यस्तो पो खुसी …

- तिलकप्रसाद सापकोटा

संविधानसभाको छाँटकाँट देखेर होला, टपरे, क्षेत्रे र मदिसे, पञ्चे ‘हामी दिन्छौं शान्तिको खुसी’ भनेर । एकएक दिन भए पनि बन्द गराएर शान्ति देखाइदिए । दुई दिनमा पूर्व मेचीदेखि पश्चिम महाकाली नेतादेखि मजदुर सबैले गज्जबको शान्ति अनुभूति गरे । यसपछि अरु पनि कस्सिए । हाम्रो पर्यटन वर्ष सफल पार्न आएका विदेशी पनि नौलो शान्तिको अनुभूति गर्न पाएर क्या दंग ।

बन्दको शान्तिको प्रभावको चर्चा सर्वत्र भो । बन्दले कसैलाई भेदभाव गरेको छैन । भरिया, विद्यार्थी, शिक्षक, गृहिणी सबैमा खुसी ल्यायो । संविधान नदिने नेता, दलाली, भ्रष्टाचारी चढेको गाडीको भार बोक्नुनपरेकोमा सडक सबैभन्दा खुसी । यसको कारण आफूलाई निकास भएको पैसा यिनैले हजम गरेकोमा सडकलाई धेरै चित्त दुखेको रहेछ । सडक पनि जनताकै काम गर्न पाए खुसी हुँदो रहेछ । मजदुर खुसी । नाम्लोले थिच्ने थाप्लो र भारीले थिच्ने ढाड पनि साह्रै खुसी । खान नपाएर जाबो एउटा भुँडी बेखुसी भएर के हुन्छ र ? अरु अंग त खुसी भएकै छन् ।

बिहानदेखि बेलुकासम्म कालो धुवाँ फ्वाँफ्वाँ फुक्न नपरे हुन्थ्यो भन्ठान्ने  गाडीहरु खुसी । धुवाँ बनेर उड्नु नपरेकोमा पेट्रोल र डिजेल खुसी । सकेसम्म भाडा तिर्नु नपरेको हुन्थ्यो भन्ठान्ने यात्रु खुसी । ढोकामा उभिएर कराइरहन, यात्रु र ट्राफिकको बोलीका गोली खानु नपरे हुन्थ्यो भन्ठान्ने खलासी खुसी । जाड्याहा, फटाहा, पाकेटमार, लुटेरा, चोरलाई सिटमा बसाएर घिच्याउनु नपरे हुन्थ्यो भन्ठान्ने ड्राइभर खुसी।

प्रधानमन्त्री, मन्त्री खुसी । ठूला दलका ठूला नेता पनि खुसी । जेठ १४ को मुखैमा भएको बन्दले यिनलाई हुनसम्मको राहत दियो । केही बोल्लान् र टिपौंला भनेर मन्त्री र नेताका पछिपछि कुदाकुद गर्नुनपरे हुन्थ्यो भन्ठान्ने पत्रकार खुसी । त्यस्तै व्यापारीका पसलमा कुपि्रएर बस्न नपाए हुन्थ्यो भन्ठान्ने खुसी । कर्मचारी मेचमा बसेर गफ चुट्न पाएकोमा खुसी । सहरको वातावरण स्वच्छ भएकोमा वातावरणमन्त्री खुसी । धुलो, धुवाँ निल्नुनपरेकोमा वटुवा खुसी । सहरवासी खुसी । महानगरले फोहोर उठाइदिएको भए वातावरणमन्त्री झनै खुसी हुन्थे । जाबो एकजना यातायातमन्त्री बेखुसी भएर के भो र ? बिरामी खुसी । मेडिकल बेखुसी भएर के फरक पर्छ र?

विद्यालय जाने बालबालिका खुसी । लुगा धुन र बिहानै खाना पकाउन नपरेकोमा आमा खुसी । पढाउन नपरेकोमा शिक्षक खुसी । खोजी गर्ने हो भने यस्ता चटके खुसी कति छन् कति ? तर संविधानसभाले के खुसी दियो त ? कस्ताकस्ता मै हुँ भन्नेले सरकार हाँ के त खै के खुसी दिए ? तर सबै दल मिलेर आम नेपालीको वास्तविक भावना समेटिएको संविधान बनाए भनेचाहिँ योभन्दा ठूलो खुसी अरु केही हुने छैन । आगामी तीन महिनाभित्र संविधान बन्यो भने त्यो बिर्सिनसक्नुको कार्य हुनेछ । बरु एकदुइटा भदौ १४ र जेठ १४ गएर केही हुदैन । तर के गर्नु ? नदीका दुई किनारा मिल्लान्, हाम्रा नेता मिल्दैनन् । यिनलाई तीन महिना संविधानसभाको म्याद थप्न कम्ता गाह्रो भो । संविधान त कहिले पो हो ? बरु क्षणिक भए पनि टपरे, क्षेत्रे, मधिसे, पञ्चे, चुरेका बन्दले दिने शान्ति ठीक भन्नुपर्ने त होइन, कि कसो ?

1 प्रतिक्रिया

  1. सुदिन थापा says:

    एक दमै राम्रो व्यंगात्मक प्रस्तुती

प्रतिक्रिया दिनुहोस्

*