरालाई सोधिरहन्छन् । सेप्टीट्यांकीको पाइपबाट जस्तै आफ्नो मुखबाट मिथेन ग्याँस निकाल्नछन् । यस्तो बेलामा उनका बाबु भन्छन्, ‘झल्लुराम, सिल्लिराम, हराम आदि ।’ बिहानचाहिँ ‘मेरा प्यारा राम’ भनेर चेपारे पाराले बोलाउँछन् ।

संविधानसभामा बसिरहेका नेताहरूलाई देखेर कहिलेकाहीं भन्न मन लाग्छ- संसद्का यी राम र हाम्रै राममा केही फरक छ ?

1 प्रतिक्रिया

  1. chuda nirvic says:

    Baburam ko catagory pani yehi bhitra nai ho ra ? Tilakji ?

प्रतिक्रिया दिनुहोस्

*