मधुरात

-इन्दिरा प्रसाई

“अब तिमी यसरी नहिँड । निर ! तिमी नहुँदा मलाई निराश लाग्छ । अब उनीहरूलाई डुलिहिँड्ने काम गर्न सक्तिनँ भनिदेऊ न ।” आकृतिले आज पनि निराकारका छातीको रौँ उखाल्न खोज्दै भनेकी थिई । निराकारलाई आकृतिले उसका छातीको रौँ दुख्ने गरी तान्दिएको साह्रै मन पर्छ । त्यो रौँ तानिँदा उसलाई अति आनन्द आउँछ । त्यसैले यस्ता एकान्त समयमा आकृति निराकारका छातीका रौँहरू तानेर निराकारलाई तृप्ति दिने गर्छे ।
निराकार हिजो बेलुकी मात्रै आइपुगेको हो । निराकारले महिनामा मुस्किलले एक हप्ता मात्रै आकृतिसँग बिताउँछ । बाँकी दिनहरू भने ऊ संसारका विभिन्न देशहरूमा बिताउँछ । विगत पैँतीस वर्षदेखि निराकार एउटा अन्तरार्ष्ट्रिय गैरसरकारी सङ्गठनसँग सम्बद्ध छ ।
आकृतिले स्थानीय क्याम्पसबाट उमेर नाघेर अवकाश पाएको पनि चार वर्ष भइसक्यो । घरमा एक्लै बस्नुको पीरले उसले पुनः आफूलाई करारसेवाको शिक्षण कार्यमै संलग्न गराएकी छ । त्यसो त ऊ चित्रकार हो । अधिकांश समय रङहरूसँग खेल्दै बिताउँछे ऊ ।
“ए आति ! तिमी म हुँदा पनि आफ्ना प्रेमीसँगै डुब्ने गर्र्यौ । म नहुँदाको पीडा तिमीले भोग्छ्यौ र ? ” निराकारले आज पनि आकृतिलाई रङसँग गाँसेर जिस्क्याउन खोज्यो ।
“तिमी मलाई छोडेर अनाथ र अपाङ्गसँग प्रेम गर्न जान्छौ, निर ! म तिमीबिना कति छटपटिन्छु तिमीले कसरी बुझ्न सकौला र ? मैले त तिम्रो उपस्थितिमा आफ्ना अधुरा पेन्टिङ मात्रै छोएकी छु । नयाँ त बनाउने गरेकी छैन नि !” आकृतिको आवाजमा भारीपन आउन खोजेको थियो ।
“ए त्यसो होइन आति, तिमीलाई दुखाउने मेरो आशय हुँदैहोइन प्रिय, म पनि तिमीबिना तड्पिएको छु ।” निराकारले आकृतिलाई अँगालोमा कसेर भन्यो ।
“भो, यस्तो पीपलपाते कुरा नसुनाऊ निर । तिमी लोग्नेमान्छे मात्रै हौ । तिमीलाई आइमाई भए पुग्छ । प्रेमको मूल्य तिमीले बुझ्न सक्तैनौ । हरेक रात नयाँनयाँ आइमाईसँग बिताउने आदत लागेका तिमीलाई मेरो प्रेमको खाँचो देख्तिनँ म ।” आकृतिभित्र दबेर बसेका कुटिलताहरू हुतुतु पोखिए ।
निराकार केही बोलेन । धेरैबेर केही पनि बोलेन । “आति ! तिम्रा केही कुरा सत्य हुन् । सत्य पनि मैले भोगेकै सत्य हुन् । मैले संसारका धेरै आइमाईसँग आफ्नो शरीरको उष्णता साटिसकेको छु र साट्ने पनि गर्छ । कुनै पनि देशमा रात बिताउँदा एक्लोपन हटाउने क्रममा मैले कुनै पनि साथ स्वीकारेको छु । तर मेरी प्रेयसी ! के तिमी मेरो कुरामा विश्वास गछर्र्यौ ? ती मैले भोगिसकेका कुनै पनि स्त्रीको सूक्ष्म आभास पनि मसँग अहिले छैन र कहिल्यै रहेन पनि । अनि ती स्त्रीभोगका समयमा पनि मेरा स्मृतिपटलमा भने तिम्रो मात्र उपस्थिति हुने गर्छ । साँचो कुरा भनौँ आति ! मैले ती स्त्रीभोग एक्लै गरेकै छैन । त्यस बेला मैले तिनलाई तिमीसँगै मात्र भोगेको छु ।” निराकारको स्वरको कम्पनले आकृति पग्लेर तरल तरल भइसकेकी थिई ।
“मेरो निर !” आकृतिले आफूलाई समर्पण गरी ।
