मृत्युको शब्दकोष

-प्रमोद स्नेही

भोलि बिहान उदाउने
सूर्य
म देख्छु
देख्दिनँ, त्यो मलाई पनि
थाहा छैन।
तर यो सत्यदेखि भने
म अनभिज्ञ छैन।
कुनै दिन मैले पनि
यसरी नै जल्नुपर्छ
यो चितामा
जसरी संवेदनहीन भएर
जलाई रहेछु
अरु परिचित अपरिचित
थुप्रै थुप्रै मान्छेका
लासहरु।
. . .
यो आगो
साह्रै साह्रै बेइमानी छ।
कुनै दिन
मलाई पनि चूपचाप चूपचाप
जलाउने छ
र खित्का छोडेर
हाँस्नेछ यो निर्दयी चिता
मेरो मृत्युमा
अरुलाई जलाउँदा जलाउँदै
जीवनभरि
जब म आफैं जल्छु
यो चितामा
त्यतिबेला अट्टहास
हाँसो हाँस्नेछ
यो आगो
यो चिता
र यो नीलो नदीका लहरहरु।
. . .
मेरो मृत्युको दिन
पर्खेको छ यो चिताले
पर्खेको छ यो आगोले
मलाई डढाउन
जसरी मैले संवेदनाहीन
भएर डढाएँ
मैले जन्म दिने अफ्नै
आमाको लास
ठिक त्यसरी नै
कुनै दिन संवेदनाहीन
हुनेछ
यो आगो
यो नदीको पानी
र यो मौन चिता।
. . .
म ढुंगाजस्तै निर्जिव
भइसकेको छु।
कसैको मृत्युले
अब मलाई दुख्दैन
र त जलाउँछु हाँसी हाँसी
संवेदना छोडेर कतै
टाढा
म जलाउँछु यी लासहरु
लाग्छ यो घाटको चिता
मलाई जलाउन
वर्षौंदेखि आतुस आतुर छ।

वर्तमान वस्ती, पुतलीसडक, काठमाडौं

प्रतिक्रिया दिनुहोस्

*