एक्ली षोडसी …

-अवतार ढकाल
एउटा एक्लो खम्बामुनी
एउटी एक्ली, फगत एक्ली षोडसी
बसिरहेकी छिन झोक्राएर ।

वादलले ढाकिएको छ
उनीमाथिको आकाश
र कुहिरो भित्र क्रमश हराइरहेछ
एउटा कालो काग
सायद उनी पनि हराएकी छिन
अनिश्चितताको कालो वादलभित्र
अन्यौलताको अध्यारो भविष्यभित्र ।

सोध्न मन लाग्छ –
जताततै वादल लागेको यो समयमा
के देखिरहेकी  छिन उनले
वादलमाथी घुम्दै गरेका सपनाहरु ?
के गर्न समर्थ् छिन  उनी
चरा जस्तै उडदै गरेका कल्पनाहरु  ?

दिनहु सपना लुटिने यो शहरमा
कहा हुनु उनलाई त्यो स्वतन्त्रता ?
भरखर फक्रन लागेको फूल झैं
उनी चुसिन विवश हुन्छिन यहा ।
रस चुसिएको ऊखु झैं
उनी निखि्रन विवश हुन्छिन यहा ।
आफु तरुनी भएको आभास हुनु अगावै
उनी लुटिन विवश हुन्छिन यहा
र आशुहरुलाई पिएर भित्रभित्रै
उनी मुष्काउन विवश हुन्छिन यहा।

उनी अहिले एक्लै छिन
फगत एक्लै
त्यही खम्बाजस्तै या काग जस्तै
एकदिन उनी,
त्यही खम्बाजस्तै एक्लै छाडिनेछिन
अनि त्यही कागजस्तै
एक्लै हराउने छिन
र कुनै पत्रीकाहरुमा छापीने छैनन सायद
उनी हराएका सूचनाहरु ।

आखाहरुबाट सपना हराएको यो समयमा
सायद उनी,
केही देखिरहेकी छैनन
केही सोचिरहेकी छैनन ।
आखा बन्द गरेर जिन्दगीको शुन्य समयमा
सायद उनी –
आफुलाई लुटाउन पर्खिरहेकी छिन
भावशून्य
विचार शून्य
सपना शून्य
मात्र पर्खिरहेकी छिन ।

याकु ७ , भोजपुर ।

1 प्रतिक्रिया

  1. bishnu says:

    wa wa so sweet & realism poem …

प्रतिक्रिया दिनुहोस्

*