***
भोलिपल्ट आकृति अन्तरार्ष्ट्रिय विमानस्थलबाट सधैँझैँ पुनः एक्लै घर फर्केकी थिई । यो क्रम लगभग बीस वर्षदेखि चल्दै आएको छ । तर हिजोआज भने निराकारलाई बिदा गरेर आएपछि आकृतिलाई अत्यास लाग्ने गर्छ । त्यस दिन पनि घरमा पुगेपछि आफ्ना कोठाको ढोका लगाएर आकृति बिछयौनामा पल्टेकी थिई । निराकारलाई बिदा गरेर फर्केपछि जहिले पनि ऊ यसरी नै ढोका थुनेर घण्टौँ बिछयौनामा पल्टिरहन्छे । यो बिछयौनामा टाँसिएको निराकारको गन्धसँगको सामीप्यले उसलाई निराकार यस बेला पनि आफैँसँग भएझैँ लाग्छ । यसै गतिमा सधैँजसो निराकारको फोन आउने गर्छ । ऊ फोनमा कुराकानी गर्ने गर्छे । त्यसपछि मात्र ऊ आफ्ना अन्य कार्यमा लाग्ने गर्छे । त्यस बेला पनि निराकारको गन्धसँग एकाकार हुँदै ऊ निराकारको फोनको प्रतीक्षामै पल्टिरहेकी थिई । एकाएक डोर बेल बज्यो । ‘को आयो ?’ यस्तो बेलामा भगवानको उपस्थिति पनि अप्रिय लाग्ने गर्छ आकृतिलाई । तर कोही आएपछि अर्थात् घण्टी बजेपछि ढोका खोल्नु शिष्टता हो । ऊ गह्रौँ मन बोकेर शिष्टता पालन गर्न अघि सरी ।
“नमस्कार” बाहिर निराकारकी बहिनी निशा उभिएकी थिई । “ए निशा ! आऊ न भित्र” आकृतिले ओइलाएको हर्षले स्वागत गरी । निराकारको अनुपस्थितिमा आकृतिको कुँडिएको मनलाई निशाको उपस्थितिले त्यस क्षण केही राहत नै पुर्याएको थियो । निशा निराकारकी फुपूकी छोरी हो । कोही आफन्त पनि बाँकी नभएको निराकार निशालाई धूमधाम माया गर्छ । निराकारले त्यसरी माया गर्ने भएकैले होला आकृतिलाई पनि निशाको माया लाग्छ ।
यस बेला अरू कोही अर्थात् निराकारसँग असम्बन्धित मानिस आएको भए आकृतिलाई पटक्कै मन पर्ने थिएन तर निशालाई देख्ता भने निराकारको कुनै अंश नै उसका सामु आएजस्तो लाग्यो आकृतिलाई ।
केही अघि उदासिएको आकृतिको अनुहारमा निशाको उपस्थितिले उज्यालो र्छन खोजेको थियो ।
“दाइ हुनुहुन्न ?” केहीबेरपछि निशाले चारैतिर नियालेर सोधेकी थिई ।
“निर त आजै गइहाले नि, म भर्खरै पुर्याएर आउँदै छु । उनले हिजो बेलुकी तिमीलाई कत्ति फोन गरे तर तिम्रो फोन उठेन ।” आकृतिले भनेकी थिई ।
“दाइसँग भेट्नै पर्ने थियो, धेरै भयो भेट नभएको पनि, म अस्ति नै पनि आएको कुरा दाइलाई भनिदिनुभएन ? दाजुलाई हाम्रो केही मतलबै छैन । पहिले कस्तो माया गरिसिन्थ्यो मलाई ।” निशाले पछिल्लो वाक्य मुख अमिलो पार्दै भनेकी थिई । निशाको मुखको अमिलोको लक्ष्य ‘पहिले’ भन्ने शब्दले आकृतिको केही अघि मात्रै रमेको मनसम्म पुगेर उसको मनको स्वाद टर्रो पारिदिएको थियो । ‘निशा आएकी थिई । निराकार दाइलाई भेट्नै पर्ने काम छ भन्दै थिई ।’ आकृतिले निराकारलाई सबै कुरा भन्दिएकी हो । तर अस्तिको बेलुकी आएको निराकार आज फर्कियो । उसले हिजो एक दिन मात्रै आकृतिसँग राम्ररी बितायो । निशाका भरखरका कुरा सुनेर आकृतिको अनुहारमा केहीबेरअघि आएको रौनक पन्छिँदै गएको थियो । “मैले तिमी आएको कुरा भनेरै त उनले हिजो तिमीलाई फोन गरेका थिए । ‘यसपालि भेट्न भ्याइनँ । अर्को पालि आउँदा भेट्छु । मैले गर्ने काम तिमीले नै गर्दिए पनि भइहाल्छ । निशालाई भन्नू’ भनेर निर गएका हुन् । तिम्रो कुरा मलाई नै भन न निशा । मैले सक्ने म गरिहाल्छु नि ।”
