ल्याम्पपोस्ट

- मनु मन्जिल
निभेर दिनभर उभिन्छु अचेल सडक किनारामा
बाँच्नै नहुने धेरैजसो दिनहरु बाँचेर
मात्र आयु नाघ्न नसकेर उभिएजसरी ।
यति खराब जिन्दगी पनि अभिनय होइन ।
यो विनाअर्थ उभिनु पनि सपना होइन ।
सिसाको यौटा आँखाले
बिहानको प्रत्येक रातो गुलाबमा आफ्नै लाज
प्रकाशित भएको हेर्दै
यो दीप्त आकाश तल, निभेर
दिनभर उभिन्छु अचेल सडक किनारामा ।

बरु एकैछिन उभिए पनि तानाशाहको अनुहारको
तेज झ्याप्प निभ्नेगरि
शहादतअघि वीरले उभिएजस्तो उभिनु रैछ ।
बरु निमेषभर उज्यालिएर एउटा विश्व हाँस्नेगरि
बादललाई मैदान बनाएर बिजुली दौडनु रैछ
बरु कैलेकाँही त कसैले ढुंगैले हानिदिए पनि
आवाज दिँदै घण्टाघर ब्यूझिन्थें कि म आफै
कसैले अघिल्तिर उभिएर ऐनाझैं हेरिदिए पनि
एकछिन प्रेम मुस्कुराउँथें म आफैं ।
पछारिनुभन्दा पनि बेमज्जाको छ
सधैंजसरी म उभिएको छु
मात्र आयु नाघ्न नसकेर उभिएजसरी ।

जिन्दगी आफू मूल सडकैसडक हिँड्छ
उभ्याएर मलाई सडक किनारामा ।
आज फेरि मेरो भाषा खोसेर उ हल्ला गर्दै गएको छ
मेरो मौनता लिएर उ गाउँतिर गएको छ
मेरो आवाज लिएर उ सहरतिर गएको छ
छाडा जिन्दगी ।
मैले पर्खिउन्जेल आइपुग्छ आइपुग्दैन
अन्तिम साँझसम्म आइपुग्छ आइपुग्दैन
बाँच्न नजानेकामा माफी माग्नु थियो मैले ।
जिन्दगीमा जिन्दगी पर्खेर
दिनभर उभिन्छु अचेल सडक किनारामा ।

सामुन्नेको पतझडको नांगो रुखको अहं पनि
मसित छैन
हरियो स्वर्ग बोकेको इतिहास छैन ।
कुनै कन्जुसले आफ्नै प्रेमिकाको पाउ नअट्ने गरी
ओछ्याइदिएजस्तो
आफ्नै एक धर्को छाया टेकेर उभिएको छु
यो अव्यवस्थित देशमा हाँस्नै गाह्रो छ र मात्रै
हाँस्न पाए त हाँस्ता हाँस्तै आफैं ढल्नेगरि
आफैंलाई,
गिज्याउन मन लागेको कति हो ।

तर कसोकसो घाम डुबेपछि म पनि बल्छु धप्प
मातेको साँझ उज्यालिएर म वरिपरि बसेर फिस्स हाास्छ ।
बटुवा आएर घडी हेर्छ मेरै उज्यालामा
कुनै बेघर बालकले काखझैं सुन्दर
उज्यालो भूमि भेट्छ ।
पोखिदिन्छु एकान्तमा म पनि छाती
र कैलेकाँही त साँच्चै त्यही कोही आएर बासै बस्छ
कमलाई थाहा छ कि यदाकदा यो
सहरको छेउ
यौटा ल्याम्पपोस्टबाट लगातार जूनको उज्यालो खस्छ ।

प्रतिक्रिया दिनुहोस्

*