निशाको मुखबाट केही अघि मात्र आफूप्रति लक्षित शब्दलाई बिर्सन खोज्दै आफूलाई सकेसम्म कोमल तुल्याएर आकृति निशासमक्ष खुल्न खोजेकी थिई ।
“कस्तो कुरा गर्नुहुन्छ आकृति दिदी, निराकार दाइसँग भन्ने कुरा मैले तपाईंसँग कसरी भन्न सक्छु ? भैगयो । निराकार दाइलाई सबैले बदलिएको छ, उसलाई हिजोआज कोही चाहिँदैन भन्थे । मचाहिँ त्यस्तो होइन भन्थेँ । अब म आउँदिनँ भन्दिनू निराकार दाइलाई । उहाँलाई हामी नचाहिए हामीले मात्रै उहाँलाई हुरुक्क गरेर के हुन्छ र ?” निशा च्याँट्ठिनसम्म च्याँट्ठिई । निशाका कुरा सुनेर आकृतिलाई हुनसम्म झोँक चलेको थियो । यो निराकारकी प्यारी बहिनी निशा नभएर अरू कोही भैदिएको भए आकृतिले ठ्यामठ्याम चड्काएर पठाइदिन्थी । तर आकृतिले निशाप्रति अभद्र व्यवहार गर्दा निराकारको चित्त दुख्ने कल्पनाले आकृति चुप लागिरही ।
“म जानुपर्यो आकृति दि” एक्लै बोलिसकेपछि निशाले उभिँदै भनेकी थिई ।
“चिया बनाउँछु, चिया खाएर जाऊ न निशा” निशाका शब्दबाणले रक्ताम्मे भएको मुटु लुकाएर पनि आकृति शिष्टता प्रदर्शन गर्न चुकेकी थिइनन् । “भैगो, खाएकै हो नि, आज अबेर पनि भइसक्यो ।” घडी हेर्दै निशा मुस्काउने व्यर्थ प्रयत्नमा थिई । केही अघि मात्रै बाहिरिएका निशाका मनभित्रका कलुषितताका छापले गर्दा निशाले अनुहारमा भर्खरै जबर्जस्ती पोखेको मुस्कान पनि विकृत भएको थियो । आकृतिलाई आज निशा ज्यादै नराम्री लागी ।
त्यसपछि निशा बाहिरिएकी थिई र आकृति पुनः निराकारको गन्धसँग नजिकिएकी थिई । अचानक घडीमा आँखा परेपछि आकृतिलाई समाचार सुन्न मन लागेको थियो । निराकार गएको दिन आकृतिलाई समाचारसँग सरोकार हुने गर्छ । त्यस क्षण कुनै अप्रिय समाचारको दुष्कल्पनाले आकृतिलाई सताउने गर्छ । आज पनि त्यस्तै भएर उसले रेडियो खोली । ‘ दुर्घटना-सम्पूर्ण यात्रुहरूको मृत्यु भएको अनुमान ।’ रेडियोको समाचारको यो अंश मात्र उसको कानमा परेको थियो ।
त्यसपछि निराकारको क्षतविक्षत शरीर मात्रै आकृतिका कल्पनामा नाचिरहे । ‘निराकार उडेको पनि चार घण्टा भइसक्यो । यस बेलासम्म निराकारको फोन पनि आइसक्नुपर्ने, ¬ के साँच्चै नै’ आकृति निसासिएकी थिई ।
‘यदि निराकारको मृत्युको समाचार आयो भने म के गरुँला ?’ झन् अत्तालिई आकृति । उसका हातखुट्टाहरू चिसिएर गए । उसको शरीर गलेर लत्याकलुतुक भयो । उसका पातला र अधिकांश फुलेका कपालभित्र पसिनाका धाराहरू उम्रिन लागे । त्यसै बेला फोनको घण्टी बज्यो । तर आकृतिले फोन उठाउन सकिन । तर फोनको घण्टी बजि नै रह्यो । धेरैबेरपछि झन्डै छसातपल्ट घण्टी बजिसकेपछि आकृतिले फोन उठाई । “आति ! के भयो ! किन यति बेरमा फोन उठाएकी ? म त डराइरहेको थिएँ तिमीलाई के भयो भनेर ।” निराकारको आत्तिएको स्वर सुनिएको थियो ।
“होइन निर, केही भएको छैन । तिमी राम्ररी पुग्यौ ?” आकृतिले निराकारको स्वर सुनिरही र धेरैबेरपछि बिस्तारै लामोलामो सास फेरेर बोलेकी थिई ।
“किन आति ! तिमीलाई के भयो ? किन यसरी बोलेकी ?” निराकारको चिन्तामिश्रति स्वर आएको थियो ।
“निर, तिमी छिट्टै आऊ है !” आकृति रोएकी थिई ।
“म काम सकिनासाथ आइहाल्छु मेरी प्यारी । तिमीले किन यस्तो गरेकी, मलाई नरमाइलो लाग्दैन ? तिमी छिटो हाँस । छिटो हाँस आति । म फोन राख्छु ।” निराकारले फकाएर भन्यो ।
“निर ! तिमी चाँडै आऊ, हामी बिहे गर्ने” आकृतिले भनी । आकृतिका कुरा सुनेर निराकार जोरले हाँस्यो । निराकार हाँसेको सुनेपछि आकृति पनि हाँसी ।
***
त्यसैको झन्डै एक महिनापछि निराकार आएको थियो । आकृतिलाई देखेपछि निराकार पुनः हाँस्न लागेको थियो ।
त्यसै दिन आकृति र निराकारले बिहे गरेका थिए । ‘कोर्ट म्यारेज’ र मन्दिरमा पनि उनीहरूले बिहे गरे ।
***
पैँसठ्ठी वर्षीय कुमारी बूढी र सत्तरी वर्षीय कुमार बूढोले बिहे गर्दा सहरमा एउटा अनौठो र रमाइलो समाचार फैलिएको थियो । बीस वर्षभन्दा बढी समयदेखि सँगसँगै बस्तै आएका आकृति र निराकारले बिहे गर्दा स्वयं निराकारलाई नै पनि अनौठो लागेको थियो ।
***
“ए आति ! मैले तिमीसँग बिहे गरौँ भनेर पन्ध्र वर्षअघि नै प्रस्ताव राखेको थिएँ । तर तिमीले कहिल्यै मानिनौ । तिमी त बिहेको परम्पराकै विरोधी होइन ? फेरि तिमीले नै किन बिहेको प्रस्ताव राख्यौ ? मैले त केही बुझन सकिनँ ! कि तिमीले मलाई एकलौटी बनाउने विचार गरेकी हौ ?” त्यस रात निराकारले आकृतिलाई अँगालोमा राखेर सोधेको थियो । तर आकृति केही बोलेकी थिइन । उसका आँखा बन्द थिए । ओठमा गम्भीर मुस्कान थियो । अनुहारमा अनौठो रौनक थियो । निराकारलाई आज आफ्नी पत्नी आकृति प्रेमिका आकृतिभन्दा सुन्दरी लाग्यो । सिन्दूरले रङ्गिएको आकृतिको सिउँदो चुम्यो निराकारले र रातो टीका टाँसेको निधार पनि चुम्यो उसले । सधैँ उसले चुम्ने गरेको आकृतिको ओठबाट भन्दा आज तृप्ति पाएको अनुभूतिले सन्तुष्ट भयो ऊ । “आति, मलाई बाँधेर राख्ने हो ?” निराकारले पुनः जिस्क्यायो आकृतिलाई ।
“तिम्रो मन मैले मसँगै बाँधेकी थिएँ निर, र तिमीले पनि । तर निर, यो शरीर अब चाँडै नै हामीले त्याग्नु पर्छ । तिमीले पहिले वा मैले पहिले, त्यो थाहा छैन । हामी सँगसँगै त बिदा हुँदैनौँ । त्यस्तो भाग्य त हामीले के पाउँला ? तर अब यो बिहेपछि म तिमीलाई बिदा गर्दा निर्धक्क रुन सक्छु । सायद तिमी पनि ! तिमीले के सोच्यौ के ? तर निर, मैले हाँस्न होइन रुनका लागि नै तिमीसँग बिहे गरेकी हुँ ।”
अब निराकारसँग केही जबाफ थिएन ।
दुवैले उनीहरूको मधुरात एकअर्काका अँगालोमा रोएर बिताएका थिए । बिहानीपख मात्रै दुवै निदाएका थिए।

प्रतिक्रिया दिनुहोस्

*